सपना र सहिद

- हरिहर खनाल

‘नमस्कार हाजुर!'
एक सुरमा बाटो हिँडरहेको प्रकाशको ध्यान एकाएक भत्कियो । उसले पछाडि फर्केर हे¥यो, छिरिङ ऊतिर हेर्दै जुम्लाहात जोडिरहेको थियो । ठूल्ठूला भद्दा पाइतालामा खिएका बाक्ला हात्तीछाप चप्पल, मैलो सेतो पुरानु सुतीको कछाड र अर्धधुस्न चेक कमेज, मैलो र पुरानु इष्टकोट र टाउकोमा थ्याच्च पारेर लगाइराखेको मैलो पुरानु ढाकाटोपी, हेर्दैमा स्याहार नपुगेकोजस्तो देखिने सग्लो शरीर, त्यही माफिक छिरिङको अनुहार पनि निकै धुस्रोफुस्रो र खस्रो देखिन्थ्यो । प्रकाशले छिरिङको अभिवादनको उत्तर दाहिने हात माथिसम्म उठाएर सस्वर ‘नमस्कार भन्यो ।

‘कता पुगेर आयौ त छिरिङ दाइ ?' प्रकाशले हार्दिकतापूर्वक सोध्यो ।

‘त्यैं परसम्म पुगेर आएको हाजुर' छिरिङले प्रत्युत्तरमा भन्यो । प्रकाशले देख्यो, त्यसको मख्या परेको अनुहारको बीचको दोडे नाक र अलिकति लँय्राक्क परेको ओठ, पाँचसात दिनदेखि नखौरिएका दाह्रीजुँगा र गहिरो इनारजस्ता एकजोर आँखा, आँखाको कोशमा अलिकति चिप्राको सेतो अंश, सायद छिरिङलाई त्यसको कुनै हेक्का थिएन । अब तिनीहरू दुवै सँगसँगै बाटो हिँडिरहेका थिए । दुवै एक अर्काको हालखबर सोध्न तल्लिन थिए ।

‘आनि, कता पुगेर आयौ त सार ?' छिरिङ प्रकाशतिर हेरेर सोध्दै थियो ।

‘म क्याम्पसबाट आउँदैछु, पढाएर ।' प्रकाशले सहज भावमा उत्तर दियो ।

‘एउटा कुरा भन्छु, गाह्रो नमान है सार ।' कुनै रहस्यको पोको फुकाउन थालेझैँ छिरिङले प्रकाशको अनुहारतिर हेरेर भन्यो ।

‘के हो भनन । मैले गरेर हुने त्यस्तो केही भए म छँदैछु नि मैले कहिले के नाई भनेको छु र ?' प्रकाशले उसलाई यसरी जवाफ दियो ।

‘मलाई अलिकति दाम चाहियो सार । मेरो काम चलाइदेऊ, म मरिजाम्ला तिम्रो गुन बिर्सने छैन ।’ छिरिङले उसलाई प्रभाव पार्न आफ्नो भनाइमा निकै दम दिएर प्रस्तुत भयो ।

‘कति पैसा चाहिएको हो र तिमीलाई ?' छिरिङको कुरा सुन्दै जाँदा साँच्चै नै निकै मर्का परेछ क्यारे भन्ने ठानेर उत्सुकतावश प्रकाशले सोध्यो ।

‘चालीस हाजार'छिरिङले उसको अनुहारतिर हेर्दै जवाफ दियो ।

‘किन चाहियो तिमीलाई त्यति धेरै पैसा ?' प्रकशले टक्क रोकिएर छिरिङको अनुहारमा आाखा अड्याएर सोध्यो ।

‘छोरालाई बाहिर पठाउन खोजेको अलिकति पैसा पुगेन हाजूर ।' छिरिङले विनयशील भावमा त्यसको प्रत्युत्तर दियो ।

‘बरु हाजुरलाई विश्वास लाग्दैन भने म एक कठ्ठा जग्गा तिम्रो नाममा पास गरिदिन्छु । मेरो यति काम तिमीले चलाइदिन प¥यो सार ।' छिरिङ प्रकाशको अनुहारतिर हेरेर भन्दै थियो । प्रकाशलाई लाग्यो, त्यहाँ छिरिङ बोलिरहेको छैन, छिरिङको ह्दयबाट निस्केको बिलौनाको झङ्कार त्यसको भोकलकोर्डबाट बाहिर निस्केर हावामा पोखिइरहेको छ । प्रकाश त्यसको बिलौना सुनेर भित्रभित्रै असाध्यै खिन्न भयो । तैपनि त्यसले संवादलाई कायम राख्ने सुरमा बोल्दै गयो ।

‘कहा पठाउदँछौ त नोर्बुलाई ?' प्रकाशले त्यसको समस्या समधान गर्न कसरी सकिन्छ होला भन्ने विषयमा मनमनै अनेक तर्कना चलाउँदै अर्को एउटा प्रश्न सोध्यो ।

‘आरब, आरब जान्छु भन्छ । सप्पै कुरा मिलिसक्यो, त्यत्ति दाम पुगेन ।' छिरिङले उस्तै किसिमले भन्यो ।

‘हेर छिरिङ दाइ, म पनि तिमीजस्तै एउटा श्रमजीवी मानिस हुँ । मसित त्यत्रो पैसा कहाँ पाएर हुनु ?' तलबले साँझबिहानको समस्या सुल्झाउनमै ठीक्क छ । राम्ररी खाने हो भने अझ पुग्दैन । अनि कहाँबाट पाउनु त्यत्रो रकम ? तर तिम्रो समस्या सुल्झाउन म तिमीलाई उपायचाहिँ बताउन सक्छु ।

‘हुन्छ हाजुर, मेरो त्यति काम गरिद्यौ । म तिम्रो गुन कहिल्यै बिर्सने छैन ।’ छिरिङ निकै आशावादी लवजमा भनिरहेको थियो ।

‘फाइनान्स जाऊ । तिम्रो त्यति काम अवश्य नै बन्छ ।' प्रकाशले उसलाई आश्वस्त पार्न खोज्यो ।

‘हामीले कसैलाई चिनेको छैन । नचिनेको मानिसलाई कसैले पनि पत्याउँदैन ।' छिरिङले अविश्वासपूर्वक भन्यो ।

‘तिमी एकपटक गएर त हेर । तिमीलाई भन्दा पनि तिमीले राख्ने धरौटीलाई ती लगानीकर्ता वित्तीय संस्थाले हेर्छन् ।' प्रकाशले उसलाई आश्वस्त पार्न खोज्यो ।

‘त्यसो भए हाजूर पनि मसित हिँड न त एकपटक ।' त्यहाँ गएर हाकिमसित भन्देऊ । छिरिङले उसलाई द¥याउन खोज्यो ।

‘हुन्छ, त्यो कुरामा चाहिँ मेरो मञ्जुरी छ । जहिले भन्छौ म जान तयार छु । प्रकाशले उज्यालो अनुहारले ऊतिर हेर्दै उत्तर दियो ।

‘त्यसो भए म भोलि दास बजे हाजुरको घरमा आइपुग्छ, तिमी घरै बसिराख । छिरिङले अन्तिम सल्लाह मिलाउन खोज्यो । प्रकाशले स्वीकृतिसूचक टाउको हल्लायो । त्यसपछि तिनीहरू दोबाटोबाट छुट्टिए ।
****

‘काम बन्यो ?' भोलिपल्ट साँझ छिरिङ घरभित्र पस्नेबित्तिकै नोर्बुले उसको अनुहारमा आँखा अड्याएर सोध्यो ।

‘फेरि भोलि आइजु भनेको छ । मालपोत तिरेको रसिद खोज्दुरैँछ । भोलि त म मात्तै गए पनि हुन्छ भन्छ ।' छिरिङको बोलीले ती सबैको मनमा आशाको दीयो झलमल्ल पारेर बाल्यो । नोर्बु, निमा दुवैजना भित्रभित्रै निकै खुसी भए । निमाले मनमनै देवी भाकल गरी । ‘कुनै बिघ्नबाधा नपरीकन हाम्रो काम बनोस् हे कालिकामाई यसपालिको चैतेदसैँमा म तिमीलाई एउटा भाले चढाउँलाँ निमाले निःशब्द आफैसित भनी ।

भोलिपल्ट साँझ छिरिङ समयमा नै घर पुग्यो तिनीहरू सबैले आ–आफ्नो काम सके र खाना खाइसकेपछि सबै घरको अगाडिपट्टि एकै ठाउँमा जम्मा भए ।
‘हेर छोरा नोर्बु, आजु मैले तिम्रो मनको धोको पु¥याइदिएको छु । तर तिमी आरब पुगेपछि फेरि घर बिर्सने काम नगर्नु नि तिम्रो छोरा आसिङ भर्खरै आठ वर्ष भएको छा । तिम्रो जाहान पनि तिम्रो आगाडि नै छ । मैले के भनुम् । घरको दुःख्ख सम्झेर काम गर्नु । छिरिङ भावविहृवल मुद्रामा छोरालाई सम्झाउँदै थियो ।

‘हुन्छ बा, तिमीले पीर गर्नु पर्दैन । हाम्रो दुःख मलाई राम्ररी थाहा छ । म त्यहाँ पुगेपछि राम्ररी काम गर्छु र दाम जोगाएर ल्याउँछु । रिन माउलो तिर्छु र घरको मुहार फेर्छु । निमा र आसिङको रामरी हेरविचार गरेर बस । मेरो पीर नगर । नोर्बुले यसो भनिरहँदा पासाङ र नोर्बुकी आमा दुवैजना ध्यानपूर्व ती दुई बाउछोराको कुरा सुनिरहेका थिए । आसिङ पनि बजु र निमाका बीचमा बसेर तिनीहरूका कुरा सुन्दैथियो, तर त्यसले सबै कुरा राम्ररी बुझेको भने थिएन ।
****

‘मैले तिम्रो लागि तिमीसित सल्लाह नगरीकन एउटा कुरा गरेकी छु ।' सबै सुतिसकेपछि झकाउन थालेको नोर्बुको ध्यान आफूतिर तान्दै निमाले भनी ।

‘के हो र त्यो ?' अलिकति उत्सुकतापूर्वक नोर्बुले बिस्तारै सोध्यो ।

‘हाम्रो काम बनोस् भनेर मैले मनमनै देवी भाकल गरेकी छु । निमाले साउतीको स्वरमा भनी ।

‘देवी देउता तिम्रो मनले सिर्जना गरेका कुरा हुन् । कुनै काम हुने नहुने कुरा परिस्थितिमा भर पर्छ । नोर्बुले त्यसको कुरालाई घुमाउरो किसिमले प्रतिवाद ग¥यो ।

‘साइतको बेलामा हुँदोनहुँदो नभन । बाजेबराजुका पालादेखि चलिआएको कुरा, सबैले मान्छन् । तिमीमात्तै अनेकओली भन्छौ । तिमीले जे भने पनि मलाई त विश्वास लाग्छ । म त मान्छु । निमाले यसरी उसको विश्वास प्रकट गरी ।
‘म अरब गएर रिनमा डुबेको हाम्रो घरलाई उतार्न चाहन्छु । तिमीलाई खुसी बनाउने मेरो इच्छा छ । आसिङलाई पनि म पढाइलेखाइ एउटा राम्रो मान्छे बनाउने रहर छ । हामीले दुःख पाए पनि त्यसले सुख पाउनुपर्छ । नोर्बुले लामै भाषण ग¥यो ।
****

नोर्बुलाई उडाएर फर्किएपछि निमालाई औधी नरमाइलो लाग्यो । त्यो एक्लै बसेर धेरैबेरसम्म रोइरही । घर फर्किएपछि त्यसले सबै कुरा बिर्सेर आफूलाई काममा लगाउन प्रयत्न गरी । दिनभरि यताउता गर्दैमा समय बितेको त्यति धेरै थाहा हुँदैनथ्यो, तर रात परेपछि भने त्यसलाई नोर्बुको सम्झनाले खुबै सताउन थाल्यो । कैयौँ रात त्यसले झिमिक्कै नगरी बिताई । जति दुःख गर्न पनि त्यो केही जस्तो ठान्थिन, तर त्यसको एकाकीपनले भने त्यसलाई निकै नरमाइलो अनुभव भइरहेको थियो । नोर्बुको स्मृतिलाई बिर्सन उसको एउटै सहारा उसको नाबालक छोरो आसिङ थियो । यद्यपि उसकी सासुआमा र ससुरो छिरिङ उसलाई असाध्यै माया गर्थे, तथापि त्यो आफ्नो लोग्नेको अनुपस्थितिमा भित्रभित्रै निकै दुःखित थिई ।
*****

चैतेदसैँको दिन बिहान सबेरै उठेर त्यसले नित्य गर्नुपर्ने काम गरी र छिमेकी शोभा, प्रतिभा र अरू साथीहरूसित मिलेर झिसमिसेमा नै घरबाट बाहिर निस्किई । घाम झुल्कने बेलामा तिनीहरू देवीथानको फेदीमा पुगिसकेका थिए । ससानो पहाडको थुम्कोमा देवीथान पुग्न उकालोबाटोमा ढुङ्गाका सिँढीहरू टेक्दै जानुपथ्र्यो । देवीथान प्रवेशद्वारमा पुगेपछि लिस्नुजस्तै ठाडो एउटा उकालो चढेर तिनीहरू त्यसको माथिल्लो खण्डमा पुगे । सडकको दाहिनेतिर थुम्कोमा एउटा मन्दिर भेटियो, तर त्यो तिनीहरूले खोजेको मुख्य मन्दिर थिएन । त्यहाँबाट अलिकति देब्रेतिर लागेर तर्पायँ बाटो हिँडेपछि एउटा खोल्सोतिर सोझिएको बाटो त्यो तरेपछि ठाडै उकालो लाग्यो । एकएक खुड्किला उक्लँदै रेलिङको आड लिएर तिनीहरू अरू सयौँ मानिसहरूसँगै उकालोका ती सिँढीहरू उक्लँदै गए । झन्डै डेढघण्टा हिँडेपछि तिनीहरू देवीथान पुगे ।

‘हे भगवती, मेरो नोर्बुको सधैँ फलिफाम होओस्, तिमीले उसको रक्षे गर । हातमा अक्षता फूल लिएर मन्दिर परिक्रमा गर्दा निमाले मनमनै कैयौँपटक यो कुरा दोहो¥याई र अन्त्यमा उत्तरपट्टिको मूलढोकाबाट भित्र पसेर देवीको अगाडि अक्षताफूल हु¥र्याएर जुम्लाहात गर्दै शिर निहुराएर ढोगी । शोभा र प्रतिभाले समेत त्यसै गरे ।

पूजापाठ सकेर फर्कंदा घाम निक्कै माथि आइसकेका थिए । मूल बजारको चोकमा आइपुगेपछि तिनीहरूले सडकै ढाकेर मानिसहरू नारा लगाउँदै ग्वारग्वारती दौडिरहेको देखे । तिनीहरू एकछिनसम्म त अलमलमा परे । ‘आज पनि जुलुस उठेछ । प्रतिभाले साथीहरूलाई सुनाएर भनी । ती तीनैजना युवती केहीबेरसम्म सडक किनारामा उभिएर त्यो दृश्य हेरे । जुलुस निक्कै पर पुगेपछि तिनीहरू घरको बाटो लागे ।

राजनीतिक दलहरू एकअर्काको खुट्टा तान्न र हिलो छ्यापाछ्याप गर्न तल्लिनतापूर्वक लागिरहेका थिए । त्यहीबीचमा राजाले दलहरूलाई फुटाउन तरहतरहका जुक्ति निकालिरहेका थिए । उनलाई त्यो प्रयोगको पहिलो सफलता शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसलाई फुटाएपछि मिलेको थियो । दलहरूको अपासी खिँचातानीको त्यही दरारमा विखण्डनको विष हालेर माघ १९ मा राजाले प्रजातन्त्रका सबै मूल्यमान्यताहरूलाई समाप्त पार्दै निरङ्कुश शाही शासनसत्ता चलाएपछि हिँड्दाहिँड्दै तीनत्रिलोक चौध भुवन देखिने गरी गालामा बज्रमुक्का परेसरी सबै दलहरू तिलमिलाउन थाले । बिस्तारै तिनीहरूको गुमेको चेत फेरि फर्कियो । २०५२ सालमा चालीससूत्रीय माग राखेर सिंहदरबार पुगेको माओवादी पार्टीलाई हाँसो र परिहासमा उडाएर जङ्गलतिरको कठिन बाटोमा हिँड्न विवश पारेका नेताहरूको पनि बिस्तारै दृष्टिकोण फेरियो । त्यसपछि राजाको त्यो निरङ्कुश शासनसत्तालाई परास्त गरेर देशमा फेरि जनाधिकार कायम गर्न संसदीय राजनीतिक दलका अगुवाहरू जङ्गल पसेका विद्रोही शक्तिहरूसित गोप्य रूपमा वार्ता पहल सुरु गर्न थाले । वि.सं. २०६२ मङ्सिर ७ गते राजनीतिक दलहरूबीच बाह्रबुँदे सहमतिपत्रमा हस्ताक्षर भयो र त्यसअनुरूप दलहरूले संयुक्त र सङ्गठित रूपमा आन्दोलन गर्ने आन्तरिक तयारीमा जुट्न थाले । तिनीहरूले चैत २४ बाट विधिवत् रूपमा आन्दोलनको घोषणा गरे । त्यसपछि त्यही दिनबाट बिस्तारै मानिसहरू सडकमा ओर्लन थाले । सडक फेरिदेखि मानिसहरूका पदचापले आवाद हुन थाल्यो । विभिन्न सङ्घसंस्थाहरूले एकपछि अर्को गर्दै त्यो आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गर्न सुरु गरे ।

आज आन्दोलन सुरु भएको चौथो दिन । निकै लामो समयदेखि पानी परेको थिएन । वातावरणमा उखर्माउलो गर्मी व्याप्त थियो । आकाशमा बादलको एक टुक्रासम्म कतै देखिएको थिएन । सूर्य भर्भराउँदो आगोको भकुण्डोजस्तो आकाशमा तुर्लुङ्ग झुन्डिइरहेको थियो र त्यसबाट निस्केका ताता किरणहरू धरतीभरि हृवारहृवारी खनिइरहेका थिए । ती कुनै पनि कुराको कत्ति पनि वास्ता नगरीकन मानिसहरू हरेक गाउँ र बस्ती, टोलछिमेकबाट निस्केर जिल्लाको सदरमुकामका सडकहरूमा मार्च गरिरहेका थिए । मानिसैमानिसको महासागर उर्लेको थियो । सडकको प्रत्येक कुना मानिसका पदचापले थिचिएको थियो । जुलुसको छेउटुप्पो फेला पार्न सम्भव थिएन । नेपाल घुम्न बाहिरबाट आएका पर्यटकहरू पनि बुझे पनि नबुझे पनि स्वरमा स्वर निकालेर नारा लगाइरहेका थिए । यस्तो लाग्थ्यो सडकहरू साँगुरा भइरहेका छन् । मानिसहरू गगनभेदी नारा लगाएर सडक थर्काइरहेका थिए । सडक किनाराका घरका कौसी–बार्दलीबाट समेत त्यो अपार जनसागर हेर्ने मानिसहरूको घुइँचो लागेको थियो । चर्को घामको कुनै परवाह नगरी सडकमा मार्च गरिरहेका मानिसहरूलाई पानी ख्वाउन सडकका दुवै किनारामा मानिसहरू तँछाडमछाड गरिरहेका थिए । घरघरका बार्दली र छतबाट समेत मानिसहरूले पानीका फोहोरा फालिरहेका थिए । उता शाही सरकार भने त्यो जनउभारलाई दमन गर्न निर्मम तरिकाले पेस भइरहेको थियो । सरकारी दमनको रत्तिभर वास्ता नगरीकन मानिसहरू सडकमा मार्च गरिरहेका थिए ।

छिमेकीहरूसँगै निमा, शोभा र प्रतिभा पनि घरबाहिर सडक किनारमा बसेर मानिसहरूलाई पानी बाँडिरहेका थिए । भीडमा एक्कासि गोली चलेको आवाज सुनियो र मानिसहरू एउटा पोखरीको बीचमा ठूलो ढुङ्गा खस्दा उठेको छालसरि हररर बाहिरतिर दौडन थाले । त्यही बीचमा एउटा गोली आएर निमाको छातीमा लाग्यो र त्यसले प्रतिभाको हातको हड्डीसमेत ताछेर पर भाग्यो । निमा र प्रतिभा दुवै त्यहीँ ढले । त्यहाा एकप्रकारको कोलाहल मच्चियो ।
****

साँझपख मेडिकल कलेजमा निमाको मृत्युको खबर फैलियो । मानिसहरू एकआपसमा तरहरतहका कुरा गर्न थाले । वातावरण बिल्कुलै स्तब्ध भयो ।
****
सातौँ दिनमा नोर्बु अरबबाट आइपुग्यो । ऊ सोझै अस्पताल गयो । मानिसहरूको भीडलाई चिर्दै त्यो अस्पतालको शवगृहमा पुग्यो । उसले देख्यो, बरफको बाकसमा निमा चीरनिद्रामा सुतिरहेकी छे । उसका आँखाबाट बररर आँसु खसे । ऊ निमाको खुट्टा समातेर थचक्क त्यहीँ बस्यो । त्यसपछि त्यसको होस हरायो ।

होस खुल्दा नोर्बुले आफू आफ्ना प्रियजनहरूले घेरिएको पायो । नजिकै उता निमाको पार्थिव शरीरमा दाहसंस्कार निम्ति लाने तयारीमा केही मानिसहरू लागिरहेका थिए । एकछिनपछि शवलाई एउटा खुल्ला ट्रकमा राखियो ।
नोर्बु निःशब्द मलिनु अनुहारमा निमाको टाउकोनेर बसेको थियो र उसका साथीहरू र आफन्तहरू शवको वरिपरि बसेका थिए । शव फूलमाला र अबिरले छोपिएको थियो । मनै चिसो हुने त्यो नियास्रोलाग्दो वातावरणबीच शवयात्रा सुरु भयो र अस्पतालको कम्पाउन्ड कटेर त्यो मूल सडकमा पुगेपछि त्यसको अघिपछि मानिसहरूको ओइरो लाग्यो । चुपचाप अगाडि बढिरहेको त्यो मौन जुलसबीच शववाहन मन्द गतिमा घस्रेर गुडिरहेको थियो र त्यो हेर्दा यस्तो लाग्थ्यो अथाह जलराशिले भरिएको एउटा विशाल नीलो समुद्रबीच एउटा जहाज बिस्तारै अगाडि बढिरहेको छ । त्यै बीचमा भीडबाट कसैले नारा लगायो — ‘वीर सहिद !!'
भीडले प्रत्युत्तर दियो — ‘अमर रहुन् ।'

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 बैशाख, 2067

लेखकका अन्य रचनाहरु