लोकल बसको सिट

- गोपाल झापाली

प्रणय दिवशको अघिल्लो साँझ म बजारको एक रेलिँमा लेटिएर बदाम टोक्दै थिएँ । उदाश मनमा आकाशमा प्रशव अवस्थाको जून मलाई ढाडस दिदै थियो । हातको बदाम सकियो पुनः ५ रुपैयाको किन्न त्यहा बाट उठे । हात भरि बदाम लिएर आए । लाग्यो त्यो जून पनि मेरो बदाम माग्न आज धर्तीमा आउदै छ ।

बदाम लिएर आउदै गर्दा एउटा आकृती मलाई बाँया पार्दै अघि लाग्यो कसैको पाखुरो समातेर । उसैको शरीरबाट आएको मधुरो अत्तरको गन्धले मेरो नाकमा बेस्सरी मुक्का हान्यो । त्यो आकृती लाग्थ्यो मधुमासको मादकतामा उत्तेजक थियो । सायद उसले मलाई देखेन वा देखेर पनि हेर्न चाहेन । मैले नियाले उसका गाला भरि मेरा ओठका डामहरु प्रष्टै थिए । उसको फर्फराईरहेको केशबाट आएको नशा युक्त परागमा मेरो शरिरको गन्ध खुट्याउन मेरो नाकलाई कुनै मुस्किल परेन ।

म आएँ मेरो पुरानै ठाउँ , जहाँ म एक घण्टा देखि बदाम टोक्दै थिएँ । त्यस बेला त्यो जून पनि सायद बादलको ब्याक होलमा छिर्दै थियो । म आउँदा मेरो ठाउँमा अर्को कुनै जख्खु बसि सकेको थियो । उस्लाई निवेदन गरे “दाइ यो त मेरो ठाउँ हो ।” उ कडा रुपमा देखियो “यो बाटाको रेलिंग कसरी तिम्रो, वनका केरा तेरा न मेरा ।” म पुनः निहुरिए उ प्रति “हेर्नुन मेरा चप्पल, म अघि देखि यहि बसि रहेको छु । बदाम सकिएर लिन गाएको थिए ।” उ कड्कियो “यो लोकल बस हो र रु, रुमाल राखेर सिट रोक्न लाई ।” लाचार म फर्किएँ । सायद त्यो आकृतीका ओठ र गाला भरि कुदिएका मेरा ओठका बुट्टाहरु पनि त्यहि रुमाल बन्यो । जसले मेरा लागि उसको जिन्दगीको सिट रोक्न सकेन ।
लखनपुर, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 चैत्र, 2066

लेखकका अन्य रचनाहरु