भलाद्मी

- केशु बिरही

गुरुजीले वजाएको गाडीको आवाज र खलासीले ‘ए पूर्व एक्सप्रेस, एक्सप्रेस । काकडभित्ता एक्सप्रेस’ भनी कराएर निकालेको शव्द ध्वनीले कोलाहाल इटहरीलाई झनै कोलाहाल वनाईरहेको थियो । यतिकैमा खलासी भाइले ‘जाऊ जाऊ गुरु’ भन्यो । गुरुजीले पनि गाडी अगाडी वढाए । सदाको वन्द र हड्तालले गर्दा सवै यात्रुहरु आ– आफ्ना गन्तव्य पक्रन हतार गरिरहेका देखिन्थे । गाडी खचाखच भरिएको थियो । यात्रुहरुको ठाउँ ठाउँमा चढ्ने र ओर्लने काम भैरहेको थियो । यसैक्रममा एकजना वृद्घा गाडीमा चढ्न पुगीन । उनको साथमा एउटा सानो नानी पनि थियो । गाडी खचाखच भरिएकोले गर्दा सीट पाउने त कुरै आएन । राम्ररी खुट्टा टेक्ने ठाउँ समेत थिएन । तर जसरी पनि उनले त्यो यात्रा पूरा गर्नु पर्ने थियो क्यार । त्यसैले उनले जतिसुकै भिड भए पनि आफ्नो यात्रा पूरा गर्ने तय गरिन । हामी वसेको अलि अघिल्लो सिटमा हेर्दैमा भलाद्मी जस्ता देखिन एकजना मानिस वसेका थिए । त्यहा नेर अलि खुकुलो थियो । ती वुढी मान्छे त्यहीनेर पुगीन र ती मानिस संग भनिन – ए वावु यहा अलि खुल्ला ठाउँ रहेछ । अलि पर सर्नुहोस न मिलेर वसौ ।’ उनले सुनेको नसुने झै गरे । कतै दया पलाउछ कि भन्ने आसा लिएर ती वृद्धाले पुनः थपिन – हेर्नुहोस् न सानो नाती पनि छ । यसलाई वोकेर यात्रा गर्न त गाह्रो परिरहेको छ । बरु मिल्छ भने तपाई एक छिन उठिदिनु होस न । तपाईलाई धर्मै हुन्छ ।’ त्यसो भने पछि भने ती मानिसले वृद्धाको मुखमा पुलुक्क हेरे र भने –हेर्नुहोस म पनि विरामी छु । सञ्चो भए त भैजान्थ्यो । अरु कसैलाई भन्नुहोस न ।’

त्यस पछि भने ती वृद्घाले थप केही कुरा पनि गरिनन । र अरु कसैसंग अनुरोध गर्न पनि रुचाईनन । एकहातले बसको रड र अर्को हातले सानो नानीलाई समातिरहीन । मलाई भने उनको त्यो हालत देखेर दया पलायो । मैले पछाडी आएर मेरो सिटमा वस्न अनुरोध गरेँ । उनलाई सिट दिएर म भने झुण्डिएरै आफ्नो यात्रा पूरा गर्ने निधो गरे ।

हेर्दा हेर्दै गाढी सलकपुर हुँदै विराटचोक आईपुग्यो । त्यहाबाट एउटी युवती चढ्न पुगीन । गाडीको अवस्था पूर्ववत नै थियो । सिट कही पनि थिएन । अर्धनंग्न शरीर । छोटो पहिरन तथा अनुहार अनेकन क्रिम पाउडर र लालीले पोतिएकी ती युवतीले पनि पहिलाकी वृद्घाले झै त्यही भलाद्मी नजिक गएर भनिन – प्लीज दाइ अलि पर सर्नुहोस् न मिलेर वसौ । उभिएर यात्रा गर्न त क्या झुर हुने रहेछ ।’ षोढशीको त्यस्तो आग्रह पछि उनले पूरै शरीर नियाले र भने – भै जान्छ नि । आउनुहोस न । आईमाई केटा केटी तथा वृद्घ वृद्घाको सेवा पाउनु त मेरो अहोभाग्य नै हो ।’ अझ उनले ती युवतीको हात समाउदै भने अलि सजिलो गरी वस्नुहोला नत्र लडिन्छ नि । बरु अप्ठ्यारो भएमा म उठिदिउँला ।’

अलि अघि सम्म मात्र एउटी वृद्घाले अलि पर सर्नुहोस न नानी मिलेर वसौ । तपाईलाई धर्मै हुन्छ भन्दा विरामी भएको वाहाना गर्ने तर एउटी तरुनीलाई भने आफ्नो पूरै सिट समेत सुम्पन पछि नपर्ने ती भलाद्मीलाई सवैले हेरेको हेर्यै भए ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 चैत्र, 2066

लेखकका अन्य रचनाहरु