ईश्वरवल्लभको सम्झना

- विश्ववल्लभ

सम्झनामात्र बाँकी रहृयो
अरु केही छैन ।
मन्दिरै मन्दिरको यो सहरमा
ईश्वर कतै छैन ।

भनिन्छ- नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रो अमूल्य धन हो तर यसका सर्जक सदा दीनहीन र तिरस्कृत किन ? सदा भोका, नाङ्गा र रोगी किन ? यसको उचित जवाफ हिजो पनि थिएन, आज पनि छैन, भोलि नहुन पनि सक्छ ।

यो सुन्दर देश सदा आपसी कलह, लोभलालच, सत्तामोह भुँवरीमा फसेकाले नेपाली वाङ्मयको विकास प्रवर्द्धन हुन नसकेको पक्का हो ।

साथै सदा सर्जकहरूले आर्थिक सङ्कट र अनेकौँ समस्यामा पिल्सन पर्ने, उचित मूल्याङ्कन नहुनाले अमूल्य प्रतिभाहरू देशबाट पलायन हुनु वा देशमै अनेकौँ दुःखकष्ट सहेर बाच्न, रुन्चे हाँसो हाँस्न विवश छन् । त्यसैमध्येका एक थिए कवि, चिन्तक, गीतकार र मेरो दाइ ईश्वरवल्लभ पनि ।

ईश्वर दाइसँग बितेका समय, सुखद, दुःखद क्षणहरू साटासाट गर्न चाहन्छु र आफूलाई हलुको पार्न चाहन्छु ।

समय पनि कति छिटोछिटो बग्दोरहेछ पानी बगेजस्तो ।

घना जङ्गलमा डढेलो लागेजस्तो । कस्तो पट्यारलाग्दो एक्लोपन, शून्यपन Û

हिजो आज भन्दाभन्दै हामी छुट्टएिको दुई वर्ष लागिसकेछ । छोरा आनन्दले, मैले आर्यघाटको चितामा अग्निदाह गरेको, ईश्वरको अस्तुलाई आर्यघाटको फोहर पानीलाई पवित्र सम्भिmएर बगाएको, उसको नासो उसैलाई जिम्मा लाएको चैत १० गते मध्याहृन । ऊ आगो थियो खरानी भो, खरानी पानी भो, बग्यो कताकता धेरै टाढा भो ।

उचित पालनपोषणको कमी, गाँस, बास, पढाइलेखाइको अस्तव्यस्तता, स्वार्थी समाजमा बालककाल बितेको, खेल्ने रमाउने बेलामा जेठो भएको नाताले साना भाइको स्याहारसम्भार बोक्ने, ईश्वरवल्लभलाई समयले विद्रोही कवि बनाएको छ ।

त्यसैले रगतैरगतको कविता, त्यो पनि आमाको, 'मेरी आमाले आत्महत्या गरेको देश' यो उनको आक्रोश र विद्रोहको बिम्ब हो । हाम्रो बाल्यकाल यसरी नै बित्यो, सम्झँदा पनि कहालीलाग्दो, दिक्कलाग्दो ।

हाम्रा पिताजी- पं. मुरलीधर भट्टराई ख्यातिप्राप्त विद्वान् तथा प्रखर पुराणवाचक । उनको पुराणवाचन व्यङ्ग्य प्रहार नै राणाशासकको लागि विष भो । तिनैताक मुरली पण्डितलाई जन्मकैद र सर्वस्व सजाय तोक्नु मामुली नै थियो । भनिन्छ, बाहुन भएरमात्र बाँचेको रे नत्र प्राणसजाय पक्का । हामी राजद्रोही, कैदीका सन्तान, हामीले दुःख नपाए कसले पाउने ?

पिता मुरलीधर, आमा राममायाका तीन छोरामध्ये जेठो ईश्वरवल्लभ, माइलो स्वतन्त्रवल्लभ, कान्छो म विश्ववल्ल्भ । माइला दाइ स्वतन्त्रवल्लभको पिताजी जेलमा हुँदा अल्पायुमा नै, भोक रोगमा उचित स्याहारसुसार र औषधिउपचार नपाउँदै तीन वर्षको उमेरमा अकाल मृत्यु भयो ।

आँधीबेरीसरह चारैतिरबाट आपत्, विपत्, सङ्कट सहने र आमा र बाह्र वर्षको दाइमात्र । म काखे बालक, हामी सबैको लालनपालन, आमाको रगतपसिनाबाट प्राप्त ज्याला, थोत्रा जडौरी कपडा, खानाबाट हुन्थ्यो रे । हामीलाई सहयोग गर्ने, माया गर्नेहरू पनि कठोर सजाय पाउने डरले खुलेर अगाडि आउन तर्सन्थे ।

येनकेन हाम्रो बाल्यकाल गुज्रँदै थियो, अपमान सहने, भोक खप्ने, नाङ्गै बस्ने सडकछाप भएर यताउता कालीमाटीमा भौँतारिने, कसैले दियो खाने, नपाए भोकै बस्ने बानी परिसकेको थियो । यसै समय बज्यैको मृत्यु हुन्छ । पिताजीलाई आमाको किरियाकर्म गर्न जेलबाट छोडिन्छ । मैले पहिलो पटक बाबु देखेको र पिताजी भनेर चिनाउने आफैँले बोकेर ढोगाउने ईश्वर दाइ नै हो ।

जन्मपछि मृत्यु, सुखपछि दुःख, हाँसोपछि आँसुले पछ्याई नै रहृयो । पिताजी छुट्नु सुख थियो भने कान्छीआमासँगको गृहकलह अकल्पनीय पीडा ।

पतिको अनुपस्थितिमा अनेकौँ दुःखकष्ट, पीडा, अपमान सहेर छोराहरू हुर्काएर बसेकी निरीह, असहाय नारीले कयौँ वर्षदेखि प्रतीक्षित प्यारो पतिबाट सौता उपहार पाएको क्षण कति दुःखद होला ? यही दुःखकष्ट सहन, खप्न नसकेर कालीमाटीको घरको अँध्यारो कोठामा, आफैँले खुकुरीले रेटेर आत्महत्या गर्नुहुन्छ । यो दुःखद घटना म बालकलाई साधारण थियो भने यो चोट १३-१४ वर्षे ईश्वरवल्लभलाई असाधारण र अकल्पनीय । आमाको रगतले लतपत भएको खुकुरी पखाल्नु, भुइँ पुछ्नु आदि घटनाले ईश्वरवल्लभलाई विद्रोहको बाटोतिर नयाँ जीवन, नयाँ परिवेश र गन्तव्यमा पुर्‍याउँछ ।

यी हुन्, हाम्रा तीता अतीतका अविस्मरणीय सम्झना । ममतामयी आमाको माया र छाया स्नेह पनि नपाउने भएपछि चारैतिर अँध्यारो नै अँध्यारो देख्नु, छट्पटिनु स्वाभाविकै हो ।

पुनः हाम्रा दुःखका दिनहरू आरम्भ भए । जसको वर्तमान सुन्दर हुँदैन उसको भविष्य पनि अँध्यारो, उबडखाबड सङ्घर्षमय नै हुन्छ । यिनै घटनाबाट छियाछिया भएर ईश्वर दाइको विद्रोह बाबु, सौतेनी आमा, घरपरिवार समाजबाट सुरु हुन्छ, भौँतारिने क्रम । कहिले गोरखपुर, इलाहाबाद, बनारस, पटना पुग्नु र उतैबाट म्याटि्रक पास गर्नु, यही क्रममा रामहरि जोशी दाइको अनुरोधमा मलङ्गवा हाइस्कुलमा करिब दुई वर्ष पढाएर त्यहीँ पनि छोड्नु ईश्वरको नियति थियो ।

गाँस, बास, आफन्त र शान्तिका लागि पहाडकी रानी प्राकृतिक सौन्दर्यकी खानी दार्जिलिङ पुग्छन् । मान्नैपर्छ, यहीँबाट ईश्वरवल्ल्भ कवि बन्छन्, पूर्ण बन्छन् । अनि हुन्छन् कवि वल्लभ । गाँसबासको व्यवस्थाका लागि दार्जिलिङको टर्नबुलमा संस्कृत पढाउन थाल्छन्, गुणी शुभचिन्तक शरणा प्रधान, रनजित जगमेर र पिटर कार्थकजस्ता विद्यार्थी भेट्छन् । त्यही स्कुलमा अम्बर गुरुङ, इन्द्रबहादुर राई पनि सहयात्री शिक्षक । यहीँबाट मेलमिलाप, मित्रताको शुभारम्भ भो । भनिन्छ, अझै पनि तीन अङ्कलाई अशुभ नम्बर भन्छन्, तीन टिकट महाविकट भनिन्छ । तर, नेपाली साहित्यको आकाशमा स्वदेश होस् या प्रवासमा तीन स्रष्टाको सङ्गतले नेपाली साहित्यमा ठूलो उथलपुथल ल्याएका छन् । प्रशस्त योगदान पुर्‍याएका छन् । नेपालमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा -त्रिमूर्ति), दार्जिलिङ प्रवासमा पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइराला -सुधपा) यसलाई संयोग नै मान्नुपर्छ । पछि आएर पुनः इन्द्रबहादृुर राई, तिलविक्रम नेम्वाङ र ईश्वरवल्लभ मिलेर -तेस्रो आयाम) । यी सबै तीन समूहले नेपाली भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको विश्वभरि विकास, विस्तार गरी मौलिक पहिचानलाई जीवन्त राख्न उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

सर्वप्रथम भूविक्रम नेम्वाङ -तिलविक्रम नेम्वाङका दाइ) को अनुरोधमा ईश्वर दाइले सौगात पत्रिकाका लागि 'वनफूल' कथा लेख्नुभो भने दार्जिलिङबाट प्रकाशित चर्चित पत्रिकाका लागि अनेकौँ कविता लेख्नुभो । भूविक्रमको माध्यमबाटै तिलविक्रम नेम्वाङसित परिचय हुन्छ, यो परिचय नै पछि गएर वल्लभ र काइँलाको मित्रता घनिष्ठतामा बदलियो, तेस्रो आयामका दुई बलियो खम्बाका रूपमा ।

सन् १९६१ को सुरुआतमा ईश्वरवल्लभको सम्पादनमा 'फूलपात पतकर' र तेस्रो आयाम पत्रिका पनि निस्क्यो । यी दुवै पत्रिकाको प्रकाशक काइँला दाइ नै थिए । यसै सिलसिलामा नयाँ रूप, नयाँ मोड दिने कार्यमा विद्वान्, चिन्तक इन्द्रबहादुर राईको साथ र सहयोगले तेस्रो आयामलाई लोकपि्रय बनाउन प्रशस्त मलजल पुर्‍यायो । तिनैको अथक् प्रयासको फलस्वरूप तेस्रो आयाम पृथक् स्वाद र स्वरूपमा स्थापित भएको छ । म पनि समयसमयमा दाज्यू सम्झेर दार्जिलिङ पुग्थेँ, रमाउँथेँ, दार्जिलिङको सौन्दर्यमा यदि निष्पक्ष मूल्याङ्कन गर्ने हो भने दार्जिलिङ त्यहाँका साहित्यप्रेमी नेपालीले धेरै माया स्नेह, नाम, गाँस, बासमात्र होइन जीवनसाथी श्रीमती कमला भट्टराई, तीन छोरी रेखा, इशु, रचना र छोरा आनन्दवल्लभ पनि मायाको स्वरूप कोसेली ईश्वरवल्लभलाई सुम्पेका छन् ।

नारायणगोपाल दार्जिलिङ पुग्नु, त्यहीँ प्रेमविवाह हुनु, गोपाल योञ्जनलाई, नारायणगोपालसँग मीत लगाइदिनुमा ईश्वर दाइको योगदान र सहयोग आज पनि चर्चाको विषय बन्ने गरेको छ । आयामिक आन्दोलनले नेपाली साहित्यमा मात्र होइन नेपाली गीति क्षेत्रमा पनि नयाँ मोड र ठूलो चहलपहल नै ल्यायो । १५-१६ सालतिर नेपाली गीतलाई त स्वर्ण युग नै मानिन्छ । नयाँनयाँ कर्णपि्रय गीतहरू, नयाँ कलाकार, गीतकार, सङ्गीतकारको जगजगी । प्रवासमा अम्बर गुरुङको स्वर र सङ्गीतमा अगमसिंहको शब्दमा नौलाखे तारा उदायो र ए कान्छा मलाई सुनको तारा झारिदेऊ न, अरुण लामा, शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बा, कर्म योञ्जनका गीत, हीरादेवी वाइबाका लोकगीतको जमाना । नेपालमा नारायणगोपाल, मणिकरत्न, पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी, मीरा राणाका अजर-अमर गीतको रामराज्य नै थियो । यो समयलाई नेपाली गीतको स्वर्णयुग नै मानिन्छ । ईश्वरवल्ल्भ कुशल नवविचारक कविमात्र थिएनन्, अब्बल दर्जाका गीतकार पनि थिए । उनका सबै गीत पि्रय छन् । अचानक ईश्वरवल्लभ, मनमा अनेकौँ कुण्ठा र शरीरभरि रोग बोकेर काठमाडौँ र्फकन्छन्, किन फर्किए कसैलाई थाहा छैन । बाचुन्जेल दार्जिलिङ फर्केनन् ।

कस्तो मिल्दो यथार्थ, दुवै कवि, लोकपि्रय गीतकार, अजर-अमर साहित्यकार हरिभक्त कटुवाल र ईश्वरवल्लभले अन्तिम समयमा कर्मभूमि छोडेर अन्तिम विश्रामका लागि मातृभूमि रोजे । आफ्नो आमा, आˆनो माटो, आˆनै हो । कोही आसाम र्फकन्छन् त अर्को काठमाडौँ ।

मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ । दुवैको एउटै कथा, एउटै व्यथा । कथा अचम्म । कस्तो मिलेको । सन् १९७१ तिर फर्केका वल्लभको काठमाडौँ बसाइ पनि कहाँ सुखद थियो र ? एउटा सानो पुरानो थोत्रो घर र एउटा एक्लो भाइ । सङ्घर्षको सिलसिलामा परिवार नियोजन सङ्घ, चलचित्र संस्थान, योजना आयोगमा काम गर्दै छोड्दै पनि गरेकै हो । साथीभाइ, शुभचिन्तकले सक्दो सहयोग पनि गरेकै हो । कवि, कलाकार कतै बाँधिन चाहँदैन, उन्मुक्त हुन चाहन्छन् र सिर्जना गर्न भने भोकै परे पनि छोड्दैनन्, ईश्वर दाइको पनि यो बानी थियो ।

सन् १९७३ मा ईश्वरवल्लभको अमर कृति 'आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्' कवितासङ्ग्रह प्रकाशित हुन्छ । यसै कवितासङ्ग्रहका लागि नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कारबाट सम्मानित गरिन्छ भने त्यसै वर्ष 'समानान्तर' को लागि साझा पुरस्कारबाट पुरस्कृत गरिन्छ । सन् १९७१ मा प्रज्ञाप्रतिष्ठानमा केही वर्ष सदस्य वल्लभ दाइको सम्पादनमा प्रकाशित नेपाली चलचित्र नीरमाया, टुकी र कविता सङ्ग्रहयोग्य पठनीय पत्रिका हुन् । राष्ट्रिय दैनिक कान्तिपुरमा विभिन्न विषयमा कैयौँ वर्ष अटुट रूपमा स्तम्भ लेख्नु वल्लभको अर्को साहित्यिक विशेषता हो ।

ईश्वर दाइलाई जति सम्झे पनि कमै हुन्छ, लेख्न अझै धेरै पक्ष बाँकी छन् । ईश्वर दाइका धेरै मित्र भएर पनि घनिष्ठ र प्यारो मित्र धेरै कम छन् । तर पछि आएर वसन्त चौधरी, नरेन्द्रराज प्रसाईसँगको सम्बन्ध मित्रमात्र होइन दाजुभाइको जस्तो थियो । सायद त्यसैले पनि होला, नरेन्द्र र इन्दिरा प्रसाईको अथक् प्रयास र मेहनतको फलस्वरूप श्रीमती उषा शेरचन र डा. रामप्रसादको सहयोग लिएर 'नइ ईश्वरवल्लभ' पुरस्कार स्थापना भएको छ । दस हजार राशिको यो पुरस्कार पच्चीसदेखि पचास वर्षसम्मका स्रष्टालाई प्रदान गरिन्छ । यो पवित्र प्रयास, ईश्वरवल्लभलाई सम्झाइराख्ने प्रशंसनीय कार्य हो ।

वि.सं. १९९४ साल असार २९ गते काठमाडौँको जैसीदेवलमा जन्मेका ईश्वरवल्लभको २०६४ चैत १० गते आइतबार मृत्यु हुन्छ । एक/एक गर्दै कवि, गीतकार, अभिभावक, मित्र दाज्यूको अन्त्य हुन्छ ।
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 बैशाख, 2067

लेखकका अन्य रचनाहरु