साइबर स्पेसमा हाम्रो प्रवेश र नेपाली साहित्यले अजङ्ग फड्का मारेको दृश्य

- डा. गोविन्दराज भट्टराई

यसको अभूतपूर्व ऐतिहासिकतामाथि
अलिबाबाको ‘ओपन सिसेम’ जस्तै हुन थाल्यो हाम्रो जीवनको एक पाटो । उता ब्रसेल्समा बसेर भाइ कृष्ण बजगाईंले चलाएको समकालीन साहित्य डटकम सार्वत्रिक भएको निकै भयो । त्यहाँ पस्दै साहित्यिक सामग्रीमा भ्रमण गर्दै निस्कँदै गर्दछु; म जस्ता लाखौँ गर्दछन् । अझ प्रिन्ट मिडिया नपुग्ने ठाउँमा देवनागरी अक्षरको दर्शन गर्दा पनि आफन्तसँगै भेट भएका अनुभूति गराउने कति ठाउँ छन्, त्यहाँ यस्ता साइटहरूको अपरिहार्यता बयान गरिनसक्नुको छ । आज यसरी साइबरकर्मले एक विश्वव्यापी चेतना बढाउँदैछ । यतिखेर हाम्रो जीवनलाई बुझाउन ‘कज्मोपोलिटन’, ‘युनिभर्सल’ जस्ता शब्द सार्थक भएका छन् । दिक्काल (टाइम र स्पेश) मेटिए । अतीतको सँगै छ, टाढाको पनि सँगै; सबैकुरा सार्वकालिक र तात्कालिक अनि समकालिक जस्तो होला भन्ने नसोचेका कुरा । परोक्ष यथार्थताले गरेका जादुहरू । यस्तै जादुलाई पक्रेर कृष्ण बजगाईंले समकालीन साहित्य डटकमको परिभ्रमण गराइरहेका छन् । उनी कहाँ छन्, त्यो कुरा गौण छ, तथापि उनले एक भिन्न यथार्थको संयोजन गरिरहेका छन् ।

केही महिनाअघि नेपाली साहित्यका वरिष्ठ स्रष्टाहरू यस वेबसाइटमा आउन थालेदेखि म झन् चाखले प्रतीक्षा गर्न लागेँ । एक हप्ता आउँछ कमल दीक्षितको अन्तर्वार्ता, फेरि आउँछ माधव पोख्रेलको, फेरि विक्रम सुब्बाको... एक दिन आयो मेरै पालो । नेपाली भाषा साहित्यसँग जोडिएका अनेकौँ प्रश्न छन्, उत्तर छन्, ग्लोबलताले उत्पन्न गरेको भिन्न परिस्थितिमा हाम्रो परिचयका चिन्ता छन् ।

यसरी एक अभूतपूर्व सङ्कलन तयार हुँदैछ ।
एक दिन मलाई कृष्ण भाइले आफ्नो उद्देश्य प्रस्ट्याउँदै भने— यी स्रष्टासँगका डिजिटल कुराकानीलाई छापामा पनि प्रवाहित गर्नेछौँ । मैले सम्झेँ— सेमिनार ‘वेबमिनार’ भएझैँ ‘अन्तर्वार्ता’ को अर्को स्वरूप ‘डिजिटल वार्ता’ भएको छ । प्रविधिसँग हाम्रो जीवन अभिन्न भएकाले हाम्रो कर्मको परिभाषा मानव निर्मित शब्दमा मात्र हुँदैन अब यन्त्रले सोचे जसरी हामीले सोचिदिनु पर्छ नत्र ऊ रिसाउँछ । यतिबेलाको देउता टेक्नोलोजी हो । उसले सबै कुरा प्रतिकृति उत्पन्न गर्दैछ— सिम्युलेसन अर्थात् सादृश्यीकरण; उस्तैउस्तै लाग्ने । मान्छे पछिल्तिर लुकेको छ, यन्त्रले प्रश्न ल्याउँछ, यन्त्रले उत्तर ओसार्छ, कत्रो आश्चार्य, एक ओपन सिसेम ।
***
नभन्दै एक दिन कृष्णले जिमेलबाट तेइस जना स्रष्टाको वार्ता फाइल मेरोमा पठाएपछि देखेँ— नेपाली साहित्यमा एक अभूतपूर्व कर्म हुँदैछ । त्यसैले यसलाई कृति आकारमा प्रस्तुत गर्ने कर्ममा म पनि ठुलो उत्साहसाथ लागिपरेँ । कृष्णले त्यहाँबाट एक अत्याधुनिक विश्व जोड्ने एक सीमाहीन साइबरीय एकेडेमीको परिकल्पनालाई साकार पार्ने प्रयत्न गरेको देखेर म त्यसलाई सघाउन लागिपरेँ । नेपाली साहित्य यसप्रकारले सपनालाई यथार्थमा परिणत गराउने खेलमा भर्खर पस्तै छ; विश्व कहाँ पुगिसक्यो ।

उत्तम कुवरको स्रष्टा र साहित्य एक कोशे ढुङ्गा हो । त्यसले नेपाली स्रष्टाको अन्तरङ्ग जगत् र उनीहरूको साहित्यिक व्यक्तित्व पाखा ल्याएको छ । त्यसको झन्डै चार दशकपछि देवेन्द्र भट्टराईको स्रष्टा र समय आयो । यो पुराना फूलबारीको अन्तिम पुष्पहरूको सङ्कलन थियो । यसले ‘उत्तम शान्ति पुरस्कार’ प्राप्त ग¥यो । यिनै दुइटा कृति शीर्षकको ध्वण्यात्मक अनुगुञ्जन हुने गरी यसलाई स्रष्टा र डिजिटल वार्ता भनेका छौँ । यसले नेपाली साहित्यले लिएको नयाँ दिशा परिवर्तनतर्फ सङ्केत गर्दछ ।

स्रष्टा र डिजिटल वार्तामा नेपाली भाषा–साहित्यविषयक प्रश्न छन्; तिनका उत्तर छन् । प्रत्येक स्रष्टालाई बेग्लाबेग्लै प्रश्न छन् । प्रश्नहरू समालाप्य (इन्टरभ्युइ) को क्षेत्र, योगदान, क्षमता अभिरुचि आदिमा आधारित छन् । तर केही प्रश्न सबैजसोलाई परेका छन् । ती हुन्— डटकममा कुध्ने नेपाली साहित्यका कुरा, परादेशीय (डायास्पोरिक) साहित्यका कुरा, नेपाली साहित्यको विश्वसाहित्यमा प्रवेशको चिन्ता र परिचयका कुरा र अनेकन परिस्थितिले गर्दा समकालीन नेपाली भाषा साहित्यको स्वरूप र संरचनामा उत्पन्न भएका विशेषताको विश्लेषण ।

सङ्कलनको गम्भीर अध्ययन पश्चात् यी समालापहरूले सङ्केत गरेका चारवटा प्रमुख विशेषता अघि आउँछन् । ती हुन्— साइबर प्रवेश, अनुवाद आह्वान, डायास्पोराको पुकार र समकालीनतामाथि विमर्श ।

त्यसो ता आइटी विश्व केवल साधन हो, हाम्रो साध्य ता होइन तथापि यस्तो साधनको पनि प्रशंसा गर्ने दिन आएको छ । यसैको सहयोगले एक अभूतपूर्व ऐतिहासक कर्म सम्पन्न हुन लागेको छ, साधनको प्रशंसा नगरी कसरी बस्नु ? यस माध्यम (माध्यम) को संयोजनद्वारा नेपाली साहित्यको नवीन स्वरूप र सोचको परिकल्पनामा संलग्न रहेका व्यक्ति कृष्ण बजगाईंको प्रशंसा नगरी कसरी बस्नु ?

अबलाई लेख्ने अलग छन्, सोच्ने अलग छन्, अब चिन्तन व्यवस्थापन र संस्थागत गर्ने प्रविधि पनि नवीन छन् । मोहन सिटौलाले भनेझैँ अब व्यापक अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा साहित्य विषयका छलफल, वार्ता, गोष्ठी, सम्मेलन, प्रकाशनको आयोजना गर्ने दिन आएका छन् । किनभने हामी विश्वप्रभावले लेख्तैछौँ, बुझ्दछौँ । हरि अधिकारीले भनेका छन्— नेपाली साहित्यको अहिलेको दिशा र गति सहज र विश्वव्यापी चिन्तन र चिन्तासँग प्रवाहित छ । यो एक सर्वस्वीकार्य यथार्थ हो ।

साइबर प्रवेशको चिन्ता र उपलब्धि
त्यसो त मैले यन्त्रमा पसेर बोल्दै उडेको धेरै भो, फ्रिनेपाल डटकम, नेपाली साहित्यघर डटकम, खसखस डटकम जस्ता साइटतिर, अन्य विद्युतीय सञ्चारकर्मतिर पनि म फेला पर्नेछु । त्यहाँ सधैँभरि बोलिरहेको हुनेछु, परन्तु आज व्यक्तिको कुरा गरेको होइन सम्पूर्ण नेपाली साहित्यलाई सम्झेर कुरा गर्दैछु; यसले दिशा परिवर्तन गर्न लागेको सङ्केतको चर्चा गर्दैछु । परम्परित माध्यममा चलिरहनेका लागि एक चुनौती, अलि अप्ठेरो, अलिकति होस्टिलिटी अर्थात् प्रतिपक्षिता जस्तो उपस्थिति पनि । हामीलाई अघि विद्यावारिधिको दीक्षान्त समारोहमा बोल्दा प्रमुख अतिथिले भनेका थिए— तपाईंहरूलाई यी प्रमाणपत्रले धेरै दिन बचाउने छैनन्, अब कम्प्युटरविश्वमा पस्ने ढोका खोल्न जान्नु भएन भने तपाईं अर्कै कोठामा सदाको लागि थुनिनु हुनेछ । तपाईं निरक्षर विश्वतिर धकेलिनु हुनेछ ।

हो पनि, डेढ दशकमै त्यो यथार्थताले छोपिसक्यो । हाम्रा गाउँघर, टाढाका जिल्लामा पनि गोजीमा र पोल्टामा मोबाइल पुगे । देवनागरीमा अङ्कित १, २, ३ नचिन्नेले पनि रोमन 1, 2, 3 सिक्नुपर्ने बाध्यता आइलाग्यो । यसैगरी भर्खरै जापान र अमेरिका घुमेर आउने केदार खनालले लेखेका छन्— अङ्क र मिति चाहिँ विश्वभरि एउटै चलाऔँ, नत्र गारो पर्नेरहेछ । यसरी आज प्रविधिले आह्वान गरेर, लोभ्याएर, इसारा गरेर सर्वदेशीय संस्कृति (कज्मोपोलिटन कल्चर) तिर हामीलाई तान्दैछ । कृष्णको यस प्रयत्नमा त्यही सङ्केत छ । उनले सम्पादकीयमा त्यही कुरा व्यक्त गरेका छन् । अबको नेपाली साहित्यले त्यता हाम्फालिसकेको छ ।

सर्वप्रथम ता यो यसप्रकारको इमेलको प्रयोगले सङ्कलन गरी साइटम घुमाएर पुस्तकाकारमा प्रस्तुत गरिएको, यति ठूलो आकारको, यति महत्वपूर्ण विषय उठाउने, डिजिटलबाट छापामा सारिएको यस प्रकारको प्रथम सङ्ग्रह हो । यद्यपि फ्रिनेपाल डटकमको नेपालबाहिर नेपाली साहित्य जस्ता प्रकाशन आएका छन्; यसको उद्देश्य र पात्र संलग्नता अनि रचनाको समग्रता धेरै भिन्न छ । इमेलबाट कुधेका ग्रन्थमाथि लेख्ने बोल्ने कर्ममै अत्यधिक समय खर्चिएका मेरा निकै वर्ष बितेका छन्, तर चालीसदेखि असी वर्षबिचका नेपाली स्रष्टाको एक विशिष्ट प्रतिनिधि समूहको उपस्थितिले गरेको यो कर्म एउटा नयाँ आयाम र अभियान हो । यो नौलो मात्र होइन यसप्रकारको प्रथम समालाप सङ्ग्रह पनि । अकल्पनीय दूरीमा रहेर निराकार शक्तिको आराधना गरी कृष्णले यो गराएका छन् । उनको दूरभिजनको म अत्यधिक प्रशंसा गर्दछु ।

समालापित स्रष्टाहरूलाई यहाँ वर्णानुक्रमले राख्ने निर्णय भयो । सन्जोगले कमल दीक्षितबाट सुरु भयो । आजभन्दा एक दशक अघि ‘साइबर भानु’ शीर्षकमा कृति प्रकाशन गर्ने दीक्षितज्यूको अधिकांश समय ल्यापटपमा एमपीपी डट ओआरजीमा नै बितेको हुन्छ । समयले ल्याएको परिवर्तनप्रति सचेत एक विशिष्ट वाङ्मयसेवीलाई आज नयाँ पुस्ताका क्रियाकलापसँगै चलेको देख्न पाउँदा हामीलाई गौरव लाग्छ । यो सामयिक नेतृत्वको भूमिका हो । कृष्णले सम्पादकीयमा सङ्केत गरेकै कुरा छ— यहाँका रचना सबै इमेल मार्फतै उडेका हुन् । सबै जना कुनै न कुनै प्रकारले साइबर संस्कृतिको महत्वलाई बुझ्ने बुझाउने र त्यसको प्रयोगमा बानी परेका स्रष्टा छन्— मधु माधुर्यले एक दशक लामो फ्रिनेपाल डटकम हुर्काएका छन्, माधव पोख्रेलले अरौटे कम्प्युटर (निबन्ध) मा मलाई अर्थोक नभए हुन्छ, कम्प्युटर साथी बेगर बस्न सक्तिनँ भनेका छन्, विक्रम सुब्बाले नेपाली कविताको साइट चलाएका छन्, होमनाथ सुवेदी विश्व समक्ष त्यसरी झन् टाढाटाढा पुगेका छन्, मोमिलाले कलासाहित्य डटकम चलाएकी छन् । सबै आइटी प्रभावित छन् । सबै डिजिटल सेवक ।

यो सफ्टवेयर हार्डवेयर विकासको कुरा मात्र होइन, सबै मिलेर वर्तमान नेपाली साहित्यले प्रविधि–संस्कृतिबाट कसरी प्रभाव ग्रहण गर्दैछ, हामीले कहाँसम्म पुग्नुपर्छ भन्ने कुरातिर सङ्केत गर्न यी कार्य स्वयम् प्रमाण भएका छन्; यो कार्य पनि । नत्र भने एसिया, युरोप, अमेरिका तीनै महादेशका स्रष्टाको हंस एक ठाउँमा भेला गर्न कति लाग्थ्यो होला, आज हामीलाई यो कर्म नै आश्चर्य भएको छ । त्यहाँ नेपालका रोचक छन्, अमेरिकाका होम सुवेदी, रुसका मधु माधुर्य— सबै एउटै चिन्ताले जोडिएका । त्यो चिन्ता हो नेपाली वाङ्मयलाई कसरी निरन्तर उन्नत राखौँ । अरू अनलाइन लिट्रेचरका साइट निर्माता र प्रयोक्तालाई पनि यसले प्रेरित गर्नेछ ।

त्यसो त नेपाली वाङ्मय पूर्णरूपले साइबर जगत्मा पसिसकेको छ— ठुलाठुला दैनिक, पाक्षिक देशविदेशका अखबार पत्रिका, श्रव्यदृश्य कर्महरू संसारका अन्य भाषामा झैँ इमेल इन्टर्नेटले ओहोरदोहर गर्ने, अन्लाइन जाने गर्दछन् । नेपाली साहित्यकारहरूमध्ये अधिकांश ता ल्यापटप भिर्ने, डेस्कटप राख्ने, साइबर धाउने भइसके । नेपालीका विशेष अक्षरकर्मी ता अनिवार्यरूपले त्यही विश्वमा छन् । यो विशाल परिवर्तनको द्योतक हो । अर्थशास्त्र, विज्ञान, समाजशास्त्र, सैनिकी लगायतका अनेकौँ विश्व कारोबारमा जस्तै साहित्यको पनि ठुलो भाग अनलाइन छ, इलेक्ट्रोनिक माध्यममा सिर्जित एवम् प्रतिस्थापित हुँदैछ । यसका राम्रा नराम्रा दुवै पक्ष छन् तर नेपाली यो विश्वप्रवाहबाट अलग्गिन सक्तैन, त्यसैको प्रमाण हो डिजिटल वार्ता ।

विश्वसाहित्यमा नेपाली कहाँनेर देखिन्छ, त्यहाँ त्यसको उपस्थिति छ कि छैन भन्ने विषयको जिज्ञाषा र चिन्ताले अघि महाकविलाई छोपेको थियो । उहाँको १९५८ को तास्कन्द वक्तव्यले त्यो भन्छ, उहाँको सिर्जना र अनुवाद अर्थात् अनुकूलनले भरिएका कर्मले, जीवनले त्यो भन्छ । त्यसयताको पचास वर्षमा त्यो चिन्ता बढेर चौगुना भएको छ । अझ यतिखेर विश्वका विभिन्न देशमा नेपाली जातिको उपस्थिति पुगेपछि त्यो चिन्ता झन् बढेको छ । विश्वले साहित्य विकासलाई सांस्कृतिक सम्पन्नताको र सभ्यताकै कसी भन्दछ । यो कुराले नेपाल बाहिरका नेपालीलाई अझ छोएको छ । बाहिर पुगेर उनीहरूले नयाँ विश्वमा चल्ने व्यापक विश्व देख्ने अवसर प्राप्त गर्दैछन् । तिनै नेपालीले आफ्नो कला साहित्यको स्थिति नाजुक देख्ता अरू समक्ष आफ्नै परिचय कमजोर भएको ठान्दछन् । त्यसकारण आज सर्वत्र ती जागेर उठेका छन्— साहित्यबेगर जाति परिचयको अर्थ छैन भन्ने बुझेर उठेका छन् । यसै उद्देश्यले साहित्यको उन्नतिखातिर भाषाको प्रचारखातिर ती लागिपरेका छन् । लागिपर्ने संस्थाहरूमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एक विशिष्ट उदाहरण हो । त्यसका अनेक महत्वकाङ्क्षी योजनामध्ये प्रस्तुत ग्रन्थ एक हो । यस ग्रन्थले कसरी हाम्रा सबै प्रकारका उन्नति र समाकालीन चेतना साइबरमै आधारित हुँदारहेछन् भन्ने देखाउँछ । साइबरले मात्रै विश्वनेपाली कसरी जोड्ने छ भन्ने देखाउँछ ।

नेपाली साहित्यमा यतिखेर दुई दर्जनजति स्तरीय वेवसाइट लोकप्रिय छन् । कविता, कथा, नाटक, बालसाहित्यका अलग्गै पनि छन् । अनेक विधाका मिश्रित, नेपाली र अङ्ग्रेजीका छन् । (एउटा सूची यस पुस्तकको पृष्ठ १३५ मा प्रस्तुत छ) । लिम्बू, राई, नेवारी, मैथिली जस्ता उन्नतिशील भाषाका पनि छन् । अरूमा चेतनासँगै ती कुरा आउने छन् ।

प्रत्येक स्रष्टासँग यस्ता प्रकारका नेपाली साहित्यिक साइटबारे एउटा प्रश्न गरिएको छ । एक प्रश्नका अनेक उत्तर आएका छन्, तर सबैको बोलीमा उही भावना छ । कमल दीक्षितको भनाइ छ— यो साइट बिचबिचमा खोल्नुस् र पढ्नुस्, तपाईंलाई फाइदै हुन्छ, नोक्सान हुँदैन भन्छु । त्यसो त यो समकालीन साहित्य डटकमको लागि भनिएको हो तर यो दृष्टान्त सबै यस्ता साइटमा लागु हुन्छ ।

त्यसैगरी म (गोविन्दराज भट्टराई) लाई सोधिएको प्रश्नमा मेरो निचोड छ— नेपाली साहित्यले पनि विश्वव्यापी बन्न अब त्यतै लाग्नुपर्दछ । यसै कुरालाई पुष्टि गर्ने अन्तःसञ्जालको व्यापक विस्तार शीर्षक एक लेखांश समावेश छ; हेर्नू पृष्ठ १३४ ।

नरेन्द्रराज प्रसाईं बोलेका छन्— वास्तवमा यस विद्युतीय पत्रिकाले विश्व रङ्गमञ्चमा नेपाली भाषाको बलियो स्तम्भ स्थापित गरिसकेको पनि देखिन्छ । ‘यस’ को अरू यस्ता बुझ्नु पर्दछ ।

रोचक घिमिरेले ठुलो उत्साह थपेका छन्— समकालीन साहित्य डटकमले विदेशबाट नेपाली भाषा साहित्यको जे जस्तो सेवा गरेको छ त्यसबाट विश्वका सम्पूर्ण नेपाली साहित्यप्रेमीहरू लाभान्वित भएका छन् । नेपाली साहित्य अहिले कुन बाटामा हिँडिरहेको छ, यसमा के कस्ता प्रयोग भएका छन्; विश्व साहित्यमा यसको कुन ठाउँ छ ? आदि पक्षबारे पाठकलाई जानकारी दिने ‘समकालीन साहित्य डटकम’ जस्ता माध्यमहरूले गरेको सेवालाई ज्यादै महत्वपूर्ण मान्नुपर्दछ । यस्तो वेब साहित्यिक पत्रकारिताको योगदानबाट नेपाली साहित्यिक पत्रकारिताको प्रगतिमा ठुलो टेवा पुग्दछ ।

विक्रम सुब्बा भन्छन्— यसले संसारभरि छरिएका साहित्यप्रेमी नेपालीहरूलाई एक सञ्जालमा आबद्ध हुन सहयोग पु¥याएको छ ।

विमल भौकाजी भन्छन्— विद्युतीय सञ्चार माध्यमतर्फ अझै पनि हाम्रो समाज त्यत्ति आकृष्ट हुन सकेको देखिँदैन । यस्तो स्थितिमा हाम्रो समाजको सन्दर्भमा यसको प्रतिस्थापन गर्नु निकै चुनौतीपूर्ण कार्य हो ।

श्रीओम श्रेष्ठ बोलेका छन्— समकालीन साहित्य डटकमले विश्वभरिका नेपाली भाषा साहित्यका पाठकको भोक मेटाउन सफल छ । यो साँचैको उदाहरणीय कार्य हो ।

होमनाथ सुवेदीले अनेसासका अरू पुरस्कार पनि छन् कि ? भन्ने प्रश्नको उत्तरमा साइबर पुरस्कारको परिचय दिएका छन्— साना पुरस्कार त असङ्ख्य नै छन् विभिन्न स्थान र समयमा दिइने तर एन् एन्ड जे वेभ साहित्यिक पत्रकारिता पुरस्कार भने अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिवर्ष प्रदान गरिन्छ । सन्दर्भले भन्नुपर्दा यस वर्षको यो पुरस्कारको विजेता पनि ‘समकालीन नेपाली साहित्य डटकम’ नै हो जसका प्रधान सम्पादक कृ्रष्ण बजगाईं नै हुनुहुन्छ । उहाँ नै यो पुरस्कारबाट पुरस्कृत भैसक्नुभएको छ । यसअघि यो पुरस्कार रुसमा डा. मधु माधुर्य र जापानका डा. कुमार बस्नेत तथा युकेका विश्वासदीप तिगेलाले प्राप्त गरिसक्नुभएको छ ।

यसप्रकारले डिजिटल माध्यमले वाङ्मय सेवा गर्न थालेको यस परिस्थितिमा यसको उपयोगिता बिस्तारै अपरिहार्य हुँदै जाने देखिन्छ ।

अनुवादको शरणमा छ समय
अघि भनेँ— डिजिटल वार्ताको दोस्रो महत्वपूर्ण सन्देश हो अनुवाद यात्राको आवश्यकता । यतिखेर नेपाली साहित्यमा अनुवादको महत्व र आवश्यकताबारेमा निरन्तर चर्चा र चिन्ता हुँदैछन् अर्थात् यो विश्वसाहित्यमा पुग्ने हाम्रो एउटा बाटो र त्यसको चर्चा बढेकामा हाम्रो खुसी बढेको छ ।

झन्डै एकसय वर्षको आधुनिककाल व्यतीत गरिसकेको नेपाली साहित्यको परिचय विश्व अभिलेखनमा शून्य बराबर छ । भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का, मलेसिया, फिलिपिन्स, कोरिया आउँदा नेपाली आउँदैन त्यहाँ । यो महादेशको साहित्य चिनाउने ठुलाठुला एन्थोलोजिमा ‘नेपाल’ भेटिँदैन । (हालै मात्र राजस्थान साहित्य महोत्सव भयो, एसियाका अनेक हस्ती भेटिए, नेपालीको नामै आएन ।) यस्ता परिस्थिति देखेर आज सबै चिन्तित छौँ; हामीलाई सरम र दुःख छ । कसरी कहाँबाट उठौँ भन्ने चिन्ता त्यत्तिकै ।

कसरी हामी विश्वसँग चिनिने होला भन्ने प्रश्नको उत्तरमा प्रायः सबै स्रष्टाले ‘अनुवाद’ भनेका छन्, अनुवादको माध्यमले अघि बढौँ चिनियौँ भनेका छन् । डिजिटल वार्तामा एउटा प्रश्न अनिवार्य झैँ छ— नेपाली साहित्यलाई विश्वसाहित्य समक्ष पु¥याउन के गर्नुपर्ला ? यसको उत्तरमा प्रायः सबै स्रष्टा एकमुख लगाएर बोलेका छन्— अब हामीलाई अनुवादले मात्रै घर बाहिर देखाउन सक्छ; जस्तो कि कमलमणि दीक्षित— पहिले त नेपालीमा लेखिएका उत्कृष्ट पुस्तकलाई अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गरौँ र विदेशी कान आँखामा पु¥याऔँ । नेपाली कविलेखकहरूले पनि अरू साहित्यको अध्ययन गर्नु म आवश्यक देख्छु । ‘मै ठिक, मेरै ठिक’ भनेर बसेर हँुदैन । मैले अनुभव गरेको कुरा होे

हाम्रा साहित्यिकहरूमा अन्य साहित्यको ज्ञान न्यून छ । मेरो आफ्नै त्यस क्षेत्रमा मनग्गे प्रवेश छैन, अरूलाई के भनूँ ?

त्यसैगरी कृष्ण धरावासीले ‘नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान के गर्नुपर्ला ?’ को उत्तरमा बोलेका छन्— पहिला त आजसम्म लेखिएका कृतिहरूलाई अनुवाद गरेर संसारका पाठकहरूका आँखामा पु¥याउनुपर्छ । साहित्यलाई पनि व्यावसायिक र जीविकाको साधन बनाउन सक्नुपर्छ । पठन संस्कृतिको विकास गर्नुपर्छ । लेखेरपनि जीविका हुने विश्वास भएमा लेखकहरूले अझ मेहनत गर्नेछन् र हाम्रो साहित्य पनि अन्तर्राष्ट्रिय मार्गमा यात्रा गर्न थाल्नेछ ।

मेरो धारणा पनि लेखिएकै छ— यसको लागि पनि एउटा केन्द्रीय ‘सेन्टर फर ट्रान्सलेसन’ को स्थापना हुनुपर्दछ जसले प्रज्ञाप्रतिष्ठान अथवा त्रिभुवन विश्वविद्यालयको निर्देशनमा कार्य गरोस् । साथै एउटा जर्नल अब् ट्रान्सलेसनको प्रकाशन आरम्भ हुनुपर्छ जसले अनुवादबारे जानकारी निरन्तर प्रवाहित गर्नसकोस् ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा यतिखेर नेपाली साहित्यमा चुनिएका केही मास्टरपिसको व्यवस्थित अनुवाद थाल्नुपरेको छ ।

नरेन्द्रराज प्रसाईंले यही मत राखेका छन्— नेपाली साहित्यका कृतिलाई विभिन्न भाषामा अनुवाद गर्नुपर्छ ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा समर्पित व्यक्तित्व मधु माधुर्यको धारणा छ— हिजोको तुलानामा आज अनेसास एउटा प्रभावकारी विश्वव्यापी साहित्यिक सङ्गठनमा परिणत हुँदै गइरहेको छ । उक्त संस्थामा केन्द्रीय महासचिव एवं उपाध्यक्षको कार्यभार मैले वहन गरेका बेला हामीले तय गरेका अधिकांश योजनाहरू आज कार्यान्वयन भइसकेका छन् भने डायास्पोरा साहित्यिक अभिलेख तयार गर्ने र अनुवाद साहित्यको व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण चुनौतीहरू हाम्रा सामु तेर्सिएका छन् जस्तो लाग्छ ।

मधुवन पौडेल बोलेका छन्— नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हाल निकै प्रयास भइरहेका छन् । उत्कृष्ट नेपाली रचनालाई अङ्ग्रेजी र अन्य भाषाहरूमा अनुवाद गरी प्रकाशित गर्ने एउटा संयन्त्र नै चाहिन्छ । यसको अभावले गर्दा हामी बाह्य जगत्मा चिनिन सकेका छैनौँ । तुलनात्मक रूपमा हेर्ने हो भने हाम्रो इतिहास पनि त्यति पुरानो छैन र हामीकहाँ शिक्षाको स्तर वृद्धि हुँदै गएको पनि धेरै वर्ष बितेको छैन । तर जुन गति र तदारुकताका साथ हामी नेपाली साहित्यको उत्थानका लागि प्रयासरत छौँ, यसले अवश्य नै हामीलाई छिटै अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सक्ने आशा गर्न सकिन्छ ।

माधव पोख्रेलले भनेका छन्— नेपाली साहित्यका अमूल्य रचनालाई अनुवाद गर्नुपर्छ । नेपालमा किताब नबिक्ने समस्या छ । अहिले विश्वका अनेक कुनामा छरिएका नेपालीहरू नेपाली साहित्यका किताब पढ्न खोजिरहेका छन् । त्यहीँ मेचीपारि दार्जिलिङ, सिक्किम र भारतको उत्तरपूर्वका अनेक राज्यमा छरिएका नेपालीहरू नेपाली किताब पढ्न खोजिरहेका छन्, तर किन कुनै पनि किताब व्यवसायीले संसारका विभिन्न कुनामा भएका नेपालीहरूका एक ठाउँमा प्रकाशित भएका किताब अर्को ठाउँमा भएका पाठकहरूकहाँ पु¥याउने व्यवसाय रोज्दैन, मैले त्यो बुझ्न सकेको छैन । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन बजार र वितरणको ठुलो हात हुन्छ ।

नेपाली साहित्यलाई अरू भाषामा अनुवाद गरेर मात्र हुँदैन; विश्व साहित्यका आदर्श कृति पढ्न पाइने एउटै पनि अद्यावधिक पुस्तकालय नेपालमा छैन । अनलाइन पुस्तक पढ्न पाउने व्यवस्था पनि विश्व साहित्यका नेपाली पाठकलाई दुर्लभ छ ।

विश्वविद्यालयको पढाइ र समसामयिक नेपाली साहित्यकारका बिचमा पुल र ओहोरदोहोर हुनुपर्ने ठाउँमा खोल्सो छ । त्यहाँ पुल कसरी बनाउने भन्ने बारेमा विमर्श हुनु आवश्यक छ ।

मोहन दुवालको उत्तर छ— सरकारले थुप्रै बजेट छुट्याएर, अन्तर्राष्ट्रिय जगत्मा क्रियाशील व्यक्तिहरूसँग सहकार्य गरेर, अत्यन्त चर्चित र आवश्यक कृतिहरूको अनुवाद गरेर प्रयत्न गरेको खण्डमा नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ । तर त्यस्तो प्रयास भएको र गरेको देखिँदैन ।

मोहन सिटौलाले भनेका छन्— अत्यन्त उत्तम प्रश्न गर्नु भयो । संस्थागत र व्यक्तिगत स्तरमा हरतरहले नेपाली साहित्य र संस्कृतिको विश्व डायास्पोरिक गतिविधि– मञ्चन, प्रकाशन, अनुवाद, मेला भेला, स्तरीय जर्नल आदिमा दोहोरै सहकार्यात्मक कार्यक्रमहरू बढाउनुपर्छ । केही माथि र तल पनि भनेको छु । डायास्पोराका कलेजहरूमा नेपाली विभागको सङ्ख्यामा विस्तार, नेपाली संसकृतिको अध्यापन, डायास्पोरा नेपाली प्रज्ञाप्रतिष्ठान र नेपाली विश्वविद्यालय आदिको अभियानमा लाग्नु पर्छ ।

रोचक घिमिरेको धारणा छ— मूल कुरो नेपाली भाषाका उत्कृष्ट र लोकप्रिय कृतिलाई अङ्ग्रेजी र विश्वका अरू कुनै प्रमुख भाषामा स्तरीय अनुवाद गरेर प्रकाशित गर्नुप¥यो । पुस्तकको मुद्रण, प्रकाशन, साजसज्जा पनि अन्तर्राष्ट्रिय स्तरकै हुनुप¥यो । विदेशका प्रमुख प्रकाशन संस्थाहरूद्वारा ती पुस्तक छापिने, वितरण हुने व्यवस्था गरिनुप¥यो । यस्ता सामग्री अनलाइनमा पनि राख्नुप¥यो । यसो भए नेपाली साहित्य पनि अन्तर्राष्ट्रिय स्तरमा सहज रूपमा पुग्न सक्छ र विश्वका पाठकहरूले हाम्रो साहित्यका नितान्त नौला स्वादिला सामग्री चाख्न पाउने छन् । श्रीओम श्रेष्ठ बोल्छन्— नेपाली साहित्यका धेरै विधा अन्तर्राष्ट्रिय स्तरका छन् त्यसमा शङ्का छैन । हो अनुवादको कारण हामी आफैमा खुम्चिनु परेको छ । प्रतिस्पर्धा गर्न सकिरहेका छैनौँ । त्यसैले सर्वप्रथम स्तरीय सिर्जनाहरूलाई अनुवाद गरेर विदेशमा प्रचारप्रसार गर्न सक्यो भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सिर्जनाहरूको स्वतः स्तर मापन हुने थियो ।

हरि अधिकारी भन्दछन्— नेपालीमा लेखिएका श्रेष्ठ ग्रन्थहरूको अङ्ग्रेजी अनुवादलाई विश्व साहित्यको बजारमा दरो किसिमले पु¥याउन सकियो भने हामीलाई आफ्नो मूल्याङ्कन गर्न पनि सजिलो हुन्थ्यो र प्रतिभाशाली लेखकहरूले उचित मूल्य र पहिचान दुवै पाउन सक्थे ।

हरिहर खनाल भन्दछन्— हामीसित भएका राम्रा लेखकका रचनाहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर त्यसको एउटा सुव्यवस्थित बजार संयन्त्र विकास गर्ने र भाषामा दक्षता हासिल गरेका प्रतिभाशाली लेखकहरूलाई अङ्ग्रेजीमा नै लेख्ने वातावरण निर्माण गर्र्न सकियो भने हाम्रो साहित्यलाई विश्वस्तरमा पु¥याउन सकिएला कि भन्ने ठान्दछु म ।

होमनाथ सुवेदी भन्दछन्— नेपाली भाषाबाट अङ्ग्रेजी भाषा र अन्य भाषामा हाम्रो साहित्यको अनुवाद गर्न प्रोत्साहित गर्ने ।

जहाँ जहाँ नेपाली बसेका छन् त्यो त्यो देशका भाषा, कला र साहित्यमा नेपालीको भाषा, कला, साहित्य र दर्शनलाई जुनसुकै प्रकारले पनि रूपान्तरण गर्न प्रोत्साहित गर्ने । अनुवाद, सिर्जना, समालोचना र पुरस्कार, शिक्षण समेत समानान्तर रूपमा अगाडि बढाउनाले नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मदत गर्दछ ।

यसरी सबै स्रष्टाले अनुवादलाई दिएको महत्व सानो छैन । यसका लागि हाम्रा विश्वविद्यालयमा अनुवाद अध्ययन विभागै खोल्नुपर्ने समय आइसकेको छ । संसारका धेरै विश्वविद्यालयमा यस्ता विभाग छन्, यो विषय पढाइ हुन्छ । अनुवाद क्रियाकलापलाई अघि बढाउनका लागि विभाग वा विषयको स्थापना गरी अनुवादविज्ञको उत्पादन गर्दै जानुपर्छ साथै तत्कालै कृति छनोट गरेर अनुवाद कर्ममा लागि पर्नुपर्ने देखिन्छ ।

आज यी प्रतिनिधिमूलक वाणी र विचारको कदर गर्नुपर्ने दिन आएको छ । सबैले एकमुख लागेर एक चिन्तनको कुरा गर्दैछौँ तर नेपालीमा अनुवादको उपयुक्त वातावरण विकसित हुन सकेन । यसको आरम्भ राम्रो थियो तर वर्तमान निकै निराशामा छ । नेपाली साहित्यलाई विश्वतिर कसरी पु¥याउने भन्ने विषयमा गत जुलाई महिनामा अनेसास मस्को शाखाले एक कार्यक्रम गराएको थियो । त्यहाँ प्रस्तुत विश्वपरिवेशमा नेपाली साहित्य ः परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना शीर्षक गोष्ठी पत्रमै मैले आफ्नो उत्तर समावेश गरेको छु । हाम्रा विश्वविद्यालय तथा एकेडेमीले अनुवादको क्रियाकलापलाई व्यवस्थित र वैज्ञानिक आधारमा स्थापित नगरी नहुने दिन आएको छ । त्यसो त मोमिलाजस्ता ऊर्जाशील युवा पुस्ताले नेपाली साहित्यको व्यापकीकरणतिरको चिन्ता गर्न थालेका छन् । नेपाली कलासाहित्य डटकमको स्थापना गरी यसको एक प्रमुख उद्देश्य नेपालीबाट अङ्ग्रेजी लगायतका विभिन्न भाषामा अनुवाद राखेका छन् र सो अनुसार कार्यारम्भ पनि गरेका छन् तर एक व्यक्तिको अथवा संस्थाको उत्साहले मात्र पुग्दैन, तिनलाई सघाउन सबै लाग्नुपर्छ । यसमा लाग्नेहरूमा जीवा लामिछाने जस्ता व्यक्ति, गुञ्जन जस्ता संस्था पनि छन् । जीबा एक्लैले चारवटा कृतिको अनुवाद गराई प्रकाशित गराए । यो सानो प्रयत्न र योगदान होइन । सायद बाह्य विश्वमा नेपाली साहित्यको उपस्थिति शून्य देखेर उनले यी प्रेरक पाइला चालेका होलान् । त्यसैगरी गुञ्जनले दुई कृति गरायो । तर अब सम्पूर्ण नेपाली विश्व लागेर एकैस्वरमा अनुवादलाई संस्थागत गर्नेतर्फ लाग्नुपर्दछ । नेपाल भित्रबाहिर दुवैतिर आआफ्नो र संयुक्त प्रयास यसैमा केन्द्रित हुनुपर्दछ । अब पनि सरकारले यो कुरा बुझिदिएन भने नेपाली जाति अपरिचयमा नै रुमल्लिइरहनेछ । देशको परिचय भन्नु नै कलासाहित्य हो ।

देशपारीय (डायास्पोरिक) सिर्जनाको पुकार
प्रस्तुत अन्तर्वार्ताहरू केवल प्रश्नोतर होइनन् । ती ता नेपाली साहित्यको गति, स्थिति र दिशाबोध बारेमा गरिएका गम्भीर चिन्तन र विचार हुन् । यी प्रतिनिधि आवाजले प्रस्तुत गरेको प्रत्येक वाणीलाई अर्थ दिएर सुन्नुपर्ने समय छ । यो दिशानिर्देश र मार्गनिर्देश पनि हो । यो एकप्रकारले अभिमतहरूको सङ्कलन पनि हो । यसले वर्तमानको स्थितिबोध गराई अब आउने नेपाली साहित्यलाई दिशानिर्देश गर्दछ । भाषाप्रति हाम्रा बुझाइ र धारणाको नवीकरणतिर पनि सङ्केत गर्दछ ।

अघि भनेँ, प्रस्तुत वार्ताले ल्याएको तेस्रो र महत्वपूर्ण कुरा छ— डायास्पोराको अवधारणा, व्याख्या र विश्लेषण । एउटा गृहदेशबाट निस्केर, छुट्टिएर, हाँगिएर नागरिकहरू परदेशमा गई बस्ने, त्यहाँ पनि आफ्नो संस्कृतिको बिउ रोप्ने र त्यहाँ परिचयको चिन्ता र सङ्घर्ष गर्ने समुदायलाई डायास्पोरा, डायास्पोरिक कम्युनिटी भनिन्छ । यो वर्तमान विश्वसमाजले चलाएको पदावली र विकसित गरेको अवधारणा हो । संसारका प्रायः सबै विश्वविद्यालयमा यसको पठनपाठन, अध्ययन–अनुसन्धान हुन्छ ।

संसारमा छरिएका नेपाली जातिका यस्ता समुदाय सयौँ नाघिसके । तिनीहरूलाई परदेशी, प्रवासी, मुगलाने, लाहुरे यस्तै पदले बुझ्दथ्यौँ, तर अब डायास्पोरा पदलाई संसारले चलाउँदैछ । नेपालीमा यो धारणा र चेतना हुर्केको एक दशक नाघेको छ । यस वार्ता सङ्ग्रहले उठाएको यो महत्वपूर्ण प्रश्न हो । यस प्रश्नले मूलधार, डायास्पोरा जस्ता अवधारणाहरूलाई आजको सन्दर्भमा विमर्शको लागि प्रस्तुत गरेको छ । यहाँ पनि साहित्य लेखिन्छ, त्यहाँ पनि । यी साहित्य एक हुन् कि भिन्न हुन् ? यिनीहरूको अभिलेखन मूल्याङ्कन कहाँ हुन्छ, कसले गर्छ । अझ डायास्पोरिक साहित्यको उपयोग कसरी कसले गर्दछ ? तिनीहरूको प्रोत्साहन, पुरस्कार, मूल्याङ्कन, पठनपाठन, अभिलेखन कसको दायित्व हो ? अझ नेपाली साहित्य भनेको के हो ? जहाँ कुनै अधिकार छैन, जसको कुनै परिचय स्थापित छैन, त्यहाँ बसेर साहित्य उत्पादन गर्नेलाई राष्ट्रले कसरी हेर्नुपर्छ ? डायास्पोराले यस्ता प्रश्नतिर ध्यान दिन्छ । प्रायः प्रत्येक स्रष्टालाई त्यसबारे एक प्रश्न सोधिएको छ ।

उत्तर दिने क्रममा डिजिटल वार्तामा स्रष्टाले डायास्पोरिक नेपाली साहित्यबारे आफ्ना अनेक चिन्ता र अवधारणा व्यक्त गरेका छन् । प्रायः सबैलाई उस्तै उस्तै एक प्रश्न हुनेगर्छ ः डायास्पोरा साहित्य के हो ? मूलधारको साहित्यसँग यो कसरी समान वा अन्तर हुने गर्छ, यसको उन्नतिको लागि के गर्नुपर्ला आदि । यसको उत्तरमा अनेक परिभाषा, सुझाउ र व्याख्या प्राप्त भएका छन् । सारांशमा केही प्रस्तुत गर्नु आवश्यक ठान्दछु ।

सर्वप्रथम कमलमणि दीक्षितलाई सोधिएको प्रश्न छ— के डायास्पोरा साहित्य, प्रवासी साहित्य र मूलधारको साहित्य नेपाली साहित्यका अलग अलग बाटाहरू हुन् त ?

यसमा मेरो उत्तर हुँदैन । यस विषयका ज्ञाता हुनुहुन्छ डा. गोविन्दराज भट्टराई जस्ता विद्वान्हरू । उहाँहरूलाई सोध्नुपर्छ । नेपाली साहित्यका एक अनन्य साधकबाट व्यक्त भएको यो अपेक्षा सुन्दा मलाई लाग्छ— एउटा ठुलो जिम्मेदारी पुरा गर्नुपरेको छ । डायास्पोरा विषयको अध्ययन अनुसन्धान र सिद्धान्त निर्माणमा नेपाली वाङ्मयलाई सघाउनुपरेको छ । यसतर्फ थुप्रै काम हुँदैछन्, नेपाल बाहिर अझ धेरै । डायास्पोरा अध्ययन, अनुसन्धान र पुरस्कार स्थापित हुँदैछन् । यसको श्रेय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एनआरएनलाई जान्छ । यी दुवै संस्था मिलेर गतवर्ष अगस्ट १५–१६ मा अमेरिकाको न्यु योर्कमा नेपाली डायास्पोरिक साहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गराए । चार महादेशका प्रतिनिधिबाट गोष्ठीपत्र प्रस्तुत गरिए, विचार विमर्श भए । यसरी नेपाली साहित्यले एक भिन्न धारको उद्गम र विकासमाथि विचार गर्न थालेको यो ऐतिहासिक आरम्भकाल हो । यो अवसरमा प्रमुख आतिथ्यको अवसर प्राप्त गरेको मैले एक साहित्यमा डायास्पोरा–सिद्धान्त, सिर्जना र समालोचनाको स्वरूप शीर्षक गोष्ठी–पत्र प्रस्तुत गर्ने सौभाग्य प्राप्त गरेको थिएँ । डायास्पोरा विचार र सिद्धान्तलाई बुझाउन अझ राम्रो होला, यसले नेपाली साहित्यको सुदृढीकरण र मूल्याङ्कनमा अझै सहयोग गर्ला भनी त्यसलाई आफ्ना प्रश्नोत्तरमा (हेर्नू पृष्ठ ८३) समावेश गरेको छु ।

त्यस विषयमा क्रमशः अन्य स्रष्टाले आआफ्नो अभिमत प्रस्तुत गरेका छन् । मधुवन पौडेल भन्दछन्— मैले त खास फरक पाएको छैन, डायास्पोरामा त्यहाँको जीवनलाई समेत चित्रण गर्ने अभिव्यक्त गर्ने कुरा बढी होला । तर सञ्चारको क्षेत्रमा आएको क्रान्तिले गर्दा अब त झन् केही फरक जस्तो नदेखिएला ।

माधव पोखे्रल बोल्छन्— परदेशमा पुगेर विचलित भएको नेपाली मनले परदेशी साहित्य उत्पादन गरेको हो भने, स्वदेशमै बसेर भोगेका पीडा र उच्छ्वासहरू देशीय साहित्यका विशेषता हुन्छन् । अरू कति फरकका कुरा त माथि पनि परे जस्तो लाग्छ ।

मोहन सिटौलालाई सोधिएको लामो प्रश्न छ— अनेसास डायास्पोराको भाषा साहित्यको एकमात्र ठुलो संस्थाको रूपमा सर्वमान्य र स्थापित भएको छ । अब यसले नेपालको साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान, त्रिवि आदिसँग मिलेर भाषा साहित्यका लागि विभिन्न कार्य गर्नेबारे सोच्ने बेला भएन र ?

यो उत्तम कुरा हो । साझासित यस्तो एउटा सन्दर्भ बढेको छ । त्यसलाई अगाडि बढाउनुपर्छ । अनेसासले विभिन्न साहित्यिक संस्था र प्रिन्ट, इजर्नल र डटकमहरूसित ‘आपसी सहभागी मित्रता’(mutual partnership) को कार्य अगाडि बढाएर धेरै पत्रपत्रिका र सङ्घ संस्थासित हितेरी–मितेरी गाँसेको छ र आपसी हितका खैखबरीहरू छाप्ने र अन्य केही क्षेत्रमा साझेदारी कार्य गर्ने उद्देश्य राखेको छ । यो कार्य पनि अगाडि बढाउनुपर्छ । विश्वनेपाली डायास्पोरामा देशकाल परिस्थितिका कानुन, प्रचलन र नियमानुसार नेपाली प्रज्ञाप्रतिष्ठान, नेपाली कलेज र विश्वविद्यालय पनि खोल्नुपर्छ ।

युवराज नयाँघरेको अनुभवले भन्छ— धेरैधेरै फरक छ । मूलधारको साहित्य समग्र विषयको प्रस्तुति भएको छ तर डायास्पोरिक साहित्यमा बढी राष्ट्रिय अस्मिताको प्रतिबिम्बन देखिन्छ । विषय, शैली, प्रस्तुति वा प्रयोग धेरै हिसाबले यी दुईमा फरक देख्छु म । निश्चय नै भूगोल, परिवेश र संस्कृतिबाट प्रभावित हुन्छ लेखन पनि । त्यही आँखाले हेरिनुपर्छ यी दुईलाई । विधागत रूपमा शक्तिशाली कृतिहरू बाहिरबाट आउन सकेका छैनन् ।

हरि अधिकारीको मत केही फरक छ— असल साहित्य डायास्पोरा वा नन्न्डायास्पोरामा विभाजित हुँदैन । विषययवस्तु डायस्पोरिक हुनसक्छ । नेपाली भाषामा असल साहित्यको सिर्जना जसले जहाँ बसेर गरेपनि त्यो नेपाली साहित्यको मूलधारकै साहित्य हुन्छ र त्यो हाम्रो गौरवको विषय हुनेछ । साहित्य राष्ट्रका सीमामा मात्रै खुम्चने विषय होइन ।

हरिहर खनाल भन्दछन्— तपाईंले भन्न खोज्नु भएको मूलधारको साहित्य भनेको यहीँको सुखदुःखको, यहीँको आम नेपाली समाजको, यहीँको सामाजिक अन्तद्र्वन्द्वको कथा व्यथा होला । म त्यस्तै ठान्दछु । विदेशमा बस्ने नेपालीहरू र यहाँका मानिसका कथा व्यथा रूपमा केही फरकजस्ता देखिएपनि सारमा तिनीहरू उस्तै हुन् । मूलधारको साहित्यले देशभित्रको जनजीवन र सामाजिक परिपाटीलाई प्रतिबिम्बित गरेको हुन्छ भने डायास्पोरिक साहित्यले संसारभर छरिएर रहेका नेपालीहरूको सङ्घर्सपूर्ण जीवनलाई चिनाउने प्रयत्न गरेको हुन्छ । मलाई यस्तै लाग्छ ।

होमनाथ सुवेदीलाई अलिक विस्तृत प्रश्न थियो— डायास्पोरिक साहित्य पनि मूलधार भन्दा कम छैन । डायास्पोरिक साहित्यलाई पनि विद्यालय वा विश्वविद्यालयमा पढाउनुपर्छ जस्तो लाग्दैन तपाईंलाई ? त्यसको उत्तरमा उनी बोलेका छन्— अरू देशमा यो काम पुरानो हुन थाल्यो । हामीकहाँ अझ प्रश्न उठाइँदै छ तापनि केही वर्ष यता त्रिविले पनि यसमा चासो देखाएको छ र यसको अध्ययन अध्यापनको लागि विशेष व्यवस्था गर्न ढिलो भएको महसुस गरी काम हुन थालेको पनि मैले पाएको छु । यसलाई त्रिवि मात्र हैन नेपालका सबै विश्वविद्यालयले प्राथमिकतासाथ पाठ्यव्रmममा समावेश गर्नुपर्दछ र मात्र नेपाल र नेपालीको साहित्यले अन्तर्राष्ट्रिय स्तरको साहित्यसित भिड्न सक्दछ ।

उनलाई अर्को पनि प्रश्न थियो— नेपाली डायास्पोरिक साहित्यको बेग्लै इतिहास लेख्ने बेला आएन ?

किन न हुने ? यसमा कसैको कलम चलेको न देखेर त मैले स्वयम् समुद्रपारको समालोचना लेखेँ र छापेँ । मैले नै लेखेको हुनाले मेरै साहित्यको बारेमा मैले नै बखान गर्न पनि मिलेन । त्यसैले नेपाली डायास्पोराबाट लेखिएका अमूल्य औपन्यासिक कृतिहरू त्यसमा छुटेका छन् । मेरै त छुटे भने अरूको कति छुटेका होलान् । तैपनि ताना शर्माको भनाइमा यो कृति एक महत्वपूर्ण ऐतिहासिक दस्ताबेज हो । अझै विस्तृत रूपले नेपाली डायास्पोरिक साहित्यको इतिहास लेखन अत्यन्त खाँचोको विषय हो ।

यसप्रकार डायास्पोरा चर्चा र वार्ताले नेपाली पाठकमा एक गम्भीर प्रश्न र मननयोग्य विषय प्रस्तुत गरेको छ ।

समकालीनतामाथिका अन्य विमर्श
डायास्पोरिक नेपालीको अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा अनेसासले अनेक आगामी निर्णय प्रस्तावित गरेको थियो । वास्तवमा डायास्पोरा, साइबर संस्कृतिको साहित्य र अनुवाद तीनवटै विषयमा नेपालभित्र भन्दा बाहिरले बढी चासो र उत्साह लिएको छ । उनीहरूको लागि आफ्नो ठाउँमा जातीय पहिचानको लागि सर्वत्र साहित्यिक जग हुनु आवश्यक कुरा भएको छ । त्यसको लागि अनेसासले प्रथम कार्य गरेको छ । त्यसो त बेलायतमा नेपाली साहित्य परिषद्, यु के; नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत; नेपाली साहित्य प्रतिष्ठान, हङकङ; सिर्जनशील साहित्य समाज, हङकङ; भयवाद अध्ययन केन्द्र; हङकङ प्रवासी साहित्य समाज, ब्रुनाई; प्रवासी नयाँ साहित्यिक समाज, मलेसिया लगायतका सयौँ संस्थाहरू ‘डायास्पोरिक’ नेपाली साहित्यको उत्थानमा, सम्बलनमा समर्पित छन् । अब यतिखेर सम्पूर्ण डायास्पोरिक नेपाली भाषा, कला, साहित्य र संस्कृतिको एक अन्तर्राष्ट्रिय, परादेशीय सङ्गठन चाहिएको छ । एक विश्वएकेडेमीको आवश्यकता छ । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले यो कुरा प्रस्ट पार्दै यसको पक्षमा निवेदन गर्दै आएका छन् । यस कृतिको प्रकाशकीयमा यो कुरा खुलेको छ ।

त्यही अनेसासका अनेक लक्ष्यमध्ये यो कृति समकालीन विषयहरूको चिन्तन चौतारीको रूपमा प्रस्तुत छ । साथै हाम्रा विश्वविद्यालयले डायास्पोरिक साहित्यको पठनपाठनतिर ध्यान दिन थालेको बेला त्यहाँ कति सन्दर्भ सामग्रीको सम्भावित अभावपूर्ति गर्नेतर्फ पनि यो प्रकाशन एक महत्वपूर्ण पाइला भएर प्रस्तुत छ, हुनेछ ।

वार्ताले भाषा–साहित्यसित सम्बद्ध अरू पनि अनेक प्रश्न उठाएको छ । अनेक विचार र धारणा ल्याएको छ । उदाहरणको लागि डा. टङ्क न्यौपानेको शब्दमा अनेक ‘नेपालेली’ भाषाहरूमा, मातृभाषा शिक्षा, तिनको उपभोग, प्रयोग, संरक्षण संवद्र्धनका कुरा विक्रम सुब्बा, मोहन दुवाल, माधव पोख्रेलहरूका विचारमा जोडिएको छ । राजनीतिक प्रशासनिक अतीतहरू मेटिएर परिवर्तनको सँघारमा पुगेको यसबेला एकातिर नेपाली भाषाको अन्तर्राष्ट्रिय आँगनसम्मको विस्तृति र अर्कातिर सम्भावित सङ्कुचनको कुरा पनि चर्चामा छन् । तर एउटा कुरा कविताराम श्रेष्ठको धारणा अलिक स्पस्ट भए राम्रो हुन्थ्यो लाग्दछ । नेपाली भाषाको संवद्र्धनमा समर्पित उनले संस्कृतको महत्वको न्यूनीकरण गर्दा वृक्ष सुकाएर फल खाने जस्तो लाग्दछ । निर्विवाद छ, संस्कृतको प्रशंसा, प्रेम र प्रयोगमा नै नेपाली वाङ्मयको जीवन अडिएको छ नेपालीको भविष्य पनि ।

नारी स्थिति, सिर्जना र संलग्नताबारे मोमिला र ज्ञानु पाण्डेले नयाँ धारणा राखेका छन् । प्रत्येक स्रष्टा एक विशेषता र योगदानको दीर्घ इतिहास बोकेर उभिएका छन् । केही आन्दोलन विचार, बालसाहित्यसँग जोडिका कविताराम, साहित्यिक पत्रकारिताका शिखर नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल एक नवीन सोच र परिकल्पनाकी धनी मोमिला, साहित्य सेवामा समर्पित नरेन्द्रराज प्रसाईं, भाषाले साहित्य हेर्ने बहुमुखी शक्ति माधव पोख्रेल, जातीय चेतना र एथ्निक मार्जिनलताका पक्षमा विक्रम सुब्बा र दीर्घ साधक हरिहर खनाल, सम्पादन प्रकाशनमा समर्पित युवा धीरकुमार श्रेष्ठ, विमल भौकाजी, नयाँ सोचले उठेका स्थापित चेतना मधु माधुर्य, सुन्दर लेखक युवराज नयाँघरे, श्री ओम श्रेष्ठ— प्रत्येक कलम आदरणीय छन्, उदाहरणीय छन् । वार्ताले यी स्रष्टाको व्यक्तिगत धारणा, सोच, लेखन दर्शन, योगदान— धेरै कुराको जानकारी उत्खनन गरेका छन् । वार्ताको प्रवेशद्वारमा उभिने कमलमणि दीक्षित र निर्गमद्वारका होमनाथ सुवेदी संयोगले त्यहाँ परे तर यस पराइको साङ्केतिक अर्थ छ । सिनियर पुस्ताका अति आदरणीय वाङ्मय धरोहर दीक्षितको लागि नेपाली भाषा साहित्यका प्रत्येक कदममा चासो, गुनासो, प्रेम, माया छ । यतिखेर विश्वएकेडेमीका परिकल्पनाकार होमनाथ सुवेदीको हामीलाई सम्झना भइरहेको छ ।

म प्रत्येक स्रष्टालाई हार्दिक बधाई दिन चाहन्छु । त्यसमा पनि विशेष गरी कृष्ण बजगाईंलाई जसले हजारौँ कोस टाढा बसेरपनि यी विविधतापूर्ण विचारका संवाहक स्रष्टा रोजे, प्रश्न रचे, उत्तरलाई विद्युतीय माध्यममा प्रवाहित गरे र अन्त्यमा मलाई यति फूल सिउरिने अवसर प्रदान गरे । यस्ता कृष्णको बारेमा अलिकति बोल्नु यहाँ सान्दर्भिक ठान्दछु । यन्त्रवत् (लघुकथा सङ्ग्रह २००७) र हिउँको तन्ना (हाइकु सङ्ग्रह २००९) का स्रष्टा कृष्ण हालै अर्को लघुकथा सङ्ग्रह (रोडम्याप २०१०) प्रकाशित भइसकेको छ भने नियात्रा सङ्ग्रह ग्रेटवालदेखि इफेल टावरसम्म प्रकाशोन्मुख । अनेकौँ साहित्यिक पत्रिका/स्मारिकका सम्पादक कृष्ण अनेसास जस्तो गौरवमय संस्थाको महासचिव एवम् बेल्जियम च्याप्टरका वर्तमान अध्यक्ष रहेका छन् । यस्ता वाङ्मयसेवी कृष्णले डिजिटल वार्ताको संयोजन र सम्पादन गरी एक ऐतिहासिक कर्म पूरा गरेका छन् । कृष्णको प्रयासलाई नेपाली वाङ्मयले सदा सम्मान गर्नेछ; किनभने यो संयोजकको भूमिका एक प्रकारले सर्जकको भन्दा ठुलो छ । उनले एक असम्भव कार्यको संयोजन गरी त्यसलाई सम्भव गराएका छन् । यसमा अलिकति जोडिन पाउँदा म विशेष प्रसन्न छु ।

यो नेपाली वाङ्मयमा प्रकाशित यसप्रकारको प्रथम विचार तरङ्ग हो । यो प्रत्येक पाठकमा पुगोस्, प्रत्येक सर्जकमा, देशमा विदेशमा । यसले सोच्ने केही भाषा र विचार गर्ने केही तरङ्ग प्रदान गरोस्; अवश्य गर्नेछ भन्ने आशा गर्दै म यहीँ रोकिन्छु ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 जेठ, 2067

लेखकका अन्य रचनाहरु