बन्दुक र गोली

- कृष्ण बजगाईं

बन्दुक र गोलीबीच एकदिन को ठूलो भन्ने बारेमा बहस भयो । गोलीले बन्दुकलाई भन्यो– “म छु र त तिम्रो अस्तित्व छ नत्र पुलिसको डण्डा बराबर मात्रै तिम्रो उपयोगिता हुन्छ ।” गोलीको यस्तो कुरा सुनेर बन्दुकले भन्यो –“तिमी आफैं निशाना लगाउँदैनौं होला । आफैं पड्किदैनौं होला । म नहुनु हो भने तिम्रो अस्तित्व बगरका मसिना ढुंगा बराबर मात्रै हो ।”

बन्दुक र गोलीको निरर्थक बहस बन्दुक बोकिरहेको सिपाहीले सुनिरहेको थियो । उनीहरुको कुरा सुनेर त्यो सिपाहीलाई जंग चल्यो । र कड्केर भन्यो – “मैले नचलाउनु हो भने तिमी दुबैको कुनै अस्तित्व छैन ।”

बन्दुक बोकेका सिपाहीको यो वाक्य सुनेर कमाण्डरलाई खपी नसक्नु रिस उठ्यो र भन्यो –“ ए बन्दुके, मैले आदेश नदिने हो भने तैंले कसरी बन्दुक चलाउँछस् हँ ? सबैभन्दा ठूलो को हो भन त?”

बन्दुक, गोली, शिपाही र कमाण्डरको आफू ठूलो हुँ भन्ने कुरा कहिल्यै बन्दुक नचलाएको एक जना मान्छेलाई मन परेन । ऊ सबै सँग रिसायो र झोंकिदै भन्यो– “ तिमीहरु भन्दा ठूलो म हुँ ।” सबै छक्क परे । को हो यो ? कहिल्यै बन्दुक नचलाउने मान्छे कसरी ठूलो हुनसक्छ हँ ? मनमा कुरा खेलाउँदै थिए सबै जना । उसले फेरी भन्यो– “मेरो आदेश बेगर कोही पनि चल्न सक्दैन । मेरो आदेशमा तिमीहरु सबैको अस्तित्व छ ।” यति के भन्दै थियो झण्डावाल गाडी उसको अगाडि आएर रोकियो । त्यो गाडीमा चढ्यो । त्यो गाडि बन्दुकको गोली जस्तै तिव्र गतिमा हुँइकेर गई हाल्यो ।


प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 चैत्र, 2066

लेखकका अन्य रचनाहरु