चोकको न्वारन

- कपिल लामिछाने

घर र बाटो बनाउँदा टोलका बीचमा अनायास चोक बन्न गयो । चोकको न्वारन भएको थिएन । म नाम के राख्दा बेस होला भनी सोच्दै थिएँ ।

एकदिन बिहान घुम्न निक्लेको चोकको बीचमा घोचो गाडिएको थियो र घोचाका उपल्लापट्टि बोर्डमा ‘ज्ञानेन्द्रचोक’ लेखिएको थियो । सबैले देखे, हेरे, ओठ लेप्¥याए, अगाडि बढे । कोही केही बोलेन । बरु एउटा कामदार बोल्यो– काम जति हाम्ले गर्ने, त्यसको चोक कसरी भो ?

भोलिपल्ट बिहान पनि सधैंझैं घुम्न निक्लें । फेरि त्यहीं आँखा परे । घोचो त्यही थियो, बोर्डमात्र बदलिएको थियो– प्रजातन्त्र चोक । ... एउटा रिक्सावाला भुतभुताउँदै थियो– साला प्रजातन्त्र !

तेस्रो दिन उसैगरी बाहिर निक्लें । मानिसहरू चोकलाई घेरेर मौन उभिएका थिए । चोकको नाम पुनः बदलिएछ– काङ्ग्रेसचोक ।...
चौथो दिन पनि उसैगरी बाहिर निक्लें । मानिसहरूले चोकलाई घेरेका थिए । चोकको नाम फेरि बदलिएछ– एमालेचोक ।...

अर्को दिन मानिसहरू त्यसैगरी वरिपरि झुम्मिएका थिए । अलिक ठूलो घोचोमा अझ ठूला अक्षरले लेखिएको थियो– प्रचण्डचोक ।....

अनि अर्को दिन ‘प्रचण्ड’ मेटिएको थियो र त्यस ठाउँमा लेखिएको थियो– ‘गणतन्त्र’ । अर्को दिन ‘ग’मा ‘आ’को मात्रा जडिएको थियो अनि अर्को दिन ‘ग’का ठाउँमा ‘भाँ’ पारिएको थियो ।

म भूपिको चोक सम्झन्छु र मेरो यो चोकबारे सोच्न थाल्छु कि यसको खास नाम के हुन सक्छ ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 चैत्र, 2066

लेखकका अन्य रचनाहरु