लहड

- मुक्तिनाथ घिमिरे

देखासिकी, प्रसिद्ध बन्ने उत्कट अभिलाषा र अर्कालाई आफ्नो नाम फोटोसहित पत्रिकामा छपाएर देखाउने लालसाले श्रृजा सिर्जनामा लागिन् । अध्ययनशील उनलाई एक पाना लेख्न सय पाना पढ्नुपर्छ भन्ने यथार्थ रामै्रसँग थाहा थियो । त्यसपछि उनी अध्ययन कार्यमा लागिन् ।

विभावः, आलम्बन र उद्वीपन; रस, अनुप्रास, यमक; श्लेष, वक्रोक्ति, रूपक; उत्प्रेक्षा, दृष्टान्त, दीपक; अर्थान्तरन्यास र छन्दजस्ता बुझ्न सकिने तर प्रयोग गर्न कठिन यी तत्त्वले उनलाई महाकाव्य र खण्डकाव्य लेख्ने आँटै पलाएन । उपन्यास, नाटक र कथामा प्रयुक्त हुने बिशिक्ष्ट शिल्प र शैली, कथ्य र प्रस्तुतिको अन्तर्लयले उनी त्यतातिर पनि लागिनन् । छोटा र छिट्टै लेख्न सकिने भ्रमले उनी अन्य विधातिर हानिइन् । मत्ला, काफिया, रदिफ, तखल्लुस र गेयात्मकका गुणले गजल लेख्न उनलाई हम्मे प¥यो । मुक्तक उनलाई साहित्यजस्तो नै लागेन । गीत लेख्न पोथी ओथारो बसेझैँ घोत्लिँदा पनि प्रवाह र सरलता ठ्याम्मै आएन ।

अन्तमा झल्याँस्स ब्यूँझिएजस्तो उनी आँखा तिखा पारेर मुसुक्क मुस्कुराइन् र सिर्जनामा चुर्लुम्बिइन् । उनका रचना अब चाँडै राष्ट्रका लोकप्रिय साहित्यिक पत्रिकामा पढ्न पाइएला । तपाईँ लघुकथाका पारखी हुनुहुन्छ भने चुकचुकाउनु होला श्रृजा आजकल लघुकथा लेख्दैछिन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 जेठ, 2067

लेखकका अन्य रचनाहरु