छैन

- चट्याङ मास्टर

एकाबिहानै मुख छोपेको सिरक पन्छाउँदै रोमण्टिक मुडम श्रीमतीसँग सोधेँ– “के छ हालखबर ?” पसलेले योसँग कति ठगे ठीक पर्ला भन्ने निर्णय गर्न नसकेर सामान नै छैन भनेझैँ, श्रीमतीले पनि अन्कनाउँदै भनिन्– “कोही पनि छैन ।”

ज्यादै बेमोज लाग्यो । एकाबिहानै श्रीमतीको मुखबाट निस्केको शब्द नै “केही पनि छैन” । साइत–कुसाइतमा विश्वास गरिन्नथ्यो र पनि कुसाइतको झझल्को लागिहाल्यो । निकैबेर कुर्दा पनि चिया नआइपुगेकोले श्रीमतीलाई झपारें – “किन चिया नल्याएको हँ ?” श्रीमतीले मुस्कानको बदला ठुस्कान प्रदर्शन गर्दै भनिन्– “चिनी नै छैन” । एकाबिहानै भोकको झोकलाई रोक लगाउन भनेर अर्को गर्जन छाडेँ– “चिनी नै नहालेको चिया ले ।” श्रीमतीले पनि मोर्चा कस्दै भनिन्– “स्टोभमा मट्टितेल नै छैन ।” उसको मोर्चा बिथोल्न म रन्केँ– “दाउरामै भए पनि पकाएर ले ।” अब त श्रीमतीलाई पनि झाँेक चलेछ क्यारे– रन्किँदै भनिन्– “दाउरा पनि छैन ।” म पनि रन्केँ– “उसो भए बिजुलीको हिटर बाल् ।” उनी पनि तन्किइन्– “आज बत्ती नै आउँदैन ।”
चिया मात्र नभई अब त बिहानको दालभातबारे पनि सोच्नुपर्ने देख्न थाल्छु । हत्तनपत्त बजार जान मट्टितेलको टिन समाउँछु त बगलीमा पैसा पो छैन । श्रीमतीसँग मागेको त रन्केर भनिन्– “मसँग पैसा छैन ।” यसो सम्झेँ– साथी पसलेको छोरो– त्यो त जहिले पनि “दुईचार लाखको पर्वाह छैन” भन्थ्यो तर त्यही दिन एउटा देशको नोट सापटी मागेको त लाजै नमानी जवाफ दियो– “छैन ।” श्रीमतीको नकारात्मक उत्तरको अर्थ सकारात्मक भएको धेरैचोटि भोगेको हुनाले श्रीमतीलाई नै फेरि कचकच गरेपछि धोतीको गाँठो फोएर एउटा पाँचको नोट झारिदिइन् । “पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती” ऊ रिसाओस् कि खुसाओस् । उठाएँ पाँचको नोट, पुगेँ मट्टितेलको लागि लाम लाग्न । उससँग पैसा कताबाट आयो मलाई के मतलब ?

लाम लागेर मात्रै नपुगी कुपन पनि चाहिने रहेछ । कुपनका लागि टेलिफोन र टेलिफोनको लागि चिनजान चाहिने रहेछ । त्यस्तो चिनजानको लागि आफ्नो पनि मान हुनुपर्ने रहेछ । मानको कमिमा शान वा ज्ञान भए पनि पुग्ने रहेछ । मानको कमिमा शान वा ज्ञान भए पनि पुग्ने रहेछ । आफू परियो “छैन” मा । लाममा आफ्नो पालो आउन आउन मात्र के लागेको थियो, मट्टितेलको थोपोसम्म पनि सकियो र पसलेले ङिच्च हाँस्दै भन्यो– “छैन” । म जिल्ल परेँ र भिजेको बिरालो बन्दै फर्कें ।

त्यसै झोँकमा एक दुई सर्को चुरोट तान्ने तलतल लाग्छ र किन्न तम्सन्छु । ओल्लो पसल गएँ, पल्लो पसल गएँ, चुरोट नै छैन । अस्ति याक थिएन, हिजो गैँडा थिएन, आज त बिँडी बाहेक अरू क्यै पनि छैन । तमाखु खाऊँ भने आफ्नो घरमा हुक्का पनि छैन । ए छैनको पिरलो !

पेट खाली भएको सङ्केत पाउँछु र पुनः मट्टितेलको ‘छैन’ लाई पराजित गर्न तम्सन्छु । साथीको घरमा आइरहने एउटा फोनवालालाई आफूले राम्रै चिनेको छु । त्यसको सम्झना आउनेबित्तिकै ‘छैन’ को मुखमा हान्न मुक्का बलियो भएझैँ लाग्यो र टिनसहितै सिंहदरबारतर्फ लागेँ । उसको कोठामा पस्ने सुरसार मात्रै के गरेको थिएँ एउटा पियनले झपारिहाल्यो– “भित्र पस्ने अडर छैन” । आफ्नो चिनजान पूर्वजन्मदेखिकै हो कि भनेझैँ गरी नालीबेली बिस्तार लगाएपछि पस्न त दियो तर के गर्नु, भित्र आफ्नो मान्छे नै छैन ।
उसभन्दा मुनिकालाई भेट्ने जमर्को गरेँ तर कोही छैनन् । कुन बेला फर्कलान् भन्ने ठेगान पनि छैन । जागिरेलाई यो १०–५ को बन्धन पनि रहेनछ कि जस्तो लाग्यो र लुरुलुरु “नानी काँ गाको त” हुन पुगेँ ।

फर्कंदा बाटोमा एउटा अन्डरविएर यार (लगौँटीको चलन हरायो) भेट हुनुभयो । “यार के खबर छ ?” मैले सोध्नै प¥यो । “केही पनि छैन” भनेर उसले पनि भन्नै प¥यो । “के छैन भनेको” भन्दा बिचरोले निसास्सिँदै भन्यो– “चार घण्टासम्म लाम लागेँ तर मेरो पालो आउँदा सिमेन्ट नै छैन । ब्ल्याकमा किन्ने पैसा छैन । यस्तै भइरहे घर पनि छैन ।” बिचरालाई पनि मेरै रोग लागेको रहेछ । ऊ त अघाएको थियो तर म भने मेरो टिन जस्तै रित्तो थिएँ ।

“मरता क्या न करता” भन्दै एउटा पुरानो मट्टितेल पसलेलाई धम्की दिएँ– “मलाई जसरी भए पनि एक ग्यालेन मट्टितेल दिनुहोस् अन्यथा नराम्रो हुन सक्छ ।” “के लुट्न आएको ?” भन्दै पसलेले पाखुरा सुर्किहाल्यो । तागत भए त पछारिदिन्थेँ त्यस्तालाई तर आफूसँग त त्यति तागत पनि छैन । रित्तै घरमा गए झन् बँच्ने आसै छैन । ए पिरलो । बतासिँदै त्यहाँबाट भागेँ ।
‘छैन’ को भारले थिचिएर कुक्रुक्क पर्दै छैनहरूको लिस्ट बनाउने इच्छा भयो– मट्टितेल छैन, सलाई छैन, चुरोट छैन, सिमेण्ट छैन..... कति कति । फेरि एकैपटक हराउने पनि होइनन् । आज सलाई छैन त भोलि चुरोट छैन । यता सिमेण्ट छैन त उता फलाम छैन । कहिले यो पसलमा छैन त कहिले त्यो पसलमा छैन । आज दूध छैन त भोलि कागज छैन । कथंकदाचित् सामान पाइयो भने मूल्य रन्केर छोइसक्नु छैन । लाम लाग्दा र पसल चाहर्दा सास फेर्ने फुर्सत पनि छैन नै भनिदिए हुन्छ । रित्तो टिन र म उडेर धरहरामुनि यस्सो बसेका मात्र थियौँ, मेरो दर्दको बृत्तान्त सुन्न एक मित्र तम्सिए । बृत्तान्त सुनिसकेपछि मेरो अन्तर्वार्ता लिन पनि पछि परेनन्–
“कुनै मन्त्री चिनेको छ ?”
“छैन”
“कुनै गुण्डा चिनेको छ ?”
“छैन ।”
“चिल्लो लगाउन जानेको छ ?”
“छैन ।”
“सोरस–फोरस छ ?”
“छैन ।”
“तिमी त छौ ?”
मैले आप्mनो रित्तो पेट मुसार्दै जवाफ दिएँ– “छैन ।”

घर जाऊँ भने खान छैन, नजाऊँ भने बाँच्ने बाटो छैन । यता केही दिनदेखि पर्चाबाजी र नाराबाजी भएको देख्दै आएको छु । सबै भन्छन् अब भाषणमा स्वतन्त्रता छ, प्रेस स्वतन्त्रता छ, लाठीमुङ्ग्रीको स्वतन्त्रता छ, तर आफूलाई भने त्यस्तो कुनै “छ” पनि काम नलाग्ने भयो र तिनले केही लछारपाटो लगाएनन् । हिजो पनि र आज झन् बढी म यो “छैन” को चेपुवामा परेर मर्न लागेँ गुहार ! गुहार ! !

‘चट्याङ् गीता’ भाग २ (२०५८) बाट

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 18 फागुन, 2066

लेखकका अन्य रचनाहरु