घाउहरू फेरि बल्झाएको छ मयुर टाइम्सले

- तारानाथ सापकोटा

संसारमा द्वन्द्व नभएको भए, संसारमा युद्ध नभएको भए राम्रा साहित्य निकै कम लेखिन्थे होलान्। राम्रा चलचित्र पनि बिरलै बन्थे होलान्।
हेप्ने र हेपिनेहरु, पीडक र पीडितहरु, मार्ने र मारिनेहरु नभएका भए समाजमा यति धेरै पात्रहरु प्नि भेटिदैनथे होलान्। हेप्ने र हेपिनेहरु, पीडक र पीडितहरु, मार्ने र मारिनेहरुको बीचको असमानताले नेपालमा निम्त्याएको दशक लामो सशस्त्र द्वन्द्वले धेरै कथा र व्यथा जन्माएको छ। अनगिन्ती कथाहरु लेखिए मसीले। लेखिए रगतले कैयौं कथाहरु। कति धेरै कथाहरु रगतको सुकेका टाटामुनी पुरिए होलान् त्यसको त कुनै हिसाब नै छैन। नेपालको यही दशक लामो 'जनयुद्ध'ले पत्रकार नारायण वाग्लेलाई उपन्यासकार बनाइदियो। पहिलो उपन्यास 'पल्पसा क्याफे' नेपालको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा नै लेखिएको थियो भने उनको दोस्रो पुस्तक 'मयुर टाइम्स'मा पनि युद्ध र त्यसले लगाएका नपुरिने घाउहरु अनि युद्धका अवशेषहरुलाई नै कथा बनाइएका छन्। स्वभावैले दुःख र पीडाका कथाले सबैको मनलाई छुन्छ। दुखको स्वभावै त्यस्तो, यसले सबैको आँखा भिजाएर जान्छ।

देश भनेको सुरक्षा हो भनेर कसैले हामीलाई ढाँटेको हो कि जस्तो लाग्न थालेको छ आजभोलि। यहाँ कोही सुरक्षित छैनन्। सायद समय नै त्यस्तो आएको पो हो कि? सुरक्षाको पर्खाल त दशकौं अघि नै ढलिसक्यो यहाँ। जुन दिन पहिलोपटक विद्रोहीको गोलीले पहिलो साधारण मान्छे मर्योस अनि जुन दिन राज्यका सिपाहीको गोलीले अर्को साधारण मान्छे मर्यो् त्यसै दिन यो देशको सुरक्षाको पर्खाल भत्केको थियो। अब त यहाँ पर्खाल भत्काउनेहरुको पनि कुनै हिसाबकिताब छैन। गोली थापिदिने साधारण मान्छेहरु त सधैं नै छन् उस्तै। निरीह उपस्थिती जनाएर बसेका छन् यो देशका अस्थायी नागरिकहरु। त्यसपछि कसैले पनि सुरक्षाको घेरो कोर्ने कुनै दुस्साहस गरेन। 'मयुर टाइम्स'मा यही भत्केको सुरक्षाको पर्खालमाथिको चिन्ता छ। एउटा दालरोटीको पिरलोमा सधैंभरि सताइएको साधारण मानिस साधारण मानिस मात्रै रहन सकेन यो देशमा। एउटा मानिस मधेशमा पहाडिया भयो। पहाडमा मधेशी भयो। ऊ कि त माओवादी भयो कि त सुराकी भयो कि त पुलिस भयो तर ऊ कहिल्यै पनि सामान्य नागरिक हुन सकेन। अन्न फलाउनेहरुका हात काटिए अनि तिनैले उब्जाएको अनाज लुटेर खाएको कालो इतिहास छ अब यो देशमा। सधैंभरि दुखिरहने अनगिन्ती घाउहरु छन् सबैका मनमा। यिनै घाउहरुमाथिको मायालु स्पर्श हो 'मयुर टाइम्स'। सोच्न मन लाग्छ यही भद्रगोल, अव्यवस्था र दण्डहीनतालाई देश भनिन्छ?

यो देशका नागरिकहरु कस्तो कठिन समयबाट गुजि्रएका छन् भन्ने कुराको प्रमाण हो यो पुस्तक। मानिसहरु कति सताइए? कसरी बाँचे उनीहरु त्यो युद्धको भुमरीमा? त्यो त्रासदीपूर्ण इतिहासको सानो अंश छ 'मयुर टाइम्स'मा। मानिसहरु कि त सुराकीको आरोपमा माओवादीबाट विस्थापित भए। या त मारिए नै। कति माओवादीलाई शरण दिएको आरोपमा राज्यसत्ताबाट प्रताडित भए। कति मारिए पनि। आफ्नो थातथलो, आफूले पसिना बगाएको र आफ्ना हातगोडाका डोब बसेको थलो छोडेर हिँड्न बाध्य बनाइएका यो देशका अनागरिकहरुको व्यथालाई उनिएको छ यस पुस्तकमा। आखिर मानिसको छातीमा हरपल निसाना ताकिएको हुन्थ्यो। बन्दुक भने कहिले विद्रोहीको हुन्थ्यो कहिले राज्यको हुन्थ्यो। आफ्नै पैसाले किनिएका बन्दुकले कुनै दिन आफैलाई मार्न आउलान् भन्ने बिचरा नेपाली जनताले कहिले सोचे होलान् नि? यही चट्याङ्गजस्तो डरलाग्दो यथार्थ छ 'मयुर टाइम्स'मा। युद्धमा रमाउनेहरुलाई त यो पनि एउटा अवसर नै बन्यो होला तर निमुखा जनताहरुको अन्धकारमा बितेका जीवनका उर्बर वर्षहरुको बारेमा त कसलाई सोच्ने फुर्सद छ र?
लडाइँ चलेको बेलामा मान्छेका लासहरु मात्रै देखिने रहेछन् तर भविष्यको लागि भनेर लडाइँले धेरै कुराहरुको लास छोडेर जाने रहेछ समाजमा।
सपनाको लास, रहरको लास, भविष्यको लास, मानवीयताको लास। यो देशमा चलेको युद्धले मान्छे मान्छेको बीचमा कहिल्यै पुर्न नसकिने खाडलहरु बनाइदिएको छ। मान्छे मान्छेको बीचमा कुनै पुलले पनि जोड्न नसकिने जङ्घारहरु बनाइदिएको छ। तिनै खाडलहरुको, तिनै जङ्घारहरुको कारणले उब्जाएको अविश्वासलाई प्रष्ट्याइएको छ 'मयुर टाइम्स'मा। यस पुस्तकमा फ्रस्टेड जेनेरेसनको पीडाको रङ्ग पनि छ। पीडाको रङ्ग कस्तो हुन्छ साँच्चै? कालो? सायद कालै हुन्छ होला। हो त यसमा कालो समयको कालखण्ड छ, कालै इतिहासको तस्बिर पनि छ। कालो वर्तमानको छायाँ छ अनि अँध्यारो भविष्यतिर लम्किरहेको नेपाली समाजको श्यामश्वेत तस्बिर पनि छ। यसर्थमा नारायण वाग्लेले कालो समयको पीडालाई शब्दचित्रमा उतारेका छन्। दौरा सुरुवाल र ढाकाटोपी अनि पहाडमा मात्रै राष्ट्रियता खोज्ने मानसिकताको कारणले देशभित्रै देश खोज्नु पर्ने समयको कठघरामा उभिएका छन् नेपाली जनताहरु इतिबेला। नजानिँदो किसिमले देशभित्रै नयाँनयाँ सिमाना कोर्न थालिएको नमीठो सत्य पनि लुकेको छैन लेखकका आँखाबाट।

स्वभावैले मानिस आफ्नो वर्गको मानिसप्रति बढी नै संवेदित हुन्छ। नारायण वाग्ले मात्रै यसका अपवाद किन बन्न सक्थे र? उनले उपन्यासमा पत्रकारलाई मुख्य पात्र बनाएर पत्रकारका दुःख र पीडालाई सार्वजनिक गर्ने काम गरेका छन्। त्यसो त द्वन्द्वको समयमा पत्रकारले धेरै नै सास्ती खेपेका हुन् र अहिलेपनि त्यो स्थिति जस्ताको तस्तै छ। पराग त अपहरित मात्रै भएकी हो तर यहाँ त धेरै पत्रकारले सत्यको मूल्य आफ्नो ज्यान नै दिएर चुक्ता गर्नुपर्योप। एउटा सत्य कुराको मूल्य एउटा जीवन बन्छ भने यो देशमा सत्य बोल्ने साहस कसले गर्ला? तर सत्य त मर्दैन। त्यो इतिहासको कुनै धमिलो पानामा छोपिएला तर त्यो त बाहिर आउँछ नै। नारायण वाग्ले आफै एउटा पत्रकार भएकाले उनलाई पत्रकारले भोग्नु परेका दःुखहरु र तनावहरुबारे राम्रो ज्ञान छ। त्यही ज्ञानको उपज हो 'मयुर टाइम्स'। त्यसो त पत्रकारिता पेशाभित्रको विसङ्गति र विकृतिलाई पनि थोरै मात्र भए पनि ठाउँ दिएका छन् उनले। त्यसका बारेमा पनि उनलाई बढी नै जानकारी रहन्छ।

उपन्यासमा प्रेमको प्रसंगलाई पनि उठाइएको छ। परागको प्रेमले अहिलेको 'फास्ट ट्रयाक' युवा जमातको 'फास्ट ट्रयाक' प्रेमलाई प्रतिनिधित्व गर्दछ। विदेशिएको एउटा युवकको प्रेमप्रतिको धारणालाई पनि परागको प्रेममा समेटिएको छ। यसले विकासशील देशका तमाम युवाहरु पश्चिमा संस्कृतिबाट कति धेरै प्रभावित हुँदैछन् भन्ने कुरालाई पनि प्रस्ट पार्न खोजेको छ।

सबैभन्दा गम्भीर विषय भनेको चाहिँ यसमा उठाइएको राजनीतिक सङ्कटको हो। हिँड्दा हिँड्दै बिरालोले बाटो काट्यो भने पर्खेर बस्ने हाम्रो समाजमा जथाभावी मागलाई स्थापित गराइदिएर पूरै समाजलाई अराजक बनाइदिए नेपालका राजनीतिक पार्टीहरुले। माग स्थापित गर्नुभन्दा कता हो कता कठिन हुन्छ तिनको व्यवस्थापन भन्ने कसैले सोचेन। या त सोच्न सक्ने ल्याकत नै थिएन नेताहरुमा। क्षेत्रीय राजनीति र साम्प्रदायिक राजनीतिले देशलाई भित्रभित्रै खोक्रो पार्दैछ। आफ्ना अधिकार र आफ्ना कर्तव्यको बारेमा सचेत नभइसकेका आलाकाँचा मानिसहरुको ध्यान आकर्षित गर्नलाई जथाभावी सपना बाँडेर राजनीतिको अभ्यास गरेका ती नेताहरुलाई के थाहा यदि तिनीहरुको सपनाले फुल्ने ठाउँ पाएन भने कति भयङ्कर आँधीको सिर्जना हुन्छ। किनभने सबैभन्दा डरलाग्दो हुन्छ मानिसहरुको सपनाको मृत्यु हुनु। मानिसहरुको समवेदनालाई जगाइसकेपछि त्यसलाई उचित स्थान दिन सक्नुपर्छ होइन भने त्यो समवेदना विस्फोटक हुन्छ र त्यो विस्फोटनमा कतिले के के गुुमाउँछन् भन्ने कुराको अनुमान कसैले गरेजस्तो त लाग्दैन। सधैंभरि भोटको राजनीति गर्नमा मस्त नेपालका राजनीतिक पार्टी र तिनका नेताहरुलाई सायद थाहा छैन कि एकदिन त्यो अभ्यास अफाप सिद्ध हुनेछ। र त्यो नै एउटा बाढी बन्छ र त्यसले सबैथोक बगाउँछ। अहिले त्यसको असर देखिँदैछ। हिजोसम्म एउटै पँधेराको पानीले दिन सुरु गर्ने मानिसहरु आज त्यहाँ सिमाना कोर्दैछन्। थाहा छैन त्यो सिमानाभित्र को को अटाउने हुन् को को बाहिरिने हुन्। हिजोसम्म जुन संस्कृतिलै सबैलाई एउटै ठाउँमा बाँधेर राखेको थियो आज त्यही संस्कृति मानवताको बाधक बन्ने स्थिति कहाँबाट आयो? कुन मगज खुस्केको नेताको बुद्धिले यस्तो गर्योआ? 'मयुर टाइम्स' पढेपछि यसको बारेमा जोकोही एकपटक सोच्न बाध्य हुन्छ र आफ्नो अनिश्चित भविष्यप्रति एउटा निश्वास छोड्छ।

लेखकको भाषाशैलीको बारेमा प्रशंसाको कुनै विशेषणको आवश्यकता छैन भने खोट लगाउने हम्मेसी कसैले आँट गर्नै सक्दैन। यो कुरालाई त उनले आफ्नो पहिलो उपन्यासबाटै स्थापित गरिसकेका छन्। 'मयुर टाइम्स'मा पनि उनको त्यो गुण जस्ताको तस्तै नै छ। तर कतै कतै गम्भीर विषयलाई अलि हल्का ढंगले प्रस्तुत गरिएको हो कि भन्ने लाग्छ भने कतै कतै प्रसंगको अलि बढी नै बर्णन गरिएको हो कि जस्तो लाग्छ। समग्रमा 'मयुर टाइम्स' पढेपछि कतिका खाटा बसेका घाउ फेरि बल्भि्कन्छन्। कतिका निको हुन लागेका घाउका पाप्रा उप्किन्छन्। कतिले घाउको महसुस मात्रै गर्छन् तर दुख्न चाहिँ सबैलाई दुख्छ।

'छाडिदेऊ, बतास चलेपछि उल्लुको डरले काग आफैं परपर हुन्छन्।' तर यो डरलाग्दो र कठिन समयका कागहरुलाई धपाउन कुनै उल्लुले सक्ला नसक्ला? अनि त्यो उल्लु कहिले आउला? यो देशमा कागहरुले उपद्रो मच्चाइसके।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 बैशाख, 2067

लेखकका अन्य रचनाहरु