थवाङ्को आकाशमुनि

- हरिहर खनाल

मिर्मिरे उज्यालो धरतीमा खस्न नपाउँदै कुखुराका भालेको ‘कुखुरी ....
काँ ....!’ को युगान्तकारी आवाजसँगै गाउँ बिउँझ्यो । पूर्वको आकाशमा बिस्तारै अबिर पोतियो । तल बेंसीमा लागेको कुहिराको पातलो पर्दा पनि सर्लक्कै हट्यो । एकै छिनपछि डाँडाको कापबाट भर्भराउँदो आगाको भकुन्डोजस्तो सुर्जे फुत्त बाहिर निस्कियो र त्यसका अनन्त किरणहरू धरतीभरि छरिए । जगत् पूरै उज्यालो भयो । जगत्सँगै थवाङ् पनि उज्यालो भयो । मनसिरीले घर–आँगन बढारकुडार गरी, गाई गोरुलाई घाँस हाली र ढोका ढप्क्याएर पानी लिनका लागि पँधेरातिर हिँडी । त्यसले कोखामा गाग्री अड्याएकी थिई, त्यसका पाइताला वर्षौं अघिदेखि हिँडिरहेको बाटोलाई पछ्याउँदै स्वाभाविक रूपमा चलिरहेका थिए, त्यसको मन भने पिरैपिरको भुमरीमा मँडारिएर पिल्सिइरहेको थियो । त्यसले पँधेरामा पुगेपछि हातमुख धोई र धोतीको फेरले पुछी, त्यसपछि धारामा पानी थापी । एक्कैछिनमा गाग्री भरियो । त्यसले गाग्री तानेपछि त्यसको मुखसम्म भरिएको पानीलाई दाहिने हातले हुत्तहुत्त पार्दै अलिकति घटाई र त्यसपछि गाग्री कोखामा राखेर घर फर्किई । पानीको गाग्री गग्रेटोमा बिसाइसकेपछि ऊ बाहिर निस्किई । भित्र पस्छे एक्लै, बाहिर आयो एक्लै, उसलाई त्यसैत्यसै उराठ लागेर आउँछ । कटेरातिर हेर्छे, गोरुले घाँस सकेछन् । उसले गोरुलाई अलिकति घाँस थपी । त्यसपछि त्यो पिंँडीको डिलमा बसेर एकछिनसम्म त्यसै टोलाएर तलतिर हेर्न थाली । आँगनमुनि बारीको डिलमा सुन्तलाको एउटा सानु बोट छ । यतिबेला त्यसका पुराना पात झरेर नयाँ चिल्ला पात देखिएका छन् । त्यसको अल्लि परतिर एउटा आरुको रुख छ । आरुका कोपिला लागेका छन् । केही दिनमा नै तिनीहरू सेताम्मे भएर फुल्नेछन् । प्रकृति वसन्त ऋतुको प्रारम्भमा नै त्यसको स्निग्ध स्वरूपमा देखिएको छ ।

“ए ठुल्दिदी !” मनमा हजार किसिमका नाना तर्क खेलाएर बसिरहेकी मनसिरीको ध्यान पल्लो घरबाट आएको आवाजले भत्काइदियो । त्यो जुरुक्क उठी र आँगनमा निस्किई ।

“किन बोलायौ बैनी ?” त्यतैतिर हेरेर उसले प्रश्न गरी ।
“आज हाम्रा मकै छरम् हैँ दिदी ! दिदीका मकै छर्दा म पर्म तिरम्ला नि !” धनमायाले ऊसित सल्लाह मिलाउन खोजी । बर्खा लागिसक्यो । बेलामा खेती नलगाए के खाएर गुजारा गर्ने । आफै नकस्सिए अरू कुनै उपाय छैन । ती दुवै महिलाको भित्री मनले यस्तै कुरा भनिरहेको थियो । मनसिरीले मकै छर्न ढिलो गर्न नहुने ठानी ।
“ठीकैछ । आज तिम्रा छरम्, भोलिपर्सितिर हाम्रा छरम्ला ।” मनसिरीले यसरी उत्तर दिई । त्यसपछि धनमायाको अनुहार पनि उज्यालो भयो ।

तिनीहरू दुवैजनाले खाना खाईवरी चाँडै नै धन्ना भ्याए र हलोजुवा काँधमा हालेर गोरु अघि लगाएर मेलातिर हिँडे । बारीमा पुगेपछि दुईजना मिलेर गोरु नारे । त्यसपछि मनसिरीले जोत्न थाली, धनमाया त्यसको पछिपछि हिँड्दै झोलाबाट मकैका गेडा मुठीमा झिकेर सियोमा हाल्दै गई । मध्यान्न बाह्र बजेतिरसम्म तिनीहरूले ठूल्ठूला दुईटा गरामा मकै लगाइसके । तिनीहरू बारीमा काममा व्यस्त थिए, सहरियाजस्ता देखिने तीनचारजना मान्छेहरू अल्लिपरतिरबाट त्यतै आउँदै गरेका देखिए ।

“यी नौला मान्छेहरू को हुन् कुन्नि फेरि पुलिस मिल्टेरी आए कि ?” तिनीहरू दुवैको मित्री मन निकै आतङ्कित भयो । “हेर त दिदी, हाम्रा गाम्मा फेरि नौला मान्छे आए । को हुन् तिनीहरू ? ।” भित्रभित्रै डरले थरथर् काँप्तै धनमायाले भनी ।

“धेरै नडराऊ बैनी, जे पर्च त्यै टर्च । डराएर पो के गर्नु ? हुने हुनामी नभै छाड्दैन ।” मनसिरीले उसलाई ढाढस दिँदै भनी । त्यसपछि ती दुवैजना यथावत् काममा लागे ।

“नमस्कार दिदी ।” निक्कै नजिक आइपुगेपछि नवागन्तुक मध्ये एकजना युवकले जुम्ला हात जोड्दै तिनीहरूतिर हेरेर भन्यो । त्यसपछि अरू तीनजनाले पनि क्रमशः ती दुईजना महिलाहरूलाई अभिवादन गरे । ती दुवैजनाले तिनीहरूतिर छड्के आँखाले अलिकति हेर्दै आफ्नो काम यथावत् जारी राखे ।

“म पत्रकार हुँ दिदी, मेरो नाम नवीन शर्मा, हामी काठमाडौंबाट आएका ।” नवागन्तुकमध्ये एक जनाले भन्यो । त्यसपछि भने तिनीहरू अलिकति आश्वस्त भए । तिनीहरूले एकपल्ट फेरि ती नवागन्तुकतिर हेरे । तिनीहरूमध्ये एकजना गोरे थियो र त्यो त्यसका सहयात्रीहरूका तुलनामा निकै अग्लो थियो । तिनीहरूमध्ये एउटी महिला पनि थिई, तर उसले पुरुषकै परिधानका लुगा लगाएकी हुनाले टाढाबाट हेर्दा त्यो पनि उनीहरूजस्तै देखिएकी थिई ।

“मेरो नाम दीपक श्रेष्ठ हो दिदी , म एकजना मानव अधिकारकर्मी हुँ ।” दीपक नाम सुन्नासाथ मनसिरीका आँखा अनायास त्यतातिर तानिए । त्यो जुम्लाहात जोडेर उनैलाई हेर्दै थियो । मनसिरीले गहिरो दृष्टिले त्यसलाई हेरी र त्यसमा दीपकलाई खोजी । अहँ, त्यहाँ कतै पनि दीपकको अंश भेटिएन । भर्खर तेह्र पुगेर चौधमा लागेको केराको गुबोजस्तो उसको मुटुको टुक्रो दीपक र उसको अगाडि उभिएको चालीसको हाराहारीको जस्तो देखिने यो दीपक, ती दुईमा कुनै कुराको समानता थिएन, उसले देखी, त्यहाँ समानता थियो त एउटै कुरामा । ती दुवै जनाको नाम एउटै थियो ।

“नमस्ते दिदी, म मञ्जु । म एकजना लेखक हुँ । साहित्य लेख्छु ।” लोग्ने मान्छेले जस्तै जिन्स प्यान्ट, टि सर्ट र क्याप लगाएर रुक्स्याक् बोकेकी तीस बत्तीसकी जस्ती देखिने त्यो युवतीले तिनीहरूलाई आफ्नो परिचय दिई र अलिकति हाँसी । आफूजस्तै महिला पुरुषसरह काँधमा काँध मिलाएर हिँडेको देखेर तिनीहरूलाई निक्कै खुसी लाग्यो । त्यसको मुस्कानको प्रत्युत्तरमा धनमाया र मनसिरी पनि हल्का किसिमले हाँसे । तिनीहरू दुवैका अनुहारबाट एक लहर उज्यालो निस्किएर तिनीहरूका आँखा वरिपरि छरियो ।

“नमस्ते, म पिटर, पट्रकार । मेरो घर यु.के. । तीन हप्ता भयो नेपाल आएको ।” गोरेले असजिलो लवजमा सजिलो किसिमले आफ्नु परिचय दियो । त्यसको बोली सुनेर ती दुवै दिदी बहिनीहरूलाई रमाइलो लाग्यो ।

“पत्रकार, लेखक र मानव अधिकारवादीसमेतको हाम्रो यो टोली युद्धग्रस्त यी क्षेत्रहरुको अध्ययन भ्रमणमा आएको हो । हाम्रो उद्देश्य यस्ता ठाउँहरूको खास वस्तुस्थितिको अध्ययन गरी सञ्चारका विविध माध्यमबाट संसारसामु राख्नु हो ।” परिचयको औपचारिकता सकिएपछि नवीन शर्माले नीहरूलाई आफ्नो मिसनको जानकारी गरायो । मनसिरी र धनमायाले उसले भनेका सबै कुरा राम्ररी बुझेनन्, तैपनि ती मान्छेहरू खराब मान्छे होइनन् भन्ने कुरा तिनीहरूलाई भित्रैदेखि लाग्यो । त्यसपछि तिनीहरू गोरुलाई सियाँलतिर राखेर आफूहरू पनि नजिकैको रुख मुन्तिर शीतलमा बसे । शीतलमा बसेपछि पत्रकार, मानव अधिकारकर्मी र लेखक सबैले तिनीहरूसित तिनीहरूका गाउँका विषयमा, तिनीहरूका गाउँले र छिमेकीका विषयमा र तिनीहरूका परिवारजनका विषयमा नाना प्रकारका थुप्रै प्रश्नहरू सोधे ।

तिनीहरूले पनि युद्ध सुरु भएयता गाउँमा घटेका घटना र दुर्घटना, अन्याय र अत्याचार आदि लगायत मानवीय त्रासदीका विषयमा तिनीहरूसित सविस्तार भने । मनसिरी र धनमायाले सुनाएका थवाङ्का मुटु नै कमाउने किसिमका कथाहरू सुनेर ती नवागन्तुकहरू स्तब्ध भए । काठमाडौं फर्केपछि त्यहाँको यथार्थ कुरा पत्रपत्रिका र साहित्यका माध्यमबाट बाहिर ल्याउने कबुल गर्दै तिनीहरू त्यहाँबाट बिदा भए । बिदा हुनुअघि नवीन, मञ्जु, दीपक र पिटर चारैजनाले मनसिरी र धनमायाले हलो जोत्दै र मकै लगाउँदै गरेका केही स्नाप फोटो खिचे ।

आज आइतबार । आइतबार आउन लाग्यो कि मनसिरीलाई एक प्रकारको छट्पटीले सताउँछ । हरेक आइतबार दीपक आमालाई फोन गर्छ र फोनमा भने पनि त्यसको आवाज सुन्न उसलाई एकप्रकारको छट्पटी हुन्छ, एक प्रकारको हुट्हुटी हुन्छ । त्यसैले, बिहान सबेरै घरधन्दा भ्याएर बस्तु–भाउलाई घाँस–पानी गरिसकेपछि मनसिरी हतारहतार गर्दै डेडकोश परको टेलिफोन बुथमा पुग्छे र पालो पर्खेर बस्छे । टेलिफोनको हरेक घण्टीले उसको तन र मनलाई त्यतै तान्छ । हरेक पटक जब फोनको घण्टी बज्छ, ऊ त्यो उसकै छोराको फोन होला भन्ने ठान्छे ।

सधैँझैं आज पनि लगभग तीन घण्टा पर्खेर बसेपछि बल्ल अपरेटरले उसलाई बोलायो । मनसिरीले रिसिभर हातमा लिई र अल्लि ठूलो स्वरमा भनी, “हेलो, बाबु हो ?”

“आमा, म दीपक बोलेको ।” उताबाट दीपकले प्रत्युत्तर फर्कायो ।
“आमा, तिमीलाई सञ्चै छ ?” दीपकले उताबाट सोध्यो ।
“म सञ्चै छु । तिमी सञ्चै छौ बाबु ?” यताबाट मनसिरीले सोधी ।
“सञ्चै छु आमा, मेरो पिर नगर, तिमी राम्ररी बस ।” दीपकले प्रत्युत्तर दियो ।

“तिमी घर कैले फर्कन्छौ बाबु ? चाडो घर नफर्क है । यी पापिस्टहरूले तिमीलाई पनि छाड्दैनन् । तिम्रो बाउलाईझैं नै तिमीलाई पनि मार्छन् बाबु, मार्छन् ।” त्यसपछि मनसिरी घुँक्कघुँक्क गरेर रुन थाली । उता दीपक पनि आमा रोएको सुनेपछि फोनमा नै रुन थाल्यो । दुवैतिरबाट रुवावासी चलेपछि टेलिफोन अपरेटरले मनसिरीलाई “नरुनोस्, फोनमा त्यसरी रोएर के गर्नुहुन्छ ?” भन्दै अलिकति अर्ति दिँदै रिसिभर लियो र टेलिफोनको सेटमा राख्यो । त्यसपछि मनसिरी सुँक्कसुँक्क गर्दै मुजेत्राको फेरले आँसु पुछ्दै बाटो लागी । त्यहाँ उपस्थित अरू मान्छेहरूसमेत उसको वेदना सुनेर स्तब्ध भए ।

बिहान जाँदा डेढ घण्टामा पुगेको बाटो, अहिले फर्कँदा मुस्किलले दुई घण्टामा छिचोलियो । मनसिरी खाजा खाने बेलामा घर आइपुगी । गोठमा गाईगोरु उग्राएर बसिरहेका थिए । सलाई देख्नेबित्तिकै तिनीहरू सबैले “ह..बाँ ........” गर्दै टाउको हल्लाए । उसले सबभन्दा पहिले पानीको बाल्टी र ढुटो लगेर डुँडमा खन्याई । ती सबै बस्तुले तन्तनी पानी पिए र अन्त्यमा नाकका फोरा फुलाउँदै मुन्टो हल्लाए । त्यसपछि उसले एक अँगालो घाँस लगेर तिनीहरूका टाट्नामा हालिदिई ।

मध्यदिनको घाममा दुई घण्टासम्म हिँडेर घर आइपुग्दा मनसिरीलाई खुब थकाई लागेको थियो । उसले पिंँडीमा गुन्द्री ओछ्याई र त्यसैमा टुसुक्क बसी । पल्लो घरमा यताउता स¥याक्सुरुक् गरेको भित्रैबाट लख काटी धनमायाले । गर्दागर्दैको काम चटक्कै छाडेर ऊ आँगनका डिलमा निस्किई ।

“दिदी कतिबेला आइपुग्यौ ?” मनसिरीतिर हेरेर धनमायाले सोधी ।
“भर्खरै आइपुगेंँ बैनी । के गरेर बसेकी छौ ? आऊ न यतै ।” मनसिरीले उसलाई बोलाई । त्यसपछि धनमाया तलतिर ओर्लिई ।

“अनि दीपक सञ्चै र’च ।” आउँदाआउँदै उसले सोधी ।
“अँ ...... सञ्चै र’च ।” मनसिरीले छोटो उत्तर दिई ।
“के भन्थ्यो ? कैले आउनु भन्यौ घर ?” उसले त्यसरी नै भनी ।
“कैले भन्नु । मैले त भरसक नआउनु भनेँ । आएर पो के गर्नु यहाँ ? कतिबेला के हुने हो थाहा छैन ।” हराएका आँखाले दक्षिणको डाँडातिर हेर्दै मलीन स्वरमा मनसिरीले जवाफ दिई । कुरा गर्दागर्दै उसका आँखा रसाएर आए । उसले धोतीको फुर्कोले आँसु पुछी र सुँक्कसुँक्क गर्दै रुन थाली ।
“नरोऊ दिदी, रोएर के गर्नु ! हुने कुरा नभै छोड्दैन ।” धनमायाले सम्झाउने लवजमा भनी । तर त्यसो भनिरहँदा त्यसका पनि आँखा डब्डबाएर आएका थिए र त्यसलाई रोक्न उसले पनि लुँगीको फेरले आँसु पुछी ।

मनसिरी निकैबेरसम्म रोइरही । त्यसलाई विगतको सम्झनाले आएर कोपर्न थाल्यो । एक समय यस्तो पनि थियो, जतिबेला लेकाली जङ्गलका पाखामा ढकमक्क लालीगुराँस फुलेसरि मनसिरीको पारिवारिक जीवनमा सुख र समृद्धिले छाएको थियो । मनसिरीको लोग्ने शिवराम पुन गाउँको हाइस्कुलमा शिक्षक थियो । ऊ बिहान घरधन्दामा पत्नीलाई सघाउँथ्यो र छोराछोरीहरूलाई पढाउँथ्यो । ऊ ठीक समयमास्कुल पुग्थ्यो । उसकी छोरी शकुन्तला र त्योभन्दा तीन वर्ष कान्छो छोरो दीपक उसैले पढाउने स्कुलमा नौ र सातमा पढ्थे । तिनीहरू बिहान बाउसितै स्कुल जान्थे र बेलुकी फेरि सँगै फर्कन्थे । तिनीहरूको त्यो क्रम तिनीहरूको स्कुल सुरु भएदेखि जारी थियो । यता मनसिरी घर समालेर बसेकी थिई । घरको यावत् धन्दा ऊ बिना हिच्किचाहट आफै ढपक्क ढाक्थी । बिहान बेलुकी लोग्ने र छोराछोरीले सघाउने कुरा आफ्नै ठाउँमा थियो, तर मनसिरी सधैँभरि एकनासले आफ्नो कर्तव्यमा जुटेकै हुन्थीे । गाउँको बीचमा एउटा सानु घर, त्यसको आडैमा गाईवस्तुका लागि एउटा गोठ, घरमुन्तिर अलिकति भित्री बारी र त्यसमा लगाइएका दुईचारओटा तुलफूलका बोट, अल्लि परतिर मकै र कोदो फल्ने बारी, बेंसीमा धान खाने अलिकति खेत र शिवरामको स्कुले जागिर । बाहिरबाट हेर्दासमेत तिनीहरूको पारिवारिक जीवन असाध्यै लोभ लाग्दो देखिन्थ्यो । मानिसहरू तिनीहरूको त्यो सानो संसारलाई मुक्त कण्ठले प्रशंसा गर्थे । “तेस्तो पो परिवार । तेस्तो पो जीवन ।” गाउँको चौतारोमा होस् वा पानी पँधेरामा, कुरैकुरामा सुखी परिवारका विषयमा कुरा चल्दा मानिसहरू शिवराम पुनको परिवारको उदाहरण दिन्थे । शिवराम पढेलेखेको शिक्षित मानिस थियो र ऊ निकै हकी स्वभावको थियो । त्यसैले पनि मानिसहरू उसको खुलेर प्रशंसा गर्दथे ।

एकदिन साँझ शिवराम सदाझैँ घर फक्र्यो । घर फर्के पनि उसको अनुहारको कान्ति भने अघिपछिको भन्दा निकै लोलाएको थियो । त्यो निभ्न लागेको बत्तीजस्तै देखियो ।

“के भयो ? सञ्चो छैनझैँ देख्छु म त ..... ।” टुसुक्क पिँडीमा बसेको शिवरामको अनुहार ताकेर मनसिरीले सोधी । उसले मन लागीनलागी लुगा फुकालेर भित्ताका काँटीमा झुन्ड्यायो र घरबस्ता लगाउने लुगा फे¥यो ।
“किन बोल्दैनौ ! भनन, मसित भन्न नमिल्ने त्यस्तो क्यै छ र ?” मनसिरी निकै गम्भीर देखिई ।

“खै के भन्नु त्यस्तो कुरो, राम्रो कुरो भए पो भन्दै हिँड्नु ।” शिवरामले मन नलागी नलागी उत्तर दियो । मनसिरीको मन उत्सुकताले झन् भरियो । दीपक र शकुन्तला पनि स्कूल ड्रेस फेरेर त्यहाँ आइपुगे । तिनीहरू सबै उत्सुकतापूर्वक शिवरामको अनुहार ताकेर बस्न थाले ।
“भनन छिटो के हो त्यो कुरा ? के भयो भनेको ?” मनसिरी आतुर थिई । त्यसपछि शकुन्तला र दीपक पनि थपिए ।
“कंसहरूले कृष्णलाई मारेछन् ।” उस्तै गम्भीर मुद्रामा शिवरामले उत्तर दियो ।
“तिमीले के भनेको यो ? तिम्रा कुरा बुझिएनन् । अलि राम्ररी खुलाएर भनन ।” मनसिरी निकै अधैर्य हुँदै थिई ।
“हाम्रो कृष्ण क्या, सिरानघरे बाउ सा’बको छोरा कृष्ण सेन ।”
“को कृष्ण सेन ? हाम्रो “इच्छुक” अङ्कल ?” शकुन्तलाले उसका बाउको अनुहारमा आँखा अड्याएर सोधी । दीपक पनि ध्यानपूर्वक तिनीहरूका कुरा सुनिरहेको थियो ।
“हो, तिमीहरूको इच्छुक अङ्कल ! तिमीहरूलाई कविता सुनाउने तिमीहरूको कवि अङ्कल ।” शिवरामले सविस्तार भन्यो ।
“कठै बरा !” खङ्ग्य्राङ्खुङ्गु्रङ परेको भावमा मनसिरीको मुखबाट आवाज निस्कियो । उसकोे अनुहार सोहोरिएर पँहेलो भयो ।
“हैन के बिराम गरेचन् र तिनले त्यस्तो ? अनि मार्नी को हुन् नि ।” उसले एकपछि अर्को प्रश्न थप्तै गई ।
“के गथ्र्यो नै त्यो बिचरोले । त्यो गाउँ आइपुग्दा के गथ्र्यो ? तिमीहरूलाई थाहा छैन र ? तिमीहामी सबैलाई बटुल्थ्यो, केटाकेटी भुराभुरीहरूलाई बटुल्थ्यो र उसले रचेका मुक्तिगीत गाउँथ्यो । त्यसले कविता सुनाउँथ्यो । पोहोर साल मात्रै यहाँ आउँदा त्यसले आफ्नो जन्मथलाको सम्मानमा ‘मेरो प्यारो थवाङ् तिमीलाई सलाम’ भनेर सुनाएको त्यसको कविता तिमीहरूले बिस्र्यौ ?” शिवरामले निकै लामो व्याख्या ग¥यो । “देश र जनताको लागि त्यसले आफ्नो प्राण उत्सर्ग ग¥यो । त्यो वीर
हो ।” निकै भावुक र गम्भीर हुँदै गएको शिवरामले उसको स्वरमा सम्मान र आदरको तरङ्ग घोलेर बोल्यो ।
“च्व् ! च्व् !! बिचरा !!! आँखामा हाले पनि नबिझाउने त्यस्तो असल मान्छेलाई कसरी मार्न सके हुनन् ती दैवहरूले ?” मनसिरी निन्याउरो मुख लाएर टोलाई ।
“अनि मार्ने ती सत्तुर को रचन् नि ?” मनसिरीले अत्यन्त भावुक मुखमुद्रामा फेरि सोधी ।
“कोे हुन्थ्यो अरू ? सरखार । सरखारले मा¥यो । पहिले समात्यो । अनि समातेपछि चरम यातना दिएर मा¥यो ।” शिवरामले मलिनु अनुहार बनाएर उत्तर दियो । उसका कुरा सुनिसकेपछि मनसिरीसँगै शकुन्तला र दीपक पनि स्तब्ध भए । तिनीहरू सबैका आँखा रसाएर आए । तिनीहरू सबैले आँसु पुछे ।
“कृष्ण अङ्कलले के बिराम गरेर मारेको बुवा पुलिसले अङ्कललाई ?” शिवरामको अनुहारमा हेरेर दीपकले सोध्यो । शिवराम एकोहोरो मुद्रामा परतिर हेर्दै थियो, छोराको आवाजले उसलाई खिच्यो ।”
“के बिराम गथ्र्यो नै त्यो बिचरोले । त्यसले जनताका मुक्तिका लागि थवाङ् र लिवाङ्का विषयमा कविता लेख्यो । नीलगिरी पहाडमुनिका दुःखी गरीबका विषयमा गीतहरू लेख्यो, पहाड र तराईका शोषित पीडित जनताका विषयमा साहित्य सिर्जना ग¥यो । त्यसको कलमदेखि थर्कमान भएको सरकारले त्यसलाई मा¥यो ।” शिवरामले त्यसका मनमा लागेका कुरा त्यसका जहानसित पोख्यो ।

केही दिनपछि थवाङ्को स्कुलमा कृष्णसेन ‘इच्छुक’ को सम्मानमा एक श्रद्धाञ्जली सभाको आयोजना गरियो । सभामा विभिन्न व्यक्तिहरूले उनको तस्वीरमा फूलमाला चढाए र उनको सरल र सहज स्वभाव, मिलनसारिता, विनम्रपन र सबभन्दा बढी देश र जनताका निम्ति उनले देखाएको त्याग, बलिदान र समर्पणको भावनाको सबैले मुक्त कण्ठले प्रशंसा गरे । कृष्णसेन ‘इच्छुक’ ले केही वर्षअघि त्यही स्कुलबाट प्रवेशिका परीक्षा पास गरेका थिए । बोल्ने क्रममा शिवराम पुनले पनि उनको प्रशंसामा निकै लामो भाषण दिए र श्रोताहरूलाई उनको जीवनबाट पाठ सिक्न अनुरोध गरे । सबै श्रोताहरू शोकमग्न मुद्रामा स्तब्ध भएर उनको भाषण सुने । शब्द श्रद्धाञ्जलीको अन्त्यमा उनले भने :-
“कृष्णसेन यतिबेला हामीबीच छैनन् र पनि उनका विचारहरू हामीसित छन्, उनले देखाएको त्याग र बलिदानको बाटो हाम्रो अगाडि छ । उनी शारीरिक रूपमा यस धरतीमा नभए पनि उनका अत्यन्त उच्च विचारहरू नेपाली श्रमजीवी जनताबीचमा अनन्तकालसम्म रहिरहने छन् ।”

श्रद्धाञ्जली सभा टुंगिएपछि मानिसहरू भारी तन र गरुङ्गो मन लिएर आ–आफ्ना घरतिर लागे । शिवराम पनि गाउँले र छिमेकीहरूसँगै घरको बाटो सोझियो ।

राति खाना खाइसकेर सुत्ने बेलामा बाहिर आँगनमा मानिसहरूका पदचापको आवाज आएजस्तो लाग्यो । केटाकेटीहरूलगायत मनसिरी र शिवराम दुवैले ध्यानमग्न किसिमले टाठा कान लगाएर सुने । नभन्दै रहेछ । तिनीहरूले ढोका ढक्ढक्याएको आवाज सुने ।

“को हो बाहिर ?” शिवरामले शान्त मुद्रामा सोध्योे ।
“काका हामी हौं । ढोका खोल्नोस् न ।” बाहिरबाट एउटा सुपरिचितजस्तो लाग्ने एउटा आवाज आयो । शिवरामले ढोकाको गजबार खोल्यो र लालटिन लिएर बाहिर निस्कियो । लालटिनको उज्यालोमा उसले देख्योे कम्ब्याट ड्रेसमा तीनजना युवक र एक युवती अनि सामान्य वेशभूषामा एक महिला आँगनमा उभिएका छन् । उसले ढोका खोलेपछि तिनीहरू सबै भित्र पसे । भित्र साँगुरै थियो, तैपनि तिनीहरू सबै यताउती मिलिजुली बसे । बत्तीको मधुरो प्रकाशमा कम्ब्याट ड्रेसका ती युवाहरूको कुमको पी.एल.ए.र कलरका दुवै फुर्काका तारा चिन्हहरू प्रष्टै देखिएका थिए ।

“हामी पार्टीका तर्फबाट तपाईंलाई धन्यवाद दिनका लागि आएका हौ शिवराम सर ।” आगन्तुकमध्ये सामान्य परिधानमा भएकी महिलाले छोटो टिप्पणी गरी ।
“के का लागि !” आश्चर्यचकित मुद्रामा शिवरामले प्रतिप्रश्न ग¥यो ।
“दिउँसो शोकसभामा तपाईले कवि इच्छुकका विषयमा जुन उद्गार व्यक्त गर्नु भयो त्यसैका लागि ।” उसले प्रस्ट्याउन खोजी ।

“त्यसका लागि तपाईंहरूलाई धन्यवाद । तर मैले त एउटा गाउँले दाजुका हैसियतले, एउटै पँधेराको पानी खाएको हिसाबले जे देखेंँ त्यो भनेको हुँ । मैले त उनलाई जसरी चिनेको थिएँ त्यै कुरा, त्यसरी नै बताएको हुँ ।”
शिवराम अति सामान्य किसिमले पेस भयो ।

“हामी त्यसैका लागि धन्यवाद दिन चाहन्छौं ।” उसले फेरि भनी ।
“तपाईंहरूको धन्यवादलाई मैले स्वागत गर्नै पर्छ । तर उनी मेरा एक असल गाउँले छिमेकी भाइ हुन् । तपाईंहरूले मेरो र उनको सम्बन्ध यत्ति नै बुझ्दा राम्रो हुन्छ । त्यसभन्दा पर हाम्रो अरू कुनै कुरा छैन । तपाईंहरूलाई थाहा हुनुपर्छ म एउटा सानु पारिवारिक डुङ्गा हाँक्तै गरेको एकजना सामान्य शि “हामीहरू पनि तपाईंलाई त्यसरी नै बुझ्छौं र त्यो नै हाम्रो लागि काफी छ ।” उसले साङ्केतिक रूपमा उसलाई सम्झाउन खोजी ।
क्षक हुँ ।” शिवरामले आफूलाई भरसक पन्छाउने प्रयत्न गर्दै आफ्ना कुरा राख्यो ।

एकछिनपछि तिनीहरू सबैले पालैपालो शिवरामसित दरो हात मिलाए, मनसिरीलाई नमस्कार गरे, शकुन्तला र दीपकतिर हेरेर बस है भाइ बहिनीहरू भन्दै हात हल्लाए र ढोकाबाट बाहिर निस्किए । तिनीहरू एकैछिनपछि अँध्यारोमा बिलाए ।

एकदिन कृष्णसेन “इच्छुक”को शोकमा स्कुल बन्द गरिएको थियो । उनी एक समयमा केही महिनाका लागि त्यो स्कुलको शिक्षकसमेत भएर काम गरेका थिए ।
पर्सिपल्ट बल्ल स्कुल खुल्यो । चार बजेको छुट्टी भएपछि शिवराम पुन गाउँका विद्यार्थीहरू र अरू शिक्षकहरूसित सँगै घरतिर उकालो लागे ।

झम्केसाँझ पर्नै आँटेको थियो । ग¥यापग¥याप बुट बजार्दै सातआठजना मानिसहरू शिवरामको आँगन कुल्चन आइपुगे । सबै घरैमा थिए ।
“शिवराम भनेको तिमी नै हो ?” आगन्तुकमध्ये एकजनाले सोध्यो ।
“ज्यू, शिवराम भन्ने म नै हँु । कति काम थियो होला कुन्नि ?” शिवरामले सहज भावमा भन्यो ।

“माओवादी पाल्ने तँै होइनस् ?” तिनीहरूमध्ये एकजनाले उसलाई हका¥यो ।
“खै ? माओवादी कहाँ छ ? निकाल् ” तिनीहरूमध्ये अर्को एकजना कुल्र्यो । शकुन्तला र दीपक डरले थरथर काप्तै भित्र कुनातिर लुकेर झ्यालको अन्तरबाट बाहिर हेर्न थाले । मनसिरी चाहिँ शिवरामकै आडमा आएर उभिई ।
“मलाई के थाहा हजूर । म त एकजना शिक्षक हुँ ।” शिवरामले प्रतिवाद गर्ने प्रयत्न ग¥यो ।

“अस्ति स्कुलमा भाषण गर्ने तँै हैनस् ?” अर्कोले खप्की लगायो ।
“त्यो त हेर्नुस्,” त्यसले अलि धैर्य भएर भन्यो, “मैले मेरो एकजना गाउँले भाइको मृत्युमा शोक व्यक्त गरेको हुँ”
शिवरामको प्रत्युत्तरले आगो भएको एक सैनिकले क्रुद्ध मुद्रामा त्यसलाई खाउँलाझैँ गरेर हे¥यो र हातको एस्एम्जी त्यसको छातीतिर तेस्र्यायो । अचानक उत्पन्न हुन आएको त्यस्तो स्थितिदेखि किंकर्तव्यविमूढ भएको शिवराम त्यसै टोलाइरह्यो । फौजीले त्यसको हातको बन्दुकको स्ट्राइकर विस्तारै आफूतिर तान्यो । त्यसपछि त्यसको मोहोराबाट निस्केको आगाको गोला त्यसका छातीमा गएर धसियो र त्यो आँगनमा डङ्रङ्ग लड्यो । मनसिरीको वरिपरि अन्धकार छरियो । त्यसको मुटु फुट्लाजस्तो भयो । दीपक र शकुन्तला पनि चिच्याउँदै बाहिर निस्किए । तिनीहरू तीनजना भएर कोकोहोलो हालेर कराए । तिनीहरूले गुहार मागे । तिनीहरूको आवाजले पूरै गाउँ ब्युँझियो । हातमा टर्चलाइट र लालटिन लिएर मानिसहरू चारैतिरबाट त्यहाँ जम्मा हुन थाले । तिनीहरू त्यहाँ आइपुग्नुभन्दा पहिले नै ती सैनिकहरू निक्कै पर पुगिसकेका थिए र तिनीहरू एक्कैछिनमा अँध्यारोमा हराए । त्यहाँ पुग्दा गाउँलेहरूले देखे, शिवरामको निर्जीव शरीर आँगनमा लडिरहेको थियो र धनमाया मनसिरीलाई समातेर बसिरहेकी थिई । शकुन्तला र दीपक बिलौना गर्दै रोइरहेका थिए ।

भोलिपल्ट शिवरामको अन्त्येष्टिपछि पूरै गाउँ शोकमग्न भयो । मानिसहरूको मुटु दिन प्रतिदिन डरले थरथर काँप्न थाल्यो । त्यसपछिका केही दिनसम्म गाउँ एकदमै शुनसान र चकमन्न भयो । सबै मानिसहरू सास दबाएर हिड्न थाले । मानिसहरू चुपचाप आप्mना काममा जान्थे र दिनभरि काममा जोतिएपछि साँझ फेरि चुपचाप घर फिर्थे । गाउँ एकदमै शान्त थियो, तर त्यो शान्ति स्वाभाविक शान्ति नभएर एक प्रकारको मुर्दाशान्ति थियो ।
केही दिनपछि गाउको आवादी पातलो हँुदै गएको महसुस गर्न थाले मानिसहरूले । गाउँका लोग्नेमान्छेहरू एकजना दुईजना गर्दै गाउँबाट बाहिरिन थाले । गाउँ क्रमशः पातलो आवादीमा फेरियो । एक पटक यस्तो समय पनि आयो जतिबेला गाउँमा बुढाबुढी र स्वास्नी मानिसबाहेक अरू कोही पनि रहेनन् । मानिसहरू ज्यान जोगाउनका लागि भने पनि गाउँ छाडेर हिँड्न थाले । गाउँमा बचेखुचेका जो लोग्नेमानिहरू थिए तिनीहरू पनि काला पहाड जाने सल्लाह मिलाउन थाले । त्यसको करिब पन्ध्रदिनपछि मानिसहरूको एक जमात गाउँबाट हिँड्ने तयारी गर्न थाल्यो ।

“जाऊ बाबु दीपक तिमी पनि जाऊ, नबस यहाँ । तिमी यहीँ बसिरह्यौ भने तिम्रो पनि उही हालत हुन्छ । सत्तुरहरूले तिमीलाई पनि छोड्दैनन् बाबु अब ।” रुँदै मनसिरीले भनी ।

भोलिपल्ट कालापहाड जाने मानिसहरूको हुलमा मिस्सिएर दीपक पनि घरबाट हिँड्यो । दीपक गएको निकैवेरसम्म मनसिरी र शकुन्तलाले त्यो बाटोतिर हेरिरहे । करिब आधा घण्टा हिँडेपछि मानिसहरूको त्यो हुल डाँडाको कुइनेटोबाट उतापट्टि लाग्यो र त्यो तिनीहरूका नजरबाट बिलायो ।

दीपक कालापहाड झरेको एकहप्ता नपुग्दै एकदिन कम्ब्याट ड्रेसको कलरमा रातो तारा भएका केही युवाहरू फेरि तिनीहरूको आँगन कुल्चन आइपुगे । शकुन्तलाले देखी, त्यो हुलमा गतसाल ऊसँगै एउटै कक्षामा पढ्ने दुईजना युवती पनि थिए । तिनीहरूमध्ये एउटीले शकुन्तलाको हात समातेर भनी ः–
“जाम् बैनी हिँड । जिते हाम्रा अगाडि सारा संसार छ, हारे हातका यिनै जञ्जिर त हुन् ।” शकुन्तलाले उसका कुरातिर त्यति ध्यान दिइन । तर त्यसलाइउसका बाबुको छातीमा पड्केको आगोको गोलाको आवाजले भने घरिघरि खुबै सताइरहेको थियो ।
“आमा एक्लै हुन्छिन् । धेरै दुःख पाउँछिन् कि ?” त्यसले मनमनै यस्तो ठानी ।

“ठीकै छ दिदी, मैले तपाईका कुरा बुझेँ । बिस्तारै विचार गरम्ला ।” शकुन्तलाले यस्तो जवाफ दिई । त्यसपछि तिनीहरूले शकुन्तलासित दरो हात मिलाए र त्यहाँबाट बिदा भएर हिँडे ।

समय त्यसको गतिमा हिड्दै थियो । केही दिनपछि कलरमा रातो तारा भएका ती मान्छेहरू फेरि त्यहाँ पुगे । त्यो दिनमा पनि शकुन्तला घरमा एक्लै थिई ।

“शकुन्तला बैनी,” त्यसका आँखामा आँखा अड्याएर उसकी साथीले भनी, “तिम्रा बुवाको के अपराध थियो भन त बैनी ? के त्यो कुराले तिमीलाई पोलेको छैन ?” शकुन्तलालाई लाग्यो, उसले ठीकै भन्दै छ । शकुन्तलाले मनमनै अठोट गरी र आफैसित भनी, “जे त होला, परी आएको टर्ला ।” त्यसले यसरी सोची र मसक्क आँटेर हिँड्ने विचार गरी । आमा तल्लो बारीमा गएकी, आइपुगेकी थिइनन् । शकुन्तलाले ढोका ढेपी र पिँडीबाट तल झरी । त्यसपछि, ज्ञानको खोजीमा राजपाट त्यागेर अनन्त यात्रामा हिँडेको सिद्धार्थझैँ शकुन्तला पनि तिनीहरूसँगै त्यहाँबाट हिँडी । केही बेरमा नै तिनीहरू गाउँको सिरानमा पुगे र एकैछिनपछि डाँडाको नाक काटेर पल्लो भेकतिर लागे ।
मनसिरी घर आइपुगेपछि यताउता हेरी, शकुन्तलाको कतै साइँसबद मिलेन । साँझ धनमाया र ऊ बसेर निक्कैबेरसम्म शकुन्तलाका विषयमा, शिवरामका विषयमा र गामठामका विषयमा कुरा गरे । दुःखसुखका विषयमा कुरा गरे ।
“छोड्द्यौ दिदी, अब चित्त बुझाऊ । दुनियाका छोराछोरी गएका छन् । राम्रै गर्चम् भन्चन्, गर्लान् नि त ।” धनमायाले सम्झाउने शैलीमा भनी ।

साथीहरूसँगै शकुन्तला कहिलेकाहीँ गाउँमा झुल्कन्छे । तर त्यो पहिलेकी शकुन्तला नभएर अर्कै शकुन्तला भएकी छे, विल्कुलै फेरिएकी । त्यसरी फेरिएकी शकुन्तलाले समयसमयमा आमालाई पनि भेट्छे ।
“ नआत्तिनु आमा, एकदिन भाइ पनि अवश्य नै फर्कने छ र म पनि आउने छु । तपाई केही समय धैर्य गरेर बस्नुस् ।” शकुन्तलाका कुराले मनसिरीको मनमा अलिकति ढाढस मिल्छ ।

भर्खर तेह्र वर्ष पुगेर चौध लाग्न थालेको उसको नाबालक छोरो दीपकको संझनाले भने उसलाई खुबै सताउँछ । यतिबेला शिवराम बितेको पनि बीस महिनाजति भैसकेको छ र दीपक काला पहाड गएको पनि डेढ वर्ष नाघिसकेको छ । आजकल मनसिरीलाई अरूभन्दा पनि दीपकको सम्झनाले निक्कै सताउन थालेको छ । हरेकजसो आइतवार दीपक आमालाई फोन गर्छ दिल्लीबाट । दिल्लीको एउटा होटलमा ज्याला मजुरी गरेर कमाएको कमाइको अधिकांश भाग ऊ आमालाई फोन गर्दामा नै सिध्याउँछ । हरेक फोनमा दुवै आमाछोरा एकछिन सञ्चो बिसन्चो सोध्छन् र धेरै समय रुन्छन् । दीपकलाई फोन गरेर आएपिच्छे पिंँडीमा बसेर मनसिरी मुगलानको आकाशतिर हेर्छे ।
आज पनि ऊ त्यसरी नै हेर्दै छे । देख्छे, अगाडिपट्टि क्षितिज किनारासँगै जोडिएको आकाशमा रुइको थुप्रोजस्तो एक टुक्रा बादल तलदेखि माथितिरसम्म उठेर आकाशमा फैलिएको छ ।

“मेरो दीपक बस्ने काला पहाड भन्ने ठाउँ धरती र आकाश जोडिएकोजस्तो देखिने त्यै डाँडापारी हुनुपर्छ ।” मनसिरीको मनमा केही यस्तै भावना पलाउँछ । मनसिरी कल्पनामा डुबिरहेकै बेला धनमायाले चर्को स्वरले उसलाई बोलाई । त्यै बेला एकजोर ढुकुर भुर्र उडेर आएर बारीका डिलको आरुका रुखमा बसे र “ढुकुर कुर् कुर् कुर् ” गर्दै कराउन लागे । मनसिरीले एकफेर लामो सास फेरी र सबै
कुरा बिर्सेर धनमायाका घरतिर उकालो लागी ।

भरतपुर क–१२/१५

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 फागुन, 2066

लेखकका अन्य रचनाहरु