'क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा

- नन्दलाल आचार्य

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ । त्यस्तै विदेशमा रहँदा हुने आफ्नोपनको अभाव र पीडालाई गीतका थुँगामा उनेर हुदय छुने भाव प्रेषण गर्ने काम गीतमा भएको छ ।

काखमा च्यापी लाला र बाला मेरै कुरा गर्दी हो
सपना बीच रातमा ब्युँझी मलाई खोज्दी हो ।

(सयपत्री र मखमली, पृष्ठ ः २७)

यस्तै मनोकांक्षा बोकेर हाल दुबईमा अर्थोआर्जनमा सरिक युवा गीतकार केदार श्रेष्ठ ‘गगन’ ‘क्षितिज पर’ गीत संग्रह लिएर नेपाली साहित्यमा दर्विलो पाइला राख्न जुटेका छन् । विदेशी भूमिमा रहेर आफ्नो मातृभूमिलाई सम्झेका छन् । विदेशी भूमिले पोलेको कुरा, समाजसुधारको प्रवल चेतना, मायाप्रेममा आएको आडम्बरपनप्रति वितृष्णा, मुलुकप्रतिको सचेत दृष्टि, प्रकृति र नारी सौन्दर्यको लोभलाग्दो चित्रण, मानव मनमा नैतिकता लोप भएका कुराहरू र विशेष गरी विरह–शृङ्गारिक रसले प्रेरित भएका उनका धेरै गीतहरू यस संग्रहमा परेका छन् ।

कृतिगत विशेषताः–

गीतकार केदार श्रेष्ठ ‘गगन’ को ‘क्षितिज पर’ गीत संग्रह मार्फत्.....

— कतैकतै देशप्रेमलाई सर्वस्व ठान्दै देशभक्तिको गीत गाउँछन् ।

—धेरै जसो ठाउँमा प्रेम–प्रणयका माध्यमबाट जीवनको रहस्य खोतल्दछन् ।

—पीडा, अभाव र भताभुङ्ग भेट्दा जीवनवोधले मर्माहत हुँदा पनि जीवनवादी दृष्टिकोण राख्न भुल्दैनन् ।

— सिन्धुलीको प्रकृतिले मोहित पार्दा त्यसैको स्तुति गर्न खोज्छन् ।

—अन्याय अत्याचारले सीमा नाघेको र थिचोमिचोको लेखाजोखा नभएको भेट्टाउँदा विद्रोहको मिहिन स्वर सुसेल्दछन् ।

— आजका मानवमा देखिएका नैतिकता हराउँदै गएका कुराहरू समेट्दछन् ।

— अहिले मायाप्रेममा आएको आडम्बरीपनलाई झापड दिन खोज्दछन् ।

—सरल भाषालाई सलल बग्न दिई सरलता भित्रैबाट मीठास पैदा गर्न खोज्छन् ।

—अग्रज साहित्यिक स्रष्टाप्रति श्रद्धाले शिर निहुर्याउँछन् ।

—जीवन र जगत्का बहुल यथार्थलाई जीवन्त रूपमा उतार्न सक्ने विषय, विम्ब र प्रतीकहरूको छनौट गर्छन् ।

—लयात्मक र गेयात्मक भाषाशैलीको प्रयोगबाट काव्यात्मक भाव व्यक्त गर्ने गर्दछन् ।

— यत्ति हुँदाहुँदै पनि माझिएको भाषाशैलीको कमि देखा पर्छ ।

—युवा उमेरको युवा भावना प्रकट गर्ने क्रममा वर्णविन्यासको उचित रखाइमा कमजोरी दर्शाएका छन् ।

कलमले सिर्जने कुरा हर पिढींलाई हुन्छ । विश्व मानव सभ्यताका निम्ति सृष्टिकर्ता अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई चछु छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन नसक्दा नै सृष्टि सुरु हुन्छ । हाम्रो पुस्तामा उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण गर्ने विचार अहिले खिँइदै खिँइदै आधा भएको छ, अब खिइन नसक्ने र नमिल्ने अवस्थामा छ । समकालीन यथार्थका बहुल पाटालाई सार्थक र उद्देश्यमुलक ढ्रगले समुन्नतिमा रूपान्तरण गर्नु ठूलो चुनौति भएको छ । कहरको कालो रात सकिएपछि मात्र सम्मुन्नतिको उज्यालोे उषाकाल आउँछ । हरतरहले चर्याइरहेको घाउले मलहमपट्टी पाए पछि मात्र पीडा कम भएर घाउमा खाटा बस्छ अनि सुखानुभूति देखापर्दछ । मुलुकको रथ हाँक्नेहरूमा बहुसंख्यक शोषितपीडितप्रतिको गम्भिर चासो, समाजप्रतिको दायित्व बोध हुन सके मात्र राजनैतिक, आर्थिक एवं सामाजिक शोषणले लाटो पारिएका जनताको मनमा आशा र भरोसाको बीजारोपण गर्न सकिन्छ । एक समयमा जनताले तौली तौलीकन शब्दहरू बोल्नुपथ्र्यो । आफ्ना मनका करुण भावहरू पनि त्यसै गुम्स्याएर दासमनोवृतिले पगालेका शब्दहरू मात्र प्रयोग गर्नुपथ्र्यो । वेदनाका आँसु चुहाउन पनि कठिन थियो । हरेकका आँखाका सपनाहरू धुजाधुजा भएर च्यातिएका थिए । त्यत्तिखेर अमानवीय घटनाहरुको लेखाजोखा थिएन भने भ्रष्टचारी घटनाहरूको हिसाबकिताव र नालीबेली राख्ने चलन नै थिएन । यो कथन त्यस युगलाई जोख्ने असली तराजु हो । भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज नगुञ्जेको होइन । अन्याय अत्याचारका विरुद्ध बमवर्षा नभएको होइन । मुठ्ठीभरका मान्छे मानसिक दरिद्रले ग्रस्त भएका कारणले संसारलाई नै चमत्कारिक योगदान दिने क्षमता मरेर गयो र बदलामा पुरातनवादी कुसंस्कारी सोच खरो रूपमा देखापर्यो । त्यसरी नै राजनीतिले देशलाई मागिखाने भाँडो बनाएकोमा रुष्टता व्यक्त गर्दै भनिएको छ ।

विश्वको छानो सगरमाथालाई नबनाऊ होचो
आफैँ, आफैँ फुटेर किन बनाउनु देशलाई खोटो । (हामी एउटै, पृष्ठ ः २८)

प्रशासक होस् या शासक, जनतामाथि राज गर्ने उसको काम हो तर त्यो राज जनताको इच्छा अनुरूप, जनताको हित अनुकूल अनि जनताको सेवक हुँ भन्ठानेर हुनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक पद्धतिमा हुन्छ भन्ने कुरा कसैले पनि भुल्न मिल्दैन । हाम्रो इतिहासले हामीलाई धेरै थरिको पाठ पढाइसकेको छ । आफूले पढेको, भोगेको र अनुभवले संगालेको ज्ञान व्यवहारमा लागू गर्नुपर्छ । त्यो ज्ञान व्यवहारमा नआउने हो भने त्यो नै राष्ट्रोन्तिको बाधक साबित हुन्छ । राष्ट्रघाती कदम ठहर्दछ । आजको कालो वर्तमान चिर्न आवश्यक छ । कार्यमा पारदर्शिता, नीति निर्माणमा सर्वस्वीकार्यता र राज्य सञ्चालनमा देश र जनताको स्वार्थसिद्धमा हुने हो भने शत्रुपक्षले मुण्टो उठाउनै पाउने थिएनन् । प्रशासन भन्ने कुरा कसैको बहकाउ, कसैको धम्की र कसैको माया–ममताले चल्न थाल्यो भने कानूनी राज्य असफल हुन्छ । जीवन चलाउन माया चाहिन्छ तर प्रशासन चलाउन नीति चाहिन्छ, नियम चाहिन्छ । यस प्रकार गीतकार जीवनको याचना गर्दै थप्छन्....

जता हेर्छु बैँशालु बाढी देख्छु लौन मलाई तारिदेऊ
यौवनको भेलले लान लाग्यो मलाई कोही बचाइदेऊ ।

(बैँशालु बाढी, पृष्ठ ः ३०)

जन्मले राष्ट्रवादी भइन्न कर्मले सच्चा राष्ट्रसेवक कहलाउन सकिन्छ । हरेक अग्रगामी कार्यलाई पश्चगमनवाद वा यथास्थितिवादले नामोनिसान मेट्न खोजेका घटनाहरू नयाँ होइनन् । शक्तिशाली छातीभित्र शक्तिशाली विचार बोकेर हिड्ने विचारकको विपक्षमा मत जाहेर गरी असत्यको राज फैलाउनेहरू विरुद्ध न्वारानदेखिको बल झिकेर लागिपर्नु पनि चानचुने अठोट होइन । कालो मन भएकाहरू ऐयासी जीवन विताइरहेका र अँध्यारो भविष्यको जग खडा गरिरहेका परिवेशको कारुणिक अवस्थाबाट पार पाउन कठिन हुन्छ । नाटक देखाउन सजिलो छ तर दर्शकलाई प्राकृतिकपनले रिझाउन कठिन छ । प्रतिगमनको विरुद्धको आन्दोलनमा प्रतिगमनका दर्शनाभिलाषीहरू नै लाग्नु हिजो आफृ्ले गरेको पाप र भ्रष्टचारलाई चोख्याउने माध्यम आन्दोलनलाई बनाउनु हो । भ्रष्टचारको भेलले मुलुकलाई रसातलमा पुर्याएको जगजाहेर छ । अझै पनि तिनै भ्रष्टखोरहरूलाई सत्तामा पुर्याई उनीहरूकै प्रभुत्वलाई स्वीकार्न खोजियो भने मुलुकमाथि गद्दारी गरेको ठहर्दछ । हामीकहाँ भएको नयाँ परिवर्तनका लागि हरेक ठाउँका नेपालीहरूको बराबर योगदान रहेको कुरा इमान र जमानमा साथ विश्वास नगरे असली राष्ट्रसेवककोे मुटु पोल्छ । हिजोका खुंखार अपराधीहरूलाई आज सुनपानी छर्केर चोख्याउँने पृ्र्व चलनले मन कुड्याउने काम मात्र गर्छ । दुःख, वेदना, आँसु, हाँसो, यन्त्रणा, दमन, प्रतिरोध, घात, प्रतिघातहरूलाई मात्रै जन्म दिन्छ । यसरी मायाको खाँचो महसुस भएको छ । मायालुको मायाका निम्ति गाउँ खोज्दै हिँड्दा पनि प्रकृतिको मनोहर छटाले आफूलाई तानेको भाव प्रेषण गर्न गीतकार भुलेका छैनन् ।

पहाड र भञ्ज्याङ्ग हुँदै, छिचोल्दै अफ्ठ्यारा ती बाटाहरू
बादलसँगै लुकामारी खेल्दै मस्किरहने प्राकृतिक छटाहरू । (मायाको गाउँ खोज्दै, पृष्ठ ः २९)

मानिसको स्वभावलाई विचार्दै दार्शनिक ओशो भन्छन्– ‘कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ, ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसावले । शारीरिक हिसावले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।’ त्यसैले त सिकाइको मैदानमा जो पनि आजीवन विद्यार्थी नै रहिरहन्छ किनकि सिकेर सिकी नसकिने र जानेर जानी नसकिने अथाह कुराहरू छन् हाम्रै वरपर । युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो हुने अवस्था नआए हामी निरंकुशताका कैदी नै हुन्छौँ । स्वतन्त्रता, समानता र न्यायका सेनानी बनेर नयाँ दिनको स्वागत गर्न सक्दैनौँ । नकाम गर्नेहरूको झाँको झार्न र अन्यायमा परेकाहरूको उद्धार गर्नमा आफ्नो श्रद्धा झल्कन पाउँदैन र हाम्रो अभीष्ट मर्छ । जो जहाँ लागे पनि, जो जहाँ पुगे पनि पवित्र दिमाख खियाएर हुन्छ वा परिश्रमी हातगोडा चलाएर हुन्छ श्रम गर्दै पेट पाल्ने विचार मर्नुहुन्न । इमानको काम गर्ने हो भने गोरु, गाई, बाख्रा र भैंसीको पुच्छर पनि समात्नुपर्छ, करेसाबारीको माटोसँग लड्नु पनि पर्छ, भिज्नुपनि सक्नुपर्छ । त्यत्ति मात्र कहाँ हो र हरिया पात र बिरुवासँग सिंगौरी खेल्नै पर्यो भने डोको र बञ्चरो बोकी जङ्गल पनि पस्नुपर्छ । मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र इष्र्या, कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावना पालेर मानवता नै हराउन दिई ढोँगी, स्वार्थी, संकिर्ण, आडम्वरी हुनु र स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिर्सी लुच्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु हुनु कत्तिको लाजमर्दो कुरा हुन्छ त्यो सम्झनुपर्छ । माया गर्छु भनेर माया हुने हैन, मनमा स्वतः हुने नैसर्गिक कुरा हो । हृदयदेखि हुने माया निस्वार्थी हुन्छ । शारीरिक हाउभाउ र भौतिक लालचदेखि प्रेरित भएर गरिने माया, माया हैन, स्वार्थ हो । सफल माया गर्न सफा हृदय चाहिन्छ ।

दुबै मिली रोपेका ती ठूला भए वरपीपल
बल गरेर हुन्न रै’छ मायाप्रीति सफल ।

(मनभित्रका छालहरू, पृष्ठ ः ३०)

इतिहासका पाटाहरू स्मरण गर्नुपर्दा एक समयमा अन्धकारमा जघन्य अपराध गर्दै आएको राज्य अक्षरहरूबाट भएको उज्यालोदेखि पनि आत्तियो र अक्षरकर्मीहरूको भौतिक लीला समाप्त गर्न तम्सियो । कलमकर्मीहरू धरापमा पर्नु र ज्यान दिन बाध्य पारिनु भनेको हिटलर र मुसोलिनीको शासन शैली फर्काउनु हो । द्वन्द्वकाल अघिदेखि आजसम्ममा दर्जनौं पत्रकारहरूले ज्यान गुमाउनु र केही अज्ञात अवस्थामा नै रहनुले राज्य आतड्ढ, भ्रष्टचार र दण्डहीनतालाई प्रश्रय मिलेको छ । नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रतिवेदनका अनुसार देवकुमार आचार्य, कृष्ण सेन, कमल एसी, अम्बिका तिमल्सिना, विनोद सजना चौधरी, नगेन्द्र पोख्रेल बद्री खडका, आनन्दकुमार थापा, चीनबहादुर बुढा, जगतप्रसाद पण्डित, मोहन खनाल, इश्वर ढुङ्गाना, भीमबहादुर धर्ती, सुभाष मैनाली, कञ्चन प्रियदर्शी, शम्भु पटेल, राजकुमार केसी, नवराज शर्मा, कुमार घिमिरे, ज्ञानेन्द्र खडका, गोपाल गिरी, पदमराज देवकोटा, डिकेन्द्रराज थापा, धनबहादुर रोकामगर, खगेन्द्र श्रेष्ठ, महेश्वर पहाडी, वीरेन्द्र साह, पुष्करबहादुर श्रेष्ठ र उमा सिंहजस्ता पत्रकारहरूको रगत यस धर्तीमा बगिसकेको छ । यी कलम र वाणीका धनी सरस्वतीका सन्तानहरूको उच्च शहादतले स्वतन्त्रताको विश्वसनीयता, तर्कपूर्णता र नैतिकताको आधारहरू नै स्वतन्त्र सञ्चारको सारत्व हो र नियन्त्रित सञ्चार भनेको तानाशाही भ्रमको अव्यखित रूप हो भन्ने कार्लमाक्र्सको भनाइलाई खिल्ली उडाएको छ । कलम र वाणीले स्वतन्त्ररूपले काम गर्न पाएन भने कुनै पनि राष्ट्र समृद्धशाली हुँदैन । राष्ट्र बनाउन माया चाहिन्छ, त्यस्तै मायालु बनाउन माया खन्याउन सक्नुपर्छ । साँचो माया गर्नेहरू संसारमा कमै हुन्छन् । मायामा त्याग हुन्छ । भौतिक सुखको अपेक्षा साँचो मायामा हुन्न । आफ्नी मायालुलाई फूल बनेर फुलिदिन आग्रह गर्दै आफू काँडा बनेर संरक्षण गर्ने वाचा गीतमा प्रकट भएको छ ।

फुली बस सधैँ तिमी काँडा म बनिदिऊँला
सदाबहार भइदेऊ तिमी, ईश्वर भाकिदिऊँला । (फूल, पृष्ठ ः ३१)

‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’ भनेर दार्शनिक ओशोले मानिस नै देवता बन्न सक्ने कुरा गरे । तर हामी भने नयाँ नेपाल बनाउने सपना साँचेर बसेका छौँ । पुरानो नेपालको सही चिरफार नगरीकन नयाँ नेपाल निर्माण गर्न सक्दैनौँ । हामी नेपालीहरू विश्वका सबभन्दा गरिब, पछौटे, परनिर्भर हुनुमा जिम्मेवार को र किन हामीहरू देशभित्र रोजगारी नपाएर लाखौंँको सङ्ख्यामा विदेशतिर भौंतारिन वाध्य छौँ ? किन अहिले पनि हाम्रो दुर्ई तिहाई श्रमशक्ति कृषिक्षेत्रमा अल्झिएको छ र पनि विहान वेलुकाको छाक टार्न धौधौ छ ? बुझ्नुपर्छ कि हाम्रो औसत आर्थिक वृद्धिदर जनसङ्ख्या वृद्धिदरभन्दा माथि उठ्न नसकिरहेकोले हाम्रो टाउकोमाथि विदेशी ऋणको भार प्रति वर्ष थपिँदो छ तर हाम्रो गरिबी, बेरोजगारी, पछौटेपन, असमानता र परनिर्भरता टसको मस भएको छैन । यी सबै हुनुमा हाम्रो डरपोक भावना र दासमनोवृत्ति जिम्मेबार छ । अझै बहुसङ्ख्यक श्रमजीवी किसान, मजदुर र बेरोजगार युवाहरू चरम गरिबी, भोक, रोग, अशिक्षा र चौतर्फी उत्पीडनबाट ग्रसित छन् र पनि उठ्नुपर्ने ठाउँबाट उठ्न सकेका छैनन् । यसै माटोमा युगौंदेखि बसोवास गर्दै आइरहेका मधेसी, जनजाति, दलित, अल्पसङ्ख्यक र भाषिक समुदायहरू एकात्मक राज्यको चरम जातीय र भाषिक उत्पीडनको दर्द खेप्न वाध्य पारिएका छन् । देश यतिखेर शिशु गणतन्त्रलाई हुर्काउन व्यस्त भएको छ । गणतन्त्रले जताततै हर्षोल्लासको वातावरण छाएको छ । यस समयमा जनताको ठूलो आशा र भरोसाको केन्द्रविन्दु भनेको मेलमिलापको राजनीतिबाट जनताको संविधान निर्माण गर्नु हो । मिलेर निर्वाचनमा गयौ र गच्छेअनुरूप जनमतले विभुषित हुन पायौ, अब पनि मिलेर नै समस्याहरू पाखा लगाओ भनेर जनताहरू भन्दै छन् । देशलाई भडखारामा हाल्न पश्चगामी र यथास्थितिवादीहरू न्वारानदेखिको बल झिकेर लागिपरेका थिए र अहिले पनि केही हुन्न भनेर कानमा तेल हालेर बस्ने बेला छैन । यसै सवालमा दार्शनिक ओशोले सांस्कृतिक रूपान्तरण गर्न समय लाग्ने कुरा गर्दै भनेका छन्– ‘अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’ हामीकहाँ पनि असन्तोषका कुराहरू धेरै छन्, अभावका पोकापन्तेराहरू मनग्यै छन् तर सन्तुष्टि दिने आधारहरू पनि मनग्यै छन् । देशले स्थायी गति लिने कुराहरूमा जनताको नाममा हरेकले पटक पटक झुकेर कुरा गर्नुपर्छ भने पनि पछि पर्नुहुन्न । भिन्न मत भएकाहरूसँग हरेकले भन्न सक्नुपर्छ– जनताको नाममा मैले यति मात्र सकें अरू केही भए आऊ टेबलमा बसेर गुनासो पोखापोख गरौँ । चित्त नबुझे दाजु सम्झेर एक घुस्सा मलाई देऔला । म पनि भाइ सम्झेर सहूँला । म मेरो कुरामाथि पार्न अलिकति धकेलौँला । तिमी पनि दाइ सम्झेर कुरा खाँदै मलाई तल पार्न मानसिक कसरत गरौँला । अबको हाम्रो मनमुटाब भनेको घर भित्रका एउटै आमाका सन्तानहरू बीचको हो । दाजु–भाइ, दिदी–बहिनी बीचको हो, मैले अधिकार नदिए मेरो कान बटार्ने पूरा हक तिमीहरूलाई छ । हाम्रो लक्ष्य भनेको एउटै हो । हामी सबै मिलेर मुलुकका समस्याहरू निर्मूलको बाटोमा जाऔंँ । जनताको सच्चा सेवक बनेर मुहार देखाऔंँ । दुवै थरी दाजुभाइ, दुवै थरी दिदी–बहिनी मिलेर जनताको घर निर्माण गरौंँ । त्यस घरका प्रत्येक सामाग्री न तिम्रो चाहनाका हुन्छन्, न मेरो लिडे ढिपीका हुन्छन् । ती सामाग्री त जनताका चोखा र प्यारा भावना र सम्मानका हुन्छन् । तिमीले पनि जनतालाई गुरु मान्ने हो, मैले पनि जनतालाई शिरमा राखेर हिड्ने हो । मैले जनताको अधिकार दिन उही अहंकारीपन दर्शाएर कन्जुस्याइँ गरेँछु भने मलाई जनताले नै सात जुनीसम्म मुख नदेखाउने गरी कलंंकित पारिदिन्छन् । यसमा म विश्वस्त छु,, होसियार छु । त्यसैले मेरा प्यारा भाइ र बहिनीहरू आऊ, ए आदरणीय दाजु र दिदी आउनुहोस्, पौने तीन करोड जनता र १,४७,१८१ वर्ग कि.मी. यो माटोको उज्ज्वल भविष्यको लागि एकै स्थानमा चोखो मन लिएर उभियौँ । हामी एउटै रथमा बसेर गन्तव्य विन्दूतर्फ जाऔँ ।” अबका हरेक सरकार र हरेक नेतानेतृको बोली र व्यवहार यस्तै प्रकृतिको हुनुपर्नेमा एकले अर्कोलाई आन्दोलनमा हुत्याएर अनिष्ट निम्त्याइँदै छ । जनता गाँस, वास र कपासका लागि विदेशियका विदेसियै छन् । राजनीतिले दुर्गन्ध फ्याकेको फ्याकै छ । आफ्नो माटो मलिलो बनाउने चाहनामा कुठाराघात भएको छ ।

पराइ ठाउँ, पराइ मान्छे कठै भन्ने कोही
फर्की आऊ चाँडै घर आफ्नो खोरियाबारी खन्न ।

( फर्की आउनू, पृष्ठ ः ३४)

यता मधेशमा र पहाडमा लागेको समस्याको ढेरी हेरेर, देखेर र मनन गरेर काम हुनु आवश्यक छ । यो समय फुकिफुकी पाइला चाल्ने बेला हो । लहरो तान्दा पहरो गर्जेला भन्ने भय पनि आफ्नै ठाउँमा छ । आपसमा लडेर, नरसंहार गरेर देशले मुक्ति पाउँदैन । अब भने जनतालाई ओत दिएर सुरक्षा कवजको भूमिकामा रहेर भएका गल्तीलाई पश्चाताप गर्दै सबै वर्ग, सवै समुदायलाई संविधानभित्र अटाउँने व्यवस्था हुनु र गर्नु आवश्यक छ । एकपटक आफूलाई जति विश्वास गरिन्छ त्यति नै विश्वास अरूलाई पनि गरेर हेरौं भनेको त कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राख्दा पनि बांगाको बांगै भयो । अग्रगामी कदमका विरुद्धमा यस्तै धोका मिलेमा, पुनः शासकीय अहंकार भित्रिदै गएमा प्रत्येक नेपालीका घर घरबाट कुटो भेट्टाए कुटो, कोदालो भेट्टाए कोदालो, हँसिया भेट्टाए हँसिया लिएर अहंकारको समूल नष्टका लागि जाइ लाग्नुपर्ने दिन नआउलान् भन्न सकिन्न । देवता, भूत, गन्धर्व, किन्नर, प्रेत, पिचास, डंकिनी, घनघोर शब्दका साथ तारकासुर दैत्यमाथि जाई लागे झै जनताहरू जाई लाग्नुपर्ने दिन नआऊलान् भन्न सकिन्न । अतः सबै मिलेर संविधान बनाउँनु आवश्यक छ किनकि संविधान कुनै पार्टी विशेषको घोषणापत्र होइन । त्यसैले यो टुटेफुटेको कलम विनम्रताका साथ भन्छ–जनताको चह¥याइरहेको घाउमा मलहम पट्टी गर्ने दिशातर्फ ध्यान जानुपर्छ । अहंकार बाँच्न पाउँनु हुन्न । गणतन्त्र नेपालका शासकले यी कुराहरूलाई नबिर्सिदिए पनि जनताको हितमा संविधान बन्छ, बन्छ । घर भित्रका र घर बाहिरका हरेक वर्ग समुदायले आफ्नै चेतनाले काम गर्नु आवश्यक छ । हामीहरू उज्यालोका उपासक हौँ । हृदयदेखि नै मन, वचन र कर्मले राष्ट्रप्रति प्रेम दर्साउनेहरूको ताँती पनि हामीकहाँ लामै छ । अनुभव गरेका कुराबाट पाठ नसिक्नेहरू र सिकेकोे कुरा जनता र राष्ट्रको हितमा प्रवेश गराउन नसक्नेहरू जनताका नेतानेतृ होइनन् । कुनै पनि नेतानेतृबाट देशको विकास देखिँदैन भने जनताले त्यस्ता नेतानेतृलाई गुहे गल्लीमा मिल्काइदिन्छन् । राजनीतिले मुलुककोे छातीमा पीडामा पार्दैन, बरु परेको पीडा हटाउँछ । पीडा हुनेहरूलाई पनि खुखानुभूतिमा पुर्याउनु राजनीतिको काम हो । पटकपटक गल्ती गर्नेहरू र जनहित गर्न नसक्नेहरू नेतानेतृ बन्न सक्दैनन् । जनतालाई छटपटीमा पुर्याएर छोड्ने र अधकल्चो भविष्य सुम्पने नेतानेतृ होइनन्, मात्र पाखण्डी हुन् । त्यसैले त अचेलको राजनीतिले काम नगरेको देख्दा दार्शनिक ओशो राजनीतिको बारेमा भिन्न मत जाहेर गर्दै भन्छन्–‘राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरूमाथि विजय पाउनु छ, त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन खासमा राजनीति खासमा राजनीति नै रहने छैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ, त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रूपान्तरण हुनेछ ।’ कुनै तरिकाबाट परिवर्तन, मुक्ति र भविष्य जनतालाई नदिने राजनीति, राजनीति होइन । यस्तो राजनीतिको जन्म भए पनि पुनर्जन्म छैन । त्यो राजनीति स्वयम्का लागि पनि घातक अश्त्र मात्र हो । राजनीतिको पुच्छर समाएर डोहोरिँदा भड्खालामा पर्न सकिन्छ, त्यसै अाँखामा पट्टी बाँधेर मायाको पछि लाग्दा अनिष्ट निम्तन सक्छ ।

एकोहोरिएर पछि लाग्दा पराइसँगै उनी जाँदा
बेचैन छ मन मेरो निष्ठुरीले बाटो मोडिदिँदा ।

(फुलेको फूल, पृष्ठ ः ३३)

माया न्यायमा बस्नेहरूले पाउँछन् तर प्रशासन मायाले चल्दैन । जब माया, मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ । नियमको प्रशासन विनाको काम मियो विनाको दाइँझैं हुन्छ । यस सत्यलाई कसैले भुल्न सक्दैन । मायाको प्रशासनले हामीलाई गरिब तुल्याएको छ । दार्शनिक ओशो गरिबीको बारेमा भन्छन्–‘गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।’ दृष्टिपरिवर्तन आफ्नै खुट्टामा बन्चरो हानेर आउने हैन । परिवर्तन आप्mनै गाँस र वास संकटमा राखेर, रोजीरोटी गुमाएर पाइने हैन । एउटै हत्केलाका औंलाहरू त समान हुँदैनन्, एकै आमा–बुवाका सन्तान त समान स्वरूप र स्वभावका हुँदैनन् भने एक देशका अनेकन जनतामा समान विचार, समान आकांक्षा र समान कार्यशैली भेट्नु आकाशको फल आँखा तरी मर भने सरह हुन्छ । आफैले गरेको कर्म आफ्नै भविष्यका लागि कत्तिको हितकारी छ, त्यसको लेखाजोखा गर्न सकिएन भने केही गर्नु भनेको अँध्यारोमा बन्दुक हानेजस्तो हुन्छ । राजनीतिको माया र व्यक्ति विशेषको माया बीच गहिरो अन्तर छ । एकको झुकाव मुलुकको हितको लागि हो भने अर्को वैयक्तिक सुखको लागि हो ।

यो साल यस्तै भो, छोरालाई हेरेर चित्त बुझाऊ
रातदिन सम्झीसम्झी भुँइमा आँसु नखसाऊ । (जीवनसाथी, पृष्ठ ः ३०)

मुलुकको चौतर्फी पक्षको समुन्नतिमा देशका हर्ताकर्ता नलागीकन पूरातनवादी यथास्थितिलाई नै मलजल गर्दै हिंडे भने विद्रोहका हातहरू उठ्नेछन् । परिवर्तनको गीत गाउँने गायकहरू थपिनेछन् । चट्टानझैं शक्तिशाली छाती पारेर युगौंदेखिको पुरानो पर्दा च्यातचुत पार्नेछन् । यस महाअभियानको बाटामा तगारो बन्नेहरूले प्रायश्चित गर्ने शब्द र भाग्ने बाटाहरू पाउनेछैनन् । स्वार्थको घैला भर्नेहरू धेरै छन् समाजमा । तिनीहरूको मुखमा बुझो लगाउन पनि हार स्वीकार्नु हुन्न । समाजमा त्यस्ता विकृत स्वरूपको मुखमा कालोमोसो दलेर विजयोत्सव मनाउने कार्यतर्फ अग्रसर हुनु जरुरी छ । अहिले बलियो कानृ्नको अभाब भएको यो अवस्थामा सामन्तहरूले मनपर्दी शोषण गरिरहेका छन् । आधा आकाश ढाकेका भनिएका अर्थात् आधा धर्ती ओगटेर रहेका महिलाहरू झन् पितृसत्तात्मक शोषणको जाँतोमुनि पिसिँंदै आएका छन् र मुक्तिसंग्राममा खरो गरी उत्रने जमर्को गरिरहेछन् । हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने दलितहरू मनुवादी छुवाछुत प्रथाबाट र मुस्लिमहरू हिन्दू लगायत अन्यको धार्मिक अहङ्कारवादबाट पीडित छन् । तराई र पहाडले कर्णाली, सेती–महाकाली र हिमाली भेगमा बसोवास गर्नेहरूको चरम क्षेत्रीय उत्पीडनलाई बुझिदिन सकेका छैनन् । ‘तिमीभित्र जुन चेतना छ, त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ, त्यसकै प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो, मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।’ भनेर दार्शनिक ओशोले राजनीति सप्रदा सबै कुरा ठीक हुने कुराको संकेत गरेका छन् । राजनीतिले अहंकार थपिदिन सक्छ, धोका दिन सक्छ । प्रेममा धोका पाएकाहरूको भने मनको पीडा गीतले राम्ररी व्यक्त गर्छ । प्रेममा धोका पाएकाहरूका लागि अतित अति प्रिय हुन्छ । अतितलाई सम्झेर वर्तमानमा ज्युनु नै दिनचर्या हुन जान्छ ।

बिर्सनेलाई सम्झीसम्झी मन उढी उतै जान्छ
कल्पनाले तान्दैतान्दै अतिततिर लान्छ । (भूतपूर्व मायालु, पृष्ठ ः ३७)

हामी तर्सन्छौँ । प्राण प्रिय ठानेर नानाभाँती गछौँ । तर त्यही प्राणलाई जीवन्त राख्न भुसुक्कै भुल्छौँ । यसै सवालमा दार्शनिक ओशोको कथन छ– ‘मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ, तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो ? मर्यो ? तन्नेरी थियौ, अब बूढो भयौ । त्यो तन्नेरी कहाँ मर्यो त ? जसरी मानिसको उमेरअनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।’ यसरी दुःख पनि छैन, मृत्यु पनि छैन । तसर्थ किन समुद्धशाली भएर यो दुःखको अध्यायको अन्त नगर्ने ? अब एउटा यस्तो अध्यायको कुरा गरौँ कि जुन अध्याय हामीले कहिल्यै सुरुवात गर्नै पाएका थिएनौँ । त्यस्ता अध्याय सुरु गर्नेहरू विश्वमा औँलामा गन्न सकिने अवस्थामा छन् । उनीहरूलाई दुनियाँ जगत्को लोभ–लालच, ईष्र्या–द्धेष, अहंकार–पाखण्ड आदित्यादिको त्यत्रो प्रवाह छैन । जरुरतको महसुस पनि छैन । श्रम नै ईश्वर हो, सुख हो, शान्ति हो, कान्ति हो र जीवनको सम्पूर्णता हो । यही र यस्तै भावनाले ओतप्रोत छन् उनीहरू । ईष्र्या र अहंकार कुन चरीको नाम हो त्यस पुस्ताले बिर्सेको छ । ‘पुरुष एक प्रकारको सतह हो, जहाँ सक्रियता छ, आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो, जहाँ सबै मौन र शान्त छ । तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ, स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु, स्त्री केन्द्रमा छ, पुरुष परीधिमा छ ।’ भन्ने दार्शनिक ओशो कथन सम्झदै पुरुषस्त्री दुबैको देनबाट नै हामी समृद्धशाली बनेर आफ्नो गन्तब्यमा पुग्न सक्छौँ । हुनुपर्ने हो यस्तो तर विदेशी सागरको मोती खोज्दा विचल्नीमा पर्नु परेको यथार्थ हाम्रा सामु छ ।

बीच बाटोमा नै हराएँछु क्षितिज पर जान खोज्दा
विचल्नीमा परेँ म त सागरको मोती रोज्दा । (आफूभन्दा प्यारो माया, पृष्ठ ः ३६)

यस्तै मनोकांक्षा बोकेका गीतकार केदार श्रेष्ठ ‘गगन’ ‘क्षितिज पर’ गीत संग्रहमा दूरदृष्टि राख्न पनि पछि परेका छैनन् । आशे मनस्थिति बनाउँने क्रममा उदाहरणका लागि धेरै शब्दहरू लाइनमा रहलान्, लामबद्ध होलान् । अब भने शब्दको विस्कुन आफ्नै माटोमा फिँजारूँ । हाम्रो साझा इच्छा र आकांक्षाको गन्तव्यपथ पत्ता लगाऔँ । त्यस पछि भने एउटा सूर्य जन्माऔँ, जसले विश्वमा चमत्कार थपोस् । विश्व नै धन्य, धन्य बनोस् । आभार प्रकट गर्न वाध्य बनोस् । नरमुण्ड माला लगाएर सिंहनाद गरिरहेका मानवको रूपमा देखिएका दानवहरू तीनमुर्छा परून् र पुनः त्यही रूपमा कहिल्यै जागा नहून् । व्युँझाइ हुन्छ नै भने सक्कली मान्छेका रूपमा व्युँझाइ होस् । त्यस्तो इतिहास रचियोस्, जुन इतिहास आजसम्म रच्नै पाइएको छैन । त्यस्तो यात्रा बनोस्, जुन यात्रा आजसम्म कल्पनामा मात्र सीमित छ । त्यस्तो गन्तव्य बनोस्, त्यस्तो गन्तव्यको यात्रा आजसम्म किटान गरिएकै छैन । त्यो सूर्र्यको तेजले संसारका दुष्ट्याइँ पारखीहरूका गालामा थप्पड जाओस् । इमान र जमान हुनेहरूका मनमा उत्साह र उमङ्ग अझ उम्रियोस् । विग्रेकाहरू सप्रून्, सप्रेकाहरू मौलाऊन् । निधाएकाहरू जागून्, जागेकाहरू ठम्ठम्ती प्रगतिपथमा लागून् । त्यस सूर्यले असल मनमा आश उमारोस्, कलुषित मनमा त्रास उमारोस् । एक हितपछि अर्को हित देखियोस् । एक सुख पछि अर्को सुख देखियोस् । सच्चा पाखुरीको कदर होस्, सच्चा मनलाई पक्का बनाओस् । भद्दा मनलाई उत्साहित हुने दबाई खुवाओस्, कालो मनलाई सजायको दायरामा राखोस् । सप्रने मनलाई सपारोस्, नसप्रनेलाई दवाको दवाई पारोस् । कानूनको दूरदृृष्टि सर्वत्र फैलाओस् । इमान्दारी र परिश्रमी हातहरू चुमोस्, गद्दारी र अप्रिय पाइलाहरू सदाको लागि मेटाओस् । यसरी समृद्ध नेपाल बनोस् र गर्वले छाती ढक्क फुलाउँदै विश्वमा शिर उच्च पार्न पाएयोस् । यस्तै मनोकांक्षाले कलम चलाउन जागरुक युवा गीतकार केदार श्रेष्ठ ‘गगन’ को ‘क्षितिज पर’ २०६५ मा प्रकाशित गीत संग्रह भएको भए पनि ‘जिन्दगीका अनुभूतिहरू’ र ‘सपनाको संसारबाट नियाल्दा’ नाम गरेका अरू दुई कविता र गीत संग्रह प्रकाशन भइसकेका छन् । कठोर जीवनको अनुभूतिबाट जन्मेका कोमल शब्दहरूको माला उन्ने गतिलो प्रयास गीतकारबाट भएको छ । जति पीडा, दुःखका क्षणहरू जन्मन्छन् ती सबै कुरूप राजनीतिले जन्माएको हो । विशेष गरी मायाको संसारका कुरा समेटिएको ‘क्षितिज पर’ गीति संग्रह राजनीतिकै उपज हो । स्वदेशमा नै रोजगार पाइने हो भने विदेसिएर किन विरह र व्यथा समेट्ने अवस्था आउँथ्यो ? ‘त्यहीँ (विदेशमा) भोगेका, देखेका र सुनेका कुराहरूलाई मैले सर्लक्क जस्ताको तस्तै पोख्ने प्रयास गरेको छु, गीतका अवयवहरू प्रयोग गरेर’ भनेर गीतकारले किन भूमिकामा लेख्नुपथ्र्यो ? यसरी विशेष गरी गीत र कविता विधामा सशक्तरूपले कलम चलाउँदै आएका स्रष्टा केदार श्रेष्ठ ‘गगन’ बलियो कलम बनाउन उन्मुख साहित्यकारका रूपमा देखिएका छन् ।

तपेश्वरी–१, गल्फडिया, उदयपुर

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 फागुन, 2066

लेखकका अन्य रचनाहरु