शव परीक्षण

- डा. रविन्द्र समिर

रातको पर्दा च्यातिएर उषाको आगमनसँगै सडकमा एउटा बीभत्स दृश्य देखियो अर्थात् धर्तीमाताको एउटा पुत्रको बेवारिसे शव सडकमा लम्पसार परिरहेको थियो। शववरिपरि मान्छेहरूको आवागमन थुप्रिएर यातायात अवरुद्ध भएको थियो।

भीडभित्रको सानो भीडको निचोड थियो – यो मान्छेको घाउचोट देखिँदैन, पैसाको लागि कसैले घाँटी थिचेर मारेको हुनुपर्दछ।

एकझुण्ड युवतीहरू टाउका जोडेर साउती गर्न थाले– मृतक जवान रहेछ, पक्कै पनि यसले पहिलो प्रेमको कसम खायो, त्यसपछि धोका खायो, अनि विष खायो र अन्त्यमा सिल्टिमुर खायो।

कानमा मुन्द्रा लगाएका पुलिङ्कीहरूले अँध्यारोमा अनुमानको गोली चलाए – हामीले भन्दा कडा स्म्याक, हेरोइन, चरेश ...............आएर मर्‍यो होला ........

त्यही बीचमा एउटा जुलुसले मृतक आफ्नो पार्टीको कर्मठ कार्यकर्ता भएको तथा विरोधीहरूले जघन्य हत्या गरेको दोषारोपण गर्‍यो। त्यस्तै अर्को पार्टीले पनि शवमाथि झन्डा राखेर विपक्षी पार्टीलाई हत्यारोको सङ्ज्ञा दियो। त्यसपछि ती दुई पार्टीका कार्यकर्ताहरूको विवाद भीडन्तमा परिणत भयो। अन्त्यमा प्रहरी–प्रशासनले उक्त शवलाई परीक्षण गरी तथ्य कुरा जनसमक्ष राख्ने तथा हत्यारालाई कारबाही गर्ने आश्वासन दिएर स्थिति आफ्नो नियन्त्रणमा लियो।

अर्को दिन शव–परीक्षणको परिणाम सुन्न अस्पतालको चौरमा ठूलो भीड जम्मा भयो। मान्छेहरू समूह–समूहमा विभक्त भएर आ–आफ्नो अनुमानको जुँगामा ताउ लगाउन थाले। भीडको बीचमा भूँडीवाल नेता, झन्डा पत्रकार.......... पनि देखिन्थे। पूर्व–निर्धारित समयमै अस्पतालका चिकित्सकहरूले शव परीक्षणको परिणाम सुनाए।

विगत सातदिनदेखि केही खान नपाएकोले भोकको कारण उसको मृत्यु भएको रहेछ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 चैत्र, 2066

लेखकका अन्य रचनाहरु