नेपालका निकोलाई अस्त्रोवस्की : गोविन्द विकल

- ॠतु आसीक

“रगतको टिका लगाउँदै सहिद
हामी त उठने छौं
पूर्व र पश्चिम उत्तर दक्षिण
एक भइ जुट्ने छौं ।”
-गोविन्द विकल

गोविन्द विकलको आगमन
धरान नगरपालिका वार्ड नं. १४ विजयपुर गैरी गाउँ हालको (नयाँ टोल) बसोबास गर्नु भएका हजुर वुवा भक्तबहादुर बोहोरा अमरहाट जिरो प्वाइन्टमा बसाई सर्नु भएको थियो । हजुरबुबा त्यहा सर्दा गोविन्द विकल
(साहित्यिक नाम) को उमेर त्यस्तै ५÷६ बर्षको हुँदो हो । हजुरवुवा पेशाले वैद्य भएपनि वुवा जगत बहादुर बोहरा क्षेत्री र आमा देवी मायाको कोखबाट २००५ साल माघ ६ गते गोविन्द बहादुर बोहोरा अर्थात गोविन्द विकलको जन्म भएको थियो । साहित्यकार वसन्त थापाद्वारा जुराइएको साहित्यक उपनाथ “विकल” शब्दको संयोजनपछि त्यस नामलाई गोविन्द विकलले स्वीकारे पछि नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा सम्मान तथा श्रद्धाले लिइने नाम हो भन्दा फरक नपर्ला ।

आफ्नै बाबुको बारेमा विकलको अभिव्यक्ति
....... बुबाको मृत्यु हुँदा म ७ बर्षको थिए । त्यस बखत सम्म मलाई मानिसको मृत्यु बारे कुनै अनुभव थिएन । बुबालाई कात्रोमा बाधेर गाउलेहरुले घाटतर्फ लगे । म पनि संगै गए । त्यस घडी सम्म मलाई बुबाको मृत्यु भएको भन्ने थाहै भएन र आँखाबाट आसु पनि आएन । जब घाटमा मेरो कपाल मुण्डन गर्न भनियो तब बुबा दिवंग्त हुनु भएको थाहा पाए र उहाँको सम्झनाले भाव विहल भएर रोए” — शोधगं्रथ केवल फूँयाल

विवाह: असफल
गोविन्द विकलको पहिलो मागी विवाह २०२५ सालमा धनकुटा निवासी रणबहादुर सिंह कार्कीकी सुपुत्री शुशिला कार्कीसंग भएको थियो । शुशिला तर्फबाट २०२६ अनल, २०२८ शुषमा, २०३०, नल, २०३२ अनुपमाको जन्म भएको देखिन्छ ।

गोविन्द मात्रै होइन सयकडा ९० प्रतिशत साहित्यकारहरुको जीवन कष्टमय र पीडा भएको देखिन्छ । नेपालका साहित्यकारकै कुरा लिउ कुन चै साहित्यकारको जीवनको पराक्षेप नियमित गतिमा भएको होस । गोविन्द विकल एउटा असल साहित्यकार हुदा हुदै पनि आफ्नो पारिवारिक स्थितिलाई आर्थिक उत्पादनशील तर्फ नलाग्नु, घरको कामकाज तर्फ एकदमै लापरवाही हुनुहुन्थ्यो । गोविन्द विकल संगको आर्थिक कष्टमय जीवनको तंगीका कारण, शुशिलालार्य पुर्नविवाहह गरेको देखिन्छ ।

शुशिलाको प्रत्यागमन पछि धरानमै बसोबास गर्दै आएका सुवेदी परिवारकी छोरी सीता सुवेदीसंग २०३९ सालमा विकलको दोश्रो विवाह भएको देखिन्छ । सीता तर्फबाट प्रतिमा (२०४०) छोरा गोपाल (२०४२) जन्म भएको देखिन्छ ।

षडयन्त्रकारीहरुको षडयन्त्रको जालोमा जेलिदै दोश्रो पत्नी अन्ततः वेश्या बन्न पुगिन । आफ्नै आँखा अगाडी श्रीमतिले देह व्यापार गर्नु र अत्यमा उनी हराउनु र विकलकी श्रीमती एड्स लागेर मरी भन्ने जस्ता हल्ला फिजिनुले वहा ज्यादै मर्मान्त हुनुभयो । यसकारण विकलको वैवाहिक जीवन पारिवारिक गृहस्थी जीवन सधै अधुरो र अपुरो असफल रहेको देखिन्छ । (श्रोत राजकुमार कार्की, व्लाष्ट टाइम्स, धरान)

दोश्रो पत्नी देहव्यापारमा संलग्न भइ बेखबर भए पश्चात उनलाई एड्स लागेर मरेको हल्ला फिजाइएकोले मर्माहान्त हुन पुगेका विकल जीवनबाटै विश्राम लिने निष्कर्षमा पुग्नुभयो । त्यसैले वि.सं. २०५० मा विकल चतरा नहर अन्तर्गतको चक्रघटी खण्डमा पर्ने तेह्रअड्डीको जलाशयमा जलसमाधी लिने मनसायले हाम फाल्नु भयो । नहरको भूमरी परेको ठाउमा वहाँलाई पानीले घुमाउँदा – घुमाउँदै कसैले देखेकाले तुरुन्त उद्दार गरी बेस्सरी हप्काए पछि जीवन प्रति आशा जागेकोले “पुरानो विकल म¥यो र नयाँ विकलको जन्म भयो” भन्दै नयाँ जीवनको शुरुवात गरेको देखिन्छ । (गोविन्द विकल शोध ग्रन्थमा मान बहादुर राउतबाट)

गोविन्द विकलसंगको सामिप्यता
गोविन्द विकल, बमदेवानसंगको मेरो परिचय २०२७÷०२८ साल देखि नै भएको हो । जुन बेला इटहरी र धरान त्यसताका साहित्यिक गतिविधिका लागि मुख्य क्षेत्रको रुपमा गनिन्थ्यो । प्रगतिशील साहित्यिक आन्दोलनलाई उर्जा र त्यसलाई निरन्तर दिने क्रममा समय कालखण्ड थिए त्यसबेला साहित्यिक गतिविधि तथा कार्यक्रम स्थलकै सन्दर्भमा भएपनि मेरो प्रगाढता त्यसबेला बढ्यो जब वमदेवान, विकल भएर सयपत्री छापाखाना चलाउन थाल्नु भयो । सोही प्रेसबाट मेरो पहिलो कविता संग्रह के भनेर सम्झाउनु मेरी छोरीलाई (२०३१) प्रकाशित भयो । पे्रसमा आउँदा जादा गोविन्द र देवानसंग बाक्लै भेटघाट हुन थाल्यो । उहाले आफ्नै घरमा लगेर खाना खुवाउनु, उहाँका कविता सुन्न गुन्न धरान जाने क्रममा दिनचर्या झैं भै सकेको थिए ।

मेरो तरहरा स्थित घरमा गोविन्द विकल, बम देवान, चित्र निरौला, शेरबहादुर अम्वर, मधुमल्लातीरबाट जे.वि. टुहुरे (वारेन्टको समय) र विशेषत साहित्यिक आन्दोलनलाई अग्रगति दिशातर्फका चर्चा परिचर्चा भैरहन्थ्यो । त्यहाँ कार्यगत डिजाइनलाई गोष्ठीका प्रारुप बनाउथ्यो । कहिले काही राती उहाँहरु वास पनि बस्नु हुन्थ्यो । मेरी आमा र बहिनी हेमाप्रति उहाँको आदर र स्नेह रह्यो । एकदिन हेमाले विकलले पनि वम देवानले जस्तै गरेर सुनौला रंगको फिस्टे चरालाई घण्टौं सम्म घर अगाडीको शिरिषको फूलमा रुखामा त्यसको उफ्राइको कुरा, मैले उहाँलाई एकोरिएको ध्यान भंग गर्दै मेरा अध्ययन कक्षामा राखेको थिए । गोविन्द विकल, बम देवान चित्र निरौला प्रति आमाले लक्षित गर्दै भन्नु हुन्थ्यो यी असल साथीहरु “गुहापान” भन्नु हुन्थ्यो ।

गोविन्द विकलको मनोस्थिति
गोविन्द विकल जीवनका सत्य तीता मिठा भोगाइसंगै आफ्नी श्रीमती शुसिलापं्रति शंका उपशंकाको कुरा उठाउनु भएको थियो । कतिपय भोगाइ सत्य तथ्यको छानवीन नगरी भ्रम नपाल्न अनुरोध गरेको थिए । शुशिलालाई उहाँ असाध्य माया गर्नुहुन्थ्यो । एकदिन तरहरामा साहित्यिक गतिविधिलाई तिव्र तथा विस्तारका लागि केही सल्लाह भएको हुनाले उहालाई छिट्टै लिएर आउने अठोट गरी धरान गए । विकल जी मसंगै आउन तयारी भएन छाता चौंक सम्म आइपुगेका मात्र थियौं । शुशिला हस्याङ्ग फस्याङ्ग गर्दै आएको र विकलजीलाई घर फर्किन भन्नु भयो । विकलजी असमञ्जमा पर्नु भयो । उहाको असमञ्जता फुकाउदै भने विकल जी बैठक अर्को कुनै दिन मिलाउला र तपाईलाई खबर गरुला – तपाई घरै फर्किनोस् । उहाँ भारि मन लिएर श्रीमती सहित फर्किनु भयो ।

गोविन्द विकलको आर्थिक स्थिति सुदृढ हुदा हुदै आयश्रोतको त्यस्तो भरपर्दो श्रोत नभएको कारण परिवारको खर्च धान्न ऋणको ऋण लिनु परेको थियो । ऋणको ऋण भुक्तानीका लागि धरान स्थित र त्यहा बसिरहने परिवार धान्न धौ धौ । छरछिमेकमा शुशिलाको सम्बन्ध परपुरुषसंगको चर्चा परिचर्चा भएपछि विकलजीले पहिलो शुशिलाप्रति घृणात्मक व्यवहार गर्न थाल्नुभयो । शुशिलाले बुझपचाई आफ्नो आसक्ति विकल प्रति देखाउनका लागि मेरो तरहराको घरमा पछयाउदै आइपुगेको मेरो अध्ययन कक्षामा विकलको सर्ट थियो । त्यो देखेपछि उहाँले विर्सिएर छोडेर जानु भएको जिकिर गरेपछि सर्ट (पहेलो) लिएर धरान जानु भएको थियो । शुशिलाको रुपरंग शारिरिक बनौट लामो कपालमा आफू लट्टिएको । शुशिलाले आफूमाथि गरेको विश्वासघात ४÷४ जना बालबच्चापछि पनि शुशिलाको विश्वासघाट विकल संम्झदै विक्षिप्त हुनुहुन्थ्यो । शुशिला – शुशिला अर्ध चेतनमा बर्बराहट उहाँलाई राँची लैजानका लागि इटहरीमा कार रोकिएको थियो । उपचारको लागि त्यतातिर लगिएको थियो ।

अध्ययनशीलका पहाड
जब जब मेरो सामिप्यता यी दुवै विकल र देवानसंग बढ्यो । बुर्जुवा शैक्षिक योग्यता बमदेवानमा भएता पनि अध्ययनशीलताको क्षमता तथा बौद्धिक तार्किकता आदिको क्षमता विकलमा थियो । यसो भनेर बमदेवनको मानमर्दन गर्न खोजिएको होइन । यी दुवै वीचको साहित्यिक प्रगाढताले धरानमा साहित्यिक पिढीले यिनीहरुको कविता शैली टपक्कै टिपे । देवान र विकलका कविता शैलीको बाढी नै आएको थियो ।

इटहरीका काजीलाल फुयँलले एक पटक मसंग गोविन्द विकलको बारेमा कस्तो जिकिर गरे भने कार्टुन साहित्यिक देखि जन्तु विज्ञान सम्मको ज्ञान एकपटक पढेपछि त्यसलाई जस्ताको तस्तै शब्दको फोटोकारी क्षमताको बारेमा बताएका थिए । बौद्धिक उचाइ र माक्र्सवादप्रतिको अटल आस्थाको प्रज्वलित ज्योतिलाई दिव्यमान बनाउनका लागि पार्टीमा लागेको, पार्टीमा शैतानको कापभाजन भएर पार्टीको खेलबाट उहा बाहिरिनु भयो । माक्र्सवाद प्रतिको आस्था र त्यसको व्याख्यालाई जीवनको अन्तिम पडावमा परेर पक्ष्ँघातकका विरामी अवस्थामा पनि प्रगतिवादी साहित्यिक आन्दोलनलाई निकोलाई अस्त्रोवस्कीले लगाएको गुण मानव जातीका लागि अमर निधिको रुपमा रहेझैं विकलले पनि प्रगतिवादी साहित्यक आन्दोलनको झण्डालाई उचा राख्न उहाले गरेका कार्यहरु स्तुत्य नै छन् । यसरी गोविन्द विकललाई नेपालका निकालाई अस्त्रोवस्की भन्दा केही फरक पर्दैन । गोविन्द जीवनको पटाक्ष पक्षघातको रोगसंगै भएको देखिन्छ ।

दृष्टिगत भ्रमको निवारण
– (भ्रम) गोविन्द विकल शोधग्रंथ पेज ५६ (वि.सं. २०४४ सालमा भण्डाफोर शिर्षकमा उपन्यास पनि लेखिएको तथा पंचायती तानाशाहहरुले धरपकड जारी राखी पक्राउ खाने डरले साथीहरुले भूमिगत हुदा हराइ दिएको कुरा बताउछन् । (प्रहरीले पक्राउ गर्ने डरले उनका मित्र ऋतु आसिकले जमिनमा गाडेको)
– (निवारण) प्रसिद्ध जनवादी गायक जे.वि. टुहरेले मेरो २०÷२५ वटा धुले मंचनका लागि लेखिएका नाटक पाण्डुलिप हराइ दिएका छन् । (रक्तिम किरण अंक २४ बर्ष ३, २०६१)
– (भ्रम) गोविन्द विकल जीवन व्यक्तित्व र कृतित्व शोधग्र्रथ पेज ३४ मा “२०२५ सालमा तत्कालिन महेन्द्र कलेज (हालको महेन्द्र मोरंग आदर्श बहुमुखी केन्द्रिय क्याम्पस) विराटनगरमा कला संकाय अन्र्तगत प्रविणता प्रमाणपत्र तह प्रथम बर्ष भर्ना हुनुभयो ।
– (निवारण) धरान निवासी केशव आचार्य (हाल विराटनगर ४) का अनुसार २०२५÷२०२६ सालतिर उहा तत्कालिन महेन्द्र कलेज धरानमा वि.कम. पढदा कलेजबाट निस्किने मुखपत्र “छाया” मा गोविन्द विकल सम्पादक मण्डलमा रहनु भएको जिकिर अनुसार उहाको अध्ययनरत धरान कलेजमै देखिन्छ ।


छिन्ताङ् माक्र्सवाद विजारोपण
२०३०–२०३६ सालका युवाहरुमा के ब्रम्हज्ञान आइसकेको थियो भने आफ्ना अधिकार क्ष्ाँत्रमा गएर त्यहाँ माक्र्सवादको ज्योति प्रज्वलित गर्ने आफ्ना निष्ठा अनुरुप गोविन्द विकल र बमदेवानको जोडी छिन्ताङ्ग तर्फ लागेका हुन्छन् । मराठी गाउले जीवनमा उनीहरु एकाकार हुन्छन् । राती बेर सवेर त्यहा माक्र्सवादी कक्षाहरु संचालन गर्नु र छिन्ताङ्गवासीलाई प्रशिक्षित गर्नु आफ्नो जिम्मेवारी लिन्छन् । प्रशासनको उनीहरुप्रति दवाव बढे पछि छिन्ताङ्गबाट यी माक्र्सवादी जोडीलाई विभिन्न षडयन्त्रका तानावुनाका माखे साङ्गलोमा पारिन्छ । बमदेवानलाई उहाँको बुबा रिटायर्ड डि.एस.पी. नभएको भए बम देवान त्यसैबेला मारिनु हुन्थ्यो । काठमाण्डौंबाट आफ्नो छोरालाई फर्काएर ल्याएको कुरा धरानमा चर्चाको विषय भएको थियो ।

विकलको सादगी — प्रतिकुललाई अनुकुल नबनाउने
कुरा हो २०३३ सालतिरको, मेरो तरहरा स्थित घरमा बेलुकाको खाना खाएर म र विकल अध्ययनकक्षमा थियौं । हामी वीचको कुराकानी गर्दा गर्दै राती झण्डै १ बजीसकेछ । मैले उहाँलाई अब सुत्नुपर्छ होला भनेर ओछ्यानको चाँजो मिलाउन अर्को कोठातीर लागे, फर्किएर उहालाई सुत्नको लागि जौ भन्दा उहा त ४ फिटको बेन्चमा पुस्तकको सिरानी हाल्ने तरखर गर्दै हुनु हुदो रहेछ । यसबाट मैले के पाए भने घरका अन्य सदस्यलाई घच्च नदिने उहाको सालिनता स्वभाव, अहं प्रदर्शनबाट धेरै टाढा रहनु भएको प्रष्ट छ ।

लुगाफाटाको हक जस्तो भेट्यो त्यस्तै लगाउने, खानापनि खानै पर्छ जस्तो पनि नगर्ने, उहाँ कसैप्रति टिका टिप्पणी आलोचना नगर्ने तथा कुनै पनि नया साथीलाई साहित्य लेखनतर्फ लाग्न अध्ययनमा विशेष जोड दिन प्रेरणा दिने, लेखिएका रचनामा कमि कमजोरीलाई सच्याईदिने यस्तै विविध किसिमका गुणका धनी हुनुहुन्थ्यो गोविन्द विकल ।

पक्षघातसंगै अवसान
“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै विन्ति गरुन झुकेर पदमा त्यो विन्ती मान्दैन त्यो”
कवि शिरोमणिद्वारा रचित काल महिमाका यी पंक्ति जनताका प्रिय रचनाकार नेपाली प्रगतिवादी साहित्य आन्दोलनका अग्रज गोविन्द विकललाई पनि लागु भयो । ढिलो चाडो यी पंक्ति पृथ्वीमा जन्मिएका सबै जीवमा प्रयोग हुन्छ । मृत्युशास्वत सत्य हो । यसलाई अंगिकार गर्नै पर्छ ।

नेपाल प्रगतिशील साहित्य आन्दोलनका अग्रिमदस्ताका ध्वजाहरु मेरा निम्ति मित्र तथा “गुरु” का रुपमा रहनु भयो । उहाँ पक्षघात भएर ओछ्यानमा ढलेपनि भेट गर्न गइन । यसका लागि म आफुलाई दोषी करार गर्दै मेरो जीवन भरी आत्मग्लानीले कुतकुताउने छ । मेरा निम्ति उहाँ नजिकको मित्रको रुपमा रहनुभयो । आदरका रुपमा रहनुभयो । प्रगतिवादी साहित्यिक आन्दोलनमा पंक्तिवद्धहरुका लागि उहाँले गरेका कार्यहरुको व्याख्यालाई अघि बढाउन उहाका गल्ती कमजोरीलाई चिर्दै, उहाँका उज्याला पक्षको वकालतमा आफूलाई उभ्याउने प्रण गर्दछु ।

नेपाली प्रगतिवादी साहित्यिक आन्दोलन (विशेषत पूर्वी नेपालका) का प्रखर योद्धा गोविन्द विकल ५७ बर्षको उमेरमा (१८ चैत्र २०६२) वि.पी. अस्पतालका चिकित्सकले विरामीको अवस्था गम्भीर भएको घोषणा गरेपछि आफ्नो घर महेन्द्रनगर सातवन्दी तर्फ फर्काउदै गर्दा बाटामा नै शुक्रवार ४ बजे अपरान्ह उहाँको निधन भयो । मुलुकले निकै लामो समय सम्म खट्की रहनेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 फागुन, 2066

लेखकका अन्य रचनाहरु