रणमैदानको यात्री

- रामबहादुर बोगटी

म यात्री रणमैदानको
मेरो यात्रा
अनवरत अग्रसर छ
निश्चित गन्तव्यमा।
 
जताततै रक्तबीजहरू छरिएका छन्,
काग, चील र गडुलहरू
हा... हा...
मुख बाइरहेछन्
यही बाटोमा मेरो यात्रा निरन्तर छ
मृत्युदूतहरूको शिर चढेर।
 
म आफ्नो लागि हुनु स्वभावगत हो
देशको लागि नहुनु दुर्भाग्य हो
किनकि
मेरो काँधमा म, मेरो सपना
अनि मेरो देश छ,
मैले यसलाई मुक्त गराउनु छ
मृत्युदूतबाट।
 
यहाँ बिम्बहरू छन्
रणबीभत्सका
यहाँ प्रतीक स्थापित छ
युद्ध, हिंसा, क्रान्तिको
मैले स्थापित गर्नु छ
बिम्बप्रतीक शान्तिको
हो, त्यसैले
रणमैदानको बीचमा
मेरो यात्रा अविदित छ
युलिसिसको बाटोमा।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु