कथामा ओजश्वी दृष्टिकोण

- विवश वस्ती

नेपाली कथासाहित्यमा प्रथम पाइलाहरू टेक्दै गरेका सीताराम नेपाललाई अब प्रतिवद्ध कथाकारको पंक्तिमा राखे फरक पर्दैन। कथालेखनको एक दशक साधना पनि नगुजारेका नेपालले वर्षौदेखि साधनारत कलमकर्मीहरूको समकक्षमा आफूलाई लेखन शिल्प र शैलीगत रुपमा उभ्याएका छन्। 'यो उही कथा' त्यसकै सुन्दर र प्रामाणिक साक्ष्य हो।
'यो उही कथा' नेपाली समाजका जटिल र दुरुह पक्षहरूको शिलान्यास गर्ने आख्यानदस्तावेज हो। आधुनिकताको चरम विकाससँगै नेपाली समाज अनेकन् आरोहअवरोह झेल्न बाध्य छ। प्रविधिगत विकासले समाजलाई दुई चिरामा विभाजित गरेको छ र दुई वर्गका बीच साँध लागेको छ। यही सेरोफेरोमा सामाजिक मूल्य, मान्यता र नैतिकताहरूको स्खलनयात्रा पनि अकल्पनीय रुपले बढिरहेको छ र त्यसको केन्द्रभागमा विशृङ्खल मान्यता, स्वरुप र चिन्तनहरूको लाम लागेको छ। मूल्यहरू विघटन हुने र फोस्रो गौरवबोधले सामाजिक मान्यता ग्रहण गर्ने क्रम दिनानुदिन बढिरहेको छ। राजनीतिक भ्रष्टाचार, मूल्यविहीनता तथा अपसंस्कृतिले मनुष्यको 'भित्रको मनुष्य'लाई पुरै खाली गरिदिएको छ। यस्तो परिस्थितिमा सामाजिक जीवनमा व्याप्त विसङ्गत स्वर, तस्वीर र चिन्तनाहरूलाई पर्गेल्न र त्यसको गूढ पक्ष खोतल्न नेपालका कथाहरू प्रयासका विन्दुतिर लम्किएको प्रतीत हुनु स्वाभाविक देखिन्छ।
'यो उही कथा'मा विविधताको स्वर ग्रहण गर्न सकिन्छ, सहजै। एउटै ढाँचा र परिवेशगत विषयवस्तुभन्दा पनि विविध बान्की र तरङ्गका विषयले कथारुप पाएका छन्। प्रत्येकजसो लेखक आफ्नो परिवेशगत सजगतामा व्यक्त हुने गर्दछ। उसले जुन परिवेश र घटनालाई आफ्नो चेतनाको तरेलीमा सजाएका हुन्छन्, लेखनमा पनि अभिव्यक्त हुने आखिर त्यही कुरा नै हो। त्यसमा कल्पनाशिलता गाँसिनु र फैलावटका चिन्हहरू देखिनु स्वाभाविक कुरा हो। नेपालका कथाहरूले आफू बसेको र बाँचेको परिवेशका स्पर्शनीय घटनावस्तुलाई नै कथा रुप दिएको उनको कथासंसार विचरण गर्दा सहज अनुमान बोध हुन्छ। सामाजिक जीवनका झाँकी प्रदर्शन गर्ने उनका कथाहरूले आफ्नै विशिष्ट धरातल निर्माण गरेका छन् नै, त्यसमा उनले प्रमुख रुपमा वर्ग विभाजित समाजको चित्र प्रस्तुत गरेका छन्। वर्ग विभाजित समाजमा शोक र शोषित वर्गबीच आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक भौगोलिक भेद युगौंदेखि कायम छ। समयको परिवर्तनसँगै शोषण र उत्पीडनका रुप र शैलीहरूले पनि उही विशिष्टता हासिल गरेका छन्। नेपालका कथाले शोषण, अन्याय, उत्पीडनका अनेकन् रुपहरूलाई कथालेखनमा केलाउने काम गरेका छन्।
उनका एकाध कथाले माओवादी जनयुद्धका चरित्र र विशिष्टतालाई सम्बोधन गरेको छ। यतिखेर माओवादी जनयुद्धले शान्तिपूर्ण धावनमार्गमा अवतरण हुने राजनीतिक परिस्थिति सिर्जित भए पनि विगत एक दशक भने नेपाली जनताका लागि कष्ट, दुस्वप्न र कहालीको दशक सावित भयो। जनयुद्धका 'जायज' पक्षहरूले धेरै नेपालीलाई युगान्तरसम्म नबिर्साउने दुःखद् पक्षहरूसित साक्षात्कार हुने अवस्था सिर्जना गरिदियो। जनयुद्धको 'विशिष्टता'मा अङ्कित घाउहरू, फोकाहरू, खतहरूलाई साक्षी राख्दै नेपालले आफ्ना केही कथामा युद्धका नाममा विपक्षी राजनीतिक शक्तिका नेताकार्यकर्ताहरूलाई दुःख दिने, यातना दिने र हत्या गर्ने हर्कतहरूको भण्डाफोर गरिएको छ। नेपालका केही कथाले पारिवारिक सद्भाव, खुसी र पीडाबोधलाई पनि विषय बनाएको छ। एउटै परिवारमा बसेकाहरूबीच विछोड हुनुपर्दा त्यसले पुर्‍याउने मानसिक सन्ताप र चिन्तालाई पनि उनले छुन भ्याएका छन्। खासगरी अन्तर्मनको सुक्ष्म पीडा र अवसादलाई केलाउने प्रयत्न गरिएको छ।
यसरी विषयगत विविधताको मझेरीमा उभिएका नेपालका कथाहरू हामी बाँचिरहेको समयको सत्य हरफ बन्न पुगेका छन्। प्रखर यथार्थबोधले संस्लिष्ट र प्रदीप्त छन् नेपालका कथाहरू। समाजको वैचारिकरचनात्मक सरोकार पनि पर्याप्त मात्रामा उजागर भएको छ। तसर्थ नेपालको 'यो उही कथा'भित्रका कथाहरूलाई वैज्ञानिक र ओजश्वी दृष्किोणले युक्त मान्दा अन्यथा नठहरिएला।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु