एउटा बुढो पहाड

- गोपाल झापाली

मेरा छातिमा कान्ला कान्ला बनाउछौ । कहिले तिमी गरा गरा बनाएर भटमास र फापर बुक्र्याउछौ । अदुवा र अलैचीहरु ख्रोस्रन्छौ, कोतछौँ । बेहिसाव, बेलगाम ख्रोसी रहनछौ, कोपरीरहन्छ्यौ मेरा पिठ्युँहरु । तिमीलाई मिठो सपना बाडिरहन्छु, अर्थात तिमी बेचिन्ता निदाइरहन्छ्यौ ।

मलाई दिउँसो निदाउने फुर्सदै हुदैन । तिमी मलाई झस्काइरहन्छ्यौ । म त रातभर जागै रहन्छु । तिमीले दिनभर कोपरेका र चिथोरेका घाउहरुमा म रातभर मलम पट्टी गरीरहन्छु । गोडैबाट बगेको खहरे मलाई गिज्याइ रहन्छ, थर्काइरहन्छ, त्यही रातभर । मेरो अस्तीत्वबारे सोधी रहन्छ, सर्मिन्दा बनाइरहन्छ । म बेशब्द बनिरहन्छु । चुपचाप रहन्छु । सुनिरहन्छु, गडगडाइ हुँहुङ्कार तर बोल्दीन म । किनकी म उजस्तो पानी होइन । जिस्काउदै भाग्दै, भाग्दै जिस्काउदै गर्ने कातर र लाचार । किनकी म त पहाड हुँ । बुढो पहाड अर्थात थोतो पहाड । उ त एकछिनमा तल पुगेर अर्को खोलोमा लुक्छ, आफ्नो अस्तीत्व मेटाउदै । अनि त्यो खोलो सुलित्त समुन्द्रमा मिसीन्छ, दुधमा बिष जसरी, बिषमा दुध जसरी ।

म उजस्तो क्षणिक हुन सक्दीन र चहान्न पनि ।

म युगौ युग बाच्नु छ । त्योपनि अटल र अचल बनेर । उ जस्तो बर्षाका दुइ महिना बौलिने र दश महिना लुम्रुक्क पर्ने अस्तीत्व मेरा लागी अस्वीकार्य छ । म चैतको तुफानमा पनि उही रहन्छु । जस्तो पुषको तुसारोमा पनि । साउनको झरीमा उस्तै सदाबहार । त्यो त खहरे हो । उसलाई त्यसैले थाहा छैन, उसको अस्तीत्व मसँगै छ । मेरो काखबाटै उ पिलपिलाउछ र मलाई नै जिस्काउदै उ ओरालो लाग्छ । उसले उकालो लाग्न जानेकै छैन, अर्थात उ सक्दै सक्दैन । बेला बेला त मलाई पनि उसको सेखी झार्न रौ तातेर आउछ । उसको जोरी सेलाईदिउँ जस्तै लाग्छ तर मलाई दिदैन त्यो गर्न तिम्रो मायाले । मेरो काखैमा तिम्रो सानो झुपडि छ । दिनभरी तिमी र तिम्री अर्धाङगीनी धपेडी गरिरहन्छौ । पुरानो पछ्यौरामा बाधिएर उसकी आमाको पिँठ्यूमा सानी गौथली खित्काइरहेकी हुन्छे, मैतिर फर्केर । सानो धोबेनी माउ बाख्री मेरै एक कुनामा काखमा जुम्लीया छोरीलाई घाँस खान सिकाइरहेकी हुन्छे । झुपडीमा छानाबाट जुन हेर्दे र तारा गन्दै तिम्रो रात शुरु हुँदा मेरो बिहान जन्मदै हुन्छ । सानो सलेदो छिरेको टुकीको मधुरो राता लालिमाले तिम्रो झुपडी मुस्काइरहेको हुन्छ ।

दिनभर तिमीले चिथारेका घाउँहरुमा चर्याइरहेका मिठा दुखाइहरु त्यतिखेर खहरेमा मिसिदैहुन्छन, जतिखेर तिम्री गौथली थोते दाँतमा खित्काइरही हुन्छे । अनि कसरी त्यो खहरे सँग जोरी खोजौ भोली मेरो अस्तीत्व त्यो खहरे समुन्द्रमा लुके झै भयो भने तिम्रो के हाल होला । ती काफलका कापहरुमा बचेरा कोरल्दै गरेका न्याउलीहरु कहाँ जादाँहुन । फेरी ती गाभिना मृगहरुको छटपटी कसले सुनिदेला ।

मत अचेल खुसि हुन थालेको छु, हास्न मन लाग्छ तर हास्दीन किनकी मत थोतो छु । ती रक्तम्मे फक्रिएका गुराँस, चाँप, अनि आकाशै छेडौला जस्तै गरी उग्रिएका सल्लाहरु अचेल धुरन्धर क्रान्तीकारी भएकाछन । शोषण, दमन र उत्पीडनका बिरुद्ध रातभर धन्कीने उनीहरुका आँजादी गितहरु मलाइ रातभर नचाइरहन्छन । उनीहरु थाक्दा नथाक्दै सुत्केरी हरिण र मृगहरु, काखमा नानी च्यापेका लोखर्केहरु अनि भर्खरै आखाँ उगारेका लोखर्केहरु बुर्कुसी मारेर नाचीरहेको बेला तिमी आनन्दीको श्वास फेर्दै सहवासमा व्यस्त होलाउ । तर मेरो रतिरागबाट पराग उडेको बर्षो भइसक्यो । किनकी मलाई बैश नै आएन । मेरो यौवनताको बेलामा मुखमा बुझाँे कोचिएको थियो, छातिमा गोली ठोकिएको थियो । त्यस बेलाका घाउहरु अहिले मेरा लागी इतिहास पढ्ने बिश्वबिद्यालय बनेका छन । तिनैमा सोध गर्दा गर्दै मेरा मधुमासका मादकताहरु बिलाउदै गएका छन् । तिनका डामहरु अचेल तिमीलाई स्वाधिनताका गीतहरुमा नचाउन मलाई उर्जा दिईरहेका छन् ।

तिम्रा पुर्खाहरुका औलाहरु ल्याप्चे हान्दा हान्दै खिईसकेका थिए,जतिखेर स्वतन्त्रताको मसाल उठाउने बेला भएको थियो । आज तिम्रा चक्रहरु माटोमा बिलाईरहदा खै कसरी भनौ तिमीलाई भैगो नख्याउ अब हातका शंख र चक्रहरु । पुर्वमा घाम जन्माउन आकाश छटपटाइरहेका बेला खोरमा थुनिएको भाले त्यो प्रसवता छाम्दै कुर्लीरहदो हो । त्यही बेला तिम्रा गोठका लाले र मालेहरुलाई कुडो पकाउन तिमी जुरुक्क उठ्दा हौ तर तिमीले त्यही बेला बिडीँ बाल्न सल्काएको दियालो तिम्रो दिनभरको जाउलो छड्काउन उर्जा भन्छ भन्ने तिमीले कहिले सोच्न सक्यौ ? तिमीले त्यही दियालो बन्ने बेला आएको छ ।
दियालो खहरेमा बल्दैन । न त खहरे आफैं बल्छ न त अरुलाईनै बल्न दिन्छ । पहाड आफैं बल्दैन तर बल्न चाहनेहरु लाई रोक्दैन । एउटा फिलि¨ो बल्ने रहरले आफैं तिर फर्कदा पनि भस्म होउन्जेल उ सहि रहन्छ । तिमी त्यसरीनै बल तर भस्म कहिल्यै नहुनु र खहरे जस्तो अरुलाई बल्न नदिने पनि नहुनु । बल, तिमी निरन्तर बल । मैन बत्ति जस्तो आफैं निख्रिने गरि होईन सुर्य जस्तै अरुलाई बाल्ने गरि बल । बल्नु भनेको प्रकाश दिनु हो । म पहाड पनि प्रकाश चाहन्छु, जहा“ असंख्य जीवनहरु अभिसप्त सपनाहरुको बगैंचामा आशाको त्राण खोजी रहेका हुनछन् । त्यो खहरे कयौ रङ्गिन बर्तमानहरुलाई भेल बनाएर समुद्रको पिंधमा बन्दकी राख्न सधै उद्यत हुन्छ । फरक यहि त हो , बग्ने पानीको खहरे हुनु र निष्ठाको निख्खरा पहाड हुनु बिच ।
लखनपुर ४ झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 जेठ, 2067

लेखकका अन्य रचनाहरु