दस रुपियाको नोट

- वसन्त थापा

खिजि्रङमिजि्रङ सामानहरूको एउटा सानो दोकान थियो माथ्लो छाताचोकमा, टाउको लुकाउने आफ्नै ओत भएपछि आमाले साहससाथ सुरु गर्नुभएको। त्यस चोकमा पहिल्यैदेखि रहेका अरू दोकानहरूको तुलनामा हाम्रो दोकान त फुच्चे र केही न कामको देखिन्थ्यो। तर आमाले बाको किञ्चित् सहयोगबिना खोलेको त्यही दोकान हाम्रो जीवनाधार थियो। हाम्रो खेतीपाती, बन्दव्यापार, अध्यवसाय त्यही दोकान थियो।

त्यो कुनै विदाको दिन थियो। स्कूल जान नपर्ने हुनाले म यसै रल्लिरहेको थिएँ साविकको समयमा बिहानको भात खाएपछि। म कतै फुर्रर उड्ने ताकमा छु भन्ने मेरो मनोदशा बुझेर होला आमाले मलाई बजारबाट एक गु्रस सलाई किनेर ल्याउन अह्राउनुभयो। सलाईका बाह्रवटा बट्टा अथवा एक दर्जन बट्टाको एक प्याकेट र त्यस्ता बाह्रवटा प्याकेटको ठूला बन्डल वा पोकालाई ग्रुस भनिन्थ्यो। हामीले खुद्रा बिक्रीका लागि थोक मूल्यमा सरसामान किनेर ल्याउने शुभकरण मारवाडीको गद्दी पुरानो बजारमा सिंहदेवी चोकदेखि पाँचछ घर तलतिर थियो। आमाको साथ लागेर अनगिन्ती पटक म त्यहाँ गइसकेको थिएँ। शुभकरण मारवाडीको त्यो थोक दोकान ग्राहकहरूको भीडले सधैँ छोपिएको हुन्थ्यो। भीड पातलो नहुन्जेल मैले उभिईउभिई पालो कुर्नुपर्थ्यो। त्यही अनुभवले गर्दा पनि म एक्लै त्यहाँ सकेसम्म जान चाहन्नथेँ।

मेरो अनुहारमा उत्साह र भावभङ्गिमामा तत्परताको अभाव देखेर आमाले केही कडाइसाथ आफ्नो आदेश दोहोर्‍याउनुभयो र राजा महेन्द्रको तस्बिर छापिएको दस रुपियाँको कडकडिया नोट मैले लगाएको बुससर्टको देब्रे खल्तीमा घुसारी दिनुभयो। त्यसमाथि 'होस गर्लास्, हराउला नि' भन्ने चेतावनी पनि थप्नुभयो। भारी मनले घरबाट निस्केँ र छाताचोकतिर मोडिएँ मसँग बजार जान मान्ने कोही दौँतरी साथी फेला पर्छ कि भनेर। जुन साथी फेला पर्‍यो त्यसले साथ दिन इन्कार गर्‍यो, अर्को साथी घरमा थिएन। मैले यो यात्रा एक्लै तय गर्नुपर्ने निश्चित भएपछि यात्रालाई रोचक बनाउने विचार मेरो मनमा आयो। किन शिव सिनेमा हलमा लागेकोे हिन्दी फिलिमका पोस्टर र तस्बिर हेर्न नजाने? त्यो विचार साथसाथै जागेको कौतुहल, जिज्ञासा र रोमाञ्चले गर्दा मैले छाताचोकबाट दाहिनेतर्फ नयाँबजार जाने बाटो समातेँ, खासमा मैले जानुपर्ने थियो बायाँतर्फ पुरानो बजारको बाटो।

हाम्रो घर भएको माथिल्लो छाताचोकलाई त्रिकोणको शिरको बिन्दु मान्ने हो भने शिव सिनेमा हल तल्लोपट्टिको दाहिने कोणमा पर्दथ्यो र शुभकरणको दोकान देब्रे कोणमा। मैले समातेको रुट घुमाउरो र धेरै समय खाने खालको थियो। तर मसँग समय फालाफाल थियो र नयाँ सिनेमाको पोस्टर तथा तस्बिरहरू हेर्न पाउने आकर्षणले एकाएक मलाई खिचेको थियो।

शिव सिनेमा नामको त्यो फिल्म हल चतरालाइनमा खुलेदेखि नै म सिनेमाको चकाचौधबाट मोहित भएको थिएँ। हलमा लागिरहेको फिलिमबारे त त्यो नहेरे पनि थाहा हुन्थ्यो। किनभने प्रत्येक दिन एउटा जीप धरान बजार घुमेर कागजका पर्चा छर्दै ढ्वाङ फुक्थ्यो। तर आगामी फिलिमबारे थाहा पाउन भने हलमा पोस्टर हेर्नै पुग्नुपर्थ्यो। फोटाका रूपमा फिलिमको 'प्रिभ्यु' हेर्न पाइने विचारले मेरा गोडा हलुका भएका थिए भने हिँडाइको गति तीब्र।

केहीबेर त मैले कच्ची मूल सडकलाई नै पछ्याएँ, त्यसपछि पाइपबाट मलायाक्याम्प जाने पानीको 'ओभरफ्लो' हुने ठाउँबाट म खहरे खोलाको बाटो लागेँ। एक्लै उफ्रिँदै, घरघरी दौडिँदै, घरी ढुङ्गा टिपेर तारो हान्दै खहरेको बगर भएर म शिव सिनेमा हलको प्राङ्गणमा पुगेँ। हलको बरन्डामा उक्लेँ र ठाडो मुन्टो लगाएर फलामे जालीभित्रका तस्बिरहरू हेरेर आँखाको तिर्सना मेटाएँ। हठात् मलाई आफ्नो गन्तव्य सम्झना भयो। मेरो गन्तव्य त शिव सिनेमा हल नभई शुभकरणको दोकान थियो र मेरो उद्देश्य वाइपङ्खी घोडा मार्काको एक ग्रुस सलाई खरिद गरेर घर पुर्‍याउनु थियो। मैले आफैँलाई आश्वस्त पार्न छातीको गोजी बाहिरबाट छामेँ जहाँ आमाले दस रुपियाँको नोट राखिदिनुभएको थियो। तर त्यो नोट त्यहाँ थिएन। हातै घुसारेर हेरेँ, अहँ नोट थिएन। एकक्षण अघिसम्मको मेरो फुरफुर, रमाइलो र रोमाञ्च साराका सारा हावा भए।

अब म के मुख लिएर आमाको सामुन्ने जाने? मलाई राम्ररी थाहा थियो त्यस दस रुपियाँको महत्त्व। आमाले एक एक कन्ची जोगाउनुहुन्थ्यो र त्यसबाट नयाँ वस्तु खरिद गर्दै दोकानमा राख्नुहुन्थ्यो बिक्रीका लागि। एक गु्रस सलाईको दस रुपियाँ पर्दैनथ्यो, त्यसमा पनि केही रुपियाँ फिर्ता आउँथ्यो। एक आनामा एक गिलास चिया खान पाइन्थ्यो। सोह्र आनाको एक रुपियाँ हुन्थ्यो र नोट र रेज्की भा.रु.कै चल्थ्यो। राजा महेन्द्रको तस्बिर बोकेको पाँचदस रुपियाँको नोट बजारमा देखिन थालेको खुबै भए डेढदुई वर्ष भएको हुँदो हो। मैले दस रुपियाँको सत्यानाश गरेकोमा आमाको क्रोध र क्लेषको म अनुमान गर्न सक्थेँ। मेरो लापरबाहीको काण्ड सुनेर टुरिस्टजस्तो कहिलेकाहीँ घरमा झुल्किने बाको कसिलो झापड पाउने डरले मलाई खुम्च्याएर झनै सानो बनाएको थियो। त्रासको तीब्र करेन्टले डामिएका राता गाला र ढ्याङ्ग्रोजस्तो धड्किरहेको मुटु लिएर म शिव सिनेमा हलबाट उल्टो खुट्टा त्यही बाटो भएर फर्किएँ जुन बाटो भएर म केही बेरअघि बेफिक्रीसाथ गएको थिएँ। तुरुन्तै फर्कंदा भुइँमा लडिरहेको फेला पर्छ कि भन्ने झिनो आश लिएर लगभग दौडन लागेँ। तर अहँ, बाटामा मानिसका पाइलाका डोबहरू थिए, दस रुपियाँको नोट थिएन। मलाई आमाले छन् छन् बज्ने कम्पनी रुपियाँ नदिएर त्यो महेन्द्रको फोटो भएको नोट किन दिनुभएको होला भनेर रिस पनि उठ्यो, तर गल्ती त मेरै थियो।

त्यहाँबाट रित्तो हात र रित्तो खल्ती लिएर घर फर्कने हिम्मत ममा रहेन। कहाँ जाउँ्क, कसकोमा शरण लिउँ्क भनी सोच्ने थालेँ। एक रात कतै गुजार्न पाए आमाको क्रोधको मात्रा घट्न सक्ने थियो र मैले पूर्ण माफी पाउन सक्ने थिएँ। तर आठनौ वर्षको लडाकाको सीमित र सानो संसारमा त्यस्तो आश्रयस्थल हुने कुरै थिएन। धरान बजारमा कोही आफन्त पनि थिएनन्। भएको एउटा मावली पनि धनकुटामा थियो अनि मलाई माया गर्ने बाजेबज्यै पनि धनकुटामै। किंकर्तव्यविमूढ म मूल बाटोतिर नलागी त्यसको समानान्तर जस्तो रहेको खहरेको बगरैबगर हिँडेर आफू पढ्ने भगवती मिडिल स्कूलको चउरमा पुगेँ जहाँबाट घरको दूरी मुस्किलले एक सय मिटर हुँदो हो। तर धनकुटाको हाम्रो मूल घरमा बस्नुहुने बाजेबज्यैको ध्यान आउनासाथ मलाई उहाँहरूको शरण पर्नु नै एक मात्र उत्तम उपाय होला भन्ने लागिसकेको थियो र मेरो भीरु हृदय त्यस विचारसित लहसिसकेको थियो।

नजानिँदो पाराले मेरा कदम फुस्रेतर्फ बढ्न थाले। माघ निक्लँदो र फागुन लाग्दो समयको चर्को घाम टाउकामाथि थियो। फुस्रेबजारको बाटो भएर अघि बढ्दा दायाँबायाँ दोकानहरूबाट सबै मानिसहरू मलाई नै हेरिरहेका झैँ लाग्यो। मेरो अपराध कर्मको कथा मेरो भयाक्रान्त अनुहारमा देखेर उनीहरू आएर 'ए त्यसलाई पकड' भनेर मलाई समात्लान् जस्तो लागिरहेको थियो। नजर भुइँमा गढाएर म फुस्रेबजार पार गरी सर्दुखोला झर्ने ओरालो बाटो लागेँ। फड्केबाट सर्दुखोला तरेर पत्तै नपाई देउराली पुगिसकेको थिएँ जहाँ बटुवाहरू पाती चढाउँथे। मैले पनि पाकाहरूको सिको गर्दै त्यहाँ धेरै पटक पाती चढाएको थिएँ। तर यस बेला मेरो परिस्थिति असामान्य थियो। म यसरी भागिरहेको थिएँ मानौं मेरापछाडि पुलिसको जत्थै मलाई समात्न आइरहेका थिए।

खर्दुखोला तर्नुअघि खोलाछेउको बस्तीमा म केही बेर सुस्ताएँ। खोला तरेपछि चिउरीबासको उकालो सुरु हुन्थ्यो। त्यसैले म शक्तिसञ्चय गरिरहेको थिएँ र साथसाथै आफ्नो निर्णयप्रति पुनर्विचार पनि। सानैदेखि बाआमा, बाजे, काकाहरूसँग साथ लागेर कैयन् पटक ओहोरदोहोर गरिसकेको धरानधनकुटाको पैदल बाटो मेरा लागि नौलो थिएन। तर अरू बेलाझैँ न झोला बोकेको थिएँ न मसँग खाजा नै थियो। गोजी पनि रित्तो थियो र पेट पनि रित्तिँदै गइरहेको थियो।

तेर्छो घामले सेकिएको मलाई अरू बेलाभन्दा पानीको दरकार बढी नै थियो। चिउरीबास पुगेर धारामा मैले धीत मर्नेगरी पानी पिएँ र पेटको खाली भागलाई भरेँ। धनकुटाबाट आउँदा होस् या धरानबाट जाँदा साँगुरी भन्ज्याङ मलाई विशेष प्रिय लाग्थ्यो, पहिलो त त्यहाँको लेकाली वातावरणले अनि दोस्रो त्यहाँ ताततातो चिया खान पाइने आशाले। एक आना तिरेपछि काँचको पाटे गिलासमा चिया दिन्थे माथिबाट अलिकति दालचिनीको धूलो छर्केर। तर यस पटक एक गिलास चिया किन्न चाहिने एक आना पनि मेरो खल्तीमा थिएन। चिया पिउने भाग्यमानी बटुवाहरूलाई इर्ष्यापूर्ण दृष्टिपात गर्दै उकालो चढ्दाको थकाइ मारेँ अनि लेउ र ओसले सधैँ चिप्लो रहने ढुङ्गेलो बाटो हुँदै धारापानीतर्फ ओरालो लागेँ।

नामै त धारापानी, त्यहाँ पुगेर फेरि एकपटक धाराबाट पेटभर पानी पिएँ। अब बाटो केहीबेर दम्साइलो भागबाट गुज्रन्थ्यो र त्यसपछि माखामा फेदी नपुगेसम्म ओरालो झर्नुपर्थ्यो। धारापानीको भिरालोबाट पारी उत्तरमा हिलेबाट झरेको डाँडामा पसारिएको धनकुटा बजार देख्न सकिन्थ्यो। त्यस दृश्यले झनै मलाई धनकुटातर्फ तान्यो, धरान त अब साँगुरी भन्ज्याङभन्दा पारि छुटिसकेको थियो।

म हतारिँदै झरिरहेको थिएँ। मैले आफू पछिल्तिर कुम्लो बोकेका तीन जना पुरुषहरू आइरहेका देखेँ। एक जना अधबैँसे थियो, अन्य दुई जना गधापच्चीसका देखिन्थे। 'कहाँ जाने नानी तिमी? खुब दगुरिरहेछौ। केही बोकेका पनि छैनौ। घरबाट भागेका हौ कि क्या हो? घर कहाँ हो?' त्यो अधबैँसे पुरुषले एकसाथ धेरै प्रश्न सोध्यो। ऊ त्यस टोलीको नाइकेजस्तो देखिन्थ्यो। सायद उनीहरूका आँखाले मलाई साँगुरी भन्ज्याङबाटै पछ्याइरहेका थिए। मैले धनकुटामा बाजेबज्यै भए ठाउँमा जान लागेको बताएँ र सकेसम्म स्वाभाविक हुने असफल चेष्टा गरेँ। 'यति बेला भइसक्यो पुग्छौँ त?' उसले फेरि सोध्यो। मैले पुगिएला भनेँ र थप प्रश्नहरूको सकेसम्म छोटो उत्तर दिएर उसको केरकारबाट जोगिन खोजेँ। तर केही बेरमै उसले मबाट सबै कुरा थुतिसकेको थियो र उसको अघिल्तिर म पूरै नाङ्गिइसकेको थिएँ। पातलो कुराकानी गर्दै माखामा फेदी झरियो र लेउती खोला पनि तरियो।

साँझ पर्नुअगाडि मूलघाट पुग्ने उम्मेद हाम्रो टोली नेताले राखेको थियो। यतिन्जेलमा मेरो आफ्नो यात्रा योजनाले हावा खाइसकेको थियो र मैले आफूलाई तीन जनाको त्यस टोलीको जिम्मा सुम्पिइसकेको थिएँ।

लेउती खोलाको अन्तिम जँघार तरेर उखुडाँडामा उक्लँदा उज्यालो छँदै मूलघाट पुग्न नसकिने लगभग निश्चित भइसकेको थियो। हामी कहाँ गएर बास बस्ने होला र के खाने होला भन्ने विचार मेरो मनमा खेलिरहेका थिए। बिहानको भातदेखि दिनभरि पानीबाहेक केही नपरेको मेरो पेटलाई भोकले पूरै निचोरिरहेको थियो। त्यति हुँदाहुँदै पनि मैले प्रकटमा केही भन्न सकेको थिइनँ, भन्ने कुरा पनि आएन। उनीहरू मेरा मामा या काका थिएनन् क्यारे।

बाटो सुनसान थियो। हामी दाहिनेपट्टिको पहिरो गएको डाँडाबाट आएको सानो तुरतुरे खोला तमोरमा मिसिने ठाउँनेर आइपुग्यौँ जहाँ बाटाछेउ दुईतीन ओटा छाप्रा थिए र एउटा झ्याम्म परेको रूख थियो। टोली नेता बाटो छाडेर तमोरको किनारतर्फ लाग्यो। हामी उसकै पदचिह्न अनुसरण गर्दै गयौँ। कोशीको पानीले घरिघरि थपेडा दिइरहने एउटा ठूलो गोलढुङ्गामा उसले आफ्नो कुम्लो बिसाएर भन्यो―

अब भात पकाउने केटा हो।

ढुङ्गैढुङ्गाको त्यस बगरमा कसरी भात पकाउने होला? मेरो बुद्धिले त भ्याएन। न भाँडाकुँडा छ, न डाडुपन्यूँ, न दाउरा छ, न त ओदान। फेरि सामलतुमल कहाँबाट ल्याउने?

एक जनाले कुम्लो खोल्यो। त्यहाँबाट एउटा तसला र सानो कराही निकाल्यो। अर्को एक जना बगरको तलतिर लाग्यो। अनि तेस्रो चाहिँ ढुङ्गाहरू जोडेर ओभानो ठाउँमा चुलो बनाउन लाग्यो। बगरतिर गएकोले एक अँगालो दाउरा लिएर आयो त्यतिन्जेलमा यता अर्को कुम्लोबाट निकालेको चामल तमोरको पानीमा धोइपखाली ठिक्क पारिसकेको थियो। एकछिनमै त्यहाँ धुनी नै जाग्यो। भात छड्किन थाल्यो र सिलेबरको ठूलो डबकामा टोली नेताले माड तारेर राख्यो। पोकाबाट निकालेर त्यसमा गुन्द्रुक र सुकेको खुर्सानी हातले चुँडाएर हाल्यो अनि त्यसमाथि नुन छर्कियो र काठको दाबिलोले रयाल्यो। अर्को कुम्लाबाट सिलेबरका थालहरू निक्ले। अचम्म, मलाई पनि पुग्ने थाल त्यहाँ थियो। भोकले आँत जलेर खग्रास बनेको थियो। मलाई पहिले त के खाइएला र जस्तो लागेको थियो र केही दिगमिक पनि। तर जब गुन्द्रुकको झोल हालेको भातको थाल आफ्नो अघिल्तिर आयो मैले दायाँबायाँ नहेरी थाल सफा पारेपछि मात्र सास फेरेँ। भोको म मात्र होइन सबै नै थिए। सबैले हात र थाल चाटीचाटी आफ्नो भाग निमेषमै सिध्याए। अनि बालुवा अलिकति रगडेर आफूले खाएको थाललाई तमोरको चिसो पानीमा डुबाएर पखाल्यौँ। त्यसपछि त्यहीँ थालमा पानी उघाएर तनतनी पियौँ। यसअघि तमोरलाई झोलुङ्गे पुलबाट कैयौँचोटि वारपार गरिसकेको भए पनि त्यहाँको पानी कहिल्यै खाएको थिइनँ।

अघिसम्म एक मात्र चिन्ता भोकको थियो। अब पेट भरिएपछि सुत्ने पीर एकाएक थपियो। उनीहरूले माया गरेर मलाई भात ख्वाएका थिए र फुच्चे सदस्यका रूपमा आफ्नो टोलीमा मलाई मिसाएका थिए। गर्लान् नि त केही उपाय भनेर अब मैले आफूलाई पूरै उनीहरूको निगाहामा छाडिदिएको थिएँ। बाटाछेउको पसलमा पो बास माग्छन् कि भन्ने लागेको थियो। तर उनीहरूले फेरि कुम्लो बाँधे र हिँड्ने सुरसार कसे। मलाई अचम्म लाग्यो― कहाँ जाने होलान् यिनीहरू? हामीले खाँदा भुकभुके साँझ परेको थियो। अब त निकै अँध्यारो भइसकेको थियो। तैपनि हाम्रो टोलीले त्यहाँबाट प्रस्थान गर्‍यो र पातलो जङ्गलक

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु