चर्चामा नभए पनि मन मनमा : पोषण पाण्डे

- जयदेव भट्टर्राई

कुनै गुठी-संस्था, न उहाँको नाममा कुनै पुरस्कार न त कुनै क्षेत्रकोले हाम्रो क्षेत्रको स्रष्टा भनेर उठाएका आवाज । राजधानी काठमाडौँमा जन्मी हुकेको मान्छे भएजति सुविधा र मान सम्मान यिनले नै पाउँछन् भन्ने सोचले हो वा कुनै राजनीतिक दलसँग आवद्ध नभएर हो किन हो कुन्नि साहित्यकार पोषण पाण्डेलाई नेपाली साहित्यिक जगत्ले त्यति सम्झेजस्तो लाग्दैन । सम्झन लायक र बिर्सनै नसकिने उत्कृष्ट कथा लेखेर ख्याति कमाउनु भएका पोषण पाण्डे लाग्छ यतिखेर बिर्सिएको स्रष्टामा पर्नुहुन्छ । तामझाम नगर्ने, पुरस्कार, गुठी सङ्घ संस्था नखोल्ने अनि बेलाबखत बोलिदिने आˆनाहरू नहुने हुन् भने त अब जतिसुकै उत्कृष्ट स्रष्टा भएपनि तिनको चर्चा हुन छाड्दो रहेछ । अचेल स्रष्टा र सिर्जनामा भन्दा अन्यत्र ध्यान तानिन थालेको छ ।

लेख्न थालेको दुई चार वर्षमै चर्चाको शिखरमा पुग्नुपर्ने लोभ अनि पहिलो कृतिबाटै सर्वश्रेष्ठ बन्ने र बनाउने होड र जोडले अचेल साहित्यिकभन्दा प्रचारात्मक कुरामा धेरैको ध्यान जान थालेको छ । पोषण पाण्डेको कथाको स्तरसँग तुलनै गर्न नमिल्ने उहाँको योगदानको अगाडि नगण्य ठानिएकाहरू प्रचार र जोडले, बोक्ने र उचाल्नेहरूको सुगा रटाइमा चर्चित र प्रसिद्ध हुन पुग्छन्, तर राजनधानीको केन्द्र इन्द्रचोकमा जन्मिएर पनि उपेक्षित बन्न पुग्छन् पोषण पाण्डे र उहाँजस्तै अरू स्तरीय स्तरीय स्रष्टाहरू । राजधानी काठमाडौँको वटु, इन्द्रचोकमै जन्मिएका चूडानाथ भट्टराय, बद्रीनाथ भट्टराई, कुमार ज्ञवाली आदि जस्ता स्रष्टा अचेल बिसिएका स्रष्टामै पर्नुहुन्छ । मोफसललाई अपेक्षा र राजधानीलाई सुविधा भन्नेहरूका लागि यी स्रष्टाहरू राम्रा जवाफ हुन् ।

'भिनाजुको स्वीटर', 'कृष्णदासको भित्तेघडी', 'राघेश्यामको साइकल', 'हर्के तामाङको संस्मरण आदिजस्ता कैयौँ कथाका माध्यमबाट उत्कृष्ट कथाकारमा दरिने पोषण पाण्डे । कविता लेखनबाट पनि उत्तिकै चर्चित पोषण पाण्डेले नेपाली कथा साहित्यमा तीनवटा र कविताका एक कृति छाडेर जानुभएको छ । वि.स. १९८९ सालाको माघ १ गते काठमाडौँको इन्द्रचोकमा जन्मिनु भएका पोषण पाण्डेको कथा लेखन कविता लेखनभन्दा पाछी भएपनि कथाकारको रूपमा बढी प्रसिद्ध कमाउनुभयो । वि.सं. २००६ सालमा पुरुषार्थ मा पहिलो कविता छापिएको ७ वर्षपछि मात्र उहाँको कथा लेखन २०१३ सालमा मात्र थालियो । यस क्रममा आँखीझ्याल -२०२३), मानस -२०२३) हिउँमा परेका डोबहरू -२०३३) जस्ता कथा सङ्ग्रहहरू र २०२५ सालमा प्रकाशित कविता सङ्ग्रह वटवृक्षको उद्घाटन रहेको छ । पहिलो कथा लेखनबाट पुरस्कृत हुने पोषण पाण्डेले नेपाली साहित्यमा थोरै लेखे पनि राम्रा स्तरीय लेखेर आफूलाई उत्कृष्ट स्रष्टाका रूपमा उभ्याउनुभयो ।

'कुनै सानो घटना विशेष भनूँ वा कुनै सानो घटनाको अनुभूति विशेषले मलाई एक प्रकारले झस्काउँछ । त्यो झस्का लागेपछि जब लेख्न बस्छु त्योभन्दा अगाडि कथाको कुनै किसिमको रूपरेखा नै बनाएको हुन्न । सुरू गरेको कथा कसरी लेख्ने भने,सुरूमा त्यो एउटा कथानकको सूक्ष्मता जसले मलाई झस्काउँछ, जुन बेला लेख्न बस्छु त्यो लेख्दै जाँदा स्वतः लेख्न थालेको कथाको रूप आफैँले धारणा गरेको हुन्छ । कथाको जन्म यसैगरी भएको छ । थोरै मात्र कथा होलान् पहिले नै योजना बनाएर लेखेको त । -साहित्यकार परिचय र अभिव्यक्ति, २०५४)

कथासम्बन्धी उहाँको धारणा हो यो वि.सं. २०४४ सालको वैशाख २७ गते उहाँसँग गरिएको कुराकानीमा बताउनु भएको यो धारणाले कथाकार पाण्डेको कथा लेखनबारे बुझ्न सकिन्छ ।

साझा कथामा कथाकार पोषण पाण्डेका बारेमा यसका सम्पादक भैरव अर्याल लेख्नुहुन्छ - 'कतिपय सामान्य असामान्य मनोदशाहरूको छरितो ढङ्गले विश्लेषण गरी रतिरागात्मक आकर्षणका रोचक चित्रहरू खिच्न पोषण पाण्डे निकै सिपालु हुनुहुन्छ । उहाँका कथामा प्रायः सहरिया मध्यमवर्गीय जीवनको सभ्यता, प्रतिष्ठा, विलासिता र विवशताजन्य असमाञ्जस्य र विकृतिहरूले ल्याएका जटिलताहरू व्यञ्जित गएका हुन्छन् कतै प्रतीकको माध्यम लिएर कतै सोझै ...।'

वि.सं. २०१२ सालमा नेपाल राष्ट्र बैङ्कमा जागिरे जीवन सुरू गरी तत्कालीन शाही नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरणमा जागिरको अनुभव सङ्गाल्ने पोषण पाण्डे वि.सं. २०२९ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सह- सदस्यसमेत हुनुभयो । जनसाहित्य सङ्घका उपाध्यक्ष, फूलबारी विचार गोष्ठीका संस्थापक सञ्चालक भएर पनि साहित्यिक क्षेत्रमा आˆनो सक्रियता देखाउनु भयो । साहित्यिक क्षेत्रमा नाम चलेकी स्रष्टा भगवतकुमारी पाण्डेका पुत्र एवं साहित्यकार ज्ञानु पाण्डेका पिता पोषण पाण्डेको तीन पुस्ता नै नेपाली साहित्यमा लाग्नुभयो । वि.सं. २०१३ सालमा आयोजित कथा प्रतियोगितामा पुरस्कृत, २०२० सालमा कविता विधातर्फ नेपाल एकेडेमी पदक २०३४ मा रत्नश्री स्वर्ण पदक, २०२६ मा प्रवल गोदवा, शिक्षा मन्त्रालयबाट नगद पुरस्कार, २०४८ सालमा सिद्धिचरण पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्ने पोषण पाण्डेको जीवन भने त्यति लामो रहेन । वि.सं. २०४८ सालको वैशाख ७ गते चाबहिलस्थित आˆनै निवासमा उहाँको ५९ वर्षको उमेरमा निधन भयो । ५९ वर्षको जीवनमा ४३ वर्ष साहित्यिक क्षेत्रमा लगाउने पोषण पाण्डेले लेखनमा सङ्ख्याभन्दा गुणलाई बढी ध्यान दिनुभयो । उहाँ भन्नुहुन्छ - 'साहित्य रचना जस्तो मिहिन काम हडवड र दगुरादगुरबाट गर्न मिल्ने होइन । अतः समय र मनःस्थितिको सङ्गमबाट जे जति निःसृत हुनसक्छन् तिनको विकासलाई सदा खुला राखिरहेको छु । -साहित्यकार परिचय र अभिव्यक्ति)

वि.सं. २०४८ पछिका माघ १ गते, वैशाख ७ गते धेरै आए गए तर कतै साहित्यकार पोषण पाण्डेको जन्म र स्मृति दिवसको सन्दर्भ पारेर चर्चा गरिएन, विशेषाङ्क र श्रद्धाञ्जलि अङ्क पनि ननिक्लेसरह भए । मानौँ पोषण पाण्डे भनेको लेख्दै नलेखेर प्रचारको भरमा प्रसिद्ध भएको स्रष्टा जस्तो, मानौँ पोषण पाण्डे भनेको लेखनको बललेभन्दा पार्टीगत आस्थाको भरमा अघि सारिएको स्रष्टा जस्तो, मानौँ पोषण पाण्डे भनेको प्रायोजित र समूहगत समूहबाट उचालिएको स्रष्टाजस्तो । पोषण पाण्डे यी सबबाट अलग हुनुहुन्थ्यो । स्तरीय सिर्जना गर्ने, सच्चा साधकप्रतिको यो उपेक्षा देख्दा उहाँकै सुपुत्री एवं स्रष्टा ज्ञानु पाण्डेले भनेजस्तै - 'उहाँ हाम्रो मन मनमा हुनुहुन्छ ।' भन्नुबाहेक अरू गर्न नै के सकिन्छ र ?
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 माघ, 2066

लेखकका अन्य रचनाहरु