चिसो जुनेली रात

- हरिहर खनाल

आकाश छ्याङ्ग खुलेको थियो । गोधुली साँझमा पश्चिमको क्षितिजरेखा र त्यसको आसपासमा अबीर छरिएको थियो । पूर्वतिर भने पूर्णिमाको जून भर्खरै डाँडाका कापबाट बाहिर निस्केर विस्तारै माथितिर घस्रँदै थियो । संपूर्ण प्रकृति चन्द्रमाको त्यो स्निग्ध, शितल छहारीमा नुहाएर शान्त मुद्रामा सुतिरहेजस्तो देखिन्थ्यो । मङ्सिर महिनाको अन्त्यतिरको त्यो साँझमाथि शिशिरऋतुका प्राथमिक सङ्केतहरू क्रमशः देखिन थालेका थिए । बाहिरको वातावरणमा चिसो मौसमको प्रभाव दिन–प्रतिदिन घनिभूत हँुदै गैरहेको थियो । ल्याम्पपोष्टबाट बाहिरतिर हुत्तिएको बिजुलीको उज्यालो सडकभरि छरिएको थियो । धरतीमा भर्खरै साँझ खसेको थियो, तर त्यो सेरोफेरो भने सम्साँझै सुनसान हुन थालेको थियो । मानिसहरू सडकमा फाट्टफुट्ट मात्र हिँडिरहेका थिए । सहरका पसलहरू बिस्तारै बन्द हुँदै थिए । गाउँ फर्कने मानिसहरू तिनीहरूका बाहनको खोजीमा हतारहतार स्थनीय बसपार्कतिर लम्किइरहेका थिए । पैदलयात्रीहरू चामलका बियाँसरि सडकमा कताकति मात्र देखा पर्दै थिए ।

सहरको एक छेउमा रहेको सरकारी विद्यालयको घन्टी बजेपछि फोनिक्स साइकल पेलेर घरतिर लम्किइरहेको कृष्णबहादुर झन्डै तीन किलोमिटर परको उसको घरमा पुग्दा गाउँको सडकमा एकजना पनि मानिस भेटिएन । सडक सुनसान थियो । त्यसको बाटोमा अल्मल्याउने कोही थिएन । एक प्रकारले उसलाई सजिलो पनि भयो । सरासर बाटो काट्न पाएको स्थिति थियो त्यो । अर्को हिसाबले हेर्दा त्यसलाई भित्रभित्रै त्यसै अत्यास लागेर आयो । विगत बीस वर्षदेखि ओहोरदोहोर गरिरहेको उसको त्यो सुपरिचित ठाउँ पनि यति बेला त्यो सुनसान, त्यो चकमन्न वातावरण बीच कताकता बिरानो लाग्न थालेको थियो । मनमा अलिकति नियास्रोपन र अलिकति उकुसमुकुस बोकेर घरको बाटो लम्किइरहेको त्यसले पीपलचोकमा पुगेपछि त्यसको घर अगाडिको पोलमा बिजुली बत्ती झल्ल बलिरहेको देख्यो । बिजुलीको उज्यालोमा आँगन र गोठतिर मान्छे हिँडेको परैबाट देखियो । घरै नजिक पुगेपछि उसले देख्यो, सरिता भर्खरै भैंसी दुहेर फर्कदै थिई ।

“कति ढिलो गर्नु परेको हो घर फर्कन पनि ? जुग–जमाना यस्तो छ !” ऊ आँगनमा पुग्न पाउँदा–नपाउँदै सरिताले भनी । कृष्णबहादुर केही बोलेन । उसलाई थाहा थियो, सरिताको कुराको पष्टिकरण दिनु भनेको विवादको सिर्जना गर्नु हो । यद्यपि राजमार्गको लामो सवारी जाँचमा उसले लामै समय लाममा बसेर सडक पार गर्नु परेको थियो, तथापि त्यसले त्यो कुरा त्यहाँ दोहो¥याएन । त्यो समयमा सडकमा उसले जे देख्यो त्यो सबै सुनाएर साध्ये लाग्ने कुरा पनि थिएन । बिहान राजमार्गछेउ पुग्दा हातमा थ्री नट थ्री बोकेको एकजना शैनिक झलक्क हेर्दा पहलमानै हो कि जस्तो लाग्ने अर्को एकजना नागरिकलाई बीच सडकमा समातेर गालैगालामा चड्कन लगाइरहेको थियो । बाहिरबाट हेर्दा निकै बलियो बाङ्गो देखिने त्यो युवक दुवै हातले आफ्नो अनुहार छोपेर त्यसको प्रहारबाट जोगिने निरर्थक प्रयत्न गरिरहेको थियो । बटुवाहरू, रमितेहरू र त्यहाँ भएका जो कोही पनि चोर आँखाले मात्र त्यता हेर्थे र त्यहाँ मानौ केही भएकै छैन, तिनीहरूले केही देखेकै छैनन् कि झैं गरी त्यै बाटो भएर आउने र जाने गरिरहेका थिए ।

चेकपोष्टको पल्लो छेउमा पुगेपछि कृष्णबहादुरले त्यै दिन बिहान अर्काे एउटा दुर्घटना देख्यो । सबारी साधनहरू विस्तारै घस्रँदै सडकबाट अगाडि बढिरहेका थिए । ती सबारी साधनमा सबार यात्रुहरू आआफ्ना हाते झोला भिरेर सेनाको प्रत्यक्ष निगरानीमा सडकको त्यो खन्ड पैदल हिँडेर छिचोलिरहेका थिए । तिनीहरूका आँखा एक्कासी सडककिनारा उत्तरपट्टिको खेतको डिलमा पर्न पुगे । एउटा ठिटो शैनिक एकजना अधबैंसे मानिसलाई घोक्य्राउँदै खेतबाट बाहिर ल्याउँदै थियो ।

“यो ठाउँमा किन मुतिस् ?” त्यो जवान अधबैंसेलाई हकार्दै थियो ।

“चिसोले खप्नै सकिन । अँसी आलीको छेल परेर बसेको हुँ बाबु ।” त्यो स्पष्किरण दिँदै थियो ।

“यतिका मानिसले देख्ने गरी मुत्न तँलाई लाज लागेन ?” त्यसको कठालोमा समातेर त्यो कड्किइरहेको थियो । त्यहाँ पनि बटुवाहरू छड्के आँखाले तिनीहरूतिर हेर्दै मानौ केही पनि भएको छैनझैं गरी बाटो लागिरहेका थिए ।

कृष्णबहादुर खुला आकाशमुनि सास फेरिरहेको थियो, तर त्यसले त्यस प्रकारको सजिलो महसुस गर्न छाडेको धेरै समय भैसकेको थियो । ऊ त्यसैत्यसै थिचिएको, मिचिएको र पिसिएको अनुभव गथ्र्यो । पैंतालिस वर्षे त्यसको यो जीवनमा त्यति असजिलो स्थितिको उसले त्यस अघि कहिल्यै अनुभव गरेको थिएन । उसले देखिरहेको थियो, त्यसका छिमेकीहरूका अनुहारको मुस्कान हराएको छ । त्यसका सहकर्मीहरूको हाँसो लोप भएको छ, त्यसका स्वजनहरूको खुसी विलुप्त भएको छ । यो दुनिया के भएको होला भन्ठानेर ऊ घरिघरि टोलाउन थालेको थियो । ऊ मात्र होइन, उसले जसलाई पनि उसैको स्थितिमा देख्न थालेको थियो । देशमा शङ्कटकाल लागेको पन्ध्र दिन पनि नपुग्दै मानिसहरूमा एउटा भयङ्कर विषादको सुरुआत भएको उसले महसुस गर्न थालेको थियो ।

“छोराछोरी सबै आइसके ?” सरितासित बोली मिसाउने सिलसिलामा कृष्णबहादुरले सोध्यो ।

“अँ सबै फर्किसके ।” बरन्डातिर उक्लँदै सरिताले भनी । उसको पछिपछि कृष्णबहादुर पनि भित्र पस्यो र त्यसपछि तिनीहरूले तत्कालै ढोका लगाए ।

रातको करिव आठ बजेको आसपासमा तिनीहरूले खानपिन गरीवरि घरधन्दा सके । त्यसपछिको काम भनेको ओछ्यान रुङ्ने नै हुन्थ्यो । त्यति चाँडै कसैलाई पनि निद्रा लाग्ने बेला भैसकेको हुँदैनथ्यो, तर त्यो एक किसिमको बाद्यता थियो । सारा गाउँ चकमन्न भैसक्थ्यो । बत्ती निभाएर ओछ्यानमा पल्टिएपछि कृष्णबहादुरले झ्यालबाट बाहिर हे¥यो, पूर्णिमाको जून छताछुल्ल भएर धरतीभरि पोखिएको थियो । रात पनि दिउँसैजस्तो देखिएको थियो । उसको घर अगाडिबाट गएको सडकमा गाडा र गाडीका चक्काले पेलिएर अलिकति कुलेसो परेको भागसमेत प्रष्टै देखिएको थियो । सडक र सडक पारिको सपाट फाँट र त्यो सम्पूर्ण सेरोफेरो जूनको उज्यालोमा नुहाइरहेको थियो तर त्यहाँ कुनै गति थिएन । परतिरबाट आएको कुकुर भुकेको आवाजबाहेक वातावरण विल्कुलै सुनसान थियो । कृष्णबहादुरले उसको विगततिर फर्केर हे¥यो, त्यहाँ धेरै कुरा फरक थियो । ऊ बिना हिच्किचाहट निर्धक्क भएर कुनै पनि समयमा घरबाट बाहिर निस्कन्थ्यो र त्यसरी नै घर फर्कन्थ्यो । रात र दिनमा त्यसलाई कुनै पनि अन्तर भएजस्तो लाग्दैनथ्यो । तर अबको स्थिति भने त्यस्तो छैन । साँझ पर्दा–नपर्दै मानिसहरू घरभित्र छिरिसक्नु पर्ने एक प्रकारको वाध्यता छ । त्यसपछि एउटा सिङ्गो जुग जत्तिकै लामो लाग्ने रात चिप्लेकीराको गतिमा घस्रन थाल्दछ । उज्यालो खस्नुअघि कोही पनि बाहिर निस्कन मान्दैन ।

कृष्णबहादुर ओछ्यानमा पल्टिएको निकैबेर भैसक्यो तर त्यसका आँखामा निद्रा पर्ने कुनै लक्षण देखिएन । ऊ यसो चल्मलायो र बिस्तारै कोल्टे फर्कियोे । देख्यो, सरिता पनि निदाएकी छैन । छोराछोरी भने सुत्न बाँकी नै छ । तिनीहरू दुवै परीक्षाको तयारीमा छन् र आआफ्ना कोठामा अध्ययनमा व्यस्त छन् ।

“सरिता ?” कृष्णबहादुरले बिस्तारै सरितालाई बोलायो । दिनभरिको घरधन्दा र याबत् कामको बोझले गलेका तन्तुहरूलाई बिश्राम दिइरहेको शरीरलाई शिताङ्ग छाडेर सरिता बिस्तारै बोली :“हजूर !”

कृष्णबहादुरलाइ थाहा थियो सरिता निकै थाकेकी छ । त्यसको नियमित दैनिक काममा कुनै फेरबदल देख्तैन ऊ । सरिताको तुलनामा बरु ऊ आपूmलाई सुखी सम्झन्छ । विगत २५ वर्षदेखि ऊ नित्य त्यै काममा लागिरहेको छ । अलिकति वुद्धि लगाउनु पर्ने, त्यत्ति हो । कुनै शारीरिक श्रम गर्नुपर्ने प्रकारको काम छैन उसको । ठीक समयमा स्कुल जानु, आफ्नो कक्षामा पुगेर पढाउनु र छुट्टी भएपछि घर फर्कनु । यो उसको नियमित काम हो । हिउँदको समयमा घाम चाँडै नै लोजाउन थाल्छन् । साँझ पनि झट्टैनै धरतीमा खस्छ । तर त्यो कुराले पनि उसलाई धेरै फरक पार्दैन । छुट्टी हुनासाथ सहकर्मी साथीहरूसित ऊ पनि विद्यालयको प्राङ्गणबाट बाहिर निस्कन्छ र मूलसडकमा पुग्नेवित्तिकै साइकल पेलेर घरको बाटो सोझिन्छ । विगत लामो समयदेखिको उसको त्यो नियमित कार्य आजपर्यन्त जारी छ । देशमा शङ्कटकाल लाग्नुपूर्व त्यो एकनासको काम सधैंनै उस्तै लाग्थ्यो, तर पछि आएर बाटोघाटो, गौंडागल्छी सरकारी गुप्तचरहरू छरिएर बसेका छन् र मूल सडकमासमेत हरेक पल मानिसहरूका पाइलापिच्छे तिनीहरूले शङ्कालु नजर फिँजाइरहेका छन् । त्यो त्रासदीपूर्ण बातावरणको असर आजभोलि गाउँबाट शहर पुग्ने मानिसमा मात्र नभएर गाउँघरमानै घरधन्दा रुँगेर बस्ने सरिताजस्ता घरेलु महिलाहरूमाथि पनि पर्न थालेको छ । कृष्णबहादुर ठान्छ, सरिताका तुलनामा ऊ धेरै सुखी छ । सरितालेझैं उसले रातदिन चुलोचौकोमा समय बिताउनु पर्दैन । कहिलेकाहीँ छोराछोरीले पनि पालो दिन खोज्छन् तर सरिता भने, तिनीहरूलाई सामान्य लाइमिली गर्नुबाहेक पूरै व्यबहार छोड्न पटक्कै खोज्दिन । त्यसै बस्न त सरिताको मनै मान्दैन ।

आफ्नै तन्द्रामा रुमल्लिइरहेको कृष्णबहादुर कति बेला निदाएछ कुन्नि, त्यसले आफै थाहा पाएन । सरिता पनि झकाइछ । पातलो तन्द्रामा परेका बेला एकाएक ढोका ढक्ढक्याएको आवाज आयो, त्यसपछि कृष्णबहादुरको निद्रा खल्बलियो । उसले टाउको उठाएर बाहिरतिर हे¥यो, टहटह जून लागिरहेका थिए । जूनको उज्यालो सर्वत्र फैलिएको थियो, तर बाहिर आँगनमा भने कोही पनि देखिएन । उसले सरितालाई पनि घचेटेर उठायो र साउतीको स्वरमा केही भन्यो । त्यै बेला फेरि ढोका ढक्ढक्याएको आवाज आयो । ऊ उठ्यो र “को हो ?” भन्दै अलि ठूलो स्वरले सोध्यो ।

“हामी हौं सर । ढोका खोल्नोस् ।” परिचितझैं लाग्ने एउटा स्वर सुनियो । तैपनि ती जोइपोइको मन ढक्क फुल्यो ।

कृष्णबहादुरले उठेर बत्ती बाल्यो र तल झ¥यो । झ्यालको पर्दा उचालेर बाहिरप‌िट्ट हेर्दा उसले देख्यो, छ सातजना मानिसको जत्था बरन्डामा उभिइरहेको छ । उसलाई झन् डर लागेर आयो ।

“ढोका खोल्नुस् सर । हामी केही समयको लागि तपाईकहाँ बसेर फेरि बाहिर जानुछ ।” पहिलेकैझैं उही परिचित आवाज बोल्यो । उसले यसो चियाएर बाहिर हे¥यो । नवआगन्तुकहरूको पहिलो लहरमा उभिएकी एउटी महिला आफन्तझैं उसलाई सम्बोधन गर्दै थिई । त्यो जमातमा उसले उसको छिमेकी तेजबहादुर घर्तीलाई पनि देख्यो । कृष्णबहादुरको मन झन् डरायो । तेजबहादुर विगत सात वर्षदेखि जनयुद्धमा लागेर भूमिगत भएको थियो । उसले बुझ्यो, उसको बरन्डाभरि विद्रोहीहरू छन् । ढोका नखोली त्यसले धर पाएन । धर्मसङ्कटमा परेको त्यो मूलढोकामा पुग्यो र त्यसको गजबार खोल्यो ।

ढोका खुल्नासाथ तिनीहरू पालैपालो भित्र पसे र फेरि ढोका लगाए ।

“हामीले बिहानदेखि केही पनि खाएका छैनौं सर । सबभन्दा पहिले हामीलाई भात पकाउने मेसो मिलाउनु प¥यो । भित्र पसेर अलिकति सुस्ताएपछि सहज हुने प्रयत्न गर्दै तेजबहादुरले भन्यो ।

“यति बेला सबै सुतिसकेका छन् । सबै जना दिनभरको कामले लखतरान परेका छन् ।” कृष्णबहादुरले भरसक पन्छाउने सुर ग¥यो ।

“त्यसको चिन्ता नगर्नुस् । सामलतुमल दिनोस् । हामी आफै पकाउँछौं ।” उसले विल्कुलै सहज भावमा भन्यो । त्यसपछि भने स्थिति टार्न सकिने प्रकारको भएन । कृष्णबहादुरले सरितातिर हे¥यो । सरिता पनि ऊतिर नै हेरिरहेकी थिई । तिनीहरूका आँखा जुधे । मौन भाषामा अलिकति सल्लाह गरेझैं ती दुवै भान्छाभित्र पसे । अब अलमल गर्नुको कुनै औचित्य थिएन । कृष्णबहादुरले सरितालार्इृ चामल झिकिदिन भन्यो । ती दुवै मिलेर एकैछिनमा दाल, चामल, नून, तरकारी मसला आदि झिकिदिए र ती दुवै भान्छाबाट बाहिर निस्किए ।

नवागन्तुकहरू सबै अब भान्छामा पुगे । कसैले भात बसाल्ने तरखर गर्न लागे, कसैले तरकारी पकाउने साँगा मिलाउन थाले, कसैले तिनीहरूलाई सघाउन थाले । तिनीहरूले खाना खाइवरि त्यहाँबाट बिदा भएर तल्लो गाउँतिर सोझिँदा रातको करिव बाह्र बजेको हुँदो हो । तिनीहरू त्यहाँबाट हिँडेपछि घरका सबैले लामो सास फेरे र बत्ती निभाएर आआफ्ना ओछ्यानतिर लागे ।

लगभग एक घन्टा बित्यो, तिनीहरूका आँखामा निद्रा परेन । कसैलाई पनि निद्रा लागेको थिएन तथापि तिनीह्रू चुपचाप ओछ्यानमा पल्टिइरहेका थिए । जूनको मधुरो उज्यालोलाई चिर्दै अलिकति घाइँघुइँसँगै उत्तरतिरबाट आएको गाडिको हेडलाइटको बत्तीले अगाडिपट्टिको बाटोमा प्रकाशको लामो धर्सा को¥यो । त्यो गाडी तिनीहरूको घर अगाडिको बाटोमा पुगेपछि रोकियो र त्यसबाट सशश्त्र शैनिकको एउटा सानु डफ्फा निकै फुर्तिसाथ बाहिरतिर हामफाल्यो । प्रत्येकसित हातमा मसिनगन थियो र तिनीहरू सबै शैनिक पोशाकमा थिए ।

कृष्णबहादुर र सरिताको हंसले ठाउँ छोड्यो । तिनीहरूको जिउ जिरिङ्ग फुलेर आयो । ढोका कक्ढक्याएको आवाज सुनेपछि कृष्णबहादुरले बिस्तारै को हो भनेर सोध्यो ।

“ढोका खोल् ।” तिनीहरूको कमान्डरले कडा लवजमा हकारेर भन्यो । कुनै उपाय बाँकी थिएन । ऊ लुरुक्क परेर गयो र ढोका खोल्यो । त्यसपछि तिनीहरू ग्वारग्वारती भित्र पसे । घरका चोटाकोठा सबैतिर बत्ती बाल्न तिनीहरूले आदेश दिए । उसले त्यसै ग¥यो । तिनीहरूले सबै ठाउँ घुमेर घरका कुनाकन्तर छामे ।

“माओबादीलाई भात खुवाउने तैँ हैनस् ?” तिनीहरूमध्ये एकजनाले उसलाई हका¥यो ।
“खै कहाँ छ माओबादी ? देखा ।” अर्कोले ऊतिर मसिनगन तेस्र्यायो । सरिता, कृष्णबहादुर, भर्खरै १२ कक्षामा पढ्दै गरेकी तिनीहरूकी छोरी प्रवीना र छोरो अनिल सबैको अनुहार सोहोरिएर पँहेलो भयो ।

“मेरो बुबाको के बिराम छ र यस्तो अत्याचार गर्नुहुन्छ ?” प्रविना कड्केर बोली । कृष्णबहादुरले भित्रभित्रै अलिकति साहस थएिको अनुभव ग¥यो ।

“ए, नेता चैं त यो पो रैछे । ल यसलाई समात् ।” फौजीको नाइकेले आदेश दियो । त्यसको बोली भुइँमा खस्न पाउँदानपाउँदै दुइजना बन्दुकेले त्यसलाई पाखुरामा समाते । त्यो जोडले कराई । कृष्णबहादुर, सरिता र अनिल सबैजना प्रविनाको एउटा पाखुरामा समातेर भित्रतिर तान्दै थिए, तिनीह्रू बाहिरतिर । त्यै बेला मसिनगनको मोहोराबाट निस्केको गोली कृष्णबहादुरको छातीमा गएर धसियो र त्यो हाँगाबाट खसेको चरासरि त्यहीँ ढल्यो । त्यो अत्यास लाग्दो चिसो जूनेली रातमा त्यो पूरै सेरोफेरो थर्कने गरी निस्केको बन्दुकको आवाज विस्तारै हावाको तरङ्गमा पैmलँदै गयो र परपरसम्म पुगेर मानिसहरूका कानमा ठोकियो । तिनीहरूले त्यो आवाज सुने । तिनीहरू सबै बिउँझिए । तर, फेरि पनि तिनीहरू सास दबाएर भित्रै बसिरहे । कोही चल्मलाएन, कोही बाहिर निस्केन । आँगन कृष्णबहादुरको तातो रगतले लत्पतियो । सरिताहरू चिच्याएर रोइकराइ गर्न थाले । शैनिक टुकडी बिस्तारै पछि हट्यो र ती सबै गाडीमा खाँदिए । एकैछिनमा गाडी त्यहाँबाट बिलुप्त भयो । एकदमै स्तब्ध भएको कृष्णबहादुरको परिवारका सबै सदस्यहरू त्यो चकमन्न, चिसो, निर्जन रातको छातीलाई चिर्दै चिच्याउन थाले ।

निकै बेरपछि प्रविनाले कृष्णबहादुरको निधारमा हात राखी । त्यो पूरै शिताङ्ग भैसकेको थियो ।

धापासी ७, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 15 चैत्र, 2066

लेखकका अन्य रचनाहरु