वासु शशीलाई सम्झिँदा

- परशु प्रधान

वासु शशीसँग लगभग तीन दशक सत्सङ्गत गर्ने मौका मैले पाएँ । काठमाडौँमा स्थायीरूपमा बसोबास गरेपछि केही अग्रज र समकालीन साहित्यकारहरूसँग आत्मीय सम्बन्ध र सम्पर्क भयो । अहिले सम्भिmनु पर्दा कविवर केदारमान व्यथित, दौलतविक्रम विष्ट, पोषण पाण्डे, शङ्कर लामिछाने, नीरविक्रम प्यासी, हरिश बमजन आदि छन् । हेर्दाहेर्दै, भेट्दाभेट्दै धेरै साथी र अग्रजहरू स्वर्गे भए । जिन्दगी सम्भिmँदा कहाली लाग्छ ...।

वासु शशीसँगका केही अविस्मरणीय घटना र क्षणहरू छन्, जसलाई म भुल्नै सक्तिन । उहाँको घर गौशाला, जयवागेश्वरीमा थियो । युवास्रष्टाहरूको भेटघाट, कविता श्रवण र रसपानको कार्यक्रम सधैँजसो त्यहाँ हुन्थ्यो । वासु शशी समकालीन विशिष्ट कवि भए पनि, हामी सबैसँग साथीभाइको व्यवहार गर्नुहुन्थ्यो । त्यहाँ भेला हुने केही विशिष्ट नामहरू सम्भिmन्छु- दमन ढुङ्गाना, हेम हमाल, मुकुन्द वैद्य, किशोर नेपाल, दिनेश कोइराला, शैलेन्द्र साकार, धु्रव सापकोटा, हरि अधिकारी आदि कतिपय स्वनामधन्य नामहरू मैले भुल्न सक्छु । परन्तु तत्कालीन धेरै युवास्रष्टाहरूको साझा चौतारी वा 'गोष्ठी-घर', वासु शशीको घर थियो । उहाँलाई धर्मपत्नी जुलुम वैद्यको सहयोग पनि अपूर्व लाग्थ्यो । यसरी वासु शशी हाम्रा पि्रय र आदरणीय कवि मात्र होइन, हामी सबैका अति मिलनसार र सहयोगी मित्र पनि हुनुहुन्थ्यो । काठमाडौँमा हामी सबैका दुःखसुखका संवेदनशील-सहयोगी मित्र हुनुहुन्थ्यो ।

वासु शशी कवि मात्र नभएर साहित्यका सबै विधामा सशक्त र सफल व्यक्ति हुनुहुन्थ्यो । गीत, नाटक, सिनेमाको स्त्रिmप्ट, अनुवाद आदि सबै क्षेत्रमा कलम चलाउनु कुनै सामान्य विषय वा क्षमता होइन । नेपाली भाषामा मात्र होइन, नेवारी -नेपाल) भाषामा पनि उहाँको व्यक्तित्व आधिकारिक थियो । वासु शशीजस्तो विशिष्ट र सशक्त प्रतिभा कमै थिए वा हुन्छन् । नेपाली भाषा-साहित्यमा गुटबन्दी र षड्यन्त्रको राम्रो शिकार वासु शशी पनि हुनुभयो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको परिषद्मा उहाँको नाम अन्त्यमा काटियो र मदन पुरस्कार गुठीले कहिल्यै सम्भिmएन । अनि यौटा गजबको कुरा के लाग्यो भने यी सम्मान, पुरस्कार, एकेडेमीको सदस्यतालाई उहाँले यत्ति सामान्य र साधारणरूपमा लिनुहुन्थ्यो कि, अहिले सम्भिmदा उहाँप्रतिको श्रद्धा, सम्मान र विश्वास झन् चुलिन्छ । एक जना समर्पित स्रष्टामा हुनुपर्ने आत्मसम्मान र स्वाभिमान उहाँबाट हामीले सिक्यौँ भन्ने कुरामा म विश्वस्त छु ।

वि.सं. २०४८ सालतिरको कुरा हो । उहाँसहित हामी एउटा साहित्यिक कार्यक्रममा भाग लिन वीरगन्ज गएका थियौँ-सिङ्गै एक बस । राति १०-११ बजे वीरगन्ज पुग्दा साहित्यकारहरूको लागि रातिको खाना एउटा बिहेको भोजमा छ भन्ने उर्दी भयो । हामी सबै भोकले आत्तिएर बिहेस्थल पुग्दा भोजभत्तेर उठिसकेको पायौँ । मलाई राम्रो सम्झना छ-हामी -वासु शशी, शैलेन्द्र साकार, धु्रव सापकोटा)लाई राखिएको धर्मशाला छाडी बसस्टैण्डमा पुग्यौँ- बस्ने र खाने होटल खोज्दै । राति १२-१ बजिसकेको थियो । भोक र निद्राले आत्तिएका थियौँ । बल्लतल्ल यौटा होटल खुलाइयो र खाना खाएर सुत्दा ३-४ बजिसकेको थियो । यसको केही दिनपछि वासु शशी एउटा कार्यक्रममा झोक्राएर, दुवै हातले टाउको समाएर बसिरहनु भएको थियो । हामीले सोध्यौँ- तपाईंलाई के

भयो ? उहाँले टाउको फुट्लाजस्तो भयो भनी आफू बिरामी भएको दुःखद कुरा भन्नुहुँदा हामी धेरै चिन्तित भयौँ । नसासम्बन्धी समस्या होला भन्ने सोची नसासम्बन्धी डाक्टरलाई देखायौं तर उहाँको फोक्सोमा क्यान्सर भएको रहेछ- धेरै चुरोट पिउने कारणले । कान्छा ज्वाइँ कवि प्रद्युम्न जोशी र भाउजू औषधोपचारका लागि बम्बै जाने सल्लाह भयो । हामी सबैले सकेको केही सहयोग पनि जुटायौँ तर पनि जाने अघिल्लो रात अचानक महान् त्यागी नेता गणेशमान सिंह वासु शशीको नयाँ घरमा नै आई भा.रु.५०/६० हजार सहयोग गर्नुभयो । वासु शशीले अलि असहज महसुस गर्नुभएको जस्तो लाग्यो परन्तु उक्त रकम स्वच्छ र निस्वार्थ सहयोग थियो तर पनि उहाँ बाँच्न सक्नु भएन । उहाँको निर्जीव शरीर हवाईजहाजबाट यौटा काठको बाकसमा आयो । हामी धेरै शुभचिन्तक र साहित्यकारहरू विमानस्थल पुगेका थियौँ लिनलाई । २०४९ सालको जाडो रातमा आँसुका मालाले हामीले पशुपति आर्यघाटमा बिदा गर्‍यौँ र उद्घोष गर्‍यौँ हाम्रा बोल्ने पशुपतिलाई असामयिक गुमायौँ, टुहुरा भयौँ । वासु शशीको निधनको, अभावलाई अहिले २० वर्षपछि पनि पूरा गर्ने कुनै साहित्यकार मैले देखेको वा पाएको छैन- यो सत्य हो ।

वासु शशीसँगका धेरै अन्तरङ्ग, मित्रतापूर्ण, संवेदनशील प्रसङ्गहरू छन् । युगकवि सिद्धिचरण श्रेष्ठको निधनपछि वासु शशीको नेतृत्वमा 'युगकवि सिद्धिचरण प्रतिष्ठान' गठन गरियो, जसमा म सचिव भएँ । उहाँका सहृदयी छोराछोरी र अन्यको सहयोगबाट राम्रै रकम जम्मा गरी 'युगकवि सिद्धिचरण पुरस्कार' पनि राखियो । युगकवि सिद्धिचरणका बारेमा वासु शशीको एउटा गजबको भिजन थियो । उहाँ भन्नुहुन्थ्यो- साँखु क्षेत्रमा चार, पाँच रोपनी जग्गा किनौँ र प्रतिष्ठानको कार्यालय मात्र होइन, उहाँको विषयमा सङ्ग्रहालय पनि राखौँ । भित्र पस्नासाथ युगकविको तस्बिर र मेरो ओखलढुङ्गा गीत गुन्जिरहोस् । हामी सुन्थ्यौँ र सपना बुन्थ्यौँ तर शशी गइहाल्नुभयो र भिजनको पनि उहाँसँगै मृत्यु भयो । विलकुल नयाँ पुस्ताका कविहरूलाई सम्मानित गर्ने सो पुरस्कार कवि शैलेन्द्र साकारबाट सुरु भई गत वर्ष मात्र राष्ट्रकवि माधव घिमिरेले पाउनु भएको छ । आजभोलि पनि बेलाबेलामा सो पुरस्कारबारे समाचार पढ्दा म झस्किन्छु ।

वासु शशीको देहावसानपछि वासु शशी स्मृति परिषद् गठन भई हालसम्म क्रियाशील छ । उहाँको स्मृतिग्रन्थ पनि प्रकाशित गर्‍यौँ । प्रत्येक वर्ष राम्रा कविहरू सम्मानित भई आएका छन् । हाललाई यही नै सन्तोषको विषय हो- मेरो लागि ।
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 बैशाख, 2067

लेखकका अन्य रचनाहरु