मनको ‘बह’ र मस्तिष्कको ‘सह’ को शोककाव्य ‘ठूली’

- रामप्रसाद ज्ञवाली

खबर सुन्नासाथ मन सनन्न भयो । साहित्यिक कार्यक्रमकम बारेमा केही कुराकानी गर्न फोन गर्नुभएको होला भन्ने सोच्दासोच्दै शोकको खबर पाएँ । आफूलाई मातृशोक परेको नमिठो खबर उहाँले आफै दिनुभयो । उहाँको आवाजमा नजानिदो कम्पन थियो, शब्दमा विनम्रता र अर्थमा उदासी थियो, अनुभूतिमा नैराश्य र भावमा आवेग थियो अनि समग्रमा एकतमासको रित्तो र भारीपन थियो । उहाँले केही क्षण आफ्नी आमा बित्नुभएको कुरा गर्नुभयो । आमासँगका अन्तिम दिनहरूका प्रसङ्ग र आफ्नो शोकाकुल पीडानुभूति व्यक्त गरेपछि अप्ठेरो मान्दै भन्नुभयो– “मलाई थाहा छ, सर अति व्यस्त मान्छे तर तपाइँलाई नै दुःख दिन मन लाग्यो । म आमाको स्मृति र श्रद्धामा शोककाव्य लेख्दैछु । मलाई पिण्ड दिने आडम्बरमा विश्वास छैन । यस शोककाव्यको भूमिका तपाइँबाटै लेखाउन चाहन्छु । के गरूँ तपाइँलाई नै दुःख दिन मन लायो ।”

‘मैले मनमा सियोको टुप्पोले च्वास्स घोचेको अनुभूति गरेँ । नमिठो लाग्यो र सोचेँ– “ज्या ! यो दुःख दिने शब्द नभन्नुभएको भए हुने । दुःख त पराईलाई पो दिइन्छ । आत्मीयलाई त विश्वास पो गरेको !” उहाँको विनम्रता र विश्वास पनि कस्तो कस्तो असजिलो अनुभूति बनेर मभित्र घुस्यो । जो आफ्नो शोकलाई सिर्जनामा बदल्दै छ, जो आफ्नो शोकको पीडामा अरूलाई पीडित पार्न चाहन्न, जसले शोकाकुल घडीमा मसित कुनै सहयोग मागेन, जसले आफ्नो पीडाको गुनासोले मलाई सताएन, जो उल्टै ममाथि विश्वास र आस्था साँचेर आफ्नो अमूल्य शोकानुभूतिको काव्यमाथि भूमिका लेखाउन चाहन्छ, ऊ मलाई कसरी दुःख दिन सक्छ ! एकाएक फेरि मेरो मनमा अनौठो जिज्ञासा उत्पन्न भयो– “सधैँ उज्यालो अनुहार, सधैँ हँसिलो मुख, सधैँ ठट्यौलो स्वभाव, सधैँ फुर्तिलो जाँगर र सधैँ व्यङ्ग्यात्मक संवाद गर्ने यो मान्छे आमाको शोकमा भक्कानिएर हिक्कहिक्क गर्दै रोएको कस्तो देखिए होला ?” कल्पनामात्र गर्दा पनि मेरो शरीर जिरिङ्ग भयो । मनमनमा संवेदना बोकेँ र मनैमनमा संमवेदना व्यक्त पनि गरेँ । भूमिका लेख्ने समय छैैन भन्नु त सम्भव नै थिएन ।

‘ठूली !’ ठूली नामकरण गर्नुभएको रहेछ शोककाव्यको । साहित्यकार नरनाथ लुइँटेलकी आमा गाउँघरमा ‘ठूली’ नामले बढी परिचित भएकीले पनि उहाँले यस शोककाव्यको नाम ‘ठूली’ राख्नुभएको होला । भदौ नौ गते यस काव्यको पाण्डुलिपि हात प¥यो, सरर एक पाठ पढेँ– शोककाव्यमा मनको ‘बह’ र मष्तिष्कको ‘सह’ को सन्तुलन सम्मिश्रित भएर पोखिएको लाग्यो ।
साहित्यकार नरनाथ लुइँटेल मर्द अनुहारभित्र नारीकोमलता समेटेर सिर्जनारत स्रष्टा पनि हुनुहुन्छ भन्ने कुरा पाठकले यो शोककाव्य पढेपछि सहजै थाहा पाउन सक्छ । मातृवात्सल्यको निर्मल पोखरीमा मैलो पखालीपखाली नुहाएर स्वस्थ जीवन पाउने सन्ततिहरूका हृदयहरू छुने अनुभूति यस काव्यमा सङ्कलित छन् । पितृसत्तात्मक सामन्ती समाजमा आम नेपाली नारीहरूले भोग्नुपरेका अमानवीय शोषण–उत्पीडनका मार्मिक प्रसङ्गहरूले प्रस्तुत शोककाव्यलाई सामाजिक यथार्थको प्रतिबिम्बका रुपमा समेत देखाएका छन् । कविको शोकानुभूतिका साथमा सामाजिक जीवनका मार्मिक पक्षहरूको उद्घाटन पनि भएकाले यो शोककाव्य केवल भावुक छोराले आफ्नी आमाको शोकमा बगाएका आँसुमात्र नभएर एक जिम्मेवार स्रष्टाको समाजसचेत कला पनि बनेको देखिन्छ ।

‘ठूली’ कवि नरनाथ लुइँटेलका आँसुको नदीका रुपमा प्रवाहित शोककाव्य हो तापनि शोकमा बहकिएको आत्मालापी रुवाइमात्र यो काव्य होइन । यो सुन्दर भाषिक कला अवश्य हो तर जबर्जस्ती कनिकुथी परिश्रमपूर्वक तयार पारिएको कला नभई मुटु रसाएर मूल फुटेको भावनाको स्वतस्फूर्त कला हो । यसले भावुकतामा बगेर कविको रुञ्चे आँसु व्यक्त गर्दैन । यसले त मृत्यु र शोकमा डुबेर पनि जीवनको कुरा गर्छ, विनाशको पीडा खपेर पनि सिर्जनाको कुरा गर्छ, तथा अभावको छटपटी भोगेर पनि भावको कुरा गर्छ । यस शोककाव्यमा मन र मष्तिष्कको सन्तुलन पाइन्छ । यही सन्तुलन नै अन्य नेपाली शोककाव्यबाट यसको मूल पृथकता र मौलिकता हो ।

मैले अन्य नेपाली शोककाव्यहरू पनि पढ्न पाएको छु र एकाध शोककाव्यमाथि भूमिका र टिप्पणी पनि लेखेको छु तर यस शोककाव्यमा छुट्टै विशेषता के पाएँ भने यसमा कविको आत्मालापभन्दा उहाँकी आमाको जीवनी बढी छ र शोकाकुल स्रष्टा आफ्नो शोकको अतिरञ्जनापूर्ण भावुक अभिव्यक्तिमा भन्दा बढी आफ्नी आमाको सङ्घर्षमय र सङ्कटपूर्ण जीवनको उद्घाटनमा केन्द्रित हुनुहुन्छ । यस शोककाव्यका धेरैजसो सर्गहरू कविकी आमाको जीवनी र प्रवृत्ति बताउनमा समर्पित छन् । कविले अवसर पाउनासाथ आफ्ना आत्मानुभूति, विश्वदृष्टि र नागरिक सचेततालाई आमाकै जीवनीमा अन्तर्भूत गराउनुभएको छ ।

प्रस्तुत शोककाव्यलाई छुट्टै रुपमा खण्डकाव्य मानेर पनि अध्ययन गर्न सकिन्छ किनभने यसमा निश्चित कथासूत्रमा उनिएको आख्यान पनि छ । अनेक सहरी पाठकलाई यो आख्यान लोककथाजस्तो पनि लाग्न सक्छ तर यो आख्यान कवि नरनाथ लुइँटेलकी आमाको वास्तविक जीवनी हो । त्यसैले यो शोककाव्य सामाजिक जीवनयथार्थको वस्तुपरक प्रतिबिम्ब पनि हो । आमाले आफ्नो छोरालाई आफ्नो अतीत बताएको शैलीमा प्रस्तुत गरिएको यस काव्यकी नायिका हिन्दु सामन्तवादबाट केटाकेटी उमेरदेखि नै सताइएकी नारी हो । यसकी नायिका ‘ठूली’ आठ वर्षको कलिलो उमेरदेखि नै भाइबहिनीको हेरचाह गर्ने, पानी बोक्ने, घाँसदाउरा गर्ने, गोबर फाल्ने र भैँसी दुहुनेसम्मका कठोर श्रम गर्दै हुर्केकी छ । तेह्र वर्षको उमेरमा यसको बालविवाह भएको छ भने लोग्नेको घरमा भित्रिएपछि यसका दुर्दिनहरू झन् बढेका छन् । बिहेको अर्थ नबुझ्दै विवाह भएको छ भने बैँसको आनन्द थाहा नपाउँदै यसले बच्चा जन्माउनुपरेको छ । घरमा कठोर सासूको निर्दयी अदप, हकार्ने र तर्साउने जेठानीको हेपाइ र घुसघुसे कप्टी लोग्नेको दाससरह बनेर कठोर जीवन बाँच्न विवश ठूलीले तीजको पर्वमा बाहेक माइत जान पाउँदिनन् । असह््य भएपछि एकपटक उनी भागेर माइत जान्छिन् तर त्यसपछिका दिनहरू उनका निम्ति झन अभिशाप बन्छन् । त्यसबापत घरमा उनले घोर उपहास, लान्छना, अपमान र घृणाको सामना गर्नुपर्छ । यसै क्रममा उनले भटाभट सन्तानहरू जन्माउनुपर्छ भने दुईजना छोराहरूको मृत्युमा शोकाकुलसमेत बन्नुपर्छ ।
समयक्रममा ‘ठूली’कै साहिँली बहिनी सौता बनेर आइपुग्छे । हिन्दु नारीका निम्ति सबै दमन सह््य हुन्छ तर सौता असह््य हुन्छे रे । सौता नारीको मुटुको कीलो मानिन्छे रे । आफ्नै बहिनी सौता बनेर आइलागेपछि छटपटी, शोक, पीडा, घृणा, अपमान, दुव्र्यवहारका कारण चरम नैराश्यमा पुगेकी ‘ठूली’ ले एकपटक नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास पनि गर्छिन् तर छोराछोरीको मायाँले उनलाई रोक्छ । यसपछि उनको जिन्दगी झन् नारकीय बन्दै जान्छ । लोग्नेले घरबाट निकालेर घोर जङ्गलको स्याउले कटेरोतिर लखेट्छन् । कलिला बच्चाहरू च्यापेर जङ्गलको छाप्रोमा गएकी ‘ठूली’ले अन्नपानीको समस्या भोग्छिन् । विरहलाग्दो जङ्गलमा कहालीलाग्दो लाचार जिन्दगी बिताउन विवश भएकी उनी वनका च्याउ, बडहर र गोलकाँक्रीहरूमा मातृत्वको माया मिसाएर बालबच्चा हुर्काउन थाल्छिन् । तर फेरि पनि उनको क्रूर लोग्ने वनको त्यही छाप्रोमा आएर कोदालोको बिँड र लात्तीमुड्कीले भकुर्नुसम्म भकुर्छ । यस बाहेक जङ्गलमै सुतकेरी हुनुपरेको पीडा बेग्लै छ ।
यस्ता अनेक दुर्दशा, दुर्नियति र अमानवीय उत्पीडनहरू सहँदै र कठोर परिस्थितिसँग जुध्दै आफ्ना सन्तानलाई बढाउँछिन्, पढाउँछिन् । को हो यो ‘ठूली’ ? कुनै लोककथाकी नायिका ? वा कथाकारको कल्पना ? होइन । यो ‘ठूली’ वास्तविक पात्र हो हाम्रै समाजकी । यो ‘ठूली’ हाम्रै स्रष्टा नरनाथ लुइँटेलकी आमा हो र यो कथा यिनै सङ्घर्षशील आमाको कहानी हो । अपठित गाउँले महिलाले गरेको यस्तो सङ्घर्ष र आफू अशिक्षित भए पनि आफ्ना सन्तानलाई हुर्काएको, पढाएको विशिष्ट सत्य देख्दा बौद्धिक पाठक उनीप्रति नतमस्तक हुन्छ । अर्कातिर यस शोककाव्यमा काव्यकारका बाबुको खलचरित्र, क्रूरता कठोरता तथा कवि नरनाथ लुइँटेलकी आमामाथि उनले गरेको घोर अत्याचारको कथा छ । यो पढेपछि पाठको मनमा ती क्रूर पिताप्रति घृणाभाव जन्मन्छ । यो खलपात्र गैरजिम्मेवार पिता, क्रूर पति र पितृसत्तात्मक सामन्ती चरित्र बोकेको कुरुप व्यक्तिका रुपमा रहेको छ ।

फेरि पनि ‘ठूली’ आख्यानकाव्य नभएर शोककाव्य नै हो । कवि नरनाथ लुइँटेलले शोकबाट उत्पन्न आँसुका थोपाथोपा सँगालेर तिनलाई शब्दहरूमा रुपान्तरण गरेको यस शोककाव्यमा उहाँलाई मातृत्व महिमाको तीव्र बोध भएको छ । आमा गुमाएपछि उहाँलाई संसार नै बिरानो–बिरानो र शून्य–शून्य लागेको छ । त्यसैले प्रस्तुत शोककाव्यमा आमा गुमाउँदा आमालाई अत्यन्त श्रद्धा गर्ने सन्तानमा हुने छटपटी, वेदना, निराशा, विरक्ति, ग्लानी, स्मृति, पश्चात्ताप र आतेस कविले आत्मसात गरेर व्यक्त गरेको पाइन्छ । आमा सन्तानको लागि सर्वप्रिय वस्तुमध्ये एक हो । सर्वप्रिय वस्तु र अभिन्न आत्मीय व्यक्तिलाई सदाका निम्ति गुमाउनुपर्दाको पीडा शब्दगम्य हुँदैन, अनुभूतिगम्यमात्र हुन्छ । शोकाकुल व्यक्ति प्रिय व्यक्तिको सम्झनामा बारम्बार तड्पिन्छ, झल्याँस्स–झल्याँस्स हुन्छ । उसलाई कहिले ओछ्यानमा पल्टिरहेको बेला प्रियजन ढोकामा उभिएको जस्तो लाग्छ, कहिले एकान्त हुँदै आत्मीय व्यक्ति छेवैमा आएर फुस्फुसाएझैँ लाग्छ, कहिले ऊ साथमै बसेजस्तो लाग्छ त कहिले उसले हातले छुन लागेजस्तो लाग्छ । कुनै समय त भ्रम पनि यति प्रगाढ बन्छ कि उठेर उसलाई छुन गइन्छ तर त्यहाँ कोही हुँदैन । कस्तो रित्तो ! रित्तो ! कस्तो शून्य ! शून्य ! यस्तो शोकानुभूति वास्तवमा जसलाई शोक परेको छ उसलेमात्र थाहा पाउन सक्छ । कवि नरनाथ लुइँटेलले आमालाई सदाका निम्ति गुमाएपछि यस्तो अनभूति प्रत्यक्ष रुपमा गर्नुभयो । प्रस्तुत शोककाव्य यस कुराको साक्षी बनेको छ ।

‘ठूली’ कवि नरनाथ लुइँटेलकी साख्खै आमा । आमा प्राय महान् हुन्छन्– खासगरी छोराछोरीका लागि । तर निरपेक्ष रुपमा सवै आमा महान् हुन्छन् भन्नु गलत हुनेछ । हामीले यही समाजमा आफैले के देखे सुनेजानेका छौँ भने केही आमाहरू बच्चालाई अलपत्र पारेर पोइल गएका छन्, केही आमाहरूले वासनोन्मत्ता भई गर्भ बोकेर निर्दोष बच्चालाई झाडीमा मिल्काएका छन्, र केही आमाहरूले क्रूर बनेर आफ्नै सन्तानको हत्यासमेत गरेका छन् । तापनि अधितर आमाहरू बच्चाका निम्ति त्यागी, समर्पित, दयालु, मायालु र वलिदानी नै हुन्छन् भन्न सकिन्छ । सारतः आमा भनेको मातृत्व हो र मातृत्व महान् नै हुन्छ किनभने मातृत्व भनेको वलिदान, प्रेम, र सिर्जनात्मकता हो । कवि नरनाथ लुइँटेलकी आमामा त्यस्तो वलिदान, प्रेम, उदारता र सिर्जनात्मकता थियो भन्ने कुराको साक्षी पनि यो शोककाव्य हो ।
‘ठूली’ नितान्त शोककाव्यमात्र पनि होइन, यसमा मातृप्रेमका साथमा भूमिप्रेम, धर्तीप्रेम र राष्ट्रप्रेम नि उत्तिकै मात्रामा रहेको छ । काव्यकी नायिका (लेखककी आमा) भित्र जन्मभूमिप्रतिको माया र आस्था अद्वितीय छ । नपढेकी महिला भएर के भो ?– पढेलेखेका कतिपय विद्वान्भन्दा उनी बढी नै विदुषी लाग्छिन् । हाम्रा कतिपय विद्वान् मानिएका व्यक्तिहरू विदेशीका दलाल र दास छन् । उनीहरू नेपालको हावा, पानी, माटो र संरक्षणमा जन्मन्छन्, हुर्कन्छन् र नेपालकै पैसा, भूमि सहयोग र छात्रवृत्तिमा पढ्छन् तर जब उनीहरू दक्ष बन्छन् र जब देशलाई त्यस्ता दक्ष नागरिकको खाँचो पर्छ तब तिनीहरू व्यक्तिगत स्वार्थपूर्तिका निम्ति विदेशीका भाते बन्न विदेशिन्छन् । कति दुःखको कुरा– लगानी यस गरिब मुलुकले गर्छ तर नोकर भातेदासहरू अमेरिका, बेलायत र जापानजस्ता सम्पन्न मुलुकले सित्तैँमा पाउँछन् । विदेशीका दास बनेका वा बन्नेजस्ता विद्वान्भन्दा अपठित तर देशभक्त ठूली धेरै बढी विदुषी लाग्छिन् । आफू जन्मे–हुर्केको भूमिप्रति यी आमाको अद्भूत मोह र अद्वितीय आस्था देखेर पाठकले यिनको प्रशंसा नगरी बस्न सक्दैन ।
यी आमा जीवनको अन्त्यकालमा पनि आफ्नो भूमिको मायाले तानिन्छिन् । काठमाडौँका सम्पूर्ण भौतिक सुविधाहरूलाई बेवास्ता गर्दै यी आमा आफ्नै माटोमा फर्केर त्यहीँ अन्तिम सास फेर्न आतुर हुन्छिन् । जन्मभूमिप्रतिको उनको यस्तो मोह, श्रद्धा, भक्ति, दृढ आस्था र समर्पणसामु महान् देशभक्त र विद्वान्हरू बामपुड्के लाग्छन् । यी आमाको उदात्त प्रेमका सामु विद्वान् कवि नरनाथ लुइँटेलका तर्क, जिद्दी, र तमाम विद्वत्ता फुस्स हुन्छन् । यिनलाई जन्मभूमिभन्दा ठूलो तीर्थ अर्को लाग्दैन, जन्मस्थलको पानीभन्दा पवित्र अन्य लाग्दैन । यिनलाई पशुपतिनाथ, बद्रीनाथ, केदारनाथजस्ता सम्पूर्ण नाथहरूभन्दा आफ्नो जन्मभूमि पवित्र लाग्छ । यिनको यस आस्थासामु सम्पूर्ण ज्ञानधाराहरू सुक्न पुग्छन् । यस्तो आस्था पो आस्था ! यिनको यस्तो उच्च भावना देख्दा लाग्छ– विश्वासभन्दा ठूलो शक्ति अर्को छैन, आस्थाभन्दा ठूलो भक्ति अर्को छैन र आमाभन्दा ठूलो व्यक्ति अर्को हुँदैन । मित्र नरनाथ ! यो शोककाव्य लेखेर तपाइँ उठ्नुभएको होइन, तपाइँले आफ्नी आमालाई उठाउनुभएको छ र तपाइँले यही अर्थमा आमाको श्राद्ध गर्नुभएको छ । मेरा निम्ति भन्नु के छ भने म तपाइँकी आमालाई चिन्दिनथेँ । मेरा निम्ति बाँचुन्जेल मरिरहनुभएको थियो तर मरेपछि उहाँ यस काव्यमा बाँचिरहनुभएको छ र म उहाँलाई जिउँदो देखिरहेको छु । यस शोककाव्यको सबैभन्दा ठूलो उपलब्धि सायद यही रहने छ ।

म कवि नरनाथकी उदारमना आमाको अर्को व्यक्तित्वबाट पनि प्रभावित भएको छु । उहाँ राणाकालीन महिला हुनुहुन्थ्यो तर उहाँको चेतनाका केही भाग आधुनिक कालकी आमाका जस्ता छन् । आश्चर्य त त्यतिखेर लाग्छ जब यी आमा पठित छोराको भौतिकवादी विश्वदृष्टिप्रति कुनै गुनासो गर्दिनन् र आफ्नो अध्यात्मवादी आस्थाविरुद्ध कुनै सम्झौता पनि गर्दिनन् । छोरो भन्छ– “मलाई पूर्वजन्म– परजन्ममा विश्वास छैन । बाँचुञ्जेल सेवा श्रद्धा गर्न पाउँ तर मरेपछि ढोँगी संस्कारयुक्त श्राद्ध गर्ने मन छैन ।” आमा भन्छिन्– “श्राद्ध गर या नगर, तिम्रो आस्था र विश्वास जे छ त्यसै बमोजिम गर, तर गलत काम चैँ कहिल्यै नगर ।” सामन्तवादी संस्कार बोकेकी राणाकालीन आमाका छोराको पिण्डदान नगर्ने, काजक्रिया पनि नगर्ने मनशाय थाहा पाउँदासमेत उनी विचलित हुन्नन् । छोरो भएपछि त्यो गर्नैपर्छ भन्ने अड्डी पनि लिन्नन् र साथमा इशवरप्रतिको उनको आस्था पनि भत्किँदैन । गज्जब त के छ भने विश्व र जीवनलाई फरक–फरक ढङ्गले बुझ्ने यी आमाछोराका मुख पूर्व र पश्चिम विपरीत दिशातिर फर्केका छन् तर दुवैका कर्मठ र सत्कर्मी हातहरू भने एकसाथ आपसमा कसिएका छन् । यसरी प्रस्तुत शोककाव्यमा उदारमना आध्यात्मिक मानुषीका रुपमा यी आमाको अनौठो व्यक्तित्व प्रकाशित भएको छ ।

आमाको मृत्युपछि कवि नरनाथ लुइँटेलमा जटिल मनोद्वन्द्व चलेको आभास दिन्छ प्रस्तुत शोककाव्यले । समाज सामाजिक नैतिकताको कुरा गर्छ, कविचेतना मानवीय वैज्ञानिकताको आस्थामा विश्वस्त छ । आमाको मृत्युपछि काजक्रियामा संलग्न नभएबापत कविमनमा सामाजिक नैतिकता र भौतिकवादी आदर्शको द्वन्द्व उत्पन्न भएको छ । समाजले काटेका कुरा र कविमस्तिष्कले गरेको यथार्थबोधबीच कविमन चेपिएको छ । व्यवहारपक्ष र वैचारिकपक्षबीचको द्वन्द्वले कविलाई व्यङ्ग्यात्मक बन्न उक्साएको छ । यसैको उत्कर्ष बनेर प्रस्तुत भएको छ ‘पिण्ड पायौ त ?’ शीर्षकको सर्ग । यसमा कविभित्रको द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण प्रष्ट रुपमा प्रकट भएको देखिन्छ । कविकी आमाको उदारता र सामयिक परिस्थितिको बोध गर्ने उनको क्षमता पनि यस सर्गमा प्रष्ट रुपमा देखा पर्छ । सिद्धान्तहरू सिद्धान्तमा महान् भएर पनि व्यवहारमा प्राय भुत्ते भएका वा भुत्ते हुने गरेका छन् भन्ने कुरा यस सर्गले राम्ररी बताएको छ । कविको मन र मस्तिष्क अनि उनको भावना र विचारका बीचको सन्तुलित अभिव्यक्तिका रुपमा पनि यस सर्गलाई लिन सकिन्छ ।
शोककाव्यको अन्त्यतिर सन्तान हुनुको कर्तव्यवोध गर्दै कवि नरनाथ लुइँटेल मातृऋण कसरी तिर्न सकिएला भनी प्रगतिशील ढङ्गले सोच्नुहुन्छ । उहाँको मन उदारमना महान् आमाको ऋण कसरी चुक्ता गर्न सकिन्छ ? भन्ने कुराले उद्वेलित बन्छ । उहाँ पिण्डदान गरी आमाको श्राद्ध गर्ने अन्धविश्वासमा विश्वस्त हुनुहुन्न तर आमाप्रति श्रद्धा प्रस्तुत गर्दै कर्तव्य निर्वाह गर्न भने चाहनुहुन्छ । उहाँ समाजसँग जोडेर मातृभक्तिको सार्थक स्मरण गर्न चाहनुहुन्छ । यो चाहना पूरा गर्न उहाँ विभिन्न वैकल्पिक सम्भावनाहरूमाथि विचार गर्नुहुन्छ । आफ्नी अपठित आमाको नाममा विद्यालय खोलेर वा गरिव विद्यार्थीलाई छात्रवृत्ति दिएर वा आमाको नाममा पुरस्कार स्थापना गरेर वा वृद्धाश्रम खोलेर वा यस्तैयतै अन्य राम्रा कामहरू गरेर मातृऋण तिर्न र सन्तान हुनुको कर्तव्य निर्वाह गर्न सकिन्छ भन्ने सोच उहाँमा उत्पन्न हुन्छ । मेरो व्यक्तिगत सुझाव के छ भने सक्नुहुन्छ भने वृद्धाश्रम खोल्नुहोस् । नेपालमा भौतिक सम्पन्नता र आधुनिकताको विकाससँगै वृद्धवृद्धाहरू एक्लिन थालेका छन् । उनीहरूको जीवनस्थिति दिनप्रतिदिन एक्लो, निस्सहाय, निरुपाय र अपमानित हुन थालेको छ । त्यसैले वृद्धाश्रमको व्यवस्था गर्नु आमाप्रति सर्वोत्तम श्राद्ध हुनेछ भन्ने मलाई लाग्छ ।

धेरै स्रष्टाहरूले र धेरै शास्त्रहरूले आमाको महिमा गाएका छन्– “आमा स्रष्टा हो, आमा जीवनको मूलाधार हो, आमा मायाको खानी हो, छोराछोरी दुष्ट भए पनि आमा दुष्ट हुँदिनन्” आदि–आदि । वस्तुतः आमा र मातृत्व के हो ? मेरो मनमा पनि यस बारेमा बारम्बार जिज्ञासा उत्पन्न हुन्छ । सायद आमा त्यो जरा हो जसमा सन्ततिका बिरुवा उम्रन्छन् । वृक्ष बन्छन् । वृक्ष जति अग्लो र जति झाँगिएको भए पनि र जति फलाम्य बने पनि त्यसको जग तिनै जरा हुन् । आमा निर्भयताको आधार हो । आमाको काखमा रहुन्जेल बच्चालाई बाघसित पनि डर लाग्दैन । आमा सायद त्यो सङ्गीत हो जसको मधुर धून जति जोरले बजे पनि झर्को लाग्दैन । आमा त्यो पानी हो जसलाई जति पिए पनि तिर्खा मेटिँदैन र अझै बढी पिइरहन मन लागिरहन्छ । जीवनको गति सङ्घर्ष र सन्तुलनका लागि आमा नै प्रथम आधार हो । यसै कारण आमा गुमाउनु पर्दा संसार नै कालोकालो शून्यशून्य र कहालीलाग्दो लाग्छ । प्रस्तुत शोककाव्यले पनि यही अनुभवसत्य, यही भवसत्य र यही वस्तुसत्यको प्रतिबिम्बन गरेको छ ।

प्रस्तुत शोककाव्य पढ्दा के कुरा पनि थाहा पाइन्छ भने साहित्यकार नरनाथ लुइँटेलको साहित्यिक प्रेरणा, काव्यिक मन र युगबोधक सिर्जनाको एउटा प्रमुख पृष्ठभूमि उहाँकी आमा नै हुनुहुन्छ । आमाको जीवनसङ्घर्ष, त्यसै अन्तर्गत स्वयम्ले गरेको आत्मसङ्घर्ष एवम् निजी जीवनबोधले कविलाई विद्रोही, भावुक र प्रगतिशील स्रष्टा बन्न भूमि प्रदान गरे । कविले सुरुसुरुका आफ्ना धेरैजसो सिर्जनाको प्रथम स्रोता आमा नै हुनुहुन्थ्यो भनी दिएको स्पष्टीकरणबाट पनि यो कुरा सिद्ध हुन्छ । त्यतिखेर झनै राम्रो लाग्छ जब उहाँकी आमा कलामूल्यको बोध गर्नसक्ने क्षमता पनि राख्नुहुँदो रहेछ भन्ने थाहा पाइन्छ ।

भाव, विचार र कलाका तीन धाराहरू प्रस्तुत शोककाव्यमा प्रवाहित छन् । भावका तहमा शोककाव्य अब्बल छ, विचारका तहमा पनि यो उच्च छ भने कलात्मकताका तहमा यो काव्य सरल र वर्णनात्मक छ । मनका भावतरङ्ग ह्वात्तह्वात्त पोखिएर आएका र परिष्कारप्रति पनि रुचि र अवसर दुवै कम भएकाले सौन्दर्यमूल्यको खोजीतर्फ कवि नघोरिएकै हो तथापि भावसौन्दर्य र विचारसौन्दर्यको शक्तिले कलासौन्दर्य पनि पछिपछि तानिएर आएको पाइन्छ । कलात्मक पक्षको कुरा गर्दा सरलता, सहजता, सरसता वर्णनात्मकता र केही व्ययङ्ग्यात्मकता नै यस शोककाव्यको मूलस्वरुप देखिन्छ । केही ठाउँमा स्वस्फूर्त रुपमा अलङ्कार, बिम्ब–प्रतीकहरूले उपस्थित भएर काव्यसौन्दर्यको वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । प्रस्तुत भूमिकामा यस पक्षमा छुट्टै विमर्श गर्नका लागि प्रशस्त अवसर नभएकाले भावसौन्दर्य, विचारसौन्दर्य र कलासौन्दर्यको प्रतिनिधित्व गर्ने केही उद्धरण प्रस्तुत गरी काव्यस्वादनका लागि प्राथमिक अवसर जुटाउन चाहन्छु ।

कविका बाबु क्रूर थिए । उनले आमामाथि सौता हाले । आमालाई घरबाट निकालेर जङ्गलतिर धपाए । त्यतिमात्र होइन जङ्गलको छाप्रोमै समेत पुगेर कविकी आमालाई फरुवाको बिँड र लात्ती–मुड्कीले कुटपिट गर्न पछि पर्दैनथे । कैयौँपटक बाबुको चुटाइपिटाइबाट आमा रगतको आहालमा डुबेको दृश्य कविको आँखामा नाचिरहेको छ । यस क्रूर यथार्थलाई र त्यस्तो समयमा पनि आमाले पतिमाथि कुनै दुव्र्यवहार र दुर्वचन नगरी संयम र धैर्य, सङ्घर्ष र सन्तुलन नगुमाएको कुरालाई निम्नलिखित उद्धरणले सङ्केत गर्दछन् ः

बनिबुतो गर्दै माउ चल्ला हुर्काउँदै छ
दुष्ट भाले भने दाउ हेर्दै थर्काउँदै छ !

खप्नुप¥यो शरीरले हजार–हजार लात्ती
फरुवाका बिँड पनि भाँचिएथे कति !

श्रद्धा गरी गरी ठूली ठोग्थिन् जुन पाउ
तिनै पाउले लगाइरेछ जुनीभरी घाउ !

आमाले घरको काम गरेकै थिइन्, सन्तान जन्माएकै थिइन्, सत्चरित्रमा बसेकै थिइन्, घरव्यवहार सम्हालेकै थिइन्, कसैमाथि नराम्रो गरेकी थिइनन्, तर पनि उनीमाथि सौता हालियो । त्यो पनि अरु कोही नभएर आफ्नै सहोदर साहिँली बहिनी दिदीमाथि ग्रहण बनेर सौताका रुपमा आइन् । यसले आमाको मनमा पारेको चोट र पीडानुभूतिलाई कविले यसरी मुखरित पारेका छन् ः

एकै आँतकी बैनी पनि किलो हुँदै रैछ
बल्ल बुझेँ सौता बनी आएकी पो रैछ
ज्वारभाटा हृदयमा, तम्मोर बन्यो कोसी
हेर्दाहेर्दै उसैले पो मूलओछ्यान खोसी !

भोक आफैँ लाग्दालाग्दै जान्थ्यो हराएर
मर्न बाध्य थियो तिर्खा आफैँ तिर्खाएर !

आमाको मृत्युको खबर सुन्नासाथ कविले गरेको पीडानुभूति यस्तो छ ः
भावनाको पखेरामा पैरो लड्यो अब
हेर्दाहेर्दै उजाडियो मेरो विश्व सब !
यौटा ऐना धज्याम्म भै भैमा खस्यो फुटी
ममताको बेग रुक्यो अचानकै टुटी !

हो कि हैन, हो कि हैन मन तर्सिरेछ
त्यसमाथि भिजाउँदै साउन बर्सिरेछ
चुहुँदो छ निरन्तर बलेनीमा धारो
आँसु पचाउन आमा औधी भयो गारो !

कवि देखावटी स्वाङ र सामाजिक आडम्बरप्रति आक्रोशित हुनुहुन्छ र भावुक क्षणमा पनि उहाँ यसप्रति सचेत देखिनुहुन्छ । बाचुन्जेल आमालाई नहेर्ने र उहाँको वास्ता नगर्ने तर मरेपछि लोकलाज ढाक्न आडम्बर गर्दै पिण्डपानी दिइटोपल्ने हिन्दू सामन्तवादी कुसंस्कृति, अन्धविश्वास र कृतघ्नतामाथि व्यङ्ग्य गर्दै लेखिएका तलका पङ्क्तिहरूले कविको प्रगतिशील चैतन्यको परिचय दिन्छन् ः

धर्तीका ए आमा कुट्ने नालायक छोरा
बाँच्दासम्म राख्छौ जस्ले खानै नदिएर
धिक्कार छ, ढोँग तिम्रो कपाल खौरी हिन्छौ
मरेपछि पाउँदिनन् किन पिण्ड दिन्छौ ?

बाँचुञ्जेल आदर र माया स्याँहारेर
मन खुशी केमा हुन्छ सबै विचारेर
जीवन्दाता आमा नै हुन् सँधै सेवा गरौँ
ढोँग रची श्राद्ध हैन श्रद्धा गर्ने गरौँ !

चढाएथेँ फूल मैले के शिरमा लायौ ?
दाजुभाइले पिण्ड दिए के तिमीले पायौ ?

फेर्न सकेनछु मैले मेरै घर आज
गरिरेछन् कर्मकाण्ड भन्दै लोकलाज !

शताब्दीका थोत्रा थाङ्ना लगाएर आगो
त्यसैमाथि खरानीमा खेल्न मन लाग्यो !

मृत्यूपछि जानुपर्ने छैन कुनै ठाउँ
म मर्दा चैँ कर्मकाण्ड विनै मर्न पाउँ
ज्यूँदो छँदै माया खोज्छ मेरो जिन्दगानी
चाहिँदैन मरेपछि मलाई पिण्ड–पानी !

मान्छेको मौलिकता भन्नु वा मान्छे भन्नु मूलतः भावना र विचार नै हो । भावना र विचारकै कारण मान्छेले पशुत्वबाट मानवत्व प्राप्त गरेको हो । भावना र विचारकै कारण मान्छेले प्रकृतिसँग सङ्घर्ष ग¥यो र प्रकृतिमाथि विजय प्राप्त गर्दै आयो अनि आफैँसँग सङ्घर्ष ग¥यो आफूलाई बदल्दै ल्यायो । यिनै भावना र विचारकै आन्तरिक शक्तिले उसमा सङ्घर्षशील बाह्यशक्ति उत्पन्न भयो र परिणामस्वरुप ऊ पशुत्वबाट उक्लेर मानवीकरण हुँदैगयो । संवेदना, सञ्चेतना, सद्भावना, सङ्घर्ष र रुपान्तरणशील विचारले नै मान्छे छुट्टै रुपमा मौलिक र महान् सभ्यताको निर्माण गर्न सक्षम भएको हो । यी कविता वा कला पनि मूलतः यिनै भावना र विचारकै सर्वोत्तम सौन्दर्य हुन् । कवि नरनाथ लुइँटेलको यो शोककाव्य पनि यही मानवीयता वा मानवीकरणकै उच्च उत्पादन हो । अन्धविश्वासको दुर्गन्धित थुप्रोमाथि बसेर आडम्बरका निरर्थक मानवद्वेषी भ्रमात्मक पिण्डहरू चढाउँदै लोकलाजको नाममा र सामाजिक नैतिकताको खोलमा कृत्रिम लोकाचार देखाउनु तथा मन नभईनभई जबर्जस्ती श्राद्धादि कर्मकाण्ड गर्नुभन्दा शोकलाई शक्ति र सिर्जनामा बदलेर सच्चा मन र स्वस्थ विचारले रचनात्मक श्रद्धाञ्जली दिनु आमाबा प्रतिको सच्चा श्रद्धाञ्जली हो । कवि नरनाथ लुइँटेलको यस शोककाव्यलाई मैले आमाप्रतिको यस्तै सच्चा श्रद्धाञ्जलीका रुपमा लिएको छु ।

अन्त्यमा, कवि नरनाथको पीडादायी शोकमा म समवेदना प्रकट गर्छु, उहाँको यस श्रद्धाञ्जली–सिर्जनाको प्रशंसा गर्छु र शोकाकुल अवस्थामा उहाँसँगै रहेर उहाँलाई कुनै ढाडस, भरथेग र कुनै सहयोग गर्न नसकेकोमा दुःखानुभव गर्दै उहाँको शोक र सिर्जना दुवैप्रति उहाँकै गीतिलयमा रचिएको मेरो गीतद्वारा सद्भाव व्यक्त गर्दछु ः

जहिले पनि हाँसिरन्थ्यौ प्रीत फुलाएर
मानिसका मर्म टिपी गीत सुनाएर
कठै ! कस्तो पीर प¥यो– दिनै भयो राति !
तिम्रो साथमा म पनि छु– नरुनू है साथी !

आँखाबाट स्नेह छथ्र्यौ व्यङ्ग्य पिलाएर
तिम्रो बोली फुस्किरन्थ्यो हाँसो दिलाएर
तिम्रै हाँसो आँसु बन्दा लाग्यो नि नजाति
तिम्रो साथमा म पनि छु– नरुनू है साथी !

भक्कानिन्छ किन मुटु ? किन दुख्छ छाती ?
आकाशमा घाम छँदै किन पर्छ राति ?
तिमीलाई के पो दिऊँ ? भावना छ खालि
तिम्रो साथमा म पनि छु– नरुनू है साथी !

दुःख पर्छ सबैलाई– सहर होस् कि गाउँ
दुःख प¥यो तिमीलाई, मलाई लाग्यो घाउ
दुखे पनि धैर्य गर– धैर्य ठूलो साथी
तिम्रो साथमा म पनि छु– नरुनू है साथी !

२०६६ भदौ १४
कपन १, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 फागुन, 2066

लेखकका अन्य रचनाहरु