डायास्पोरिक उपन्यास ‘यमपुरीको महल’ को विश्लेषण

- डा. रामनाथ ओझा

१. उपन्यासकार होमनाथ सुवेदी
होमनाथ सुवेदीको जन्म वि.सं. २००४ साल असोज २७ गते धवलागिरि अञ्चलमा पर्ने म्याग्दी जिल्लाको ताकम गाउँमा भएको हो । एम.ए. (नेपाली), बी.एड. उत्तीर्ण गरी एम.एड. सम्मको अध्ययन गरेका सुवेदी वि.सं. २०३८ सालमा अमेरिका गई हाल उडब्रिज, भर्जिनियामा स्थायी बसोबास गर्दै आएका छन् । उनले वि.सं. २०२५ सालमा नेपाली छात्र सङ्घ दिल्लीबाट प्रकाशित हिमाल पत्रिकाको वर्ष १, अङ्क १ मा अविवेक शीर्षकको कथा प्रकाशित गरी औपचारिक साहित्यिक यात्राको थालनी गरेका हुन् । हालसम्म उनले उपन्यास, कविता, कथा, गलज, समालोचना लगायतका विविध विधामा कलम चलाएका छन् । उनका हालसम्म प्रकाशित कृतिहरू निम्नानुसार छन्:

उपन्यास– न्याउली (२०४३), रत्ना (२०४३), नजर (२०४४), त्रिमूर्ति (२०४४), वीणा (२०४५), देउराली (२०५१), अङ्कुर (२०५३), यमपुरीको महल (२०६४) ।
कविता– प्रवासी स्वर (२०५४), आप्रवासका सुसेली (२०६३)
कथा– नेपाली लोककथा (छन्त्यालको छेउछाउबाट (२०५२), चिरिएको मुटु (२०६४)
गजल– सेता गजल (२०६४)
समालोचना– समुद्रपारका समालोचना (२०६५)
पत्रसाहित्य– आप्रवासीका पत्र (२०६६–सङ्कलन)
विविध– मृदुलका गजल (२०६६–सम्पादन)

यसरी साहित्यकार होमनाथ सुवेदीले विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यमा आफूलाई सफल उपन्यासकार, कथाकार, गजलकार, कवि र समालोचकका रूपमा चिनाएका छन् । लोकसाहित्यका क्षेत्रमा विशेष काम गरेका सुवेदी नेपाली पाठ्यक्रम विशेषज्ञ र नेपाली भाषा शिक्षण प्रशिक्षक भएर पनि काम गरेका छन् । उनको नेपाल र अमेरिकामा विभिन्न संघ–संस्थासँग संलग्नता देखिन्छ । उनले अन्नपूर्ण पुस्तकालय म्याग्दी र धवलागिरि जन क्लब काठमाडौंको संस्थापक अध्यक्ष, धवलागिरि साहित्यिक पत्रिकाको सम्पादक, ए.एन्.एस्. (America Nepal Society) वासिङ्टन डि.सी. को उपाध्यक्ष, नेपाली भाषा समितिको अध्यक्ष, ए.एन्.ए. को उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थापक अध्यक्ष भई काम गरिसकेका छन् । उनले अमेरिकाबाट प्रकाशित अन्तर्दृष्टि साहित्यिक पत्रिकाको प्रधान सम्पादक र संरक्षक, विद्युतीय न्युजलेटर इन्साइटको सम्पादन समेत गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेर लामो समयदेखि नेपाली भाषासाहित्यको सेवामा संलग्न रहँदै आएका सुवेदीले रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार (२०५४), सूर्यनारायण साहित्य पुरस्कार (२०६२), Poet of the Merit Award Medal (2003), Outstanding Achievement in Poetry Silver Award Cup (2003) जस्ता सम्मान र थुप्रै संघसंस्थाबाट सम्मान र कदरपत्र प्राप्त गरेका छन् । प्रवासमा बसेर नेपाली भाषासाहित्यको अग्रणी भूमिका निर्वाह गरेबापत उनलाई Pioneer of Nepali Literture in the Nepali Diaspora (2004) को उपाधि प्रदान गरिएको छ ।

यसरी नेपाल र अमेरिका दुवै ठाउँमा रहेर लामो समयदेखि नेपाली भाषा र साहित्यको सेवामा संलग्न रहेका सुवेदीले नेपाली साहित्यका विविध विधामा सफलताका साथ कलम चलाएका छन् । उनी मूलतः उपन्यासका रूपमा बढी सक्रिय रहेका छन् । प्रवासमा रहेर डायास्पोरिक उपन्यासको रचना गर्ने तथा त्यसको अग्रणी नेतृत्व गर्ने सुवेदीको यहाँ समग्र उपन्यासकारिताको चर्चा नगरी यमपुरीको महल उपन्यासलाई मूलतः डायास्पोरिक उपन्यासका रूपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

२. यमपुरीको महल उपन्यासको संरचना
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट वि.सं. २०६४ सालमा प्रकाशित यमपुरीको महल उपन्यासको मूल अंश डिमाइ साइजको १५२ पृष्ठमा संरचित छ । यसलाई विभिन्न अठार अध्यायमा विभाजन गरिएको छ । ती विभिन्न अध्यायहरूलाई १,२,३ .... गरी नम्बर दिएर छुट्याइएको छ । यी १८ अध्यायहरूमध्ये पहिलो र अन्तिम अध्याय नेपालमा घटेका छन् र उपन्यासको नायक प्रेम जाग्रत अवस्थामा रहेका बेला उसका मनमा उठेका भावहरूलाई व्यक्त गरिएको छ । पहिलो अध्यायमा ऊ आफ्नै गाउँ राखुको घरमा हुन्छ र घरको आँगनमा पल्टिएर मनमा अनेक कुराहरू खेलाउँछ । दोस्रो अध्यायदेखि सत्रौं अध्यायसम्मका विषयवस्तु प्रेमले स्वप्नमा विचरण गरेको अमेरिका र उसका मनमा जागृत भएका भावहरूमा केन्द्रित छ । अन्तिम अध्यायमा ऊ निद्राबाट ब्यँुझन्छ र आफ्नै आँगनमा हुन्छ । समयका दृष्टिले सिङ्गो उपन्यास प्रेमको ३–४ घण्टाको स्वप्नको उत्पादन हो । तथापि उसले त्यस समयभित्र आफ्नो जीवनको ५० भन्दा बढी वर्षको जीवन–यात्रामा विचरण गरेको छ । यसरी उपन्यासको कथावस्तु र त्यसको प्रस्तुतिमा पूर्वस्मृति (Flash Back) पद्धतिलाई प्रयोग गरी संरचना निर्माण गरिएको छ ।

पूर्वस्मृति र चेतनप्रवाह शैलीमा लेखिएको उपन्यास भएर पनि उपन्यासलाई विभिन्न अध्यायमा विभाजन गर्नु तथा अध्यायहरू बीचको एक प्रकारको सङ्गति हुनु उपन्यासको आन्तरिक संरचनागत विशिष्टता हो । उपन्यासकारले प्रत्येक अध्यायको आरम्भमा त्यस अध्यायमा आउने कथावस्तुको सङ्केत गरेका छन् भने अध्यायको अन्तिममा गएर वर्णित विषयको उल्लेख गरी आगामी अध्यायको सङ्केत गरेका छन् । फेरि पछिल्लो अध्यायको सुरुमा अघिल्लो अध्यायको सार उल्लेख गरी त्यस अध्यायमा आउने घटनाको सङ्केत गरेका छन् । जस्तै ः

पहिलो अध्याय
आरम्भ
म पीडित युवक प्रेम विपनामा नेपालमा थिएँ (सुवेदी; २०६४ः१)
अन्त्य
छन त म पीडित युवक प्रेम विपनामा नेपालमा थिएँ, तर अमेरिकाको सपना देखें । त्यो महायात्राको अन्तिम दिन, म प्रेम सपनामा अमेरिकाको अस्पतालमा थिएँ (सुवेदी;२०६४ः५) ।

दोस्रो अध्याय

सुरुमा
छन त म पीडित युवक प्रेम विपनामा नेपालमा थिएँ, तर अमेरिकाको सपना देखें । त्यो महायात्राको अन्तिम दिन, म प्रेम सपनामा अमेरिकाका अस्पतालमा थिएँ । (सुवेदी; २०६४ः६)

अन्तिममा
अमेरिकाको स्वप्निल यात्राको अन्तिम दिन, म प्रेम अमेरिकाको अस्पतालमा थिएँ । आसन्न मृत्युको अन्तिम घडीमा प्रथम दिन, प्रेम अमेरिकाको लुरेक्यार्मनमा हराएको याद प्रत्यक्ष आउँछ । (सुवेदी;२०६४ः९)

यसरी उपन्यासकार सुवेदीले अध्यायभित्र मनोलोकको विचरण गरेर पनि प्रत्येक अध्याय बीचको सङ्गति, आगामी अध्यायको सङ्केत र अध्यायको आरम्भमा अघिल्लो अध्यायको स्मरण गराएर अध्याय संरचनामा नवीनता ल्याउनुका साथै आन्तरिक संरचनालाई मजबुत बनाउने प्रयास गरेका छन् । ठोस कथावस्तु नभएकाले कथावस्तुगत संरचना मजबुत नभए पनि भावलोकको तरङ्गलाई मसिनो धागोमा बुन्ने काम गरेकाले उपन्यासको बाह्य तथा आन्तरिक संरचना व्यवस्थित देखिन्छ ।

३. कथावस्तु
यमपुरीको महल उपन्यासमा स्थूल कथानक छैन । यसमा पात्रको अनुभूतिचित्र मात्र प्रस्तुत छ । उपन्यासको प्रमुख पात्र पे्रमको जीवन भोगाइ, थोरै जाग्रत अवस्था र अत्याधिक स्वप्न अवस्थाका भावहरूको अभिव्यक्ति उपन्यासको कथावस्तु बनेर आएको छ ।

उपन्यासको पहिलो अध्यायमा नायक प्रेम म्याग्दीको राखु भन्ने गाउँको घरको आँगनमा सुतेर मनमा अनेक कुराहरू खेलाउन थाल्छ । ऊ पैतृक सम्पति भएको व्यक्ति भएर पनि अहिले उसलाई चर्को आर्थिक समस्या परिरहेको छ । उसकी लक्ष्मीप्रिया नाम गरेकी श्रीमती, विप्लव, शिव र सुन्दर तीन छोरा तथा शान्ती र कान्ती दुई छोरीहरू छन् । सानैमा उमेर घटाएर एस.एल.सी. पास गरी बी.एड. उत्तीर्ण गरेर माध्यमिक विद्यालयमा पढाउन थालेको पे्रम शिक्षक हडतालमा लागेका कारण उसको जागिर फुस्किएको थियो । ऊ एघार वर्ष अगाडि टुरिस्ट भिसामा अमेरिका गएर फर्किएको थियो । पाकिस्तानीले टुरिस्ट भिसाका लागि स्पोन्सर पठाइदिन्छु भनेर नेपाल फर्किएको प्रेम भिसा नआएकाले नेपालमै थन्किएर बसेको छ । ऊ अहिले आफू केही गर्न नसकेकोमा चिन्तित छ र भोक न निद्राले पीडित बन्दै मनमा अनेक कुराहरू खेलाउन थाल्छ । उसले आफूलाई एउटा सिङ्गो लासभन्दा भिन्न केही ठान्दैन ।

उपन्यासको दोस्रो खण्डमा प्रेमले सपना देख्छ । यस अध्यायमा ऊ अमेरिकाको अस्पतालमा हुन्छ । ऊ अमेरिकाको स्वप्निल यात्राको अन्तिम दिन आफूलाई अस्पतालमा भएको पाउँछ । उसको उपचारका लागि डाक्टर जर्ज र नर्स जुरी जुटिरहेका हुन्छन् । ऊ यति खेर ७२ वर्षको वृद्ध हुन्छ । ऊ कालो रगत छाद्थ्यो र कालो रगतका चोक्टा छेथ्र्यो । उसको मास्तिष्कमा दुईवटा सर्प जन्मेर उसलाई भित्रभित्रै डसिरहेको अनुभव गरिरहेको थियो । ऊ अस्पतालको सेतो तन्ना बिछ्याएको खाटमा लासझैं पल्टिएको थियो । उसका नाकबाट बुढीऔंला जति मोटा दुई फिट लामा नाइलनका डोरी घुसाएर गुदद्वारसम्म पु¥याइएको थियो । ऊ असह्य पीडाले छटपटाइरहेको थियो तर डाक्टरका लागि ऊ आफूलाई भ्याकुतोसम्म नसम्झेको अनुभव गरिरहेको थियो । उसले आफ्नो जीवनको अन्तिम दिनको अन्तिम घडी कुरिरहेको थियो र आफ्नो जीवनको समय कङ्कड विमानका गतिमा कुदिरहेको अनुभव गरेको थियो ।

तेस्रो अध्यायमा प्रेमले अमेरिकाको पहिलो दिनको स्मरण गरिरहेको छ । ऊ आफ्नो मित्र थमबहादुर र अन्य साथीहरूसँगै शैक्षिक तालिम भ्रमणमा अमेरिका गएको हुन्छ । ऊ त्यहीं हराउने सोचमा आफ्नो विचार साथी थमबहादुरसँग राख्दा उसले गाली गर्छ । तथापि प्रेम अमेरिकाको लुरेक्यार्भनमा एउटा दुलोजस्तो गल्लीभित्र पसेर साथीहरूबाट छलिन्छ । त्यहाँबाट निस्केर एक्लै सडकमा हिंडिरहेका बेला एउटी अधवैंशे महिला हीराले गाडी रोकी उसलाई त्यहाँबाट १०० माइल टाढा वासिङ्टन डिसीको बलास्टिन मेट्रो स्टेसनमा ओरालिदिन्छे ।

चौथो अध्यायमा प्रेम वासिङटन डिसीको बलस्ट्रिनको सबवेभित्र रेलमा बसेर यता र उता गर्दै निरुद्देश्य यात्रामा रात बिताउँछ । त्यस बेला उसले अनेक पटक विगतका अनेक घटनाहरू विश्रृङ्खल रूपमा सम्झन पुग्छ । ऊ कतिखेर प्लेटफर्मको बेन्चमा बस्छ । त्यहीं एकजना भारतीय व्यक्ति आएर उसलाई दुर्गादेवीको पुजारी बन्ने प्रस्ताव राख्छ, पछि ग्रिनकार्ड पनि पाइने कुरा गर्छ तर ऊ पुजारी बन्न अस्वीकार गर्छ र ऊ फेरि रेलमा चढेर भूमिगत रेलको अन्तिम स्टेसन न्युक्यारोल्टन पुग्छ र बस्छ । त्यहाँ पुलिसले लखेटेपछि अर्कोतिर भाग्छ र रात बिताउँछ ।

पाँचौं अध्यायमा भूमिगत रेलभित्र र स्टेसन वरिपरि यता र उता गर्दै मगन्तेझैं एक वर्ष बिताउँछ । ऊ केही पाए खान्थ्यो नपाए भोकै दिन–रात काट्थ्यो । उसले त्यहीं एक दिन एक डलर भेट्टाउँछ । काम खोज्दा कतै काम पाउदैन । उसले त्यही एक डलरको एउटा वियर र कुकुरको मासु लिएर पसलबाट बाहिर निस्कँदा ढोकामा ठोकिन्छ । अर्को एकजना मानिस आएर उसको हातबाट बियर र मासु खोसेर हिंड्छ । ऊ केही गर्न सक्दैन । ऊ टोलाएर बसिरहेका बेला हीरा बाटाको पोलमा ठोकिएर लड्छे ।

छैठौं अध्यायमा ऊ हत्तरपत्त हीरालाई उठाउन पुग्छ । हीराले उसलाई चिन्दिन । हीराले उसलाई ५ डलरको नोट हातमा थमाएर जान्छे । डलरले उसमा शक्ति जाग्दछ र ऊ डिसी डाउनटाउनतर्फ जान्छ । सहरभरि हिउँ परेको हुन्छ । हिउँले बाटो रोकेको हुन्छ । उसले एक ठाउँमा बेल्चाले हिउँ पन्छाएर ३.५ डलर पाउँछ । ऊ बेल्चासहित भूमिगत रेलभित्रै रात काट्छ । रातमा निद्रामा र अर्धनिद्रामा प्रत्येक क्षण श्रीमती र छोराछोरीका अनुहार, दृश्य र संवादहरू उसमा आइरहन्छन् ।

सातौं अध्यायमा प्रेम ब्लस्टिन नर्थग्लिब रोडमा परेको हिउँ पन्छाउने जागिर खोज्दै बेल्चा बोकेर हिंड्दै हीराको घरमा पुग्छ । उसले हीराको घर अगाडिको सबै हिउँ पन्छाउँछ । हीराले उसलाई घरभित्रको वैठक कोठा मिलाउन र सफा गर्न लगाउँछे । सकी नसकी उसले सोफाहरू सारेर सफा गर्दछ । काम सकेपछि उसले १० डलर पाउँछ । ऊ खुब खुशी हुन्छ । ऊ आफूलाई पाकिस्तानी भनी चिनाउँछ । बास नभएको थाहा पाएपछि आफ्नै बाथरुममा नुहाउन लगाउँछे र मीठो कफी खुवाउँछे । उसले एकजोर चप्पल पनि पाउँछ । यतिबेला ऊ नेपालबाट गएको पाँच वर्ष भएको हुन्छ । ऊ त्यहाँबाट निस्केर स्टेसनमा पुगेपछि बेल्चा हीराका घरमा छुटेको थाहाँ पाउँछ र हीराका घरमा बेल्चा लिन जान्छ । हीराले उसलाई आफ्नै घरको एउटा कोठामा बस्न दिन्छे । राति १२ बजे उसलाई हीराले मासु र भात दिन्छे । केही महिना ऊ कहिले त्यहीं र कहिले स्टेसनमा गरी रात काट्छ । पछि हीराले आफ्नै घरमा बस्ने भरतसँग प्रेमको चिनजान गराउँछे र भरतले उसलाई सेभेन एलेभन स्टोरमा काम लगाउँछ ।

आठौं अध्यायमा उसले त्यहाँ काम थाल्दछ । ऊ हीराको घरमा बस्न थालेको तीन वर्ष पुग्छ । अमेरिका बस्न थालेको आठ वर्ष पुग्दा पनि उसले ग्रिन कार्ड पाउँदैन । दुःखमा हीराले आफूले भरतबाट सन्तान पाउन नसकेको गुनासो गर्छे । उता भरतको पसलमा काम गर्ने ईश्वरी नामको व्यक्तिबाट ऊ अपमानित र उपेक्षित बन्दै जान्छ । भरतले प्रेमलाई रेस्टुराँमा जागिर सारिदिन्छ । सोह्र महिना उसले त्यही रेस्टुराँमा अपमानित भएर काम गर्छ ।

नवौं अध्यायमा प्रेम पूर्ण रूपमा यमपुरीको महलको परिकल्पनामा रमाउँछ । उसले उपन्यासको रचना गर्ने र त्यसको स्वरूप कस्तो बनाउने भन्ने सम्बन्धमा आत्मलापी शैलीमा आफ्ना विचारहरू खेलाउँछ । यही क्रममा उसलाई डेभिडले कामबाट सस्पेन्ड गरिएको जानकारी दिन्छ । पछि भरतले उसलाई आफ्नै सेभेन एलेभनको स्टोरमा इन्चार्ज नियुक्त गर्दछ । यहाँ उसले पैसा कमाएको र घरमा पठाएको कुरा सम्झन्छ । दशौं अध्यायमा प्रेमको अन्तद्र्वन्द्वको कथा छ । ऊ आफ्नो दैनिकी लेख्दै जान्छ । ऊ आफ्ना कामदार साथीको लोभ, ईष्र्या, अपमान र अपशब्दबाट वाक्क भएर नेपाल फर्कने मन पनि गर्छ तर नेपाल आएर पनि शान्ति नहुने ठानी अन्र्तद्वन्द्वमै रुमलिन्छ । एघारौं अध्यायमा कहिलेकाहीं दिक्क भएर अफिसमै बस्दा हीरा गाडी लिएर उसलाई घर ल्याउँछे । कामदारको अन्तर्विरोधले उसलाई बसिनसक्नु भएको छ । हीराको गाडीमा आउँदा ऊ मस्तसँग मनोलोकमा विचरण गर्दछ । बाह्रौं अध्यायमा पत्नी, प्रिया र सिर्जनाको त्रिकोणात्मक चापले आन्दोलित मनका भावहरू व्यक्त गर्दछ । तेह्रौं अध्यायमा घरबाट चिठी पनि नआएको र फोन पनि नआएको चिन्ताले घर सम्झेका मनोभावहरू व्यक्त गर्दछ ।

चौधौं अध्यायमा ऊ यमपुरीको महल बनाउने रहर र बनाउन नसकेको पीडाबाट मनोरोगी बनिरहेको छ । विगत र वर्तमानका स्मरणलाई दैनिकीमा टिपिरहेको छ । अमेरिका गएको पच्चीस तीस वर्ष भइसक्दा पनि उसले घर बनाउन सकिरहेको छैन । काम गरेर र ओ.टी. गरेर पनि काम बराबरको पैसा पाउन सकिरहेको छैन । उसमा विद्रोह गर्ने आँट र परिस्थिति छैन । ऊ विवश भएर बाँचिरहेको छ । पन्ध्रौँ अध्यायमा हीरा र प्रेमका बीच फोनमा वार्ता चल्छ । हीरालाई भरतले एउटी रखौटीका रूपमा राखेर शारीरिक शोषण गरेको थियो । उसबाट कुनै सन्तान पनि नजन्मेको र जवानी ढल्दै गएपछि अहिले उसले शारीरिक संसर्ग समेत गर्न छाडेको पीडा व्यक्त गर्दछे । कुराकै सिलसिलामा शारीरिक संसर्ग र वीर्यको लेनदेनलाई अनैतिक कार्य होइन भनेपछि हीरा प्रेमकै कोठामा आउँछे र उनीहरूका बीच चुम्बन र शारीरिक सम्पर्क समेत हुन्छ । सोह्रौं अध्यायमा यमपुरीको महल निर्माणका सपनाहरू पूरा नभएर चरम निराशाका भावहरू व्यक्त गर्दै प्रेम जिजीविषाको भाव व्यक्त गर्दछ ।

सत्रौं अध्यायमा प्रेम जीवनको अन्तिम दिन गन्दै अस्पतालमा बिरामी पर्दछ । उसले रगत वमन गर्दछ । रगतकै दिशा र पिसाब गर्दछ । उपचारमा संलग्न डाक्टरले रगत दिने मान्छे सोध्छ । भरत प्रेमलाई आफ्नो मान्छे होइन भनी हिँड्छ । हीरा पनि उसलाई पति वा प्रेमी केही नभएको भन्दै हिँड्छे । उसका नाकबाट पाइप घुसार्दै उपचारमा संलग्न डाक्टरले उसलाई बचाउन नसक्ने ठानी त्यहीं छाडेर हिँड्छ । अन्तिम अठारौं अध्यायमा प्रेम सुरुमा अमेरिकाको अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुन्छ र केही बेरपछि ऊ ब्युँझन्छ । ऊ सपनाबाट ब्युँझदा आफ्नै घर राखुमा पाउँछ । ब्युँझेपछि श्रीमती लक्ष्मीप्रियाले निद्रामा दश पन्ध्र मिनेटमा छटपटाउँदै बर्बराइरहेको कुरा बताउँछे । महानिद्रा र महासपनाको समाप्तिसँगै उपन्यास समाप्त हुन्छ ।

४. पात्रविधान
यमपुरीको महल उपन्यासको प्रमुख पात्र प्रेम हो । ऊ उपन्यासको आदिदेखि अन्तसम्म उपस्थित छ । क्रियाशीलताका दृष्टिले ऊ मात्र यस उपन्यासको प्रमुख क्रियाशील पात्र हो । नेपालको म्याग्दी जिल्लामा पर्ने राखु गाउँको एक शिक्षित तर बेकार पात्र प्रेमको चेतन र अवचेतनका भावको अभिव्यक्ति, जीवनका ७२ वर्षमा पुगेर त्यस बिन्दुबाट जीवनलाई पूर्वस्मरण गर्दा जीवनमा सम्पर्कमा आएका व्यक्ति तथा स्वप्न संसारमा विचरण गर्दा त्यस संसारमा सम्पर्कित व्यक्तिहरू यस उपन्यासका सहायक पात्र र गौंण पात्रका रूपमा देखापरेका छन् । यस सन्दर्भमा उपन्यासमा देखापरेका पात्रहरू हुन्– श्रीमती लक्ष्मीप्रिया, छोराहरू–विप्लव, शिव र सुन्दर, छोरीहरू– शान्ति र कान्ति, स्वप्नलोक अमेरिकाकी प्रेमिका हीरा, अमेकिाका अन्य पात्रहरू– भरत, घनानाथ, डाक्टर जर्ज, नर्स जुडी, थम्बहादुर, मदनबहादुुर ठकुरी, अम्बर, ईश्वरी, प्रताप, पाठक, काजिमान, ज्याक, मेरी, श्याम, गोपाल, धना, बिमला, रवीन्द्र, नारायणसिंह आदि ।

उल्लिखित पात्रहरूमध्ये उपन्यासको नायक प्रेम हो । सिङ्गो उपन्यास उसको जीवन, नैराश्यता, पीडा, पश्चाताप र मूल्यहीनतामा केन्द्रित छ । ऊ उपन्यासको पहिलो र अन्तिम अध्यायमा विपनामा र दोस्रोदेखि सत्रौं अध्यायसम्म सपनामा देखापरेको छ । उसको विपनालोक नेपाल हो भने स्वप्नलोक अमेरिका हो । उसको विपनालोकमा श्रीमती लक्ष्मीप्रिया देखापरेकी छ भने छोराछोरी र बाबुआमा स्मरणमा आएका छन् । बाँकी सबै पात्रहरू उसको स्वप्नलोकको यात्राका क्रममा सम्पर्कित र स्मरणमा आएका छन् । मूलतः हीरा, भरत, डा. जर्ज, नर्स जुडी उपन्यासका सहायक पात्र हुन् । विपनामा र बारम्बार सपनामा देखापर्ने लक्ष्मीप्रिया प्रेमकी श्रीमती हो । ऊ उपन्यासको नेपाली परिवेशमा नायिकाका रूपमा देखापरेकी छ । त्यसै गरी स्वप्नलोकमा हीरा प्रतिनायिका र भरत प्रतिनायक भएर देखापरेका छन् । भूमिकाका हिसाबले डा. जर्ज र नर्स जुडी पनि सहायक पात्रका रूपमा देखापरेका छन् । यस बाहेकका अन्य पात्रहरू विप्लव, शिव, सुन्दर, शान्ती, कान्ती, भरत, घनानाथ, थम्बहादुर, मदनबहादुर, अम्बर, ईश्वरी, प्रताप, पाठक, काजिमान,ज्याक, मेरी, श्याम, गोपाल, धना, बिमला, रवीन्द्र, नारायणसिंह आदि गौंण पात्र हुन् ।

५. चेतनप्रवाह शैलीको प्रयोग
चेतनप्रवाह (Stream of Consciousness) साहित्यिक अभिव्यक्तिको एक पद्धति हो । यस पदावलीका प्रथम प्रयोक्ता अमेरिकी दार्शनिक तथा विद्वान् विलियम जेम्स हुन् । उनले आफ्नो पुस्तक Principles of Psychology (१८९०) मा पहिलो पटक यसको प्रयोग गरेका हुन् (अब्राहम्स्: ई. १९९३ : २०५) । जेम्सद्वारा सुरु भएको चेतनप्रवाह पद्धतिलाई इङ्ग्ल्यान्डका उपन्यासकार भर्जिनिया उल्फले प्रतिष्ठित तुल्याएका छन् । अङ्ग्रेजी साहित्यबाट प्रारम्भ भएको यस पद्धतिले युरोप–अमेरिका हुँदै एसियाका विभिन्न भाषाका विभिन्न साहित्यिक विधाहरूमा प्रभावकारी स्थान ओगट्न सफल भएको छ ।

चेतनप्रवाह रचनाकारका अनुभव, अनुभूति र विचारको प्रवाहपूर्ण अभिव्यक्ति हो । यो रचनाकारका विशिष्ट क्षणको पूर्ण प्रवाह, निरन्तर प्रवाह वा विश्रृङ्खलपूर्ण प्रवाह हो । यसमा अनुभूतिको विश्रृङ्खलपूर्ण अभिव्यक्ति हुन्छ । चेतनप्रवाह शैलीको अभिव्यक्तिकर्ता क्रमिक साहचर्यलाई स्वीकार गर्दैन । यसमा शब्द, पदावली, वाक्य र रचनाको संरचना चेतन र अवचेतन मनका भावनात्मक साहचर्यका क्रममा रहेका हुन्छन् । भावनाको विश्रृङ्खल अभिव्यक्ति हुने भएकाले यसमा अभिव्यक्तिगत सङ्गति भेटिँदैन । साहित्यमा प्रयुक्त विसङ्गतिका आधारमा पाठकले इच्छानुकूल वस्तु अन्वेषण गर्नुपर्ने चेतनप्रवाहमूलक पद्धतिको धर्म हो (सुवेदी, २०४३ : ४४) । व्यक्ति मनभित्र रहेका व्यथा, वेदना, कुण्ठा, नैराश्य, इच्छा र आदर्शजस्ता अनुभूतिलाई चेतनप्रवाह पद्धतिका माध्यमबाट अभिव्यक्ति दिइन्छ । आख्यानात्मक कृतिमा पात्रका मनोदशाको अभिव्यक्ति गरिएझैं नाटकीकृत रूपमा र आत्मपरक शैलीमा कृतिमा आत्मअभिव्यक्तिका रूपमा प्रस्तुत गरिन्छ ।

विलियम जेम्सबाट सुरु भएको चेतनप्रवाह शैलीलाई अगाडि बढाउने अन्य लेखकहरूमा अमेरिकी लेखक हेनरी जेम्स, फ्रेन्च लेखक एडवर्ड, डुजर्डिन, डोराथी रिचार्डसन्, भर्जिनिया उल्फ, डालबे र विलियम फल्कनर आदि देखिन्छन् । यी लेखकहरूमध्ये भर्जिनिया उल्फले विशेष योगदान पु¥याएका छन् । नेपाली साहित्यमा यसलाई प्रवेश गराउने निबन्धकार शंकर लामिछाने हुन् । उनले एब्स्ट्रयाक्ट चिन्तन प्याज भित्रका थुप्रै निबन्धहरूमा चेतनप्रवाह पद्धतिको सफल प्रयोग गरेका छन् । पछिल्लो चरणमा आएर उपन्यास विधामा यसको व्यापक प्रयोग भएको पाइन्छ । विजय मल्ल, ध्रुवचन्द्र गौतम आदि उपन्यासकारहरूले प्रयोग गर्दै अगाडि बढेको यस पद्धतिलाई उपन्यासकार होमनाथ सुवेदीले यमपुरीको महल उपन्यासमा राम्रोसँग प्रयोग गरेका छन् । यो उपन्यास मनोलोकको परिभ्रमणको सुन्दर नमुना हो ।

उपन्यासको प्रमुख पात्र प्रेम म्याग्दी जिल्लाको राखु गाउँको कुलीन परिवारको शिक्षित व्यक्ति हो । ऊ शिक्षा विषयमा स्नातक गरी शिक्षक भएको थियो । शिक्षक हुँदा उसले तालिममा अमेरिका जाने मौका पाएको थियो । ऊ त्यहीं नबसी नेपाल फर्किएको थियो । त्यहाँबाट फर्कँदा उसलाई एक पाकिस्तानीले फेरि टुरिस्ट भिसाका लागि स्पोन्सर पठाउँछु भनेको थियो, त्यसै कारण ऊ नेपाल फर्केको थियो । शिक्षक हड्तालमा उसको जागिर गएपछि ऊ बेरोजागर बनेको छ । यसै अवस्थाका बीच ऊ घरपरिवार र गाउँलेका अगाडि अपमानित र अपहेलित भएको छ । ऊ आफैं पनि आफूलाई जिउँदो लास मात्र सम्झन्छ । उसले आफ्ना विगत र वर्तमान सम्झँदै र आफूले केही गर्न नसकेकामा पश्चात्ताप गर्दै मनमा अनेक कुराहरू खेलाएर दिउँसै घरको आँगनमा गुन्द्री र काम्लो ओछ्याएर सुत्छ । निदाउनुपूर्व पनि उसले आफ्ना मनमा उब्जेका विश्रृङ्खल भावहरू व्यक्त गर्दछ । जब ऊ निदाउँछ तब उसले मनोलोकको यात्रा गर्दछ ।

उपन्यासको दोस्रो अध्यायमा प्रेम जीवनको अन्तिम क्षण गन्दै अमेरिकाको अस्पतालमा हुन्छ भने तेस्रो अध्यायदेखि सत्रौं अध्यायसम्म ऊ अमेरिकाको वासिङ्टन डि.सी. को बलस्ट्रिन सबवे र त्यसैका वरिपरि घुमिरहन्छ । यस बीचमा उसको स्वप्न शरीर अमेरिका भए पनि बारम्बार उसको मन आफ्नै गाउँ राखुमा भइरहन्छ र बारम्बार श्रीमती लक्ष्मीप्रिया, छोराछोरी, बाबुआमा, छिमेकी र गाउँपाखालाई सम्झिरहन्छ । अमेरिकाको बेसमेन्टमा झोक्रिँदा होस् वा निदाउँदा आफ्नै जन्मभूमिमा आइपुग्दछ । ऊ श्रीमती, छोराछोरी र बाबुआमासँग संवाद गरिरहन्छ । यस्तो मनोलोकको तन्द्राबाट ऊ फेरि जब झस्कन्छ उसले आफूलाई उहीं कहिले बेसमेन्टमा, कहिले हीराका साथमा, कहिले सेभेन एलेभेनमा र कहिले भूमिगत रेलमार्गको सबवेमा पाउँछ ।

सिङ्गो उपन्यास मनोलोकको यात्रामा विचरण गरिरहेको छ । सपनाभित्र पनि कतै सपनाको यात्रा र कतै तन्द्राको यात्राले उपन्यास विशिष्ट शैलीमा निर्मित हुन पुगेको छ । उपन्यासको पात्र प्रेम राखुमा सुतिरहेको छ । राखुमा सुतेर सपना देखिरहेको छ र ऊ सपनामा अमेरिकामा छ र फेरि अमेरिकाबाट सपनामा आफूलाई कहिले राखु र कतिखेर अमेरिकामा पु¥याउँछ । लगभग ३–४ घण्टाको समयमा ऊ ५० वर्षभन्दा लामो समयको यात्रा गर्दछ । यस प्रकारको विशिष्ट मनोलोकको वर्णनले गर्दा यस उपन्यासलाई चेतनप्रवाह शैलीको प्रयोग भएको सफल नेपाल उपन्यास मान्न सकिन्छ ।

६. नेपाली डायास्पोरिक उपन्यासका रूपमा यमपुरीको महलका विशेषता
डायस्पोरा सर्वप्रथम ग्रीक भाषामा प्रचलित शब्द हो । ई.पू. ५८६ देखि ५३८ ई.पू. लगभग चालीस वर्ष बन्दी बनाएर त्यहाँबाट मुक्त भएपछि आफ्नो जन्मभूमि छाडेर चारैतिर छरिएका यहुदीहरूलाई डायस्पोरा भनिएको हो (सुवेदी, २०६४ ः ङ) । यसलाई वर्तमान सन्दर्भमा आप्रवासी भन्न सकिन्छ । विभिन्न कारणवश विदेशी मुलुकमा धेरै समयसम्म रहेका नेपालीहरू मानसिक रूपमा नेपाली र भौतिक रूपमा विदेशी आप्रवासी भएका हुन्छन् र उनीहरूका देखाइ, भोगाइ, अनुभूति, परिवेश आदि प्रतिबिम्बित भएको साहित्य नै नेपाली सन्दर्भमा डायास्पोरिक साहित्य हो

(गौतम, २०६६ ः ५३) । आज विश्वलाई विश्वग्रामीकरणले सीमित बनाउँदै लगेको छ । भाषा, भूगोल, सभ्यता, संस्कृति आदिले विदेशमा रहेका व्यक्तिमा गहिरो प्रभाव पारिरहेको छ । नौलो परिवेशमा रहेर आफूले भोगेका अनुभवलाई साहित्यमा व्यक्त गरिएको छ । बाहिरी परिस्थितिको बसाइलाई डायस्पोरा भनिन्छ (भट्टराई, २०६४ ः १७८) भने त्यही परिवेशका अनुभूतिहरूलाई अभिव्यक्त गरी रचना गरिएको साहित्य डायास्पोरिक साहित्य हो ।

आज अमेरिका, बेलायत, हङकङलगायत पूर्वी युरोप, पश्चिम एशिया र अफ्रिकाबाट विभिन्न प्रकारका डायास्पोरिक साहित्यहरू प्रकाशित हुन थालेका छन् । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाबाट थुप्रै पुस्तकहरू प्रकाशित गर्ने सन्दर्भमा होमनाथ सुवेदीको डायास्पोरिक उपन्यास यमपुरीको महल प्रकाशित गरेको छ । यसले डायास्पोरिक चित्र र चरित्रलाई राम्रोसँग चित्रण गरेको छ । डायास्पोरिक उपन्यासका रूपमा यसका विशेषताहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः

६.१ अभिघातको अभिव्यक्ति
डायास्पोरिक साहित्यको प्रमुख विशेषता अभिघात हो । अभिघातको अर्थ भय, चिन्ता, अपरिचितता र भयङ्कर असुरक्षाको चेतना हो (भट्टराई, २०६४ ः ११८–११९) । अभिघात मान्छेका मनमा पर्ने चोट हो । यस्तो चोट बीसौं शताब्दीका शीतयुद्ध, गृहयुद्ध, जनयुद्ध र गुरिल्ला युद्धहरूले पु¥याउँदै आएका छन् । थुप्रै भौतिक संरचना ध्वस्त भए, थुप्रै मानिसहरू मरे, थुप्रै मानिसका मनहरू भत्किए । यसले समाजमा निरन्तर रूपमा हत्या, अपहरण, धम्की र आतङ्कको स्थिति सिर्जना गराएको छ । एउटा विशाल अगम्य विश्वमा पुग्दा हुने अपरिचयको स्थिति, हीनताको स्थिति र असुरक्षाको स्थिति– यी सारा डायास्पोरिक चेतना हुन् (भट्टराई, २०६४ ः १८२) । यस्तै विविध विषय परिवेशले पीडित बन्न पुगेका व्यक्ति र तिनका मनोदशालाई विषयवस्तु बनाएर रचना गरिने डायास्पोरिक कृतिमा अभिघातको अभिव्यक्ति भेट्टाउन सकिन्छ ।

लामो समयदेखि बसिरहेको आफ्नो देश र ठाउँसँग जो–कसैको गहिरो नातासम्बन्ध हुन्छ । पुस्तौंदेखिको खानपान, बसउठ, रीतिरिवाज, संस्कृति, चालचलन र समग्र पर्यावरणसँग उसको अभेद्य सम्बन्ध रहेको हुन्छ । आफ्नो यस प्रकारको ठाउँलाई छाडेर अन्यत्र जाँदा व्यक्तिमा पर्ने प्रभाव स्वाभाविक रूपले सहज हुँदैन । उसका लागि त्यो ठाउँ र त्यहाँका व्यक्तिहरू अपरिचित लाग्नु, भयङ्करको डर र चिन्ता जाग्नु र समग्रमा असुरक्षाको महसुस हुनु अभिघात हो र यो डायास्पोरिक साहित्यको प्रमुख विशेषता हो ।

यमपुरीको महल उपन्यासभित्र अमेरिकामा मनोलोकको यात्रा गर्ने प्रेम उपन्यासको सुरुदेखि अन्त्यसम्म नै अभिघातबाट ग्रसित छ । अमेरिकामा पाइलो हाल्दाको पहिलो दिनदेखि नै उसलाई भयले आक्रान्त बनाउँदै लगेको छ । ऊ आफूलाई अरूले देख्लान् भन्ने भयले अमेरिकाको लुरेक्यार्मनमा एउटा दुलोभित्र पस्छ । उपन्यासमा भनिएको छ– “केही यात्रीहरू साँगुरो गल्लीबाट अगाडि बढे । कसैले नदेखून भनी म अझै भित्तामा टाँसिएँ । डरले साँच्चिकै पिसाब चुहिरहेको थियो । शिवलिङ्गमा दूधको धार दिएजस्तै माथिबाट मेरो शिरमा जलका धारा एकएक बुँदको रूपमा तप्किरहेका थिए (सुवेदी, २०६४ ः १) । ऊ सडकमा हिँड्ने हजारौं मान्छेको बीचमा कसैले देख्छन् कि भनी कसैको अनुहार नै नहेरी एक्लै हिँड्छ । यसै गरी अमेरिकाको भूमिगत रेलस्टेसन न्युक्यारोल्टनमा पुगेपछि पुलिससँगैको भेटले उसमा जन्माएको त्रासलाई ऊ यसरी व्यक्त गर्दछ – “निलो सुटमा छाते टोपी लगाएका प्रहरी झन्डै मजस्तै थिए, तर उनी वैधको चस्मामा थिए, म अवैधताको नग्ननृत्य देखाइरहेको थिएँ । वारेन्टेड अरेस्टेड । डिपोर्टको मलाई त्रास थियो । कहीं यो मृत देहलाई पुनः मातृभूमिमा लगी देखाउन नपरोस् । म झटपट उठेर अर्काे दिशातिर लागें (सुवेदी, २०६४ ः २०) । यसरी ऊ त्रास र छटपटीको अभिघातबाट ग्रसित छ ।

प्रेम एकपटक जमिनमा भेट्टाएको एक डलर लिएर एडिसन रोडको सेभेन एलेभन स्टोरमा पसी बियर र कुकुरको मासु लिएर बाहिर निस्कँदै गर्दा ढोकामा ठोक्किन्छ । त्यसै बेला एक सज्जनले उसको हातबाट बियर र मासु खोसेर हिँड्छ । त्यस परिस्थितिमा ऊ केही गर्न सक्दैन । ऊ भन्छ– “उसलाई टोकूँ टोकूँजस्तो भएको थियो तर म त उसकै राज्यमा थिएँ । ‘क्राइम’ म संलग्न हुनु खतरानाक थियो । उनले प्रहरी बोलाएको भए मेरो पासपोर्टको मिति पुगेको भेद खुल्दथ्यो ... म तर्सिएँ, मुर्मुरिएँ, तर जड म लुुसुक्क निक्ले (सुवेदी, २०६४ ः २२–२३) । यसरी नै सेभेन एलेभनमा बारमा काम गर्दा ईश्वरी नाम गरेको व्यक्तिले गरेको अपमानप्रति जति रिस उठेको थियो त्यसको बदला लिन सक्दैन । त्यस्तै यमपुरीको महल निर्माणका क्रममा उसका मनमा कुरा उठ्दा ऊ आम जनतासँग त्रसित हुँदै भन्छ– शासकलाई त मेरो भन्नु केही छैन । उनी दुष्मन हुन् । प्रमुख हुन् । मसित छक्कापञ्जा गर्नु उनको प्रकृति हो । मलाई पनि थाहा छ, मैले स्वयंलाई उनीबाट कसरी रक्षात्मक कार्यवाही गरी बचाउनु पर्दछ, तर जनता जुन मेरा मित्रै हुन् । उनैसित म तर्सन्छु । मलाई थाहा हुँदैन, कुन बेला कहाँको मेरो विपरीत उभिएर मेरो गर्धनमा खुकुरी चलाइरहेछ (सुवेदी, २०६४ ः १२०) । यसरी उपन्यासको आदिदेखि अन्तसम्मका सम्पूर्ण क्षण र घटनाहरूमा प्रेम त्रास र अभिघातका बीच बाँचेको छ । त्यसैले अभिघातको अभिव्यक्ति यस उपन्यासको प्रमुख विशेषता हो ।

६.२ अतीतको यात्रा
अतीतको यात्रा डायास्पोरिक साहित्यको अर्काे विशेषता हो । अतीतको अर्थ विगत हो । आफ्नो जन्मभूमि छाडेर तेस्रो भूमिमा गएर बस्दा ऊ त्यहाँ पनि सन्तुष्ट नहुनु, त्यसलाई छाड्न पनि नसक्नु र आफ्नो मूल थलोलाई बारम्बार स्मरण गरिरहनु यस्तो साहित्यको प्रवृत्ति हो । यस्ता साहित्यमा अनुस्मरणको प्रवलता रहन्छ । ऊ आफ्नो आदिम थलो, मूल थलो, भाषा, संस्कृति, समाज, परिवार, इष्टमित्र आदि सबैलाई बारम्बार स्मरण गरिरहन्छ । आफू शारीरिक रूपमा तेस्रो विश्वमा भएर पनि उसको मन अतीतमा र आदिम थलोमा हुनु यस्तो साहित्यको प्रवृत्ति हो ।

अनुस्मरणका दृष्टिले हेर्दा यमपुरीको महलले सिङ्गो रूपमा अतीतलाई स्मरण गरिरहेको देखिन्छ । यो मूलतः मनोलोकको यात्रा हो । यसमा उपन्यासकारले स्वैरकल्पनाको प्रयोग गरी उपन्यासको प्रमुख पात्र प्रेमलाई स्वप्नमा अमेरिकाको विचरण गराएका छन् । स्वप्नलोकको विचरण आफैंमा अतीतको वर्णन हो भने त्यस समयमा रहँदा र बस्दा समेत उसले आफ्नो विगतको समाज र थलोलाई बारम्बार सम्झिरहेको छ । प्रत्येक क्षण उसले नेपाल, आफ्नो गाउँ राखु, आफ्नी श्रीमती लक्ष्मीप्रिया, छोराछोरी, बाबुआमा, छिमेकी आदिलाई स्मरण गरिरहेको छ ।

प्रेमले बलस्ट्रिनको सबवेभित्र पहिलो रात बिताउँदा उसले आफ्नो अतीतलाई सम्झन पुग्छ । ‘छि म त कस्तो ? दुई पैसाको नाफाको लागि ६५ वर्षकी बुढी फुपूलाई .... जेठमासको प्रचण्ड घाममा ... दशपाथी नुनको भारी बोकाएर कार्कीनेटाको उकालोमा हिँडाइरहेको थिएँ’ (सुवेदी, २०६४ ः १६) । यसैबेला उसले आफ्नो शिक्षक आन्दोलन, श्रीमती लक्ष्मीप्रिया, छोराछोरी आदिलाई सम्झन पुग्छ । यसै क्रममा उसले आफ्नो छिमेकी मदनबहादुर ठकुरीले दाँवली दिलीपले काठमाडौंमा घर बनाउँदा तैंले के गर्न सकिस् भन्दा गालामा पिटेको कुरा स्मरण गर्दछ । उसलाई गालामा पिटेको सम्झदा मेट्रोको भित्तामा हात बज्रिन पुगेकोले ऊ लज्जित बन्छ
(सुवेदी, २०६४ ः १७) । ऊ बलस्ट्रिनको मेट्रो स्टेसनमा पल्टिएर लक्ष्मीप्रियालाई सम्झँन पुग्छ र पैसाको पक्ष झिकिदिँदा, आफ्नी श्रीमती लक्ष्मीप्रिया एक मिनेट पनि भुल्न नसकिने भएको सम्झना गर्दछ ।

एक साँझ प्रेम फारेगुनर्थको सबवे स्टेसनमा ट्रेनमा गई बस्दा उसको अगाडि प्रहरी आउँछ । उसले प्रहरीमा हेर्दाहेर्दै लक्ष्मीप्रियाको आकृति देख्दछ । लक्ष्मीप्रियाले आँसु खसालेको, पाँचवटै छोराछोरीसँगै भएको तर उनीहरू प्रेमलाई देखेर तर्सिएको, माया गर्न खोज्दा डरले भागेको तथा रेलबाटै हामफालेको सम्झन्छ (सुवेदी, २०६४ ः २९) । ऊ त्यस स्वप्नबाट ब्युँझदा आफ्नो हातमा बेल्चा मात्र रहन पुगेको स्मरण गर्दछ । त्यस्तै अर्काे एक दिन प्रेम हीराको गाडीबाट आउँदै गर्दा उसले काठमाडौंको बानेश्वरमा रहेको नारायणसिंहको घरमा गएको, बुहारीले रन्केर किन आएका होलान् ? भन्ने भाव व्यक्त गरेको कुरा सम्झन्छ । त्यसका अतिरिक्त प्रेम आफ्नो विस्तारामा सुत्दा प्रायजसो सबै रातमा आफ्नी श्रीमती लक्ष्मीप्रिया र छोराछोरीसँग वार्तामा जुटिरहेको देखिन्छ ।

यसरी उपन्यासभरि नायक प्रेमले अतीतको स्मरण गरेको हुनाले यसमा डायास्पोरिक प्रवृत्तिको सफल प्रयोग भएको भन्न सकिन्छ ।

६.३ द्वैध सांस्कृतिक चेतना
द्वैध सांस्कृतिक चेतनाको अभिव्यक्ति डायास्पोरिक साहित्यको अर्काे विशेषता हो । आजको उत्तरआधुनिक युगमा सांस्कृतिक विलय (कल्चरल फ्युजन) दिन प्रतिदिन बढ्दो छ । यसका कारणका रूपमा ग्लोबल कल्चरको उदय, इलेक्ट्रोनिक मिडियाको तीव्र विकास र टाढाको ग्लोबल र नजिकको लोकल दुवै संस्कृतिप्रति समान मोह र आकर्षण हुनु देखिन्छन् । आज मानिसहरू सांस्कृतिक द्वैधताले ग्रसित छन् । आजको मानिस विश्वव्यापी संस्कृतिबाट पनि उत्तिकै प्रभावित छ र आफ्नो संस्कृतिलाई बचाउन पनि उत्तिकै दत्तचित्त छ । यसले व्यक्तिमा टेन्सन सिर्जना गरिरहेको छ किनभने ऊ पूरै लोकल पनि हुन सक्दैन र पूरै ग्लोबल पनि हुन सक्दैन । यसको परिणाम स्वरूप सांस्कृतिक विलयन वा फ्युजनको स्थिति देखापर्दछ । डायास्पोरिक साहित्यमा यही द्वैध सांस्कृतिक चेतनाद्वारा ग्रसित पात्रको मानसिकताको चित्रण गरिन्छ ।

यमपुरीको महल उपन्यासको प्रमुख पात्र प्रेम सांस्कृतिक चेतनाका दृष्टिले पूर्णतः टेन्सनमा बाँचेको पात्र हो । उसलाई त्यहाँ काम गरेर बाँच्नका लागि निरन्तर सङ्घर्ष गर्न परिरहेको छ । उसमा डलरको तीव्र मोह र आकर्षण छ । उसले आफ्नो संस्कृतिलाई पनि पूर्ण रूपमा त्याग्न सकेको छैन त्यहाँको संस्कृतिमा पूर्ण रूपमा समाहित हुन पनि सकेको छैन । घर, गाउँ, लक्ष्मीप्रिया, बाबुआमा, छोराछोरी सबैलाई त्यागेर अमेरिका पुगेको प्रेममा यताको सम्झना पनि निरन्तर रूपमा आइरहेको छ र उताको मोह पनि उत्तिकै छ । जतिसुकै दुःख, कष्ट, अपमान र बेइज्जती सहेर भए पनि डरलको मोह त्याग गर्दैन । यही सांस्कृतिक द्वैधताको भारी बोकेर प्रेम बाँचिरहेको छ ।

भिन्नभिन्न सभ्यता र संस्कृतिका मानिस एकै ठाउँमा भेट हुँदा तेस्रो संस्कृति बन्न पुग्छ । नयाँ संस्कृति स्वीकार्नु पर्दा मानिसलाई भय, चिन्ता र असुरक्षाले छोप्दछ (भट्टराई, २०६४ ः १८३)। अहिले सांस्कृतिक सीमाहरू भञ्जन भइरहेका छन् । पुराना संस्कृतिहरू पूर्णत त्याग्न नसकेको र नयाँ संस्कृतिलाई पूर्णतः स्वीकार्न नसकेको स्थितिलाई उपन्यासमा देखाइएको छ । यही चेतनाले उपन्यासको पात्र प्रेम द्वैधतामा पिल्सिएको छ । प्रेमले अमेरिकामा बस्दा खाने, बस्ने, काम गर्ने, बोल्ने, हिड्ने सबै कुरा उतैको सिक्नुपरेको छ र आफ्नो नेपालको बिर्सनु परेको छ । उसले त्यही संस्कृतिमा आफूलाई अड्याइ राख्न हीरासँग शारीरिक संसर्ग गर्न पनि परेको छ । उसले हीरासँग शारीरिक सम्पर्क गर्दा घरकी पत्नी लक्ष्मीप्रियालाई बिर्सेको छैन । बस हीरामा उसले लक्ष्मीप्रियाको आकृति देख्न पुग्छ । श्रीमती, छोराछोरीको माया पनि लागिरहने र उता हीरासँग माया पनि पलाउँदै जाने द्वैधताले प्रेम सन्देहमा, चिन्तामा र दुःखमा फसेको छ । यो नै डायास्पोरिक साहित्यको विशेषता हो ।

६.४ द्वैध मानसिकता
डायास्पोरिक साहित्यमा आएका पात्रहरू मानसिक रूपले निर्वासित हुन्छन्, अथवा सबै कुरा माया मारेर विशाल सागरमा हामफालेका हुन्छन् । एकप्रकारको कारागारमा यताको उत्पीडनभन्दा टाढा तर अर्काे उत्पीडनले घेरिएर (भट्टराई, २०६४ ः ११९–१२०) । डायस्पोरा निर्माणका आ–आफ्नै बाध्यताहरू हुन सक्छन् । कुनै रहरले पनि आफ्नो भूमिलाई छाडेर गएका हुन सक्छन् । विश्वको यावत् गतिविधिलाई हे¥यौं भने युद्ध, द्वन्द्व, प्राकृतिक प्रकोप, धार्मिक, आर्थिक, राजनैतिक कारण डायस्पोरा निर्माणका कारणहरू भएका देखिन्छन् । केही त स्वेच्छाले आनन्दको खोजीमा डायस्पोरा भएको देखिन्छ । यो वर्तमान चरित्र मात्र नभएर अनादि कालदेखिको मानवीय विवशता र प्रवृत्ति हो । कुनै न कुनै कारणले आफ्नो भूमि छाडेर गएपछि उनीहरू त्यस ठाउँमा गएर आफ्नै प्रकारको एउटा संसार निर्माण गर्न पुग्छन् । उनीहरूलाई नयाँ ठाउँमा जीवनका नयाँ सुख, संवृद्धि, पाउने आशा हुन्छ । आशा पूरा भए पनि र नभए पनि उनीहरू पूर्णतः सन्तुष्ट हुँदैनन् । उनीहरू सधैं अनिर्णयमा र अनिश्चियमा रुमलिइरहेका हुन्छन् । उनीहरू त्यसलाई आफ्नै घर र देश ठान्छन् तर पनि उनीहरूलाई आफ्नोपनको अभाव भइरहन्छ, उनीहरूलाई घरबार विहीनताले छोपिरहन्छ । उनीहरूमा एकप्रकारको नियास्रोपन र बिरानोपनले गहिरो गरी सताइरहेको हुन्छ । उनीहरू सधैं द्वैध मानसिकताले सताइएका हुन्छन् ।

यमपुरीको महल उपन्यासको प्रमुख पात्र प्रेम सधैं द्वैध मानसिकताबाट ग्रसित छ । नेपालमा बस्दा हीनताबोधले ग्रसित छ । उसले आफूलाई मान्छेसम्म पनि ठानेको छैन । हेरौं केही उद्धरणः
विना लाजघिन पनि मानिस बाँच्नै पर्दाेरहेछ । म किन मर्न नसकेको ? म हुँदाहुँदै पनि मेरो परिवार किन नग्न भएको ? के म छँदै छैन ? मलाई त शङकै लाग्छ के म मै हुँ ? (सुवेदी, २०६४ ः १) ।
– नेपालको त ऐले कुरै छाडौं म एक आवारा ढाक्रे बेकार मान्छेमा गनिएको छु । समाजले गरिखान नसक्ने गैताल भन्छ । श्रीमतीकै लागि पनि म अब जहर भैसकेको छु (सुवेदी, २०६४ ः २) ।
– म भुस्याहा कुकुर सुस्तरी भुक्नसम्म सक्तिन । मेरो आत्मामा यौटा शीतयुद्ध उधुम मच्चाइरहेको थियो । (सुवेदी, २०६४ ः ३) ।

माथिका भनाइले प्रेम नेपालमा बेरोजगारीले पिल्सिएको छ, उसलाई आर्थिक अभाव छ र त्यही आर्थिक अभावका पीडाले ऊ मानसिक रूपमा रुग्ण बनेको छ । अवचेतनमा दमित आर्थिक अभावले पूर्ति खोजीरहेको छ र त्यही मनोलोकको यात्रामा ऊ डायास्पोरिक बन्न पुगेको छ । ऊ स्वप्न संसारमा अमेरिका पुग्छ, स्वप्नमा पनि उसले लामो समयसम्म कुनै रोजागरी पाउँदैन । उसले पैसाको मुखसम्म देख्न नपाएर सडकमा फालिएका सीता खाएर र भोकै पेट मिचेर बर्षै विताउँछ । ऊ सुख र सम्पन्नताको खोजीमा अमेरका पुगेको हुन्छ तर फेरि उसलाई त्यहाँ अभाव, दुर्दशा, चिन्ता, अपमान, परिचयहीनता र त्राससिवाय केही हात लाग्दैन । ऊ एकातिर जतिसुकै चोट अभाव, दुःख र कष्टहरू आइपरे पनि मर्न तयार छ तर फर्कन चाहँदैन । ऊ भन्छ म टिक्न सकिनँ त्यहाँ, मलाई कति धोका दिनुपर्छ देऊ यहाँ । के होला, मरुँला (सुवेदी, २०६४ ः ९८) ।

वास्तवमा प्रेमले पटकपटक मूल थलोलाई बिर्सेर डायस्पोरामा आफूलाई समर्पण गर्न चाहिरहेको छ । तथापि त्यहाँका प्रत्येक व्यक्ति, वस्तु, क्षण र घटनाले उसलाई दुखाएपछि ऊ मानसिक रूपमा नेपालमै फर्कन्छ । अझ कतिपय अवस्थामा उसले त्यहाँका व्यक्ति र घटनामा नेपाली रूपाकृति देख्छ । यसको कारण हो उसभित्र रहेको द्वैध मानसिकता । उसको परिचय डायस्पोरामा मात्र होइन मूल थलो नेपालमा पनि जोडिएको छ । द्वैधताको र मानवीय प्रतिस्थापनको अभिघात खपेर बाँचेको छ । उसले गरेको परिचित भूमिबाट अपरिचित भूमितर्फको यात्रा केही खोजी, केही तिर्खा केही तृष्णा र आशामा निर्देशित छ । र अन्तिममा निराशामा परिणत भएको छ । यही द्वैध मानसिकताको पीडाले प्रेमको जीवन आन्दोलित बनेकाले यसलाई डायास्पोरिक उपन्यासको सफल प्रयोग मान्न सकिन्छ ।

६.५ एकान्तिकता
डायास्पोरिक साहित्यको अर्काे विशेषता एकान्तिकता हो । डायास्पोरिक आफ्नो मूल थलोबाट विस्थापित भएर अर्कै भूगोलमा गएर बसेको हुन्छ । उसले मूल थलोको आफ्नो भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई छोड्दै गएको हुन्छ । उसमा एक प्रकारको घरवारविहीनताको भावले छोपिरहेको हुन्छ र उसले आफूलाई एक्लो मात्र महसुस गर्दछ । उसलाई विरानोपनले सताइरहेको हुन्छ । उसमा यस्तो प्रकारको एकान्तिकता हुन्छ– म मात्र उछिट्टिएँ, छोडिएँ, फ्याँकिएँ, परिचय गुमाएर त्यहाँ पुगेँ, कहिल्यै म आफ्नो मूलसित जोडिन सक्छु कि सक्तिनँ होला भन्ने चिन्ता (भट्टराई, २०६४ ः ११९) ले उसलाई सताइरहेको हुन्छ ।

यस उपन्यासको प्रमुख पात्र प्रेम अमेरिका पुगेर पहिलो दिन लुरेक्याभर्नमा हिँड्दै गर्दा आफूलाई मातृद्रोही ठान्दै (पृ. १०) एकान्तको खोजी गर्दै हिँडछ । ऊ सडकमा सयौं मान्छेहरूका भीडमा आफूलाई एक्लै भएको महसुस गर्दछ । हीरासँगको भेटपछि हीराका गाडीमा चढेर सँगै यात्रा गर्दा पनि उसले आफूलाई आफैंभित्र हराएको पाउँछ । भूमिगत रेलमार्गभित्रको सबवेमा बसेर आफूलाई स्वतन्त्र महसुस गर्दछ र अझ बत्ती नभएको रात उसका लागि पूर्ण स्वतन्त्र वातावरण महसुस हुन्छ ।

७. निष्कर्ष
यमपुरीको महल नवीनतासहित देखापरेको उपन्यास हो । यसको संरचना, भाषाशैली, विषयवस्तु, प्रविधि र दर्शनमा सर्वथा डायास्पोरिक साहित्यको रूपमा देखापरेकाले यस उपन्यासको प्रकाशनसँगै नेपाली उपन्यासमा डायास्पोरिक प्रवृत्तिको राम्रो नमुना प्रस्तुत भएको छ । यस कृतिमा मूलतः आप्रवासका क्षणको आत्मपहिचान र स्वप्नको खोजीको अभिव्यक्ति, प्रवासीका पीडा, सांस्कृतिक विचलन र सांस्कृतिक अन्तमिश्रणको अन्वेषण राम्रोसँग गरिएको छ । त्यसैगरी अभिघातको अभिव्यक्ति, अतीतको यात्रा, डायास्पोरिक भोगाइ र अनुभूतिलाई सजीवताका साथ प्रस्तुत गरिएको छ । अस्तित्वको चेतनाको अभिव्यक्ति, विरानोपन, अपरिचितता, स्वदेशप्रतिको अनुरागजस्ता डायास्पोरिक साहित्यका विशेषताहरू यस उपन्यासमा जताततै भेट्टाउन सकिने हुनाले यसलाई नेपाली उपन्यासका फाँटमा डायास्पोरिक साहित्यको कोशेढुङ्गा मान्न सकिन्छ ।

सन्दर्भग्रन्थ सूची
अब्राम्स, एम.ए. (ई. १९९३) ए ग्लोसरी अफ लिटरेरी टम्र्स, (छै.सं.) यु.एस.ए., हाइकार्ट ब्रेक एन्ड कम्पनी ।
गौतम, कृष्ण (२०६४), उत्तरआधुनिक जिज्ञासा, काठमाडौं: भृकुटी एकेडेमिक पब्लिकेसन ।
गौतम, लक्ष्मणप्रसाद (२०६६), नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना, काठमाडौं ः ओरिएन्टल पब्लिकेसन हाउस प्रा.लि. ।
भट्टराई, गोविन्दराज (२०६२), उत्तरआधुनिक ऐना, काठमाडौं ः रत्नपुस्तक भण्डार ।
भट्टराई, गोविन्दराज (२०६१), पश्चिमी बीलेसीका बछिटा, काठमाडौं, नेराप्रप्र ।
भट्टराई, होमनाथ (२०६४), उत्तरआधुनिक विमर्श, काठमाडौं ः मोर्डन बुक्स ।
सुवेदी, होमनाथ (२०६४), चिरिएको मुटु, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
सुवेदी, होमनाथ (२०६४), यमपुरीको महल, संयुक्तराज्य अमेरिका ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।


सहप्राध्यापक, पृथ्वीनारायण क्याम्पस, पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 बैशाख, 2067

लेखकका अन्य रचनाहरु