के गरु म यो धरावासीलाई!

- कृष्ण धरावासी

२०३५ सालको मोतीजयन्तीको उपलक्ष्यमा जनभवन, इलाममा भएको कवि गोष्ठीमा लगेको कविताको सिरानमा दाहिनेपट्टि नाम लेख्दा मैले लेखेको थिएँ कृष्णप्रसाद 'धरावासी'। घरको ठाउँमा धरावासी लेख्नुपर्ने धेरै कारणहरू थिए त्यसबेला। पारिवारिक, आफन्त, नातागोता आदिसँगको असन्तुष्टि र विश्व मानवतामा देखा परेको अन्याय, अत्याचार र हत्याहिंसाको स्थिति। फेरि भर्खर एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न गएको १७ वर्षे किशोरको भावुकता पनि थियो त्यहाँ।

क्याम्पसका अधिकांश साथीहरू कताकताबाट ल्याएर 'रेड बुक' हरू पढ्थे, मार्क्सवादका ठूलाठूला ठेलीहरू पढ्थे, प्रगति प्रकाशनले छापेका रूसी कृतिहरू पढ्थे। अरू केही साथीहरू बीपी, गान्धी, थोरो, जोन स्टुअर्ड, रूसो, भोल्टेयरहरू पढ्थे। तर म चाहिँ आचार्य रजनीश, साईबाबा, विवेकानन्द, रामकृष्ण परमहंस, सर्वपल्ली राधाकृष्णन्, राहुल सांकृत्यायन, डा. नारायणदत्त श्रीभाली आदिहरू पढ्थेँ। अतिरिक्त अध्ययनमा हिन्दीमा अनूदित वेद, उपनिषद, पुराण, कुरान, बाइबल तथा यिनका टीका र व्याख्याहरू भेटे जति पढ्थेँ। रहस्य साहित्यपट्टि मेरो रुचि विशेष झुकेको थियो। तन्त्रमन्त्र, योगसाधना अनि हिप्नोटिज्म, टेलिपेथी, मेस्मेरिज्म आदिहरू मलाई आकर्षण गर्ने कुराहरू थिए।

मलाई साथीहरू र मेरा बीचमा छुट्टै संसार छ जस्तो लाग्दथ्यो। उनीहरूलाई म बेकारका तनावमा देख्थेँ सधैँ बहस, विवाद, झगडा, नाराजुलुस, हानाहान, तानातानबाट तनावग्रस्त। म भने शान्त र पराकाल्पनिक दुनियाँमा हराइरहेको। तथापि म मन्दिरमा जाने, पूजाआजा गर्ने, तर साकार ईश्वरको भ्रमबाट भने मुक्त थिएँ। अनि त्यसैवेला लागेको थियो यो संसार प्रकृतिले दिएको साझा बगैँचा हो। यसमा धरतीका सम्पूर्ण प्राणीहरूको समान हक छ। प्रकृतिले प्रदान गरेका धरतीका हरेक वस्तुको हामी प्रत्येकले समानुपातिक उपयोग गर्न पाउनु पर्छ। यी देशदेशका सीमा रेखाहरू, भाषाभाषी, जातजाति, ठूलोसानो, धनीगरिब भन्ने सन्दर्भहरू मानव सभ्यताका लागि अनावश्यक छन्। प्राणीहरू प्रकृतिका सन्तान हुन्, धरती तिनको वासस्थान हो। तसर्थ जात, थर, गोत्र, नागरिकता आदि भन्नु भ्रम हो। त्यसैले सारा पृथ्वीलाई आफ्नो घर सम्झनु पर्छ।

यस्तो भावुकता र आदर्शसोचले प्रभावित भएको मेरो मनले आफूलाई धरतीको पुत्र सोच्यो र त्यसदिन मैले आफ्नो नामका पछि थरलाई छोपेर 'धरावासी' लेखेँ। अनौठो माने धेरैले, राम्रो पनि माने कतिले। यो नितान्त मौलिक बन्यो, कसैले अनुकरण गरेन र आजसम्म यस शब्दलाई एक्लो छोडिदिएका छन् सबैले। समयक्रममा मेरो पूर्ण परिचय बोक्दै गयो यो शब्दले। मेरो तात्कालिक भावुकता झन् गाढा र सान्दर्भिक लाग्दै गयो आफैँलाई।

संसारमा दिनप्रतिदिन बढिरहेको हत्याहिंसा र आतङ्कले मन दिनदिनै त्रस्त हुँदैगयो। भावुकता विस्तारै संवेदनहीन बन्दै जानथाल्यो। घरमा टेलिभिजन ल्याएपछि त दिनदिनै मन प्लाष्टिकको स्तो पो हुँदैगयो। तैपनि जव सञ्चारमाध्यमहरूले जम्मुकश्मिर, पञ्जाव, श्रीलङ्का, कङ्गो, कोसोभो, इथियोपिया, बर्मा आदिका दङ्गा र विनाशहरूको विवरण प्रस्तुत गर्थे वा टेलिभिजनले दृश्य प्रसारण गर्थ्यो मन चिसो हुन्थ्यो, शरीरका कोषकोषहरू झमझमाउँथे। छेउमा बसेका आमा, सीताजी र छोराछोरीहरूलाई हेर्थें। कहिलेकाहीँ त्यत्तिकै आँखा रसाइसकेका हुन्थे। एउटा त्यस्तो समाचारले कति दिनसम्म केही लेख्न, पढ्न मन लाग्दैनथ्यो। त्यसैत्यसै संसार नै विरानोजस्तो पार्दथ्यो।

अझ जब दङ्गा सरेर नजिकै दार्जीलिङमा आयो'गोर्खाल्याण्ड आन्दोलन' भएर, त्यहाँ पनि गोर्खाल्याण्ड र सीपीएमका नाममा नेपालीहरूको मृत्युको कथाले हुरुक्कै भएको थियो मन। कताकताबाट एकदिन वीर नेम्वाङको नामको 'पर्चा' भेट्यौं आलोक भन्ने पत्रिकामा। त्यो दिन भरत भूर्तेल र म रातभरि सुत्न सकेनौं।

कहिलेकाहीँ टिभीमा दृश्य हेर्दाहेर्दै मनमा लाग्थ्यो किन बस्नु ती मानिसहरूले त्यस्तो ठाउँ रुँघेर। जानु नि अन्तै, टाढा कतै। रातदिन मृत्युको त्रास बोकेर किन बसिरहनु त्यहाँ। त्यत्रो ठूलो देश छ भारत, जम्मुकश्मिरमै किन टाँस्सिएर बसिरहनु। हरेक दङ्गाग्रस्त क्षेत्रका सर्वसाधारणले छोडी दिनु क्या त्यो ठाउँ। यस्तो लाग्थ्यो। जहिले पनि मन डराएको, आत्तिएको, तर्सिएको, निराश भएको र भावुक भएको हुन्थ्यो।

मानिसले मानिससँगै डराएर भाग्नुपर्ने, लुक्नुपर्ने, मर्नुपर्ने यस्तो परिस्थितिको रचना कसले गर्दो हो? त्यसलाई के मज्जा आउँदो हो? म अहिले पनि बुझ्िदनँ। त्यसो त ठूलाठूला व्याख्याकार र विश्लेषकहरूले बुद्धिको रंजन गरिरहन्छन्, तर एउटा सोझो दिमाग र भावुक मन एक्लैमा घोत्लिइरहन्छ।

संसारभरि जहीँतहीँ यस्तै छ, धरावासीजी! यो संसारको राजनीतिले कोल्टे फेर्न खोजेको बेला हो।

द्वन्द्ववेगर मानिसको उत्थान र विकास संभव छैन। आजको युगसम्म आइपुग्न, यसअघिको सङ्घर्षको इतिहास पढ्नुहोस्, मानव विकासको इतिहासलाई बुझ्नेले वर्तमानलाई सहजै चिन्दछ र भविष्य देख्छ पनि।

कहिलेकाहीँ लाग्छ, साथीहरू राजनीतिशास्त्रका ठेलीहरू पढिरहेको बेला म किन आध्यात्मिक ग्रन्थमा जीवन खोजिरहेको थिएँ। अरूले द्वन्द्व नै प्रकृतिको सौन्दर्य हो भन्ने बुझिरहेका बेला म किन विश्व मानवता, शान्ति, दया, करुणा, त्याग र समर्पण जीवनको माग हो भन्ने घोकिरहेको थिएँ। अरू सबैजना गौरवका साथ आफ्नो जात, थर, गोत्र, राष्ट्रियता, भाषा, संस्कृतिमा उभिइरहेका बेला म किन सारा पृथ्वीलाई जात, धर्म, लिङ्ग, वर्ग र राज्यका सीमाहरूबाट मुक्त एउटै साझा घर देखिरहेको तथा राज्यका सीमारेखाहरू सबै मेटिएको र मानवताको साझा फूलबारी भएको पृथ्वीको कल्पना गरिरहेको थिएँ। आज पनि जब एकान्तमा हुन्छु, मलाई मेरो त्यस दिनको भावुकताले उत्तिकै प्रभावित गरिरहेको भेट्छु।

तर सत्रवर्षे उमेरको भावुकताले रचना गरेको यो 'धरावासी' आज ३० वर्षपछि आफ्नै देश, आफ्नै गाउँ र आफ्नै आँगनमा धरापमा परिरहेको देख्न थालेको छु। टाढाटाढा बजेको मादल, रोएको आवाज, चिच्याएको स्वर नजिकनजिक हुँदै आइरहेको छ। 'मान्छे मर्नुअघि वीर मसाने उसको सातो बोकेर आधारातमा घाटतिर झर्छ र त्यो आत्मा कङ्कला शब्द गरी रुँदै गइरहन्छ, अनि भोलि बिहान मान्छे मरिसकेको हुन्छ' भनेर सानो छँदा हजुरआमाले हामीलाई कथा भन्नुहुन्थ्यो। आज हजुरआमाको कथाको वीर मसाने विभिन्न नामले गाउँगाउँमा पसेर मानिसको सातो बोकिरहेको जस्तो लाग्न थालेको छ।

ओहो! आज म फेरि भावुकताको सिँढी उक्लन लागेको छु, तर यो भावुकता यो युग र उमेरमा सुहाउँदैन भन्छन्। हामी जस्तो पढेलेखेको, कुरा बुझ्ने मान्छेले भावुक नहुनु भन्छन्। वर्षभरि भात ख्वाएर पालेको भए पनि बलि दिने बेलामा बोकोको माया नगर्नु भन्छन्। आफ्नाले आफ्नालाई मार्ने, अनि विचरा पनि भन्ने। चिन्दै नचिनेकोलाई त मार्न पनि किन मार्नु र।
संसारभरि भएको कुरा हाम्रामा मात्र नहुनु असंभव हो रे। एउटै पृथ्वीमा बसेपछि सबै कुरा सहनु र भोग्नु रे। त्यसै भएर अरुतिर भइरहेको दङ्गाफसाद, लुटपाट, हत्या आतङ्क हाम्रा निम्ति पनि क्रान्तिकारी गहना हुन् रे। लड्नै नसक्ने, जुध्नै नसक्ने, मार्नै नसक्ने, मर्नै नसक्ने पनि कुनै जाति हो र? अरे।

हामीले अरूका राम्रा र असल कुराहरू त सिक्न सकेनौं, इमान्दारिता, नैतिकता, समानता, विकास र वैज्ञानिकता सिक्न सकेनौं भन्दैमा घृणा, तिरस्कार र निष्ठुरता पनि नसिक्नु?
यो देश भोलि सुनको लङ्का पनि होला, रामको राज्य पनि बन्ला, कुवेरको सम्पन्नता पनि आउला, आदर्शको अनुकरणीय भूखण्ड पनि बन्ला, भोलि यो देशले विश्वमै सुन्दरताको अद्वितीय नमूना पनि देखाउला। तर आज जब यहाँ आमाहरूका स्तन काटिँदैछन्, बहिनीहरू बलात्कृत हुँदैछन् र छोरीहरू निर्वस्त्र सडकमा बेचिँदैछन्, मैले चाहिँ यही हेरेर मर्नु यो जीवन? जुन समाजमा वर्तमान नै यति घिनलाग्दो छ, त्यसको भविष्य योजनाकारका सुन्दर चित्रमा जस्तो कसरी बन्ला र खै?

्रत्येक बिहान काननेर बज्ने एफएम रेडियोका समाचारहरू र नाङ्ले पत्रिकाका भँगेेरे टाउके अक्षरका सूचनाहरूले बिहानैदेखि रक्तचापमा दबाब दिन थालिसक्छन्। अनि दिनभरि नै शरीर र मन दुवै अकर्मण्य रहन्छ।

देशका कुनाकुनामा भइरहेका हत्या, आतङ्क र साम्प्रदायिक विद्रोहले यहाँका आदर्श चित्रकारहरूको नक्सा नै धरापमा परेको छ। वर्ग सङ्घर्ष र द्वन्द्वात्मक भौतिकवादका मार्क्सवादी व्याख्याहरू पनि पहाडी, मधेशी, हिन्दूमुस्लिम, जाति, जनजाति, बाहुनक्षेत्रीको जातीय साम्प्रदायिकताको पुरानो इनारमा जाकिएर निसास्सिन थालेको छ। राजधानीको टुँडिखेलमा किसिमकिसिमका आदर्शका झण्डा फहराएर भाषण गरिरहनेहरू लुम्बिनीको दङ्गामा आफ्नो दायित्व देख्दैनन्, कानेपोखरीको बसभित्र आगो लगाउने सलाइको काँटीमा आफू बारुद थिएँ भनी मान्दैनन्। सप्तरीमा रेटीरेटी मारिरहनेहरू भित्र आफैँले रोपेको रक्तपिपासु दाँत हुर्किएर बङ्गारो बनेको हो भनी स्वीकार्दैनन्। प्रत्येक मृतकको परिचय उसको मृत्यु 'जायज' बनेर समापन हुन्छ।

म आकाशतिर फर्किएर हेरिरहन्छु ती ताराहरूलाई, जसलाई २०३५ सालतिर आँगनमा गुन्द्री ओच्छ्याएर उत्तानो परी आधारातसम्म टुलुटुलु हेरिरहन्थें। आज पनि ती त्यस्तै छन्, तर यो धरती आज त्यस्तो छैन। म त्यस्तो छैन, मेरो सोच पनि त्यस्तो छैन। धरतीभरिको भएर फैलिन हिँड्थे म 'धरावासी' भएर, तर आज मलाई देख्नेहरूले परैबाट देख्छन् र भन्छन्

ऊ आउँदैछ पहाडे।
ऊ आउँदैछ हिन्दू।
ऊ जाँदैछ बाहुन।
ऊ उभिएको छ काङ्ग्रेस।
ऊ टोलाइरहेको छ पुरुष।

म जात, गोत्र, धर्म, लिङ्ग, पार्टी अनेक टुक्राहरूमा छरपस्ट भएर असुरक्षाको कहालीलाग्दो 'घनचक्कर' मा फँसिसकेको छु। अब मैले चतुरे वल मेरो साथी, कमलेश तिवारी मेरो मित्र, कासिम मेरो काका, कौडिण्य मेरो आत्मीय, सीताजी मेरो पत्नी भन्न सोच्नुपर्ने भो। विस्तारो सानो स्वरले भन्नुपर्ने भो।

धेरैपल्ट, धेरै ठाउँमा मैले भनिसकें, लेखिसकें मलाई 'धारावासी' नभन्नोस्, 'धरावासी' भन्नोस् तर पनि भन्नेहरूले मलाई 'धारावासी' नै भन्छन्। अचेल लाग्न थालेको छ वास्तवमा तिनीहरू ठीकै भन्छन् यहाँ 'धरा' नै कहाँ छ र म त्यसको 'वासी' हुन्छु? यहाँ त चारैतिर 'धारा' छ संविधानको 'धारा', एनजीओका विधानहरूको 'धारा', पार्टी र सङ्गठनहरूको उग्र विचार 'धारा'। यिनै धाराहरूका चेपमा निसास्सिएर मर्न लागेको यो वर्तमानमा एउटा भावुकता त्यत्तिकै बटारिएर घाँटीसम्म आउँछ, वास्तवमा अब के गरुँ म यो 'धरावासी' लाई!

आफ्नै आँगन रक्तमुछेल भएको बेला कार्लमार्क्सले देखेको राज्यका सिमाना मेटिएको पृथ्वीको कल्पना मेटिदिऊँ म पनि र मरिदिऊँ एक आँगन दङ्गाको मृत्यु? तर यो घिनलाग्दो निराशाको विद्रोह म कहाँ गर्न सक्छु र? भनी रहन्छु जीवनभरि 'धरती साझा फूलबारी हो, प्रकृतिको समान उपभोग सबैले गर्न पाउनुपर्छ। धरावासीहरूको एउटा संसार एकदिन अवश्य बन्छबन्छ।'

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु