यन्त्रवत् २

- कृष्ण बजगाईं

आधनिक सहरको एक कुनामा यन्त्रमानवको तमासा हेर्न भीड बढीरहेको थियो । त्यसको हाउ–भाउ, अभिनयकला पहिले नै हेरीसकेका मानिसहरु पनि फेरी हेर्न आएका थिए ।

कसैले हात मिलाए यसपटक त्यो हल्लिएन । सँगै बसेर फोटो खिचाए केही भनेन् । कसैले कोट्याए, कसैले चिमोट, कसैले झक्झकाए अहँ प्रतिक्रिया जनाएन । निकैबेर हेर्दा पनि त्यसले कुनै कला नदेखाउँदा मानिसहरु छक्क परे । पैसा दिँदा पो केही गर्छ कि भनेर उसको अगाडिको बटुकामा पैसा हाली दिए । त्यो पटक्कै चलेन । बरु बेलाबेलामा बटुकामा भरिको पैसा एउटा मानिस आएर उठाएर लैजान्थ्यो ।

लामो समयदेखि त्यो दृष्य हेरिरहेको एक जनालाई सैह्य भएनछ र सोध्यो –“ को हो तपाईं यो पैसा उठाएर लैजाने ?”

“म यो यन्त्रमानवको मालिक हुँ ।” त्यो मान्छेले भन्यो ।

“यहाँ त पहिले एक मानवले यन्त्रमानवको अभिनय गरेर पैसा कमाउँथ्यो । तपाईंले त साँच्चैको यन्त्रमानव राखेर हामीलाई के वेवकुफ बनाएको ?” भीडको अर्को ब्यक्तिले आक्रोश मिश्रित स्वरमा असन्तुष्टि जाहेर गर्यो ।

“पहिलेको यन्त्रमानवको अभिनय गर्ने पनि मै हुँ । त्यसबेला कठोर परिश्रम गरेर कमाएको पैसाले साँच्चैको यन्त्रमानव किनेर ल्याए । जसलाई हेरेर मानिसहरुले अलिकति पैसा दिन्छन् । त्यसले आफ्नो परिवारको पेट पाल्छु । म पनि त मानव नै हुँ नि । कति दिन यन्त्र जसरी खट्न सक्छु र ?”

उसको यस्तो कुरा सुनेपछि भीडका सबै मानिसहरु यन्त्रवत् भए ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 चैत्र, 2066

लेखकका अन्य रचनाहरु