नेपाली नाट्य परम्परामा नवीन प्रयोग : आत्मिक ज्वाला

- तुलसी प्रवास

सानो एउटा ३५ पृष्ठको पुस्तक, अमूर्त आवरणले सजिएको , मलाई सप्रेम भेट भनी लेखकको हस्ताक्षर सहित प्राप्त भयो । पुस्तकको शीर्षक थियो ‘आत्मिक ज्वाला’ र विधा थियो ‘गजल नाटक’ । शीर्षकले त त्यति मन छुन सकेन मेरो किनभने आजभोलि साहित्यिक कृतिको नाममा भए नभएका शब्दहरु थुपारेर शीर्षक राख्ने चलन बढ्दो छ । शीर्षक पनि आकर्षक आवरण पनि के—के नै होला जस्तो तर भित्र हेर्दा खोक्रो रित्ता कृतिहरु बजारिया मूल्यमा छ्यापछ्याप्ती पाइन थालेका छन् । आत्मिक ज्वाला र त्यसको केही तल सानो अक्षरमा गजल नाटक देखेपछि मेरो मन त्यतैतिर तानियो । नाटक गद्य र पद्य दुवै शैलीमा लेखिन्छन् भन्ने कुरा त थाहा थियो । तर पद्य भन्नाले कविता शैली भन्ने बुझिएको थियो र त्यसको उदाहरण बालकृष्ण समका थुप्रै नाटकहरुलाई दिने गरिन्थ्यो । गजल नाटक भन्नासाथ नाटकभित्र कताकति गजलको प्रयोग होला भन्ने ठानेको थिएँ हतार हतार पुस्तक पल्टाएर पढ्न थालेँ । पढ्दै जाँदा ती गजलका शेरहरुले मेरो मन ंिखच्दै खिंच्दै लगे । पुस्तक नसिद्धयाइकन छोड्नै मन लागेन । प्रस्तुत कृतिमा गजलका आधारभूत नियमहरु पूरा भई रदिफ, काफिया ,मतला, मकता आदिको उचित प्रयोग गरेर आकर्षक शैलीमा संवाद अघि बढ्दै गएर एउटा कथाको स्वरुप धारण गरेको छ । नाटक पढ्दै जाँदा गजलका शेरहरु भित्र आफै डुबुल्की मारेझैं लाग्यो , गजलका लयमा नुहाएझैं महसूस भयो ।

‘आत्मिक ज्वाला’ गजल नाटकका स्रष्टा हरिप्रसाद लम्फू हुन् । वास्तविक थर अधिकारी भएपनि हरिप्रसाद लम्फू उपनामको माध्यमबाट उनी चिनिन चाहन्छन् । वि.सं.२०३९ पौष १० गतेका दिन पिठौली—२, नवलपरासीमा पिता शिवलाल अधिकारी र माता देवकी अधिकारीको कोखबाट उनको जन्म भएको हो । अध्ययन र अध्यापन पेशामा संलग्न लम्फूको यसअघि २०५८ सालमा ‘पीडाका धक्बाहरु’ नामक गजल संग्रह प्रकाशित भैसकेको छ । ‘अमिट स्मृति’ हवाईपत्रिका , ‘अस्तित्व’ साहित्यिक पत्रिका र श्रद्धा, साहित्य कुञ्ज नवलपरासी जस्ता संस्थाहरुसँग संलग्न लम्फू कलिलै उमेरदेखि गजल लेखनमा लागेका व्यक्तित्व हुन् । हाल नवलपुर सेकेन्डरी बोर्डिङ स्कूलमा शिक्षकको रुपमा रहेका उनी विद्यार्थी र साथीभाइका बीचमा अत्यन्तै सहृदयी र मिलनसार व्यक्तिको रुपमा परिचित छन् । मनभित्र नाटकीय भाव लिएर हिँड्ने तर प्रस्तुतिमा गजल गाउनु उनको विशेषता हो । गजलमै संवाद भरेर एउटा मीठो र समसामयिक कथाबस्तुका साथमा सिर्जना गरिएको नाटक हो प्रस्तुत आत्मिक ज्वाला । नेपाली साहित्यमै यसकिसिमको कृति देखिनु नाटकीय परम्परामा नवीनतम प्रयोग मान्न सकिन्छ ।
आत्मिक ज्वाला नाटकको कथा एउटा मसानघाटबाट आरम्भ हुन्छ । यत्रतत्र मानव अस्थिपञ्जरहरु छिरलिएको उक्त घाटमा ती अस्थिपञ्जरहरुले बिस्तारै बिस्तारै मानव आकृतिमा परिणत भएर नाटकको कथा आरम्भ गरेका छन् । अनकण्टार जंगलको बीचमा पुरुष —१ र पुरुष—२ नामक पात्रहरु गोली लागेर छट्पटाइरहेको देखिन्छ । पुरुष—१ सरकारी सैनिक हो भने पुरुष —२ विद्रोही पक्षको सैनिक हो । घिस्रिदै र छट्पटिंदै नजिक पुग्दा एउटै आमाका सन्तान अर्थात् दाजु भाइको चिनजान हुन्छ ।

मेरो मुटु मेरो रगत, यहाँ आयौ कसोरी तिमी
हावामा हराई समीपबाट ,बिलायौ कसोरी तिमी

पुरुष —१ लें आफ्नो भाइ पुरुष —२ लाई जीवनमा आइपर्ने यस्ता अनेकौं अप्ठ्यारासँग सामना गर्नुपर्छ भन्ने सन्देश दिन्छन् । लेखकको जीवनदर्शन पुरुष—१ कोे मुखबाट यसरी मुखरित हुन्छ

फुली फूल नझरेको बीउ कहाँ छ र ?
नदुखाउने भित्रीमन चोट कहाँ छ र ?
पृष्ठ —८
दिनरात जंगलको बसाइ, खानु न पिउनुको चोट भाइ—भाइको युद्धले चिरिएको छाती लिएर यी पात्रहरु छट्पटाइरहन्छन् । नाटकको पहिलो अंक यस्तै यस्तै पीडाले भरिएको छ । अन्तमा दुवै दाजुभाइको मृत्यु हुन्छ र पहिलो अंक समाप्त हुन्छ ।
नाटकको दोस्रो अंक ५ वर्ष अगाडिको घटनाबाट सुरु हुन्छ । यसको पहिलो दृश्यमा पुरुष —२ र स्त्री— १ का बीचको प्रेमप्रसङ्ग , पुरुष—२ ले घर छाडेर विद्रोही बन्नाका कारणहरु स्पष्टसँग देखाइएको छ । प्राकृतिक छटाहरुको सुन्दर चित्रण , त्यही प्राकृतिक वातावरणमा मौलाएको पुरुष —२ र स्त्री—१ को प्रवित्र प्रेम यस अंकका महत्वपूर्ण पक्ष हुन ।

प्रतिविम्ब मृग कुद्ने ढुङ्गेबगर वारी मेरो
उस्तै तस्बिर गौरब हिमाल, टहटह पारी मेरो
मयूर जोडी मन्त्रमुग्ध, महादेव पार्वती झैं
मनै छुने नारायणी धान झुल्ने बारी मेरो
पृष्ट १६—१७

दृश्य २ मा गएर पुरुष —२ को बाबु बिरामी भएको, गरिबीको चपेटामा परेको समस्याग्रस्त परिवारको चित्रण छ । मृत्युको मुखमा पुगिसकेका बाबुको जीवनप्रतिको वैराग्य र आफ्ना छोराहरुका लागि दिएका अन्तिम उपदेशहरु यस दृश्यमा गहना बनेर आएका देखिन्छन् जस्तै ः

वाहियात माया इष्र्या डाह गर्छौँ हामी
एक्लै आई एक्लै आखिर मर्छौ हामी
मेरो आफ्नो पराई अर्काे भ्रम आवरण
आपतमा अलपत्र झन पर्छाँै हामी
दौडधुप फजूल यात्रा गर्वित मान्छे
्व्यवहारमा नीचतामा झर्छाै हामी
पृष्ट—२६

मृत्युरुपि कालो पर्दाले जीवनलाई ढप्लक्कै छोप्न खोज्दा हरेक मानवमा देखापर्ने जीवनप्रतिको बैराग्य भाव , विगतमा मान्छेले गर्ने तेरो—मेरो, अहङ्कार, इष्र्याप्रति पश्चाताप यस दृश्यमा पुरुष —३ अर्थात बाबुको मुखबाट व्यक्त गरिएको छ । पुरुष—३ को मृत्यु र त्यसैको ६महिनापछि नै पुरुष—२ ले स्त्री —२ लाई विवाह गरी घर भित्र्याई आफू भूमिगत भएको प्रसङ्गबाट अंक २ ले बिट मार्ेको छ ।

आत्मिक ज्वालाको तेस्रो अंकमा ५ वर्षछिको समय उल्लेख छ । स्त्री २ अर्थात आमाले उता जङ्गलमा दुई छोराको मृत्यु भएको समयमा घरमा अनुमान गरेको अशुभ सङ्केत देख्न सकिन्छ । जस्तै ः

विहान विहान काले कौवा करायो केटी
दाहिने आँखा मेरो आज फर्फरायो केटी
आधा हरै झम्झमायो गरुँ कसो मैले
अशुभ हो यो मेरो त मन डरायो केटी

घरमा आमा र श्रीमतीलाई छाडेर दाजु चाहिँ सरकारी सैनिकमा र अर्काे भाइचाहिँ विदो्रही सैनिकमा भर्ती भएको र अन्तमा लड्दा लड्दै दुबैको मृत्यु भएको नेपाली समाजको केही समय अघिको यथार्थ यस अंकमा आएर उद्घाटित भएको छ । छोरा आउने आसमा आँगनीको डिलबाट मुलबाटो हेरिरहेकी बूढी आमा र दशैँमा श्रीमानसँगै माइतीको हातबाट टीका थाप्न जाने रहर पालेर बसेकी श्रीमतीको चित्रण यस अंकमा छ ।


दशैं तिहार हर्षित आँगन खाली छ र रुन्छु
यता हेर्छु उराठ यो पाली छ र रुन्छु
....................................................................

सम्हालेर रगत डल्ला फक्रिएका फूल
लिटो जाउलो खुवाएको थाली छ र रुन्छु

यस्तै यस्तै विरह र गुनासो गर्दै बसिरहेका सासू बुहारीले रेडियोको समाचारमा आफ्ना दुवै छोरा अर्थात श्रीमानको मृत्यु भएको सुनेपछि आमा बेहोश भै ढलेर मर्छिन् भने आमाको मृत्युपछि बुहारी पनि दलिनमा पासो लाएर प्राण त्याग गर्छिन् । यसरी नाटकको कथा दुःखान्तले भरिपूर्र्ण भई समाप्त भएको छ । नाटकमा प्रयोग भएका सबै पात्रहरुको मृत्यृले नाटकको समापन मसानघाटमा तिनै अस्थिपञ्जरहरुमा गएर भएको छ ।

विगत दश वर्ष अघिदेखि नेपालमा देखापरेको विद्रोह र त्यसबाट प्रभावित नेपाली समाजको यथार्थ चित्र उतार्नु ‘आत्मिक ज्वाला’ नाटकको मूलभाव हो । युद्धले कसैलाई पनि फाइदा गर्दैन । यसको सन्त्रासबाट कसैको मन शान्त रहन सक्दैन । युद्धबाट मृत्यृुशिवाय केही प्राप्त हुदैन भन्ने वास्तविकताको पुष्टि यस नाटकका घटनाक्रमले गरेका छन् । ५वर्षको समयलाई लिएर त्यस अवधीमा एउटा गरीब परिवारमा घटेको घटना अत्यन्तै रोचक तरिकाले प्रस्तुत भएको छ । नेपालको सुन्दर प्रकृतिको चित्रण,सामाजिक व्यवहार, लोक व्यवहारमा प्रचलित कथनहरु ,पारिवारिक मेलमिलाप , गरीबीको भारले च्यापिएका मानिसहरुको बाध्यता आदि यस नाटकका महत्वपूर्ण घटनाक्रमहरु हुन् । साथमा प्रेमी प्रेमिका बीचको प्रेमालाप पनि यस नाटकमा देखा परेको महत्वपूर्ण पक्ष हो । घृणा ,प्रेम, त्याग ,जीवन, मृत्यृु आदि मानव जीवनका थरिथरिका भावहरु नाटकले समेट्न सफल भएको छ । गजलका शेरहरुले नाटकमा संगीत भरेका छन् । कोष्ठकमा दिइएको घटनाको जानकारी र गजलमा अभिव्यक्त संवादहरु दुबैको सफल संयोजन नाटकमा देखिन्छ । नेपालको तत्कालीन समयको वास्तविक चित्र उतार्नु नै यस नाटकको मूल भाव हो ।

नेपाली नाट्यपरम्पराको समसामयिक चरणमा देखा परेको ‘आत्मिक ज्वाला’ नाटक एउटा नवीन प्रयोग हो । मोफसलमा कलम चलाएर मोफसलमै हराउनेहरुको भीडमा हरिप्रसाद लम्फू पनि पर्न सक्छन् । साहित्यका विविध विधाहरु मध्ये नाटकको रचना अलि जटिल विधा पनि मानिन्छ । वर्तमान समयको अत्यन्तै लोकप्रिय विधाः गजल र जटिल विधानाटकलाई समायोजन गरेर गहन भावका साथ रचना भएको यो नाटक मोफसलबाट केन्द्रसम्म पुग्नुपर्छ । ठूला—बडा र नाम चलेका साहित्यकारहरुले जस्तो लेखेपनि चर्चामा आउने तर नव आगन्तुकहरुका सुन्दर रचनाहरु प्नि भीडभाडमै हराउने प्रवृत्तिको अन्त हुनुपर्छ । नेपाली नाटकको विकासमा ‘आत्मिक ज्वाला’ एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुन सक्नेछ । यस भित्र समेटिएको गहन भाव र नवीन शैली कुनै स्थापित साहित्यकारका भन्दा कम छैनन् । भर्खर भर्खर कलम चल्न थालेको केटौले उमेरको लेखकद्धारा लिखित यस नाटकमा कमी कमजोरी त पक्कैछन् । जस्तैः घटनाको विशृङ्खलता, गजलमा लयभङ्गता , कथानकको सतहीपन , अंक र दृश्यको कमजोर विभाजन आदि जस्ता कमजोरीहरु यस नाटकमा देख्न सकिन्छ । ५ वर्षको समय अन्तराल भित्र घटेका घटनाहरुलाई तीन अंकमा बाँडेर प्रथम अंकमा १ दृश्य, दोस्रो अंकमा २ दृश्य र तेस्रो अंकमा १ दृश्य गरी ३५ पृष्ठको संरचनामा प्रस्तुत भएको यो नाटक नाटकीय मान्यताहरुले पूर्ण नभएपनि यसको भाव पक्ष र प्रस्तुतीको नवीनताले सबैको मन खिच्न सफल भएको छ । मसानघाटमा अस्थिपञ्जरहरु मानव आकृतिमा देखा परेर घटना वर्णन गरेको र अन्तमा पुनः अस्थिपञ्जरमै रुपान्तरण भएको रोचक प्रसंगले नाटकमा स्वैरकल्पनाको प्रयोग भएको देखिन्छ । युद्धरत पक्षले राष्ट्र र राष्ट्रवासीहरुको आत्मामा ज्वाला दन्काउने र त्यही ज्वालामा डढेर सबै खरानी बन्ने भाव शीर्षकले लिएको साथै नाटकीय कथामा पनि त्यही ज्वालाले सबै पात्रहरु समाप्त भएको देखाइएकाले ‘आत्मिक ज्वाला’शीर्षक पनि सार्थक देखिन्छ । अन्तमा भर्खरभर्खर चल्न थालेको सर्जक हरिप्रसाद लम्फूको कलम अझैं तिखारियोस् । आगामी दिनहरुमा अझैं परिमार्जित र परिष्कुत शैलीका साथ प्रस्तुत हुने प्रेरणा मिलोस् र नेपाली साहित्यमा अलग पहिचान कायम गर्ने सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु ।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 18 फागुन, 2066

लेखकका अन्य रचनाहरु