कवि कोमलप्रसाद श्रेष्ठ मल्लको 'फिरादपत्र' हेर्दा

- केदार संकेत

लिखितम्, धनिका नाम... यसै शिर्षकका २०१५ सालमा दिपायल २, डोटी, सेती अञ्चल नेपालमा जन्मिएका कवि तथा गीतकार कोमलप्रसाद श्रेष्ठ मल्ल विगत केही समयदेखि साहित्यिक धरातलमा शसक्त रुपमा अनवरत कलम चलाएर डायस्पोरा साहित्यको परिवेशमा मात्र नभएर नेपाली वाङ्मयमानै छलाङ् मार्ने एउटा लहलहलाउँदा तथा भरोसा लाग्दा उदयमान व्यक्तिको नाम हो यो । उनी कविताको बिम्बलाई कानुनी शब्दहरुको चयनमा कविताको रंग पोत्ने नयाँ नेपालका प्रथम कवि हो भन्दा कसैलाई धक्का नपुग्ला । उनले यो भन्दा अगाडिनै बिभिन्न फुटकर कविताहरु पत्र पत्रिकामा लेखेर एक ससक्त कविका रुपमा चिनिएता पनि उहाँको पहिलो औपचारिक कृति ‘तमसुक’ कविता संग्रह सन् २००८ मा प्रकाशित (सम्भवत पहिलो श्रव्य पुस्तक) हो भने उहाँको गीति संग्रह ‘परिचय’ (रिमिक्समा) र ‘इच्छा’ ले एक सफल गीतकारको रुपमा पनि चिनिन्छन् उनी ।

घरदेश बाट परदेश, परदेश बाट पनि विदेश जाने क्रमले परदेशमा लेखिएका साहित्यका कृतिहरु बेजोडले तर्केछन् मेरा नजरहरुबाट । कति तर्कना थिए छाती भरी, मन भरी, मुटु भरी तात्तातो सर्सर्ती पढ्ने, स्रष्टाहरुका मष्तिस्क बाट उर्जित ती सिर्जनाहरु । तर भाग्यले जुराए पछि हातमा भने नपरिकन छोड्दो रैनछ । आज गह्र्रौ भान भैरहेछ मेरो हातलाई । आँखाका परेलीहरु रसाएका छन् । कफिका सुर्काेहरु थपि’दो छ अनि कवि मल्लका ७६ वटा कविताका ठेली ।‘फिरादपत्र’ का कवि भावनाका शब्दहरुले मलाई तानीरहेछ, म तन्किरहेछु । तिर्सना मेटिरहेछु, लम्कन्दै छु एक पछि अर्काे आइसल्याण्डको हिमपहाडका लाभा र म्याग्मा निस्के जसरी चरणवद्ध कविता र उहाँका विचार भावहरुमा ।

कोमलप्रसाद श्रेष्ठ मल्लको साहित्यिक उपनाम भने ‘निराकार’ हो । निराकारका कविताहरुमा समकालिन समाजको बेथितिपूर्ण चल्दै आइरहेको अस्थायी राजनीतिक प्रणालीको विकृति र विसङ्गतिलाई कविको कविताले वकालत गरेको पाइन्छ । कविताका दुवै विधा गद्य तथा पद्यमा सशक्त कलम चलाउने मल्ल तेसोत बढि गद्यमानै कलम चलाउन रुचाउछन् । उहाँका कवितामा राज्यका पिपासुहरु संग कविताले यूद्ध छेडेका छन् शब्दका । तर कवि कविताका शब्दका बम गोला बर्षाएर चरित्रहिन नेता प्रति धावा बोलेका मात्र छैनन् एकतर्पिm, त्यसमा भएका समस्यालाई लत्याएका छैनन्, बरु सचेताको ध्वनीहरुले संवेदनाका बासुरी पनि फुकेकाछन् यसरी ।

यो देश विखण्डन गर्न खाज्नेलाई,
नाश गर्न
एकताको हात उठाउँदै
समानताको काँध मिलाउदै
राष्ट्रवादको पैतला लगाउदै
अखण्ड, अभिभाज्य, सार्वभौम, स्वतन्त्र नेपालको
मान, शान, सम्मान विश्वमा जीवन्त राख्नुपर्छ अव । (फिरादपत्र पृ.२)

उहाँको यो ‘फिरादपत्र’ कविता संग्रह दोश्रो काव्य सृर्जना हो । जहाँ साहित्यको कानुनी अदालतमा ‘फिरादपको’ अगाडि नेताहरुलाई बयान मागिएको छ यसरी ।
लिखितम यसै सहरमा जन्मेका, बसाई सरेका
नागरिकता किनुवा, बेचुवा, लुटेरा, भ्रष्टाचारी
निरङ्कुश, महानिरङ्कुश, जनतन्त्र, गणतन्त्र, एकतन्त्र
लोकतन्त्र, प्रजातन्त्र, भीढतन्त्र, खलबलीतन्त्र
मनपरी तन्त्र तन्त्रैतन्त्रको नाति, छोरा
बुहारी, भाइ, भतिज......
तानातान, हानाहान, मनोमान, आंतङ्ककारी, समावेसी, प्रवासी...
हेरी, सुनि, बुझी, जाँची हदैसम्मको सजाय, सुनाई पाउन कलम चलेको छ
साक्षी प्रममाणहरु सैकडौं छदैंछन्, ब्यहोरा यिनै हुन्
तपसिल.... (फिरादपत्र, पृ.१)

हुनत नेपाली कविता आन्दोलनमा बिद्रोही कविहरु नजन्मेका भने होईनन् । तर आज एउता कवितामा बिद्रोहभावको धोती कसेर बर्षाै बस्ने समाजलाई पछार्दै कवि मल्ल अगुवा भएका छन् । उनका कवितामा बिभिन्न विषयवस्तु तथा बिम्बको प्रयोग भएको पाइन्छ । मुख्यतः देशभक्ति, सामाजिक र मानवोचित दर्शनभावले श्रृङ्गारिएको उनका कविताहरुमा जनताका वक्ताभएर नारा दिएका छन् कवितामा मल्लले । जो समाजमा निर्धा जनताहरुछन् तिनीहरुलेनै कारुणीक अवस्थाको बेवहार खेप्नु परेको कुरापनि कविले उतारेका छन् यसरी।

कति भोगून काण्डै काण्डहरु जनता जनार्दन ?
जालझेलका पण्डितहरु जालझेलमै
कुर्सीमा कुर्सीका लागी लडीलडी
सोझा जनताजनार्दन
भेडाच्याङ्ग्राझैँ सधै बलीमा चढिरहनु पर्ने हो कि ? (आत्मसमर्पणवादी, पृ.३७)

यहाँ कविले स्पष्ट संग भनि दिएका छन् । सत्तापिपासुहरु कुर्सीको पछि गिद्धेआँखाको ताकेता गर्ने र मर्ने मरेका मरै अस्थित्व बिहिन प्राणीजस्तै; भएर भन्दै मानव सम्वेदाका विकुल फुकेका छन् ।

उहाँका कविताको अध्ययनमा मैले बुभ्mदा कवि मल्लका कविताहरुमा सवैभन्दा धेरै प्रतिशत राष्ट्रचेतक, समयचेतक र कट्टर शासकवादीका बिरोधी कवि हुन् उनी । उहाँका व्यङ्ग्य कविताका हरफहरुले नेताहरु भागाभाग हुनेछन् । देशका सीमान मिच्दा पनि मौन रहने कातर व्यभिचारी राष्ट्रनेताहरुलाई कुर्सिको मात्र मोहक, र गल्ति गर्नेहरुलाई जीवनभर आत्मग्लानीले मनमा आगो लाग्ने छ, फिरादपत्र मनन् गरे पछि ।

यी बाहेक उहाँका कवित्व भावमा, परम्परा का केहि प्रचलनहरुलाई तोकेर कवितामा प्रेम गर्छन्, घृर्णा गर्दैनन्, गाली गर्छ, समझदारितामा टुङ्ग्याँउछन् यीनै विषेशताकाले होला आज कवि मल्लका कविताका भावना र अनुभूतीहरुमा हामी मग्न छौं । कवि यसौ भन्छन् यहाँ ।

आमाले भन्नुभएको छ
बाबू, जात चाहिन्छ
तर, कसरी सोधुँ तिम्रो जात ?
मेरो आफन्त मनलाई केवल
तिम्रो माया चाहिएको छ
(माया चाहिएको छ) पृ.८२

उनी आफ्नो देश भनेपछि हुरुक्कै हुन्छन् । पहाड, तराई र हिमाल टुक्रिन खोजेकोमा कवि चिन्तित देखिन्छन् । टुक्रिएर पनि जोडीसकेको देशलाई पुनः टुक्याउन चाहन्दैनन् कवि निराकार फेरी आज । उनलाई भाइको गर्धन रेट्ने मोर्चा मन पर्दैन । जात र जातीयको दंङ्गा फसादमा भविस्यमा रगत पोख्ने त्यो सीमानन मन पर्दैन । देशको विकाश गर्नुत पवित्र मन चाहिन्छ । त्यसैले कविका संवेदनशिल भावनाहरु यसरी पोखिएकाछन् कविता हरफहरुमा ।

अथहिन विजयको गर्व गर्छ
पूर्वदेखि पश्चिमसम्म
काटिएको आमाको आँचल,
चिरिएको आमाको छाती
जोड्नुको सट्टा
आमालाई टुक्राटुक्रा पार्ने शङ्खनादमा
जिउँदै लास बनाई
ऊ मलामी खोज्दै हिड् छ ।
(विजय पराजय) पृ.३४

कवि कोमल मल्लका कविताहरुमा वीर, करुण, शृङ्गार, क्रोध जस्ता साहित्यका रसहरु समाविष्ट भएका छन् । केही दशक अगाडि आप्रवासि साहित्यमा केही सुस्तताले छाएता पनि आजको डायस्पोरा साहित्यिककर्मिहरुमा जोश र जागरको उर्ददो भेल आउन थालेको देखिन्छ । यो बाढीमा तैरिँदै गद्यकविताको फाँटमा आफ्नो एउटा विशिष्ट ठाउँ ओगट्न सफल भएका मल्ल भित्र थुप्रै मानवीय चित्रणको अनुवाद गरेका भेटिन्छन् उहाँका कविताका पंक्तिहरुमा ।

बाँच र बाँच्न देऊ
बुद्धको श्वासमा
नाच र नाच्न देऊ
विजय प्रकाशमा
हात उठाऊ, काँध उठाऊ
सहिद र विभूतिको विश्वासमा
तर रत्तरञ्जिन नहोस मेरो देश ।
(शुभकामना) पृ.२३

यो अद्भूत मानव जीवनको अस्थाई वसाईको क्रममा सधै नजिकबाट मानवीय दर्शनको परिभाषा दिने यी समकालिन कवि भोलीको नेपाली साहित्य गरामा हराभरा उब्जाउ बोकेर बिश्व साहित्यमा पनि दखल पुर्याउने बढि सम्भावना देखिन्छ ।

यद्यपि, कुनै कुनै कविताहरु लामा तथा एउटै शब्दहरु पटक–पटक दोहोरिकाले पाठकहरुका खल्लो लाग्न सक्लान् । यस कविता संङ्ग्रह भित्त फाट्टफुट्ट हाईकु समावेश गरेता पनि, खासै हाईकुको नियम ५–७–५ को नियम पालना भने गरेको पाईन्नन् । कविता अनुरागीहरुको लागी कविता पढ्दै जाँदा विभिन्न भाव श्रृखंला आरोह अवरोह गरेर उहाँका भावनाका बिम्बहरुले पगालेर अन्तरमन सम्म छुन सक्ने छ । त्यसैले यो काव्यलाई एकचोटी सबैले मनन् गरेर आफ्नो साहित्यिक यात्राको अर्काे अध्याय थपौं भन्ने सल्लाह दिन चाहन्छु म ।

अन्तमा, प्रवासमा रहेर पनि विभिन्न वाधा अर्चनलाई पन्छाएर यस्ता गहकिला कविताका सृर्जना गर्न खप्पिस कवि मल्ललाई हृदयवाटनै धन्यवाद दिदै उहाँको प्रेसमा रहेका प्रकाशोन्मुख नयाँ कृित ‘नेताहरुको महँगो बजार’ कविता संङ्ग्रह तथा ‘पिरतीको चाल’ गीती संङ्ग्रह पनि यसै वर्ष हाम्रो हातसम्म आइपुग्ने भएकाले ‘निराकार’जीलाई म मात्र नभएर सम्पूर्ण बेलायत वासीको तर्फवाट अग्रिम शुभकामना टक्याउन चाहान्छु ।

[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 बैशाख, 2067

लेखकका अन्य रचनाहरु