मुख–महात्म्य

- नरनाथ लुइँटेल

हामीसँग अत्यन्त महत्वका धेरै वस्तुहरू छन् । मानव शरीरका अङ्ग प्रत्यङ्गको पनि आ–आफ्नै महत्व रहिआएको छ । मान्छेसँग यस्ता महत्वपूर्ण कतिपय अङ्गहरू दुई–दुई प्रति छन्– राजश्व बुझाएपछि बैङ्कबाट प्राप्त हुने भौचरजस्तै । आँखा दुईटा छन्, कान दुईटा छन्, एउटै नाकका प्वाल दुईटा छन्, हात दुईटा छन्, खुटृा दुईटा छन् । बाहिर देखिने मात्र होइन, सोझै आँखाले नदेखिने, टाउको भित्र मस्तिष्क दुईटा छन्, छातिभित्र मृगौला दुईटा छन्, फोक्सोका पनि दुईटा भाग हुन्छन्, मुटुभित्र पनि मूख्य दुईटा कोठा छन् । जे जति दुईटा कुरा छन् तिनीहरूले काम भने सिर्फ एक–एकवटै गर्छन् । हिजोआज उस्तै अप्ठेरो प¥यो भने एउटा मृगौला बेचेर वा एउटा मृगौला किनेर पनि शरीरको व्यवहार चलाउने चलन आएको छ । एउटै मात्र आँखा, कान, वा एउटै मात्र खुट्टा र हातले पनि जीवन चलाउने मान्छेहरू भेटिन्छन् । तर सबै अङ्गमध्येको मुख धेरैधरै अर्थमा सबैभन्दा महत्वपूर्ण छ । आखिर मुख र मुखभित्रको जिब्रो एउटा–एउटा मात्र भयो किन ? अरू अङ्गहरूजस्तै मुख पनि दुईटा हुन्थ्यो भने सायद मान्छेले एउटा मुखले मीठो–मसिनु मात्रै खाने र अर्को मुखले काँचोकचिलो र रूखासुखा मात्र खाने गथ्र्यो कि ? जे होस् मान्छेको मुखको महत्व र महिमाबारे यहाँ केही चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

मान्छे मात्र होइन सबै जीवात्माहरूका अङ्गहरूको मूली हो, नेता तथा नाइके हो मुख । यसले सबैभन्दा महत्वको काम खाने काम गर्दछ । केही कुरामा तलबितल परेर मुखले खाने काम बन्द गर्दियो भने अरू यावत् अङ्गका तमाम काम ठप्प भइहाल्छन् । यस्तो बेलामा आँखा फुस्रो हुन थाल्छ, कानले सुन्नै छोड्छ, पेटको जठरानल बलेर आफै डढ्न थाल्छ, कोकिलकण्ठबाट आवाज निस्कन छोड्छ, मुटुको गति ढिलो हुँदैजान्छ, फोक्सोले प्राण वायु लिन पनि गाह्रो मान्छ, नाकको घ्राणशक्ति घट्छ, अन्ततः सिङ्गो शरीर मूडो लडेझैँ एकै ठाउँमा लम्पसार भएर लड्न विवश हुन्छ । शरीरका अन्य सबै गन्यमान्य अङ्ग ठीक ढङ्गले सञ्चालन हुन मुखले हर्दम खाइरहनुपर्छ । खानु नै मुखको सर्वप्रमुख काम हो । खाने कामलाई सुगम र सजिलो बनाउन मुखभित्र जिब्रो र दाँतजस्ता औजारहरू जडिएका छन् । खाने कुरा देख्नासाथ राल झिकेर जिब्रो रसाउन थालिहाल्छ भने कट्याङकुटुङको आवाज निकालेर दाँत कटकटाउन थालिहाल्छन् । खान हुने र खान नहुने कुराको छ्यानविचार गर्नतिर मुखको कहिलै ध्यान जाँदैन । यो भक्ष हो र यो अभक्ष हो भनी उसले छुट्याउन र पर्गेल्न जान्दैन । मानौँ दुनियाँमा उपलब्ध सबै वस्तु सिर्फ खानका निम्ति बनेका हुन् । पेटमा पुगेर अपच भई पञ्चपखाला चलोस् या, सोझै मष्तिष्कमा पुगी त्यसको दुष्प्रभावले मान्छेको होस उडोस् ! मुखलाई खान पाए पुग्यो । त्यसैले खञ्चुवा मुख आँ गर्नासाथ अलङ्कार बुझ्न सकिन्छ । मुखले “जुस” मात्र होइन “घुस” पनि खान्छ, पोस लाग्ने ठोस मात्र होइन होस् उड्ने तरल पनि तन्काउँछ । सारसौँदै आफन्तलाई स्वर्गको सिँढी उकाल्दै उसको अपुताली घिच्न जिब्रो लपलपाउँछ । कुनै मुख जाँड मात्रै खाँदैन, अस्पतालतिरका बिरामीहरूको ढाड भाँच्दै माड पिएर साँढ बन्ने पनि गर्छ । कुनै मुख काँचो रगतमा रमाउँछ, कुनै मुख मासुकै खाँचोलाई आपूर्ति गर्न उद्यत छ । कुनै मुख भारुले भरिन मन पराउँछ भने कुनै मुख डलर र दारु डकार्नमै बेफुर्सद छ । ‘मुख अनुसारको मुला’ भनेको पनि यही हो ।

त्यसो त ‘खाने मुखलाई जुँगाले छेक्दैन’, छेक्नै सक्दैन । जुँगा–दारी जाबोको के कुरा गर्ने ? खाने मुखलाई न झण्डाले छेक्छ, न डण्डाले । खाने मुखलाई न त नीतिले छेक्छ न नैतिकताले नै । खाने मुखको सम्बन्ध सोझै भुँडीसँग छ । भुँडी भर्नकै लागि मुख सुरषा बन्दछ । नैतिक रूपले असाध्य ठूलठूलो आदर्शको कुरो र भौतिक रूपले जुठोपुरो नै किन नहोस् मुखले खान पायो भने पुर्पुरो ठोक्छ । पेट गलगित्त भए पनि मुखले हसुर्न छोड्दैन । घिच्नु, हर्सुनु, हाब्रो भर्नु र लाद्रो ठड्याउनु मुखको मूलभूत र मौलिक धेय हो । यही धेयलाई पूरा गर्न मुख धुमधामसँग धद्धाइरहन्छ । ‘अजिङ्गरको आहारा दैवले पु¥याउँछ’ भने मुखको मूल धेय पूरा गर्न मान्छे स्वयम् दैव बनेर दगुरिरहेको छ । भुँडी भरिएर बढ्ता भई पुनः मुखबाटै बाहिर निस्किन थाले पनि मुख खाली बस्न पटक्कै रुचाउँदैन । रुचिको कुरा पाचन शक्तिसँग सम्बन्धित छ । त्यसैले मुख जे पायो त्यही खाइदिन्छ । ड्राइभरको पारितोषिक समेत हसुरेर आफ्नो पेटलाई पालितपोषित गर्दछ मुख । यो हाकिमे–मुखको करामत हो । जतिसुकै सानो कुरा होस् ‘हातिका मुखमा जिरा’ हुँदैन । जतिसुकै ठूलो कुरा होस्, ‘बोकाका मुखमा कुभिण्डो’ पनि हुँदैन । मुखमा प¥यो कि घाँटीभित्र छि¥यो । खाने क्रममा मुखले दार्नु, लुछ्नु, चपाउनु, टोक्नु, दाँत गाड्नु, चाट्नु, चुस्नु, तान्नु, तन्काउनु, ठाडो घाँटी लगाउनु, हसहस हसुर्नु, सुरुपसुरुप पार्नु, चिरिपचिरिपसँगै झिरिप पार्नु, गोजेरो भर्नु, सुक्र्याउनु, घिच्नु, थैलो भर्नु, भुँडी डम्फ्याउनु, बुत्याउनु, सिध्याउनु, लाद्रो भर्नु आदित्यादि सबै कार्य सम्पन्न गर्दछ । यसो नगरी मान्छेका अरू कुनै अङ्गमा रङ्ग चढ्दैन, जाँगर आउँदैन । अरू त अरू भैहाल्यो स्वयम् मुख समेत बाउन सक्दैन । मान्छे दङ्ग पर्न मुख नामको यो अङ्गले पु¥याउने ढङ्ग यिनै हुन् । यसरी नै मुखले ईशारा चलाइआएको छ र गुजारा चलाइरहेको छ ।

मुखका निम्ति खानुजत्तिकै महत्वको दोस्रो कुरा पनि छ । बकबक गर्ने मुखको मौलिक विशेषताका बारेमा चर्चा नगर्ने हो भने यो मुखमहिमा अधुरै रहन्छ । चाहिँदा नचाहिँदा कुरा बोल्नु, बोलेकै भरमा कसैलाई पोल्नु, पोल्दापोल्दै कसैको इज्जत खोल्नु, कसैलाई पेल्नु, कसैलाई ठेल्नु, घच्याट्नु, हेप्नु, दपेट्नु अनि कसैलाई मायाँ गर्दै सुरक्षाको छाया दिनु, चाकरी र चाप्लुसीको निम्ति चिल्लो घस्नुजस्ता काम पनि मुखका महत्वपूर्ण क्रियाकलापभित्रै पर्दछन् । मौका नपर्दा म्याउ गर्ने मुख मौका पर्नासाथ होक्का गर्न थाल्छ । बोलाई र गराईमा भेट नखाए पनि जेटविमानझैँ भाषण गर्न रूचाउने नेताको बकबके मुख यसैको सानोतिनो उदाहरण हो । अर्काको नून खाएर गुन तिर्न औधी सिपालु हुन्छ मुख । कुनै मुख छन् फेरि चेपारो पारीपारी अरूलाई उल्क्याउने, त्यसरी उल्क्याउँदा उल्क्याउँदै चालै नपाई सुल्क्याउने । चेपारो मुखले सुल्क्याइ सकेपछि सुल्किने मनुवा पाहा पछारिएझैँ पछारिँदा मात्र थाहा पाउँछ । मुखले बिराउँछ तर ज्यानले दुःख पाउने पनि भइरहेको छ । आवेगमा आई मुख सम्हाल्न नसक्दा घिच्रो छिनेका घटना पनि प्रशस्तै छन् । मुखैका कारण कतिको जिब्रो लुछिएको छ त कतिको गाला ताछिएको पनि छ ।

आखिर यसरी चाहिँदो नचाहिंदो बकबक गर्ने र चाहिँदो नचाहिँदो हसुर्ने सिर्फ एउटै मुख हो । एउटै मुख हँुदा त मान्छेको महत्वाकाङ्क्षालाई यति बिघ्न टेकोपुँडो गरिरहेको छ भने दुई तीनवटा मुख हुँदा हुन् त मान्छे बजियाको फूर्ति कति चुलिने थियो होला, सजिलै अन्दाज गर्न सकिन्छ । त्यसकारण मुखको महत्वका बारेमा वर्णन गर्न हज्जार जिब्रा भएका शेषनागले त सक्दैनन् भने मेरो सिर्फ एक मात्र जिब्रो भएको जाबो मुखले वर्णन गर्न के सक्दो होला खै !?

कलङ्की, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 चैत्र, 2066

लेखकका अन्य रचनाहरु