सम्झनामा कवि भरतराज पन्त

- सपना शर्मा

साँचो राम्रो असल शिवको रुप ऐले कहाँ छ ?
आँखा जस्तो भुवनभरको देश हाम्रो जहाँ छ
नाच्ने हाँस्ने पकृति सुष्मा शैलपुत्री कहाँ छ ?
मायैमाया मुटुभरि हुँदै उम्लिएको जहाँ छ

यस्तै सुन्दर पद्यहरूका रचयिता, धेरै काव्य र महाकाव्यहरूका स्रष्टा अनि नेपाली साहितय, व्याकरण साथै संस्कृत साहित्य काव्यहरूका ज्ञाता कविवर भरतराज पन्तलाई हामीले गुमाएको पनि दुई वर्ष बितिसके ।

कवि भरतराज पन्त नेपाली साहित्यका अमूल्य रत्न थिए -'कविभूषण' थिए । उनासी वर्षमा यस धर्तीबाट बिदा नलिउन्जेल उनले साहित्यबाट कहिल्यै थाकेर विश्राम लिएनन् । जुनसुकै अवस्था होस् साहित्य चर्चा भनेपछि उनी हुरुक्कै हुन्थे । कुनैपनि नयाँ घटना वा दुर्घटनालाई तुरुन्तै कवितामा ढालिहाल्ने उनको बानी थियो ।

कति पन्तले विशेषगरी पद्य साहित्यमा कलम चलाएको देखिन्छ । वाणिर्क छन्दमा उनको विशेष रुचि थियो र संस्कृत साहितयको पनि उनका कवितामा विशेष प्रभाव परेको देखिन्छ । छन्द, रस, यमक, अनुप्रास आदि विभिन्न अलंकारहरूले उनी काव्यलाई सजाएर चिरिच्याट्ट पार्थे । लेखनमा मात्र होइन उनको वार्तालापमै पनि छन्द र अलङ्कारका रसास्वादन गर्न पाउँथे साहित्यानुरागीहरूले ।

छन्दप्रति उनको धारणा तलको श्लोकले पनि प्रष्टाउँछ -
खाँदा, प्यूँदा, थरिथरि लुगा लाउँदा हुन्छ छन्द
हिंड्दा, डुल्दा, वरपर यसो बोल्नमा हुन्छ छन्द
सारा सांसारिक चलनका चल्तिमा हुन्छ छन्द
छन्दैछन्दोमय भुवनमा लौ कहाँ छैन छन्द ?

आनो अलङ्कारसम्बन्धी ज्ञानलाई उनले नेपाली अलार परिचय पुस्तकमार्फत् सरल रूपमा जिज्ञासुसम्म पुयाउने कोशिस त गरेकै हुन् तर प्रत्यक्ष उनबाटै ज्ञान पाउने मौका अब हामीबाट गुमिसकेको छ । उनी सशरीर हुँदा नै उनको ज्ञानपुञ्जको सही उपयोग हामीले गर्न सकेनांँै ।

कवि पन्तका कवितामा धेरै नयाँ प्रयोगहरू पनि देख्न पाइन्छ । उनले छन्दोबद्ध कविता, खण्डकाव्य र महाकाव्यहरूका साथै गजल र गद्यमा पनि कलम चलाएका छन् । कवि पन्त शोककाव्यहरूका कवि थिए किनकि उनले चारवटा त शोककाव्यहरू नैप्रकाशित गरेका छन् । करुण रसले भरिएका उनका शोककाव्यहरू उनको व्यथित जीवनका कथा मात्र नभई नेपाली साहित्यका शोककाव्यहरूका उत्कृष्ट नमुनाहरूमा पर्छन् । त्यस्तै उनको 'दोभान' महाकाव्य एउटा उच्च कोटीको नमुना काव्य हो । एकातर्फ उनको व्यक्तिगत जीवन सङ्घर्षका कथा, व्यथाको नदी यसमा बगेको छ भने अर्कातर्फ समसामयिक घटना, सामाजिक परिस्थिति र देशपे्रमका भावनाहरूको भेल उर्लेको छ । यी दुई दोभान साँच्चै नै एउटा निश्चल कवि आत्माको पावन तीर्थस्थल जस्तै लाग्छ ।

गरिन्छ यदि विश्वास ढुंगो बन्दछ देवता
गरिन्न यदि विश्वास ढुंगो बन्दछ देवता

उनका कविताहरूमा पुरातनवादी भन्दा पनि आधुनिक विचारधारामा जोड दिइएको पाइन्छ । उनका क्रान्तिकारी कविताहरूले अन्धविश्वासलाई तोडी समाज सुदृढिकरणमा लाग्न विशेष प्रेरणा दिएको देखिन्छ ।

कवि पन्त सबैप्रकारका तडकभडक, चाकडी, चाप्लुसी, धन र पदका लोभ लालचबाट टाढा थिए । उनी कवितामै यसरी डुबेका थिए त्यसैबाट आनन्द र सन्तुष्टी प्राप्त गर्थे । नियतिका अति कठोर प्रहारहरूबाट गुजि्रए पनि उनी कहिल्यै रुन्चे भएर हिँडेनन् । अरुलाई पनि हँसाउने र आफू पनि हाँसेरै बाँच्ने उनको बानी थियो तर प्रकृतिको कठोर नियम उनलाई हामीले गुमाउनै पर्‍यो । हाम्रो समाजमा भन्ने चलन छ संसारमा राम्रा राम्रा चीजहरू भगवानलाई चाहिने हुँदा यहाँ रहन दँदैनन् रे ! हो जस्तो पनि लाग्छ । कवि भरतराज पन्त एउटा कीर्तिमानी पन्त वंशका धरोहर थिए । उनका धेरै पूर्वजहरू साहित्य र विद्वतामा कहलिएका थिए । तर उनी पछि उनको वंश परम्परा टुंगिएको छ । त्यसैले उनका सृष्टिहरूको संरक्षण गर्ने त्यो वंशमा अरु छैनन् । तर जीवन पर्यन्त व्यक्तिगत भन्दा धेरै साहित्य, समाज र शिक्षाको सेवा गर्ने भरतराज पन्त पारिवारिक व्यक्तित्व मात्र पक्कै पनि थिएनन् । उनका तथा उनका पूर्वज स्रष्टाहरू विद्वान् कवि सुकृतिदत्त पन्त, अग्निदत्त पन्त, कवि लक्ष्मी दत्त पन्त 'इन्दु' आदिका रचना तथा देनहरूलाई सम्झने, मनन तथा संरक्षण गर्ने जिम्मा हरेक चेतनशील नेपालीहरूको हो जस्तो मलाई लाग्छ ।

स्वार्थले जेलिएको समाजमा निस्वार्थ साहित्य सेवा गरी सादा जीवन बिताएर जाने एउटा साधारण नेपालीलाई सम्भिmरहने फुर्सद कसको नै होला र Û तर पनि हामीले आˆनो पहिचान नगुमाउने हो भने आˆनो संस्कृतिको संरक्षण गर्नु नै पर्छ र साहित्य त्यसको अभिन्न अङ्ग हो । साहित्यिक समाज कवि भरतराज पन्तका विशेषता र महत्त्वहरूको धेरै ज्ञाता भएको अनुभव 'कविवर भरतराज पन्त स्मृतिग्रन्थ' मा पनि गर्न पाइन्छ ।

धेरै विद्वान् कवि लेखकहरूले उनका सम्झना तथा उनका रचनाहरूको समालोचना यसमा प्रस्तुत गर्नु भएको छ । फेरि पनि साहित्यिक समाजले कवि पन्तसम्बन्धी यो पुस्तक साथै उनका अन्य धरोहरहरूका संरक्षण र सम्वर्द्धनमा सघाउनु हुनेनैछ । आज वैशाख १८ गते उनलाई हामीले गुमाएको दिन उनका मधुर आवाज, उनका स्नेहले भरिएका स्पर्श र उनको सजीव उपस्थिति हामीबाट सदाका लागि टाढिएको दिन एकपल्ट फेरि उनलाई मेरो हार्दिक श्रद्धाञ्जली - 'तिमी अमर भैरहु अगम सच्चिदानन्दमा'!
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 25 बैशाख, 2067

लेखकका अन्य रचनाहरु