अखबार

- भीष्म उप्रेती

जे नछपियोस भन्छु अखबारमा
त्यही पढ्न विवश छु
हरेक दिन ।

आँसुका गहिरा नदीहरू
अक्षरका किनाराहरु भत्काउँदै बग्छन्
बलात्कृत
किशोरीको रगतमा
अक्षरहरू लतपतिएर आउँछन्
विधवाको काली
सिउँदोजस्तो
उदासलाग्छ अक्षरका लाइनहरुबिचको खाली ठाउँ
सुरुङजस्तो
टुहुरो
बालकको अँध्यारो भोलि
अखबारका काला अक्षर-अक्षरमा फैलिएकाछन्
लक्ष्यहीन
आन्दोलनका बौलाहा दगुराइहरू
र क्रान्तिसम्बोधित हत्याशृङ्खलाहरू
अखबारका
अक्षरहरू
बान्ता लाग्ने गरी गनाउँछन् ।

अखबार
एउटा सन्त्रास भएको छ
एउटा आतङ्क भएको छ
सामान्य हालखबर र
मान्छेका उपलब्धिहरू
कहाँ पढ्न पाउनु अचेल !
अखबार एउटा अभेद्य पीडा बएको छ

जे नछापियोस् भन्छु अखबारमा
त्यही पढ्न विवश छु
हरेक दिन ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु