नयाँ साइत

- विश्वास दीप तिगेला/

नग्न रुखहरुलाई
पछ्यौरीले छोप्दै
भावना बोकि
माया बाड्न सिपालु तिमी

पुस, माघको कठ्ग्रिने जाडोमा
लकलक काँपेको ओठ देखेर
एकभारी सिरक बाँड्ने तिमी

धम्मरधुस्सा कुहिरोमा
निसासिएको देखेर
डाँडा पारी पारी उडेर
खबर बाँडन सिपालु तिमी

बेसी झरेको
छङछड बग्ने पानी
उभौली चढेका
माछा माथि चढि
दोभान र कुइनेटा सम्म
आउछौ तिमी

खुलेको बिहान
हिमालको टाकुरा चढि
मुस्कुराउदै साँझ सम्म
पखि रहने तिमी

हलो, कोदालो र कुटोको
वीड र पाता भाँच्दै
खेतवारीका डल्ला संग
युद्ध गर्दै
आसा बाँड्ने तिमी

आकाशमा उड्ने
कर्‍याङकुरुङको हुल संगै
दक्षिणबाट उत्तरको यात्रा
लालीगुराँसको बोट सम्म पुग्छौ तिमी

ढकमक्क वनभरी फूलेको
लालिम्य फूल संगै
नयाँ उमङ्ग र खुसियाली
बाँड्ने गर्छौ नयाँ बर्ष तिमी
यो नयाँ साइतमा ।


विश्वास दीप तिगेला
कोसभो, सिलिम लाइन
०३ अप्रिल २००७

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु