नमुना नियात्रा 'ग्रेटवालको ग्रेट अनुभूति'

- रमण घिमिरे

केही वर्षयता नियात्रा लेखन साहित्यकै रुचिकर विषय भएको छ । राम्रा नियात्राले यस विधालाई पठनीय मात्र होइन, ग्रहणीय र संग्रहणीय पनि बनाएका छन् । तर, यस्ता हस्ताक्षरहरू सारै थोरै छन् । अधिकांश नियात्राकारका पट्यारलाग्दा प्रस्तुति र रछ्याने वर्णनले यो विधा सिकारु र अशक्त कलमजीवीहरूको अखडाजस्तो बन्न गएको छ । यसले गर्दा रुचिकर हुँदाहुँदै पनि यो निरसतामा सीमित हुन थालेको छ ।

तर, पछिल्लो समय साझा प्रकाशनद्वारा प्रकाशित डा. रवीन्द्र पाण्डेको 'ग्रेटवालको ग्रेट अनभूति' आद्योपान्त छिचोलेपछि यस विधाबाट आशा मारिहाल्नुपर्ने अवस्था नरहेको अनुभव गर्न सकिन्छ । हुन त उनले पनि रक्सी र षोडषीहरूसँग मिसिएका रसिक कुराहरू धेरै ठाउँ गरेका छन् तर उनले यसलाई तर्क दिएर चित्त बुझाउन बाध्य पारेका छन् । तर्क राम्रो छ, नियात्रामा पाठकलाई नढाँट्ने किरिया खान सक्नुपर्छ । यस अर्थमा यी कुराहरू प्रासांगिक छन् पनि ।

तर, नियात्राको चुरो कुरा यी भन्दा भिन्न छन् र सारगर्वित पनि । उनका भाषा र प्रस्तुतिमा मिसिएर आउने सामान्य वर्णन पनि कतैकतै सारै शक्तिशाली लाग्छन् । यात्रामा भेटिएका मित्रहरूसँग फेरि भेट हुने सम्भावना थोरै रहन्छ । यही कुरोमा उनकी एक षोडषी मित्रले आँखाभरि वियोगान्त आँसु भरेर फेरि भेट नहुने विरह गाउँछे । अनि लेखक भन्छन्, 'पुलु ! माथि आकाशमा हेर त, तिमी र म जहाँ भए पनि चन्द्रमा एउटै हो । जूनेली रातमा तिमीले चन्द्रमा हेर्नू, म पनि चन्द्रमा हेर्छु, हामी अब जूनमा भेट्ने छौँ, .....पुलुलाई समात्दै आफैँ नसमालिएको मैले जूनतिर हेरेँ । जूनभित्र मैले आफ्नो घर देखेँ, परिवार देखेँ, समाज देखेँ, सगरमाथा देखेँ, लुम्बिनी देखेँ, पशुपतिनाथ देखेँ र स्वयम्भू देखेँ । र, मनमनै कल्पना गरेँ, म पनि मेरो प्यारो देशबाट जूनमा देखिएको छु होला ।'

उनले आफ्नो विधाको तालिमका सिलसिलामा तीन महिनाको बेइजिङ् बसाइमा घुमेका ठाउँहरू, देखेका दृश्यहरू र बुझेका मान्छेहरूको चित्रण यसरी गरेका छन्, पाठक आफैँ पुगेको, देखेको र बुझेको अनुभव गर्न पुग्छ । उनले वाङ् फू चिङ, तियानमेन स्क्वायर, समर प्यालेस, लोटस् टेम्पल, बेइजिङ् युनिभर्सिटी, बोटानिकल गार्डेन, वेहाई पार्क, आइसलेट, टेम्पल अफ हेभेनमा फन्को मारेर मिहिन जानकारी दिएका छन् । ती स्थल र सम्पदाहरूको तिथिमितिसहित टिपेर सानोतिनो इतिहास नै उल्लेख गरेका छन् । यस अर्थमा यो सोझो यात्रा वर्णन मात्र होइन, एउटा सानोतिनो 'गाइड बुक' पनि हो । जति घ्याम्पो दारुपानी खाए पनि र जति नै ठिटीहरूसँग इत्रिए पनि उनको यात्रामा यी कुराहरू कहीँ पनि कोल्टे परेका छैनन्, न त छेकिएकै छन् । र, नियात्राका १६ वटा लेखका ८४ वटा पृष्ठका हरेक लेखमा उनले मीठा र रसिक प्रसङ्गहरूसँगै गम्भीर कुराहरू पनि भनेको छन् । यी कुराहरू सबैभन्दा महत्त्वपूर्ण छन् ।

उदाहरणका लागि उनी एउटा खण्डहर बगैँचामा घुमेपछि आफ्नो मित्रलाई सम्बोधन गर्दै भन्छन्, 'लुओ ! मेरो देश पनि अहिले यही खण्डहर बगैँचाजस्तो भको छ । देश र जनताको नाममा हत्याको खेती चलिरहेको छ, अर्बौंको भौतिक संरचनाहरू ध्वस्त भइरहेका छन् ।' हरेक विषयमा उनी प्रासाङ्गिक छन् । उनले उल्लेख गरेका कुनै पनि घटना या सन्दर्भहरू त्यत्तिकै पन्ना भर्न आएका हुँदैनन् । वाङ् फु चिङ् घुम्दै जाँदा उनले राजा महेन्द्र र बीपी कोइरालाको तस्बिर देख्छन् । महेन्द्रले ढाका र बीपीले भादगाउँले टोपी लगाएका हुन्छन् । यो देखेर उनीभित्र सुषुप्त बाँचेको राष्ट्रवाद एकैचोटि उम्लेर पोखिन्छ आँखाबाट । उनी एउटा ह्याट भिरेर अर्कोतिर लाग्छन् सायद आँसु पुछ्दै ।

यसरी उनले चीनमा रहँदा धेरैपल्ट नेपाल सम्झेका छन्, भावबिह्वल भएर । कसैसँग एक मिनेट प्रेम गरेका छन्, कसैसँग रक्सीको नसामा दिनभरि घुमेका छन् । तर, नेपालको प्रसङ्ग आउँदा ठिट्यौले ठट्टाहरूलाई समर प्यालेस तलको तालमा बगाएर गम्भीर बहस गरेका छन् । उनीसँगै तालिममा आएका कैयौँ राष्ट्रका प्रतिनिधिहरूको भ्रमको धरालतमा बास गरेको तिब्बत चीनको र लुम्बिनी भारतको हो भन्ने कुरालाई उनले मज्जाले सच्याएका छन् ।

'ग्रेटवालको ग्रेट अनभूति'मा डा. रवीन्द्र समीरको भाषा र प्रस्तुतिबाहेक गर्व गर्न सकिने यस्ता धेरै हरफहरू छन् । वास्तवमा पाठकलाई बेइजिङ्को भ्रमण गराउने कुरा आफ्नो ठाउँमा छँदै छ, एउटा लेखकले रोचक नियात्रा लेख्नु पनि आफ्नो ठाउँमा छँदैछ । तर, समीरले यात्रा गराउँदै आफ्नो देशलाई यति भावनात्मक रूपमा स्मरण गरेका छन् । उनका कतिपय पंक्तिहरूले बालकृष्ण समले मुकुन्द-इन्दिरामा लेखेको यो पंक्तिको सम्झना हुन्छ- 'देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।'

नाम: ग्रेटवालको ग्रेट अनुभूति
लेखक: डा. रवीन्द्र समीर
विधा: नियात्रा संग्रह
प्रकाशक: साझा प्रकाशन
मूल्य: रु. १७५
पृष्ठ: ८४

कान्तिपुरबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 फागुन, 2066

लेखकका अन्य रचनाहरु