पपेट

- सन्जु बजगाईं

मिस्टर टि.आर.ले आफ्नो मोटरसाईकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए ।

“मिस्टर टि.आर.ले पपेट..... !” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन् ।

साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए । एक झलक लगाउन नभ्याएका युवाहरु भने मिस्टर टि.आर.को वेबसाईट डब्लु डब्लु डब्लु डट फ्लावर एण्ड फ्रुट डट कमको फोटो ग्यालेरीमा हेर्न पाईनेमा विश्वस्त थिए ।

मिस्टर टि.आर.! नामको प्रयोग गर्ने शैलीमै फरक छन् उनी । पश्चिमा प्रभाव भन्न मिल्छ । जस्तो मिस्टर म्याकवेल, मिस्टर मोरिस, मिस्टर जोस आदी । हाईटले पनि मिस्टर म्याकवेलहरुलाई भन्दा कम साथ दिएको छैन । छ फिट माथिका छन् । जान्नेहरु भन्छन् उनले आफुलाई पश्चिमाहरुसँग पनि उत्तिकै अप टु डेट राख्छन् रे । प्रमाणतः मान्न सकिन्छ उनको पछिल्लो फ्रान्स भ्रमण । त्यो पनि पेरिसको लुभ्र संग्राहलयमा केन्द्रित भ्रमण ।

मिस्टर टि.आर.ले पपेट भित्राउनु एउटा संयोग थियो या उनी पपेट साँच्चै मन पराउँथे त्यो रहस्यकै बिषय थियो । टाढैबाट चन्द्रमाको आख्यान गर्ने क्षमता भएका व्यक्तिले जाबो पपेटमा समय किन खर्चिन्थे ? हुनसक्छ पपेटको माध्ययम बनाएर सामाजिक स्तरमा आफ्नो पहुँच बढाउन खोज्दैछन् उनी । या त अफिसको आन्तिरिक भ्रमणमा निस्किएका बेला सहकर्मीहरुको लहैलहैमा आफू पनि लागेका हुन् । यी सबै अन्दाजका बिषय भए । जे जसो भए पनि मिस्टर टि.आर.ले घरमा पपेट भित्रयाए ।

“बधाई छ टि.आर.जी पपेट ल्याउनु भएकोमा ।” तीनदिन पछि बधाई दिन आईपुगेका मिस्टर वैद्यले हात तेर्साउँदै भने ।
टि.आर. अलमल्लमा परे । पपेटको चर्चा यसरी चुलिएला भन्ने उनलाई लागेकै थिएन । तर मिस्टर वैद्य समेतले बधाई दिनुले उनलाई अचम्मित नै तुल्यायो । टि.आर.को पपेटलाई थम अप गरेर निस्किए मिस्टर वैद्य ।

टि.आर.को दैनिकीमा पपेट थपियो । उनी हरेकदिन अफिस निस्कनु अघि पपेटलाई चार्जमा छोडेर जान्थे अनि आफू फर्किएपछि चार्जबाट झिक्थे । फुल चार्ज भएको पपेट उनले अ¥हाएका सबै क्रियाकलापहरु गरिदिन्थ्यो । खाना पकाउने देखि उनका कपडा धुने, स्त्री लगाउने, घरको सरसफाई आदि ईत्यादी । साँच्चै भन्दा पपेटले उनको घरमा चमक थपिदिएको थियो । उनको दैनिकीलाई साह्रै सजिलो पारिदिएको थियो ।

एकदिन अचानक पपेट बोल्यो ।

त्यसले भन्यो–“मलाई यो सानो कोठामा पुरादिन अँध्यारोमा बिताउन मुश्किल हुनथाल्यो ।”

टि.आर. झस्किए । आजसम्म नबोलेको पपेट कसरी बोल्यो ? पपेटको फङ्गसन देखाउँदा पपेटवालाले पपेट यसरी बोल्छ भन्ने कुरै गरेको थिएन । त्यसमा पनि पहिलो बोली असन्तुष्टीको !

अर्कोदिन फेरी पपेट बोल्यो ।

उसले भन्यो–“धेरै समयदेखि म एउटै स्थानमा छु । मेरो पोजिशन चेन्ज गरिदिनु प¥यो ।” यसपटक पनि असन्तुष्टिकै भाषा बोल्यो ।

क्रमशः पपेटको बोल्ने क्रम बढ्दै जान थाल्यो ।

अर्कोदिन पुनः पपेट बोल्यो ।

र भन्यो–“मलाई सोसियल कन्ट्याक्ट चाहियो ।”

पपेटले अँध्यारो–उज्यालोको कुरा गर्नु, पोजिशनको कुरा गर्नु, सोसियल कन्ट्याक्टको कुरा गर्नु.. ..... यी सबै टि.आर.लाई घोर आश्चार्यको बिषय भयो । उनी पपेटको छेउमै गएर नियाल्न थाले । ओल्टाई–पल्टाई गरे । पपेटको आन्तरीक बनौटमा खराबी छ कि भनेर चेक गरे । सबै ठिकै पाए । मात्र पपेटका कपडाहरु अलि मैला देखिए । अनि उनले ल्याउँदाको भन्दा अलिकति पुरानो भएजस्तो पाए । उनी जस्तो ब्यस्त मान्छेसँग पपेटको ससाना कुराको ख्याल गर्ने फुर्सद कहाँ हुनु ? टि.आर.को सिद्धान्त अनुसार प्रयोग गरेपछि पुरानो हुने, मैलो देखिने कुरा सामान्य हुन् । आफूसँग जे छ त्यसैमा खुशी हुनुपर्छ भन्ने उनको मायन्तालाई जाबो पपेटले च्यालेन्ज गर्नु उनको अपमान जत्तिकै हुनथाल्यो । उनले भोलिपल्ट आफूसँगै पपेट ल्याउने सहकर्मीलाई यसबारेमा बताउने निधो गरे ।

“तपाईंहरुको पपेटको हालखबर के छ त ?” ब्रेक टाईमको कफीको घुड्कोसँगै कुरो शुरु गरे ।

“एकदम फस्टक्लास !” एकले जवाफ दिए ।

“मैले पपेटका लागि नयाँ स्टाईलका कपठा अर्डर दिएको छु । सधै एउटै मोडेलका कपडाले नयाँ लुक दिन्न क्या !” दोश्रोले सुनाए ।

“पपेटको कुरा टि.आर.जीले किन उप्काउनु भा’हो ? सेन्स अफ रोमान्स बढे जस्तो छ नि !” हरेक बिषयलाई रोमान्ससँग जोडेर बोल्नेले भने ।

“तपाईंको पपेटको के छ नि खबर ?” अर्काले सोधें ।

सबैजनाको कुरो सुनेपछि आफ्नो स्थिति बताउन हिच्किचाए मिष्टर टि. आर .।
“राम्रो छ । म रमाएको छु ।” टि.आर. ले ढाँटे ।

खलबलिएको टि.आर.को मष्तिस्क शान्त हुन सकेन । साँझ घर फर्किए । पपेटले मुस्कुराएर स्वागत गरेन । घरको आन्तरिक माहौल शुरुका दिनमा झैं रहेन । विर्चादा उनलाई आफ्नो घर अरुकोभन्दा असामान्य लाग्दैन । घरको वातावरण, बरबगैंचा, कोठामा हावा प्रवाह गर्ने भ्यालहरु, कोठामा राखिएका फर्निचर सबै अरुकाभन्दा असामान्य छँदै छैनन् । पपेटलाई आदेश दिने वा प्रयोग गर्ने व्यक्ति पनि उनी मात्र हुन् । यस्तो सानो परिवारमा रहन पाउँदा पनि पपेट किन असंतुष्ट ? उनलाई पपेट भित्रयाएर अनावश्यक झण्झट थोपरेको अनुभूति हुनथाल्यो ।

धेरै दिनदेखि खलबलिएको मनस्थितिमै एकदिन बिहानै उनी मिस्टर वैद्यकहाँ हान्निए । पन्ध्र बर्षभन्दा बढी देश बाहिर जागिरे जीवन बिताएका मिस्टर वैद्य फराकिला विचारका भएकाले पनि टि.आर.ले आफ्नो समस्या उनैलाई राख्ने निधो गरे ।

“टि.आर.जी के छ पपेटको खबर ?” ढोका खोल्नासाथ प्रश्न ते¥स्याए वैद्यले ।
“आश्चार्यमय छ ।” टि.आर. बोले ।

“पपेटलाई गहिरोसँग बुभ्न नसक्दा आश्चार्यमय नै हुन्छ ।” वैद्यले भने ।

“पपेटले एक पछि अर्को गर्दै उसका असन्तुष्टि देखाउन थाल्यो ।” तनावमा रहेका टि.आर.ले कुरो खोले ।

“तपाईको पपेट आधुनिक ब्राण्डको हुनुपर्छ ।” वैद्यले आँखीभौं खुम्चाउँदै अन्दाज गरे ।

“बिल्कुल आधुनिक हो । अहिलेको जमानाको ।” टि.आर.ले भने ।

“ए..ए..त्यसको मतलब स्मार्ट र हाई क्वालिटीको छ पपेट ।” वैद्यले चासो बढाए ।

“पपेट त पपेट नै हो नि ! स्मार्ट, क्वालिटीको खासै के कुरा होला र ?” टि.आर.ले भने ।

“हेर्नुस टि.आर.बाबु ! पपेटभित्र धेरै कुरा पर्छन् । त्यसैले पपेट ल्याउनु एउटा कुरा हो तर पपेटलाई बुझेर जीवन्त राख्न सक्नु अर्को कुरा हो ।” वैद्यले आफ्ना पपेटहरुलाई औंल्याउँदै व्याख्या गर्न थाले ।

यत्तिकैमा एउटा सा–सानो कदको पपेट चिया टक्राउन आईपुग्यो । त्यो पपेट देख्दा टि.आर. छक्क परे । लचकदार चाल, ठूला–ठूला काला आँखाहरु, हँसिलो परेको बनौट ! कसरी संभव भयो यी वृद्धका घरमा ? टि.आर.को मनमा प्रश्न जन्मियो ।

“तपाईंको पपेट यति जीवन्त कसरी ?” उनले प्रश्न फ्याँके ।

“मेरो क्षमता मान्नुस् यसलाई ।” वैद्यले व्यङ्गयात्मक हाँसो छाडे ।

“भावनाको कुरा हो । तपाईं युवा ! पानी ओरालो बग्छ भन्ने जान्नुहुन्छ तर पानी उकालो चढेको मान्नुहुन्न । पानी ओरालो बग्नु सर्वमान्य सिद्धान्त हो भने पानी उकालो चढ्नु व्यक्तिमा निहीत भावनामा भर पर्दछ । ठान्नुस त्यो भावना ममा पर्याप्त छ ।” वैद्यको फिलोसोफिकल व्याख्या टि.आर.ले सुनिरहे ।

उनलाई फिलोसोफीमा भने कुनै चाख छैन । तसर्थ वैद्यको कुरो थोरै मात्र बुझे र भने– “केहीदिनका लागि पपेट हाउसमा लगेर मर्मतका लागि छोडिदिने बिचारमा छु ।” टि.आर.ले योजना सुनाए ।
“त्यो दीर्घकालीन समाधान होईन ।” वैद्यले असहमति जनाए ।

वैद्यलाई टिआर.को पपेटको ब्राण्डबारे राम्रो जानकारी छ । त्यहाँका पपेटले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो वर्चस्व राखि सकेका छन् । वास्तबमै त्यो पपेट हाउसका हरेक पपेटहरु लोभलाग्दा र आ–आफ्नै बिषेशताले युक्त छन् । हरेक सिजन, हरेक पर्व पिच्छे पपेटका पहिरनहरु अहिलेको बाहिरी फैसन अनुकुल फेरिन्छन् । त्यो पपेट हाउसलाई ऐतिहासिक माने पनि हुन्छ । पुस्तौंदेखि नाम चलिआएको । त्यसैले पपेट हाउसमै फिर्ता पु¥याईहाल्नु भन्दा पपेटका लागि अलिकति समय छुट्याउनु भन्नेमा पुगे मिस्टर वैद्य ।
“तपाईं केहीदिन पपेटका कुराहरु सुन्नमा बिताउनुहोस् ।” वैद्यले सुझाव दिए ।

“यो संभव छैन ।” टि.आर.ले कुरो टुङ्गयाए ।

“मनको कुरा हो टि.आर.बाबु !” वैद्यले जोड दिए ।

“मन भन्दैमा सबै संभव हुनसक्दैन नि !” टि.आर.बोले ।

“टि.आर.बाबु तपाईमा ईगोको मात्रा बढेको छ ।” वैद्यले भने ।

केहीबेर दुईबीच मुखौरी नै चल्यो । टि.आर.को आफूले गरेको ठीक, आफू हरकुरामा ठीक भन्ने बानी पुरानो हो जसलाई उनी सजिलै सुर्धार्ने पक्षमा छैनन् । अब जाबो पपेटको असन्तुष्टि सुल्झाउन महत्वपूर्ण दैनिकीलाई कसरी मोड्न सक्छन् उनी ?

“बिहानको मर्निङ्ग वाक, दिउँसोको अफिस, साँझ साथीभाईसँगको गफसफ, खानापछिको समयमा वेबसाईटको व्यस्तता । मसँग समय कहाँ छ र ?” टि.आर.आफ्नो व्यस्तता सुनाउँछन् ।

“राईट ! विक–एण्डको टाईम छुट्याउँनुहोस् ।” वैद्यले उपाय बताए ।

“नो...नो...नो...वेलफेयर सेन्टरका लागि समय दिनुपर्छ ।” त्यो पनि टि.आर.बाट संभव नहुने भो ।

“तपाई आफूलाई कत्तिको सोसियल मान्नुहुन्छ ?” वैद्यले प्रश्न गरे ।

“पूर्णतः ।” टि.आर.को जवाफ ।

“टोटल्लि अनसोसियल हुनुहुन्छ तपाई ।” वैद्यले सिधै भनि दिए । सोसलाईजेशनको कुरा कहाँबाट शुरु भएर कहाँ गएर पूर्णता प्राप्त गर्छ त्यसको मापदण्ड तोकिएको छैन । तर मिस्टर वैद्यलाई सोसाईटी एउटा व्यक्तिको निजी घरबाट शुरु हुन्छ भन्ने राम्रो थाहा छ ।
“एक हप्ता छुट्टी मनाउन पपेटलाई सँगै लिएर कतै जाने कोशिस अवश्य गर्नुहोस् । शायद केही फरक पाउनुहोला कि ?” अन्तिम सल्लाहको वाक्यांश बोले ।

आफ्नै कुरामा ढीट भएर लागेको मान्छेसँग कसको केही लाग्दैन । पपेटले असन्तुष्टि देखायो भने उसको असन्तुष्टि के हो ? त्यसको लागि के गर्न सकिन्छ ? जस्ता सामान्य कुरामा विचार गर्न अवश्य सकिन्छ । मिस्टर वैद्यलाई टि.आर.को सोंच फराकिलो लागेन । तैपनि उनले जति बोले सामान्यत एक बौद्धिक व्यक्तिले प्रष्टसँग बुभ्ने गरी बोले ।

कोठामा टिर्रर.....टिर्रर......अलार्म बज्यो । पपेटले डक्टरसँग वैद्यको एपोईन्टमेन्ट संझाउन सेट गरेको अर्लाम आवाज थियो त्यो । पपेट र वैद्यबिचको घनिष्टता टि.आर.ले राम्ररी देखे । वैद्य डाक्टरकहाँ जाने समय भयो भनेर निस्कन लागे ।

वैद्यका सल्लाहका बाबजुद पनि मिस्टर टि.आर.ले अबको योजना के भन्नेबारे नबोलि घर फर्किए । घरको मेन गेटसम्म पुगेका मात्र के थिए उनकै काँधमा ठोक्किदै ठम्ठम् हिँड्दै पपेट बाहिरियो । “कत्रो दुःख गरेर खोजी ल्याएको पाचौं पपेट पनि आखिर साक्षात आइमाई नै रहिछे ।” मिष्टर टि. आर. बर्बाराउँदै भित्र छिरे ।
ब्रसेल्स, बेल्जियम
जनमत मासिकबाट

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 16 चैत्र, 2066

लेखकका अन्य रचनाहरु