टेरलिनको सर्ट र काठमाडौको जाडो

- नरनाथ लुइँटेल

काठमाडौको खाल्टोमा पुस गएर माघ लागिसकेको छ । तीनचार वर्षपछि काठमाडौले यसपाली माघे झरीलाई स्वागत ग¥यो । चिसो निकै बढेको छ । कुहिरोको वाक्लो परतभित्र पुरिएको वातावरणमा म विहानभरि सिरकको साथ पाएर निमग्न छु । बाक्लो कुहिरोभित्र काठमाडौँंको जनजीवन चलायमान भएजस्तै मभित्र पूर्वस्मृतिका छायाचित्रहरू चलमलाई रहेका छन् । काठमाडौँलाई हुस्सुले छोपेजस्तै मेरो अन्तस्चेतनालाई पूर्वस्मृतिका दृश्यहरूको बाक्लो बर्कोले छोपिदिन्छ । यो बर्को अहिले मैले ओढ्ने गरेको सिरकभन्दा धेरै बाक्लो महसूस भइरहेको छ । म बर्कोलाई ओर्काइफर्काइ पार्छु, पत्रैपत्र छामिइरहेछन् र प्रत्येक पत्रमा मेरो आफ्नै यथार्थ टपक्क टाँसिएको छ, गाँसिएको छ । विगतका केस्रा कोट्याउँदा अरुअरुलाई कस्तो लाग्छ कुन्नि, मलाई भने साँच्चि नै भिन्दैखालको मीठो, बेग्लै खालको स्वादिलो अनुभूति भइरहेको छ । यही अनुभूतिलाई अक्षरहरूमा अनुवाद गरी म सार्वजनिक गरिरहेछु । सायद अनुभूतिहरूको आदानप्रदान भनेको पनि यही हो क्यारे !

आजभन्दा डेढ दशक र दुईवर्ष अर्थात् अठार बर्ष अघिको एउटा सम्झना केस्रो अहिले मेरो मानसमा सर्वथा चम्किलो भएर आइरहेको छ । वि.सं. ०३८, ०३९ र ०४० का तीनवटा माघ मैले काठमाडौँंमा बिताएको थिएँ । मैले कम्युनिष्ट राजनीतिलाई भावनात्मक रुपले सबभन्दा बलियोसँग समात्न सिकेकोे अवधि पनि त्यही हो । साहित्यसम्बन्धी मेरो छिपछिपे अभिरुचिले गभ्भीर रुप ग्रहण गर्न थालेको अवधि पनि त्यही हो । आर्थिक रुपले अत्यन्त कहाली लाग्दो स्थितिसँग विना संझौता व्यतित गरेका ती तीन वर्ष मेरो जीवनमा सर्वथा अविस्मरणीय रहेका छन् । तिनै तीन वर्षले मलाई आजसम्म मात्र होइन, भोलिका दिनहरूमा आउनसक्ने अप्ठेराहरूसँग पौंठेजोरी खेल्न उर्जा दिइरहने छन् । यसर्थ पनि ती तीन वर्ष मेरो भावी जीवनका अरु अनगिन्ती वर्षहरूको पृष्ठपोषक बनेका छन् ।

खासमा म उच्च शिक्षा अध्ययनका निम्ति अत्यन्त प्रतिकुल अवस्थामा राजधानी पसेको थिएँ । कलिलो मष्तिष्कले सोचेको थियो– उच्च शिक्षा अध्ययन गर्न खर्च निकै चाहिन्छ । त्यो खर्च सुदूरपूर्वको मेरो घरले दिने सक्ने स्थिति थिएन अनि मैले घरबाट कुनै आशा वा अपेक्षा गरेको पनि थिइनँ । केही समय आर्जनको मेलो गरी आवश्यक खर्च जुटाएर क्याम्पस पढ्ने उद्देश्यले दाजु र आमासँग अनुमति नै लिएर २०३६ साल पुसमा म घरबाट बाहिरिएको थिएँ । ०३६ पुसदेखि ०३८ फागुनसम्म धादिङस्थित दक्षिणी क्षेत्रको अत्यन्तै विकट एउटा ग्रामीण वस्तीको प्राथमिक विद्यालयमा शिक्षण कार्यमा संलग्न रहें । सोचे जस्तो कहाँ हुन्छ र फेरि ! प्र.अ. भत्ता समेत त्यो बेलाको रु. १८५।– र केही महिनापछि परिवर्तित रु. २८५।– मासिक पारिश्रमिक त सदरमुकाम आउँदाजाँदा एवं खानपिन गर्दा नै समाप्त हुँदोरहेछ । क्यै गरे पनि कानो–कौडी बच्न नसकेको पिरलोले औधी पेल्न थाल्यो । अचाक्ली नै पेलेपछि जे त होला भन्दै अस्थायी शिक्षण पेशालाई राजीनामा गरी म काठमाडौँ हामफालें ।

धादिङको बसाइमा चिनजान भएका दुई/चार जना साथीहरू बाहेक राजधानीको भीडमा मैले अरु कसैलाई चिनेको थिइनँ, अरु कसैले पनि मलाई चिनेका थिएनन् । काठमाडौँं पस्ता मेरो साथमा ४।५ सय रुपैयाँ र एउटा सुर्काने झोला (गाँठो पारेर प्लाष्टिकको डोरीले थैली आकारमा मुख सुरुक्क पारी पिठ्यूँमा बोक्ने झोला– त्यो बेला यो निकै सस्तोमा पाइन्थ्यो र प्रचलित पनि थियो) मात्रै थियो । यो लुखुरे केटो के आँटले उपत्यका छिरेको हँ ! यो प्रश्न अहिले पनि आफैंसित बेलाबेला तेर्सिने गर्छ । वागबजारको (हालको खसीबजार उत्तरतर्फ) चेपोभित्र पुष्प कँडेलको डेरा थियो । पुष्प त्यतिखेर शंकरदेव क्याम्पसको वि.कम्. अन्तिम वर्षको विद्यार्थी हुनुहुन्थ्यो सायद । उहाँकै डेरामा धादिङतिरकै गिरिराज कँडेल (पुष्प कँडेलको भाइ), सदानन्द कँडेल, सिताराम दुवाडी र सीताराम पाण्डेहरू पनि आश्रय लिएर बसेका थिए । पूर्व परिचयको झिनो नाता समातेर म पनि छिरें पुष्पको डेरामा । पुष्पकै न्यानो आश्रयमा आठ/दश दिन गुजारियो । सिर्फ एउटा कोठामा त्यति धेरैजनाको बास सम्भव छँदै थिएन । केही दिनपछि नै मैले सीताराम दुवाडीको साथ लागेर एउटा अत्यन्तै सस्तो कोठा खोजी सुर्काने झोला बिसाएँ । मेरो पहिलो डेरा पुतलीसडक (हाल निमा फोटोकपिको पछाडिपट्टि) थियो । करिब दुई महिना जति त्यहाँ बसियो होला । पढाइ महेन्द्ररत्न क्याम्पस ताहाचलमा, बसाई पुतलीसडक । केही आवश्यक सामानको जाहो, कोठाभाडा, क्याम्पसको पहिलो किस्ता शुल्क, केही नोटकपीहरू आदि यसो त्यसो गर्दा मेरो खल्तीको नगद निख्रियो । राजधानीमा बसेर आइ.एड् पढ्न २४ महिना व्यतित गर्नुछ, अहिले त भर्खर पहिलो महिना मात्रे बितेको थियो ।

कुनै एकपटक धादिङबाट काठमाडौ आउँदा नौविसेमाथि मोटर बिग्रेर पैदल केहीबेर हिंड्ने क्रममा धादिङकै दुई जना आफूजस्तै युवाहरूसँग परिचय भएको थियो– उहाँहरू हुनुहुन्छ शुक्ल उप्रेती र इन्द्र खरेल । खरेल कानुनको पढाइसकेर एउटा ल फर्ममा काम गर्दै हुनुहुन्थ्यो– वागबजारमै कतै भेट भयो । त्यो भेटमा इन्द्र खरेलसँग सामान्य भलाकुसारीका साथै आफू धादिङको शिक्षण पेसा छोडेर पढ्ने उद्धेश्यले काठमाडौँं पसेको बताएँ । अनि वहाँसँग पढाइ खर्च जुटाउने उपायको बारेमा पनि सामान्य छलफल भएको थियो । केही दिनमै एउटा सोह्रसत्र वर्षे मनाङ्गे ठिटोलाई नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकाउने अवसर इन्द्र खरेलमार्पmत् मैले प्राप्त गरें । त्यसबापत मासिक तीन सय रुपैंया प्राप्त हुने भयो । ट्युसनबाट प्राप्त हुने त्यो मासिक तीन सय रुपैयाँ अहिलेको तीन लाखभन्दा पनि धेरै लागिरहेको छ मलाई । म धेरै आश्वस्त भएँ । मेरो दैनिकी बन्यो– विहान ७ बजेदेखि ९ बजेसम्म ट्युसन, त्यसपछि क्याम्पस, अनि डेरा । यो क्रम मेरो काठमाडौँं बसाईको पछिल्लो चरणसम्मै तन्किएको थियो । साढे दुई वर्षको अवधिमा पाँच ठाउँ डेरा सरेको सम्झना मेटिएको छैन । त्यसमध्येको पछिल्लो बसाई ठँहिटीस्थित लक्ष्मी श्रेष्ठको घरमा सबभन्दा बढी बसियो । डेरा सराइसँगै कोठेसाथीहरू (रुम पार्टनर) पनि परिवर्तित हुँदै जान्थे । जम्माजम्मीमा त्यो बेलाको डेरा बसाईका मेरा मित्रहरू हुन् सिताराम दुवाडी, सिताराम पाण्डे, लीलाराज कार्की, मिलन के.सी.(देवराज कार्की), भरत अधिकारी, भवानी सिंखडा र रमा कँडेल । उनीहरूसँगको बसाईले पनि मेरा प्रतिकुलताहरू अनुकुलतामा फेरिएको मीठो अनुभूति मलाई आजसम्म भइरहेको छ र सधंैसधैं भइरहने छ ।

आज प्रिय साथीहरूको स्नेहपूर्ण न्यानोको जतिजति सम्झना भइरहेको छ त्यतित्यति नै मलाई काठमाडौ बसाईका तीनवटा माघको चिसो सिरेटोको पनि सम्झना तीब्र भइरहेको छ । म उपत्यका छिर्दा गर्मीको मौसम शुरु भइसकेको थियो । जीउमा एकसरो लुगा छँदै थियो, नयाँ कपडा जोहो गर्न मलाई मेरो अर्थतन्त्रले दिइरहेको थिएन । कोठाभाडा, क्याम्पसको शुल्क, कपि–किताब र भान्सामा हुने सामूहिक खर्चको आफ्नो हिस्सा पूर्ताल गर्न मेरो ट्युसनको मासिक आम्दानी अपर्याप्त थियो । कुनैकुनै महिना त दश वीस रुपैयाँ नाघिहाल्थ्यो तर सहृदयी साथीहरू मलाई माफी मिनाह दिन हिचकिचाउँदैनथे । यस्तो अवस्थामा जाडो छल्ने न्यानो ज्याकेट वा स्वेटरको कल्पना गर्नु पनि मेरा निम्ति निरर्थक हुन्थ्यो । यसै बीच काठमाडौको माघसँग मेरो पहिलो घम्साघम्सी आरम्भ भयो । कोठा बाहिर निस्कँदा लाउन हुने किसिमको मसँग एउटा सर्ट र एउटा पेन्ट थियो । सर्ट दुई वर्ष पुरानो, कालो चेक कलरमा– कपडाको जात थियो टेरलिङ– गर्मी मौसममा बढ्ता तातो दिने अनि जाडो मौसममा बढी नै चिसो प्रदान गर्ने । पेन्ट चाहिँ निखुर कालो थियो र जातले पोलिष्टर । अनि धादिङको ग्रामीण गुरुङ साथीले मित्रताको चिनोस्वरुप मलाई दिएको पुरानो एउटा स्टकोट थियो । बस् यति कपडाले उपत्यकाको जाडोसँग पौठेजोरी खेल्नु चानचुने कुरो छँदै थिएन ।

यहाँको चिसोको आक्रमणको पहिलो स्पर्श मैले कार्तिकको अन्त्यतिरै एकपटक गरिसकेको थिएँ । काठमाडौँका ठूल्ठूला होटल रेष्टु«राँतिर तिहारमा चिठ्ठी लेखिलेखी देउसी खेल्ने प्रचलन रहेछ । विद्यार्थी संगठनको नाममा २५।३० जनाको देउसे टोलीमा संलग्न भएर म पहिलोपटक सोल्टी होटलको प्राङ्गण टेक्न पुगेको थिएँ । बेलुकीको जाडो थेग्नै नसकेर देउसे टोली सोल्टी होटलबाटै राती पौन ९ बजेतिर तितरबितर भयो । त्यो बेलाको काठमाडौँमा राती दश बजेसम्म पनि रुटका नगरबसहरू पाइन्थे । धेरैजसो साथीहरू कालीमाटीबाट रुट मिल्ने बस चढेर फर्किए । तर ठँहिटी पुग्न हाम्रो बसरुट थिएन । लीलाराज कार्की, भरत अधिकारी र म समेत हामी तीनजनाले कालीमाटीबाट ठँहिटीको निम्ति पैदलयात्रा चलायौं । टंकेश्वरबाट विष्णुमतिको पुरानो पुल, भीमसेनस्थान, काष्ठमण्डप, नरदेवी, छेत्रपाटी हुँदै ठँहिटी पुग्नु थियो । हामी जब विष्णुमतिको पुरानो पुल उक्लियौं तब दक्षिणतिरबाट आएको अतिसय चिसो सिरेटोलेले नराम्रोसँग हामीलाई हिर्कायो । मलाई टेरलिनको सर्ट छिचोलेर कुनै तीखा तीरहरूले मुटु नै छेडेको हो कि जस्तो लाग्यो । म जाडोदेखि जीवनमा पहिलोपटक त्यसरी तर्सेको थिएँ । कार्तिक अन्ततिरैको रात त यस्तो छ भने मङ्सिरपछि आउने पुस र माघ झन् कस्तो होला ! अत्यन्त आतङ्कग्रस्त मनस्थितिका साथ म थरथर काम्दै ठँहिटीको कोठाभित्र छिरें । त्यतिबेला रातको करिव दश सवा दश बजेको थियो ।

जतिसुकै चिसो जाडो भए पनि भूइँ र भित्तामा माटो लपेटिएको हुँदा ठँहिटीको त्यो कोठा न्यानो थियो । त्योभन्दा पनि बढी कोठेसाथीहरू बीचको आपसी सम्बन्ध र समझदारी अत्यन्त न्यानो थियो । यद्यपि मेरो निम्ति त्यो न्यानोले मात्र नथेग्ने कुरो अर्कै थियो । विहान ६ बजे नै उठेर हिउँजस्तो चिसो पानीले हातमुख धोइ ठँहिटीबाट ठमेल, राजदरवारको दक्षिणढोका, जयनेपाल सिनेमा हल, कृष्णपाउरोटी भण्डार हँुदै कमलपोखरीस्थित मनाङ्गे ठिटोको आवास पुग्दा सात बजिसकेको हुन्थ्यो । सनिवार बाहेक हरेक दिन विहानको मेरो यो यात्रा सिरिफ त्यो टेरलिनको सर्टमा मैले चलाएँ कसरी ? कहालीलाग्दो त्यो यथार्थ आज सम्झँदा मलाई न्यानोन्यानो अनुभूति भइरहेको छ । मन जतिसुकै आतङ्कित भए पनि, आखिर त्यो वर्षको पुस आइछाड्यो, माघ आइछाड्यो । मैले राम्रैसँग लाप्पा खेलें, त्यसलाई उछिनें र मैलें जितें । कुनै न्यानो स्वेटर वा ज्याकेट बिना नै मैले राजधानीको पहिलो हिउँदलाई सगौरव बिदा गरिदिएको थिएँ ।

क्याम्पस चलिरह्यो, क्याम्पसको विद्यार्थी राजनीति पनि चलिरह्यो । येनकेन गर्दै त्यस वर्षको बर्खा पनि बित्यो र बिस्तारै दशैं आयो । राजधानी बाहिरबाट आएका विद्यार्थीहरूलाई घरले बोलायो । पूर्वतिरका साथीहरूको साथ लागेर निकै अप्ठेरो झेल्दै म दशैंमा आफ्नो घर झापा पुगें । दुई वर्ष अघिकै कपडामा आफ्नो छोरोलाई देख्दा आमाको मन त हो, कटक्कै काटिएछ । रुँदै आमाले सोध्नुभयो– “काठमाडौँँमा बसेर तँ कसरी पढ्दैछस् छोरा ?” आमाको यो प्रश्नको जवाफमा म निशब्द । धेरैबेरसम्म हिक्का मात्रै छुटिरह्यो । दशैं मानेर पुनः काठमाण्डौं फर्किनुभन्दा अघिल्लो दिन निकै ठूलो आशा र भरोषाका साथ केही खर्चका निम्ति मेरा सहोदर पिताजीसँग मैले याचना गरें । अहँ, ढुङ्गो बोल्ला मेरा पिताजी बोल्नु भएन, धर्ती फाट्ला तर पिताजीको मन फाटेन । पिताजीसँग मैले गरेको यो याचना नै मेरो जीवनको प्रथम र अन्तिम याचना थियो । त्यसपछि मैले कहिल्यै यो बेअर्थका गल्ती दोहो¥याइन पनि । काठमाडौँ हिंड्ने दिन विहान आमाले एउटा घुर्मैलो रङ्गको टेलिकटनको सर्ट र सापट काडेर ७५ रुपैयाँ मेरो हातमा थमाइदिनु भएको थियो र बलिन्द्रधारा आँसुसगै मलाई बिदा गर्नुभएको थियो ।

आमाले हालिदिनुभएको त्यही सर्ट लगाएर म काठमाडौँ उत्रिएँ । तराईतिर त अझै गर्मीको हप्हपी निख्रिसकेको छैन तर काठमाडौँंमा भने म जस्ता निम्छराहरूको मुटु थर्काउँदै जाडो प्रवेश गरिसकेको थियो । सापट काढेर आमाले दिनुभएको खर्चको ठूलो चाहिँ हिस्सालाई जाडोसँग युद्ध गर्ने सर्जाममा खर्च गर्ने सोच बनाउँदै थिएँ । त्यो बेलाको हाम्रो कोठा आकस्मिक आउने पाहुना (भूमिगत कम्युनिष्ट नेता कमरेडहरू) हरूको गुप्त सेल्टर थियो । श्याम कमरेड (अमृत वोहरा), विवेक कमरेड (माधवकुमार नेपाल), उमेश कमरेड (सुरेन्द्र पाण्डे), सञ्जय कमरेड (प्रदीप नेपाल), योगेश कमरेड (युवराज कार्की), कमरेड डी (डा.सरोज धिताल), ज्योति कमरेड (अष्टलक्ष्मी शाक्य), जय कमरेड (सी.पी.मैनाली) बुद्धिरत्न कमरेड (झलनाथ खनाल) आदि कमरेडहरू त्यो कोठामा प्रायजसो आइरहनु हुन्थ्यो । त्यही कोठालाई आस्रय बनाएर उहाँहरू मिटिङ–वैठक र भेटघाटहरू सञ्चालन गर्नुहुन्थ्यो । उहाँहरू आएको र बसेको बेला खाना ख्वाउनु, उहाँहरूले छोड्नु भएका गुप्त पत्रहरू अरु सेल्टरमा पु¥याउनु, अरू सेल्टरबाट त्यस्तै गुप्त पत्रहरू ल्याउनु आदि दायित्व पनि हामी स्वयंमले निर्धारण गरेका थियौं ।

दशै मानेर झापाबाट फर्किएको तेस्रो या चौथो दिन, साँझको अँध्यारो सर्लक्क ओर्लिएपछि सधैं आइरहनेमध्येकै एकजना कमरेड (जसको नाम यहाँ उल्लेख गर्दा अनर्थ पो हुन्छ कि !) हाम्रो कोठामा सुटुक्क छिर्नुभयो । त्यो रात र भोलिको दिनभरी यतै बस्ने गरी आउनुभएका कमरेडसँग भलाकुसारी कुशलक्षेमसँगै भान्सा तयार भयो, सँगै खायौं । भोलिपल्ट विहान कोठेसाथीहरू कपडा धुने ध्याउन्नमा लागे । पाहुना कमरेडको पनि केही धुनुपर्ने लुगाहरू छन् कि भनी हामीले माग्यौं । लगाइरहेको सर्ट फुकालेर उहाँले दिनुभयो । धारामा सबैका लुगा भिजाएर कसैले साबुन लगाउने, कसैले छुप्छुप्याउने र कसैले पखाल्ने हाम्रो सामुहिक शैली थियो । यसपाली छुप्छुप्याउनेमा म परें । छुप्छुप्याउने क्रमममा पाहुना कमरेडको सेतो सर्ट मेरो हातमा प¥यो, त्यो त्यति मैलो भने थिएन । कलर र कुम फाटेर राम्ररी रफु गरिएको त्यो सर्ट रफू गरिएको आसपासमा झन् च्यातिन थाल्यो । सर्ट साँच्चिनै लाउन नहुने भइसकेको थियो । उहाँसँग अर्को सर्ट भए जस्तो हामीलाई लागेन । हामीभित्र एउटा भिन्दैखाले भावना र समर्पणले तीव्र विकास गरिएको थियो त्यो बेला । सहसा मैले साथीहरूका वीच घोषणा गरें– “आमाले मलाई हालिदिनुभएको नयाँसर्ट म कमरेडलाई दिन्छु ।” भरत, लिला, वा मिलन कसैले पनि असमहमति जनाएनन् । त्यही विहान मैले त्यो सर्ट कमरेडलाई सहर्ष हस्तान्तरण गरें । उहाँ केही आनाकानी गर्दै हुनुहुन्थ्यो । तर हाम्रै अगाडि खुरुक्क लगाउन हामीले कर ग¥यौं, वहाँले लगाउनु भयो । सर्टको फेर अलिकति छोटो हो कि झैँ देखियो तर नसुहाउँदो ठयाम्मै थिएन । प्रिय कमरेड ! आज पजेरोमा सवारी चलाइरहँदा वा राजधानीको सुविधासम्पन्न आलिशान महलमा निवास गरिरहँदा हिजोका हामी जस्ता फुच्चे सेल्टरदाताहरूले प्रदान गरेको त्यो झिनो–मसिनो समर्पण आज कुनै संझनायोग्य सन्दर्भ लाग्ला र तपाईंलाई ?

अँ त, आमाको माया जत्तिकै न्यानो टेलिकटनको सर्ट कमरेडलाई समपर्ण गरे पनि मसँग उही पुरानो टेरलिनको सर्ट छँदै थियो । त्यसमाथि आमाले सापटी काडेर दिनुभएको खर्चको मुख्य हिस्सालाई जाडो छल्ने एउटा स्वेटरमा खर्चने सोचमा म छँदै थिएँ । अघिल्लो माघले खाएको मेरो सातो यसपालीको मङ्सिरको दोस्रो हप्तादेखि तीव्र रुपमा ब्युँतन थालेको थियो । लाउन हुने किसिमको स्वटेर किन्न कम्तीमा पनि एकसय पचास रुपैयाँसम्म खर्चनु पर्दथ्यो त्यो बेला, तर मसँग थियो जम्मा पचहत्तर रुपैयाँ मात्र । यसैबीच कोठेमित्र लीलाराज कार्कीले एउटा गज्जबको उपाय निकाल्नु भयो । उहाँले चिन्नुभएकी एकजना स्नेही दिदी हुनुहुन्छ पकनाजोलमा– स्वेटर बुन्न असाध्य सिपालु । धागो किनेर उहाँलाई दिने, अलिकति ज्याला थपिदिने, आनन्दसँग स्वेटर लगाउने । उहाँको यो उपाय हामी दुई जनाका निम्ति साहै्र किफायती थियो । लगत्तै हामीले ५०/५० रुपैयाँको कलेजी रङ्गको उनी धागो किन्यौं भोटाहिटीमा गएर । (५० रु.को धागो एउटा स्वेटरका निम्ति पर्याप्तै हुँदोरहेछ त्यतिबेला ।) २५।२५ रुपैयाँ ज्याला सहित लीला आफैंले दुईटा स्वेटरको धागो पकनाजोल पु¥याउनु भयो । पुस नलाग्दै दिएको धागो स्वेटर बुनिएर फिर्ता भएन आधा पुस बित्दा पनि । किन होला ! किन होला ! भन्दाभन्दै हामीले नमीठो सूचना पायौं हामीले– ती सहृदयी दिदी त्यसै वीच सिकिस्त विरामी पो हुनु भएछ । दश पन्द्र दिन त केही गर्नै सक्नु भएनछ । बल्लबल्ल तङ्रिएर काम थालेपछि पनि दुईवटा स्वेटर बुनिसक्न वहाँलाई झण्डै पन्द्र्र दिन लाग्यो । स्वेटर हाम्रो हातपर्दा माघको दोस्रो हप्ता बित्नै लागेको थियो । यद्यपि त्यो स्वेटर आङमा लगाउँदा आफ्नै आमाको काखको न्यानोमा लुटपुटिएको अनुभूति मलाई भएको थियो । स्वेटर बुनिदिने सहृदयी दिदी ! तपाई अहिले कहाँ र कुन अवस्थामा हुनुहुन्छ कुन्नि ?

त्यसपछिको तेस्रो हिउँद पनि विलकुल त्यही गतिमा आयो, अनि त्यही गतिमा गयो । मेरो शरीरमा थप केही थियो भने सिर्फ त्यही कलेजी रङ्गको एउटा स्वेटर थपिएको थियो । राजधानी बसाईको तेस्रो माघ आइपुग्नासाथ मज्जाले नेपाली भाषा बोल्न, लेख्न र पढ्न सक्ने भइसकेको मनाङ्गे ठिटो उसको घरमा भेटिन छाड्यो । अभिभावकहरूले दिएको अल्प जानकारी अनुसार “ऊ बाहिर गएको छ र अब एक वर्षसम्म फर्कंदैन ।” कहाँ गयो र किन गयो मलाई थाह भएन तर उसको यो गमनका कारण मेरो राजधानी बसाईको प्रमुख आधार नब्बे सालको भूईंचालोमा परेको घर जस्तै गल्र्यामगुर्लुम ढल्न पुग्यो । आइ.एड् द्वितीय वर्षको पढाई सिद्धिई सकेको थियो ता पनि परीक्षा आउन बाँकी नै थियो । म भने पार्टीको ‘गाउँ फर्क र जनता जगाऊ’ नीतिलाई आत्मसात गर्दै राजधानीबाट बाहिरिएँ । प्रतिकुलतासँग जुध्न मैले अर्को औजार फेला पारिसकेको थिएँ ।

नौवटा हिउँद राजधानी बाहिरै खर्चेर ०४९ पछि म पुन राजधानी काठमाडौँ फर्किएको पनि अहिले चौधौँ वर्ष बित्दैछ । अहिले त जाडोको हजुरबाउ आए पनि मलाई केही फरक पर्दैन । म सर्वथा सुरक्षित छु तर त्यो बेलाको आतङ्ककारी जाडोको लपेटा मेरो मानसपटबाट भने अझै हट्न सकेको छैन । यद्यपि त्यो स्मृति मभित्र अतिशय न्यानो राप बनेर बसिरहेको छ, बलिरहेको छ । जीवन पर्यन्त यो राप सेलाउने छैन शायद ।

हाल: कलङ्की, काठमाडौँ
[email protected]



प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 फागुन, 2066

लेखकका अन्य रचनाहरु