मनको दृष्य

- काशीनाथ मिश्रित

फुल्छन् फूल सुवास मग्मग छरी यै धर्तिमा सुन्दर
झुल्छन् स्वागत गर्न दिव्य धरणी मुस्काउदै सुन्दर !
मौरी भ्रमर घुम्दछन् लहडिँदै घुम्छन् ति आनन्दले
हेर्दै मख्ख परिन्छ दुःख जति छन् बिर्सिन्छ यै दृश्यले
।।१।।

अग्ला पर्वतराजका शिखरमा सेताम्य ह्युँ पर्दछ
पग्ली नित्य बहेर यो जगतको सेवा सधैं गर्दछ
पृथ्वीमा जति छन् सबै दुषित ती लैजान्छ जम्मा गरी
लिन्छन् मानवले किफायत सधैँ यस्कै महीमा बढी !
।।२।।

गर्दै नृत्य सुसाउँदै बगरमा बग्छन् नदी सर्वदा
फर्कन्नन् बलवान छन् यिनिहरू संसार यो फर्कला
रोकिन्नन् कहिल्यै निरन्तर वही यात्रा रमाईकन–
गर्दा लाग्छ अहो ! प्रसन्न सब छन् क्वै छैन दूखी जन !!
।।३।।

अर्को तर्फ उडेर पंक्षिहरूले आकाशका बादल–
छुन्छन् प्वाँख फिँजाउदै ति सजिलै घट्दैन कत्ती बल !
बच्चा छन् गुँडमा, लिएर ठुँडमा चारा, उडी आउने !
पंक्षी बन्न अहो ! मनुष्य जनले खोजी कहाँ पाउने ?
।।४।।

जन्म्यो मीर्ग कुनै कतै विपिनमा शार्दूल आईकन
खायो क्वाप्प नसोधि भोजन ग¥यो खोसी दियो जीवन !
खाने कारण के छ ? खानु उसले जन्तूहरू पर्छ र ?
यो धर्ती सबको छँदैछ उसले आफ्नै विचा¥यो कि त !
।।५।।

यस्तै चक्र कुचक्रका भुँवरिमा यो पृथिवी घुम्दछ
कोही रम्छ र कोहि रुन्छ विचमा फाटो ठुलै पर्दछ
कोही बृद्ध भयौं भनेर मनमा चिन्ता गरी बस्दछन्
कोही बैँश छ उर्लदो तमकले मातेर पो हिँड्दछन् !!
।।६।।

झर्दैनन् कहिँ पात यो विपिनका हुन्छन् हरिया सधैँ
सिख्रै भै कहिँ झर्दैछन् यि रुखमा देखिन्न राम्रो कतै
ठण्डी हुन्छ सधैँ कतै धरणिका उच्चा गिरी शैलमा
गर्मी भैकन भत्भती अनलले झँै पोल्छ क्वै ठाउँमा !
।।७।।

रम्छन् चन्द्र र सूर्य यो गगनमा आलो र पालो गरी
दिन्छन् दिव्य प्रकाश नित्य यिनले कालो भयो के गरी ?
आई छेक्दछ राहु रे ! गगनमा बेला र मौका महाँ
टाटो लाग्दछ नित्य त्यो ग्रहणमा निर्धक्क को छन् कहाँ ?
(अप्रकाशित महाकाव्य ‘दुर्भाग्य’ को दोस्रो सर्गबाट)

गुल्मी बम्घा,

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 चैत्र, 2066

लेखकका अन्य रचनाहरु