पोइटिङ्ग्रे

- डा. रविन्द्र समिर

शिक्षा एवम् पेसामा समान स्तर भएकोले म र श्रीमती एकअर्कालाई कहिले ‘तपाई’ त कहिले ‘तिमी’ भन्ने गर्दथ्यौँ । हामीहरू खाना पकाउने, कपडा धुने, घर सफा गर्ने तथा भाँडा माझ्ने काम सँगै गर्दथ्यौँ ।
‘ल हेर ! स्वास्नीलाई पनि तपाई भन्ने ? आइमाईले गर्ने काम आफैँ गर्ने ? पढेर के गर्नु, मान्छे त जोइटिङ्ग्रे नै रहेछ’ – समाजको विशेषण एवम् विश्लेषण थियो यो ।
‘आफ्नो श्रीमान्लाई पनि तिमी भन्ने ? घरको काम लगाउने ? कस्ती नकच्चरी !’ उसले सुनिरहने वाक्यांश थियो यो ।

समयको बहावसँगै विस्तारै म पनि परिवर्तन हुन थालेँ । श्रीमतीलाई ‘तँ’ भन्न थालेँ, घरको काम गर्न छाडेँ । प्रायःजसो रक्सी धोकेर श्रीमतीलाई अकारण पिट्न थालेँ । समाजले मलाई सुध्रिएको देख्यो र स्याबासी दिन थाल्यो ।
००
मेरो असमान एवम् अमानवीय व्यवहार श्रीमतीले चुपचाप सहेर बसिरही । मेरा हरेक क्रूर व्यवहारलाई पनि उसले शिरोधार्य गर्न थाली । यतिसम्म कि उसले मेरो खुट्टा मिच्न थाली, खुट्टाको जल खान थाली ।
तर अफशोच ! सहकार्य र सम्मानमा उसलाई साथ दिँदा मलाई ‘जोइटिङ्ग्रे’ भन्नेहरूले उसलाई ‘पोइटिङ्ग्रे’ विशेषण दिएनन् ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 19 फागुन, 2066

लेखकका अन्य रचनाहरु