बाध्यतावाद

- विक्रम सुब्बा

मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ "बाध्यतावाद" । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको निश्चित फरम्याट अनुसार चाहिने अनुसन्धानको मुख्य 'समस्या' लेख्छ र तथ्याङ्क खोज्दछ । यो दुनिया तथ्याङ्कहरूको भण्डारै हो । यहाँ जे पुष्टी गर्न पनि चाहिएको तथ्याङ्क भेटिन्छ । त्यसैले गर्दा जसले जे विषयमा पनि पिएचडी पाइरहेकाछन् । त्यस्तै मैले पनि "बाध्यतावाद" भन्ने सिद्धान्त मनमा सोचेँ र अब त्यसको पुष्टिका निम्ती कुराहरु खोज्नु पर्ने भयो । खोज्दै जाँदा भेट्न थालिँदो रहेछ । मैले पनि थुप्रै पुष्टिका कुराहरू भेटेँ जो निम्न रहेकाछन् । अर्थात, मैले आजसम्म जे जति कविता वा गीत रचना गरेँ, फर्केर हेर्दा बाध्य भएर मात्र रचेको रहेछु । दुनियामा अरु सबैले पनि मैलेजस्तै बध्य भएर मात्र केही गरेको रहेछ । जस्तै: मैले सबैभन्दा पहिले मायालुको नाममा कविता लेखेँ । किन? किनभने मायालु प्रतिको माया यति शक्तीसाली भएर म भित्र पस्यो कि म दिन रात रन्थनिएँ । जतिबेला पनि मायालुलाई भेट्न मन लाग्ने । सपनामा पनि मायालु नै देख्ने । कतै हिँडिरहेको बेला पनि मायालुकै यादले दिमाग गाँज्ने । तर मायालु भने कहिले काहीँ झल्याकझुलुक मात्र भेट हुने । बडो धर्मसंकट । त्यसपछि बौलाहाजस्तो हुन थालेँ । के गर्ने र कसो गर्ने हुन थाल्यो । तब मैले उपाय निकालेँ – 'मायालुको नाममा कविता लेख्ने…' र बहुलाउँनबाट बच्ने । त्यसपछि कापि कलम लिएर मैले फटाफट मयालुका नाममा कविता लेख्न थालेँ । तब मेरो मन अलि हलुँगो भयो । म भित्रको उकुसमुकुस केही शान्त भयो । राती म अलि राम्रोसँग निदाउँन सक्ने भएँ । मायालुको याद आए - झिक्यो त्यही कविता र पढ्यो अनि केही शान्त भयो । सब ठीकठाक । अहिले सम्झन्छु मैले मायालुको कविता त बाध्य भएर पो लेखेको रहेछु । त्यसैले ती कवितहरू बध्यतावादले जन्माएका कविता भए । यो "बध्यतावाद" पुष्टि गर्ने पहिलो तथ्य(अंक) हो ।

जवानीमा जव मेरो शरिर भरी कम्युनिष्ट विचार पस्यो त्यसपछि मैले मजदुर, किसान, ज्यामी, गरिब, महिला, दलित, जनजाती, बालबालिका जस्ता अधिकारबाट बञ्चितीमा पारिएकाहरूको बिचल्ली देखेँ । अर्थात, काम गर्ने ज्यामी तर उ भोकै पर्ने र काम नगर्ने मालिक चाहीँ धनी हुने । हलो जोत्ने किसान तर किसान भोकै तर सामन्त सम्पतीवाल हुने । घरमा दिन रात काम गर्ने महिला तर महिला नै अपहेलित र पुरुष घर मालिक हुने, आदिजस्ता अमिल्दा सामजिक रीति रिवाज र चालचलन देखेँ । यो त सरासर सतप्रतिशत अन्याय हो भन्ने कुरा बुझेँ र म भित्र रगत उम्लिन थाल्यो । त्यसैले म बध्य भएर जागरण गीत लेख्न र गाउँन थालेँ । मेरो के विश्वास रह्यो भने अन्याय अत्याचार र शोषणको विरुद्ध अन्याय, अत्याचार र शोषणमा पिस्सिएकाहरू नै जाग्नु पर्छ र मुक्तीका निम्ती जुझ्नु पर्दछ र मात्र मुक्ती हासिल हुन सक्छ । यसरी कुनै पनि गीतकारले गीत लेख्दा पनि कुनै न कुनै किसिमले बाध्य भएर मात्र लेख्न सक्छ भन्ने कुरा पुष्टि हुन्छ जसले "बध्यतावाद"लाई पनि पुष्टि नै गर्दछ ।

मैले मुन्धुम पढेँ । मानिसबिना त सृष्टी सुहाएकै देखिएन । किसिम किसिमका धातुबाट बनाउँदा नबोलेपछि विचारमन्थन गर्दा गर्दा गरेर खरानी र कुखुराको सुली मुछेर निङ्वाफुमाङले मानिस बनाए । त्यो बोल्यो । निङ्वाफुमाङलाई झ्वाँक चल्यो । सुन, चाँदीको मानिस नबोल्ने । खरानी र कुखुराको सुळिको बोल्ने? इक्क मरिजा ! भनेर थुकेछन् । मानिस खुत्रुक्कै मरि गएछ । बल्लबल्ल बनाएको मानिसलाई निङवाफुमाङले आफै मारे । फसाद पर्‍यो । त्यसपछि निङवाफुमाङले फेरि झार-फुक, तन्त्र-मन्त्र, जडि-बुटी, ओखती-मुलो गरेर मानिसलाई ब्यँताउँन बाध्य भए । यसरी यहाँ पनि सर्वब्यापी "बाध्यतावाद" छर्लङ्गै देखा परेकोछ ।

मैले रामायण पनि सुने-पढेकोछु । यो कथा पनि कुनै कथाकारले बध्य भएर लेखे । तर यसमा रहेको धर्मान्धता र राजाको गुणगान यति शसक्त भइदियो कि हरेक कमजोर नागरिक यसलाई दैवको लीला नै ठान्न बध्य भए । कथामा राम्ररी हेर्ने हो भने 'पिताको वचन नकाट्ने साँस्कृतिक मुल्य-मान्यता'को बाध्यताले गर्दा राम बनतिर लागेको देखिन्छ । त्यसैले राम पनि बध्यतावादी हुन् । जोगीको वचन उलंघन गर्न नहुने सिष्टताको बध्यताले लक्ष्मण रेखा नाँघेपछि सीताको हरण भयो । यसरी सीता पनि बाध्यताको सिकार भएकी देखिन्छिन् । त्यसो त हेर्दै लाने हो भने रामायण सिङ्गै बाध्यतावादको पोथो जस्तो लाग्छ । तपाइँ आफैँ राम्ररी हेर्नुस् त ! दशरथ, कौसल्या, भरत, हनुमान, सुग्रिव, लछुमन, रावण आदिले रामायणको नौटंकीमा जेजे गरेका छन् ती सबै बध्यभएर गरेका छन् ।

मैले महाभारत पनि सुने-पढे-हेरेकोछु । कृष्णले बनाएका युद्धको नियमले बाँधिएकोले नै अर्जुनले आफ्नै मानिसहरुलाई भकाभक वाण ठोकेर ढाल्न बध्य भएका छन् । आमाको वचनले बाध्य भएर सबै दाजु-भाइ मिलेर एउटै श्रीमतीले गुजारा गर्न बाध्य भएको कुरा पनि यही महाभारतमा देख्न-पढ्न पाइन्छ । जुवाको खालमा आफ्नो श्रीमती नै हार्ने र नांगिनु पर्ने बध्यतावाद पनि यहीँ पढ्न पाइन्छ ।

मैले वुद्धलाई पढेँ । वुद्धको जीवनीमा पनि जतासुकै बध्यतावादहरू भेटिन्छन् । वुद्धले किन राजदरवार त्यागे? किन आफ्नो जवान श्रीमती र नावालक बच्चा त्यागेर हिँडे? किनभने वुद्धले दुनियामा दु:ख देखे र त्यसको कारण खोज्ने, शान्तिको मार्ग खोज्ने निधो गरेपछि सो कुरा राजदरवारमा नपाइने वा श्रीमतीको अँगालोमा नपाइने भएकोले वुद्धले कि त आफ्नो उद्देश्य त्याग्नु पर्‍यो कि त राजदरवार र श्रीमती त्याग्नु पर्ने भयो । उनले आफ्नो उद्देश्य त्याग्न सकेनन् जसले गर्दा बाध्य भएर उनले राजदरवार र श्रीमाती त्यागे । यहाँ झन बडो ठूलो बध्यातावाद को उदाहरण पाइन्छ ।

मैले जिजसख्राइष्टवाला बाइबल पनि पढेकोछु । उनकी आमाले कुमारी छँदै गर्भ धारण गरेको घटनामा एक युवतीको जवानीले सृजना गरेको बध्यता छैन भनेर कस्ले भन्छ? जन्मे बढे हुर्केपछि जिजसले समाजिक काम गर्न थाले । रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरुको सेवा गर्न थाले । मैले देख्दा उनी तात्कालिन एक सामान्य समाज सेवी हुन् तर उनको रोगी, कोढी, दु:खी, अपहेलित महिला समाजको सेवा यति अमुल्य हुन पुग्यो कि रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरु उनलाई परमेश्वर नै ठान्न बाध्य भए ।

मैले कुरानमा मोहम्मदलाई पनि पढेँ । उनि पनि तात्कालिन समाजका एक उदाहरणीय सामाजिक अगुवा वा कल्याणकारी नेता हुन् । तर सबैले उनलाई अल्लाह ठानिदिएपछि त्यस्तो विचारको विरुद्ध कोही पनि नबोल्न मुस्लिम समुदाय बाध्य भयो । यही बाध्यताले गर्दा मोहम्मद पैगम्बर हुन बाध्य भए ।
मैले कन्फ्यूसियस पढेँ । कुनै पनि घटनाको असर दीर्घकालिन हुन्छ । तसर्थ कुनै पनि घटनाले पारेको असरबारे तात्कालै निचोड निकाल्नु हुन्न भन्ने कन्फ्यूसियस किन बाध्य भए ? किनभने मानिसलाई संझाएरै अपराधीबिहीन समाज सृजना गरेपनि तात्कालिन चिनीया सम्राटहरुले षडयन्त्र गरेर कन्फयूसियसलाई कुर्सी छोड्न बाध्य पारेपछि उनले यस्तो दार्शनिक निचोड निकाल्न बाध्य भएको देखिन्छ । यहाँ झन गज्जबको बाध्यतावाद व्याप्त छ ।

सोफोक्जीजको भयानक नाटकमा आफ्नै बहादुरीले गर्दा 'ईडीपस' आफ्नै आमा जोकाष्टासँग विवाह गरी सन्तान जन्माउँन बाध्य देखाइएकोछ । त्यसपछि आफ्नै आमा आफ्नो श्रीमती भएको कुरा ईडीपसले र आफ्नै छोराको श्रीमती भएको कुरा जोकाष्टाले चाल पाएपछि जोकाष्टा झुण्डिएर मर्न बाध्य छिन् भने यो मैले के देख्नु पर्‍यो? भनेर ईडिपस आफ्नै नङ्ग्राले आफ्ना आँखा चिथोरेर निकाल्न बाध्यछन् । यहाँ झन डरलाग्दो बाध्यात्मक घटनाहरू नाटकमा शसक्त किसिमले बुनिएका छन् ।

दार्शनिक सोक्रेटस आफ्नो सिद्धान्तमा दृढ थिए । उनैले राजाहरूको अन्याय-अत्याचार देखेपछि उनले कम्युनिज्मको परिकल्पना गर्न बाध्य भए । जहाँ हरेक शोषित पिडीत जनतालेको लागि समानता हुनेछ भनि उनले कल्पना गरेका थिए । उनको यो विचारले गर्दा तात्कालिन शासकहरुको मुटु हल्लियो । जसले गर्दा राजाहरूले उनलाई क्षमा माग्न वा मर्न तैयार हुन भने । तर सोक्रेटस आफ्नो सिद्धान्तमा अडिग भएकोले बरू हाँसीहाँसी मृत्यूदण्ड स्वीकार्न बाध्य भए । यो पनि बाध्यतावादको एक शसक्त नमुना हो ।

दार्शनिक सोक्रेटसका चेला एरिष्टोटल यति विलासमा हुर्केका बढेका थिए कि नोकर चाकरबिना केही गर्न नसक्ने भएपछि 'दाश प्रथा' को समर्थन गर्न र प्रजातान्त्रिक व्यवस्थाको सिद्धान्त निकाल्न बाध्य भए । साथै उनले राजाले वा शासकले आफ्नो शासनलाई के के गरेर बचाउँनु पर्छ? भन्ने कुराको उपाय समेत सुझाउँन बाध्य भए । जस्तै:
आफ्नो सरकार विरुद्धमा लागेकालाई सबैभन्दा पहिले जागिर वा पुरस्कार दिएर फसाउँनु पर्छ,
त्यसपछि पनि आफ्नो हुन नसके त्यसलाई थुन्नु पर्छ
थुनेपछि पनि जेलबाटै विद्रोहको नेतृत्व गरे उसलाई मार्नु पर्छ, आदि

अब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए '‍जनताले, जनताद्वारा, जनताको निम्ती' । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू 'आमाको सपना', 'फर्सिको जरा', मातेको मान्छेको भाषण..' जस्तै "न्यु टेष्ट ईन टाउन" भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - '‍जनताले, जनताद्वारा, जनताको निम्ती' भन्न बाध्य भएकोछ ।

कार्ल मार्क्सले समाजको रुपान्तरण प्रकृयामा द्वन्दात्मक भौतिकवाद र पुँजीको भूमिकालाई यति गहिरोसँग बुझेछन् कि "पुँजी" लेख्न बाध्य भए । त्यसपछि, रणनैतिक रुपमा कसरी समाज परिवर्तन गर्ने प्रकृयालाई दुनियामा सँस्थागत गर्ने त? भन्ने ठूलो सवाल सामुन्ने आयो । जसले गर्दा कार्लमार्क्सले ऐँगेल्सँग मिलेर कम्युनिष्ट मेनुफेष्टो लेख्न बाध्य भए । त्यसैको आधारमा स्थापित कम्युनिष्ट पार्टीहरु मार्फत दुनियामा मजदुर र किसानको हक अधिकारको झण्डा युग युग उठाई रहन निम्न बर्ग बाध्य छ ।

अहिले दुनियामा ख्रिस्चियन, हिन्दु, बुद्धिष्ट धर्मावलम्बी नभएका थुप्रै मुलुक भेटिन्छन् तर कम्युनिष्ट नभएको देश र समाज भेटिन्न । यो गती झन झन बढदो छ । कम्युनिष्टहरूको यही प्रभावको गतीलाई रोक्न वार्षिक अरबौँ डलर खर्च गरेर जिम्मी कार्टरको पालादेखि कम्युनिष्ट बिरोधी बुद्धिजिवीहरू किनेर 'मानव अधिकार', 'विश्वव्यापीकरण', 'वातावरण', 'लैङ्गिक विभेद', 'समावेशिकरण', र हाल आएर 'जलवायु परिवर्तन' जस्ता नयाँ सिद्धान्तहरु निकालेर कम्युनिष्टहरूलाई वा कम्निष्टमा लाग्ने संभावित मानिसलाई अलमल्याउँन पुँजवादी मुलुकहरू वाध्य छन् । यो ब्रह्माण्ड स्तरकै बाध्यता हो ।

गान्धी त्यतिबेला दक्षिण अफ्रिकामा वकालत गर्थे । एक दिन अदालतमा गोरो न्यायधीशकासामु दरो तर्क दिन नसकेर रुन बाध्य भए । उनी रुँदै भारत पसे र त्यही 'रोदन'को रुपलाई भारतमा 'सत्याग्रह'मा विकसित गेरर बृटिसहरु बिरुद्ध जीवनभर लाग्न उनी बाध्य भए । गांधी त मुस्लिमहरूको आकांक्षलाई संबोधन गर्न नसक्दा 'भारत'बाट 'पाकिस्तान'लाई जिन्हाले चुँडाएर लगेको टुलुटुलु हेरेर बस्न पनि बाध्य भए । आफ्नै मुलुकको एक चोक्टा कसैले चुँडालेर लगेको बसेर चुपचाप हेर्नु पर्ने यहाँ कस्तो पीडादायी बाध्यतवाद लुकेको छ ।

रसियाको परिस्थिती बेग्लै थियो । तसर्थ मार्क्सवादी सिद्धान्तलाई रसियाको परिस्थिती अनुसार सृजनात्मक रुपले ढालेर लागु गर्न लेनिन बाध्य भए । लेनिनले बाध्यतावादको सहारा नलिएको भए असफलता मात्र हात लाग्ने थियो । लेनिनको मुलुकमा 'पेरेस्त्रोइका' र 'ग्लास्नोस्त' भन्दै आफ्नै किसिमको पुँजीवाद हुल्न पनि गोर्वाचोभ बध्य भए ।

अब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए '‍जनताले, जनताद्वारा, जनताको निम्ती' । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू 'आमाको सपना', 'फर्सिको जरा', मातेको मान्छेको भाषण..' जस्तै "न्यु टेष्ट ईन टाउन" भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - '‍जनताले, जनताद्वारा, जनताको निम्ती' भन्न बाध्य भएकोछ ।

माओत्सेतुङले चीनको वर्ग सँघर्षलाई कसरी तह लगाउँने? भनि मार्क्सवाद-लेनिनवाद अध्ययन गरेपछि चीनको जस्तो तात्कालिन सामन्ती समाजबाट सिधै पुँजीवाद र समाजवादतिर समाज रुपान्तरित हुन सक्दैन भन्ने थेशिस निकाले जसलाई 'नौलोजनवाद' भन्न उनी बाध्य भए । अब नौलो जनवाद ल्याउँन कोमिन्ताङको बिरुद्ध मिल्न सक्ने राष्ट्रवादी शक्तीहरुसँग मिलेर जान पनि बध्य भए । जितेपछि 'सबैले मिलेर जानु पर्छ भन्न पनि बाध्य भए । तर भित्र भित्र चाहीँ कम्युनिष्ट पार्टीलाई नै नेतृत्वमा राख्ने ट्याक्टिस गर्न पनि बाध्य भए ।' चीनको ठूलो जनसंख्यालाई पाल्न बेस्सरी काम गर्न बाध्य भयो । यसरी बाध्य भएर नै चीनले कत्रो उन्नती गरिदियो ।

४० सुत्रिय माँग सरकारले नमानिदिएकोले जनयुद्ध थाल्न माओवादी बध्य भयो । नेपाली कांग्रेस र एमाले पनि बाध्य भएर मात्र "गणतन्त्र" र "संबिधानसभा" जस्ता माओवादी एजेण्डा आफ्नो घोषणा पत्रमा मन नपरी नपरी भएपनि लेख्न पुगे । बाध्य भएर नै पुस्तौँ पुस्ताको शानसौकत त्याग गरेर ज्ञानेन्द्रले नारायणहिटी छोडे ।

श्रीमान् श्रीमतीहरू आजिवन संगै बाँच्ने-मर्ने भनेर कसम खाँदै सिन्दुर टीका गर्छन् । तर कैयौँको मन नमिले पछि, सँगै गुजारा नै नहुने वातावरण भएपछि पारपाचुके गर्न बाध्य भएका देखिन्छन् ।

विदेशीहरुसँग माँगेर वार्षिक बजेट बनाउँन बाध्यता भएको मुलुकको प्रधानमन्त्री विदेशीहरुको ईसारामा नाच्न बाध्य हुने नै भयो । खाने मुख ठूलो भएकाहरू सरकारी कार्यालयमा पसेका छन् र उनीहरु खान बाध्य छन् । अमेरिकाले इराक र अफगानिस्तानमा तेल र ग्यास भएको सो कब्जमा लिन आक्रमण गरेर आफ्नो कठपुतली सरकार बनाउँने नाटक गर्न बाध्य भएको देखिएकै छ ।

यसरी सुक्ष्म ढंगले हेर्ने हो भने बाध्य नभइ मानिसले केही गर्दैन । उसले सबथोक बाध्य भएर मात्र गर्छ । उपन्यासकारले कुनै घटना नलेखिनसक्ने भएपछि बाध्य भएर मात्र उपन्यास लेख्छ । कविले छातीभित्रको उकुसमुकुस खपिनसक्नु भएर बाध्यताले कविता लेख्छ ।

सम्झेर ल्याउँदा मैले पनि बाध्य भएर मात्र कविता लेखेँ । त्यसैले मेरा सबै कविताहरू "बाध्यतावादी कविता आन्दोलन"का फुल-काँडा हुन् । हिजोआज पनि जबरजस्ती म लेख्न सक्दिन । तर जब नलेखिनसक्ने गरी बाध्य हुन्छु अनि लेख्छु । म एक बाध्यतावादी कवि । तपाइँ पनि कुनै न कुनै फाँटको वा क्षेत्रको बाध्यतावादी नै हो । हो कि होइन? सोचि हेर्नोस् – 'हो' भन्न तपाइँ पनि बाध्य हुनुहुन्छ ।

म तपाइँलाई सम्झना दिलाउँ? ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध तपाइँ हामी सबै जुट्न बाध्य नभएकोभए नेपालमा गणतन्त्र सुरु हुन्थ्यो? माओवादी पार्टीलाई ६० सिट दिएर एमालेले चुनावमा मिलाएर लगेको भए माओवादी पार्टी कस्सिएर चुनावमा लाग्न बाध्य हुन्थ्यो? ईक्खिएर र कस्सिएर लागेको भएर न माओवादी 'सबैभन्दा ठूलो पार्टी' हुन बाध्य भयो ।

परिवर्तन जहिले पनि राजनीतिबाट सुरुहुन्छ र आर्थिक क्षेत्रलाई बदल्दै साँस्कृतिक परिवर्तन गर्दै अघि बढ्न बाध्य हुन्छ । नेपालमा अहिले राजनैतिक परिवर्तन पनि सुनिश्चित भइसकेको छैन । आर्थिक परिवर्तनको खाका कुनै पार्टीसँग पनि छैन । साँस्कृतिक परिवर्तनको त कुरै चलेको छैन ।

अहिले हरेक पार्टीका मानिसहरु आफुलाई सिरिपेच पहिरिन लायक युवराज ठान्छन् भने कसरी गणतन्त्र आइसक्यो भन्ने? आर्थिक सम्बन्धहरूको परिवर्तन र मनमस्तिष्कभित्रको सोचाइका तहमा साँस्कृतिक परिवर्तन नभइ पुरानो जमाना निथर नाथर भएर मैझारु हुँदैन । त्यसैले म र मजस्ता साथीहरू अहिले पनि गणतन्त्रको पक्षमा धेरै काम बाँकी नै छ भन्न बाध्य भएका छौँ । र हामीजस्ता साहित्य तथा साँस्कृतिक कर्मीहरू गणतन्त्र कविता आन्दोलन मार्फत अझै धेरै काम गरिरहन बाध्य छौँ । म त्यही बाध्यतावदी मानिसहरुको झुण्डमा एक बाध्यतावादी कविता आन्दोलन मार्फत सर्वव्यापी बाध्यतावाद - जिन्दावाद ! भन्न बाध्य छु ।

काठमाण्डौँ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 जेठ, 2067

लेखकका अन्य रचनाहरु