डिजिटल वार्तामा स्रष्टा

- दुर्गा पौडेल

अन्तर्वार्ता विविध किसिमका हुन्छन् । यसको माध्यम पनि विविध हुन्छ । दुई व्यक्तिबीच भएको प्रत्यक्ष वार्ता, टेलिफोनबाट लिएको वार्ता, लिखित प्रश्न सोधी लिखितै जबाफ दिएको वार्ता आदि । तर, भिन्न प्रकारको वार्ताको पुस्तक लिएर वार्ताकार कृष्ण बजगाईं प्रस्तुत भएका छन् कृति स्रष्टा र डिजिटल वार्तामार्फत । पुस्तकमा दुई व्यक्तिबीचमा प्रत्यक्ष वार्ता भएको छैन । यो वर्ता गराइदिने डिजिटल माध्यम हो, इमेल ।

नेपाल तथा विदेशमा रहेका इमेल फ्रेन्डली स्रष्टाहरूसँग गरिएको यो डिजिटल वार्ता नेपाली साहित्यमा एउटा नवीन प्रयोग मान्नुपर्छ । तर, इमेलको ज्ञान नभएका कैयौँ वरिष्ठ स्रष्टालाई छुटाउनुपरेको कुरा सम्पादक स्वीकार गर्छन् । विभिन्न विधाका २१ पुरुष स्रष्टा र दुई नारी नारी स्रष्टा गरी जम्मा २३ जना स्रष्टालाई छानेर सबै विधालाई सम्पादकले समेटेका छन् ।

स्रष्टा र डिजिटल वार्तामा नेपाली भाषा–साहित्यविषयक प्रश्न छन् । प्रत्येक स्रष्टालाई आफ्ना क्षेत्र, योगदानबारेका प्रश्न छन्, तर केही प्रश्न भने सबैलाई परेका छन् । ती हुन्— डटकममा कुद्ने नेपाली साहित्यका कुरा, डायस्पोरिक साहित्यका कुरा, नेपाली साहित्यको विश्वसाहित्यमा प्रवेशको कुरा र अनेकौँ परिस्थिलिते गर्दा समकालीन नेपाली भाषासाहित्यको स्वरूप र संरचनामा उत्पन्न भएका विशेषताको विश्लेषण ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन के गर्नुपर्ला भन्ने प्रश्नमा कमल दीक्षित भन्छन्— "पहिले त नेपालीमा लेखिएका उत्कृष्ट पुस्तकलाई अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गरौँ र विदेशी कान/आँखामा पु¥याऔँ । नेपाली कविलेखकहरूले पनि अरू साहित्यको अध्ययन गर्नु म आवश्यक देख्छु ।" त्यही प्रश्नको उत्तरमा धरावासी भन्छन्— "पहिला त आजसम्म लेखिएका कृतिहरूलाई अनुवाद गरेर संसारका पाठकहरूका आँखामा पु¥याउनुपर्छ । साहित्यलाई पनि व्यावसायिक र जीविकाको साधन बनाउन सक्नुपर्छ । पठन संस्कृतिको विकास गर्नुपर्छ ।"

उत्तरआधुनिकता र डायास्पोराबारे अलमलमा रहेका पाठक अनि विशेष गरी विद्यार्थी र शोधकर्ताका लागि गोविन्दराज भट्टराईको बृहत् विश्लेषण यस कृतिमा पढ्न पाइन्छ । उनले उत्तरआधुनिकताको विकास र नेपाली साहित्यमा उत्तरआधुनिकताको स्थानसमेत प्रस्ट्याएका छन् । उत्तरआधुनिकताबारे उनी भन्छन्— "उत्तरआधुनिकतावादले नारीवादी सिद्धान्त, सन्दिग्धता सिद्धान्त, उत्तरऔपनिवेशिक सिद्धान्त, ग्लोबलतासँग जोडिएका आईटीजस्ता सिद्धान्तका साथै वातावरणीय अध्ययन, डायास्पोरा, इतिहास, दर्शन, साहित्यसिद्धान्त सबैतिर छुन्छ । सबै यस्ता विषयको पुनव्र्याख्यामा उत्तरआधुनिक दृष्टिकोण चाहिन्छ । यो परम्पराभन्दा भिन्न मुक्तिपथको यात्रा हो ।"

कृतिमा साइबर साहित्यको पनि चर्चा छ । साइबर साहित्यले नेपाली साहित्यमा पारेका प्रभाव पनि यहाँ पढ्न पाइन्छ । साइबर साहित्यबारे मोमिलाको विचार यस्तो छ— "जुनसुकै भूगोलमा बसेर पनि अत्याधुनिक सूचना प्रविधिको सञ्जाल/इन्टरनेटमा पढ्न सकिने, विचरण गर्न सकिने साहित्य नै साइबर साहित्य हो ।"

कृति पूर्ण छ भन्ने अवस्थामा छैन । यसमा केही त्रुटि पनि देख्न सकिन्छ । केही सिद्धहस्त स्रष्टाहरू छुटेका छन् । यहाँ सोधिएका कतिपय प्रश्नहरू अनावश्यक तथा असान्दर्भिक जस्ता देखिन्छन् । त्यसैगरी एउटा प्रश्नबाट एकैचोटि असान्दर्भिक अर्को प्रश्न सोधिएको छ । यसले पाठकलाई केही खल्लो अनुभव गराउँछ तर पनि कृतिले आफ्नो धर्म निभाएको छ । बजगाईंले यस्तो अर्को वार्तासङ्ग्रह पनि प्रकाशित गर्ने कुरा दर्साएका छन् । आगामी कृतिमा उनले अझ परिस्कृत गर्दै उत्कृष्ट कृति तयार पारून्, यही शुभकामना छ ।
कृति : स्रष्टा र डिजिटल वार्ता
सम्पादक : कृष्ण बजगाईं
विधा : डिजिटल वार्ता
प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डी.सी.
संस्करण : प्रथम, २०६६
पृष्ठ : २७८
मूल्य : व्यक्तिगत रु. २५०।–

साभार: गरिमा, वर्ष–२८, अङ्क–५, पूर्णाङ्क–३२९८, वैशाख २०६७

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 जेठ, 2067

लेखकका अन्य रचनाहरु