मेघमहिमा

- पुन्य कार्की

जब मेघ घेरिएको आकाश देख्छु, मेरो हृदय गदगद भरिएर आउँछ । आकाशमा जसै उसले गर्छ गड्याङगुडुङको नाद, मभित्र पनि एउटा तिलस्मी नादको आभिर्भाव हुन्छ । मेघाच्छादित आकाशको अँध्यारो मलाई औधी प्यारो लाग्छ । मेघको गर्जन मन नपराउनेहरु पनि देखेको छु, कालोमैलो बादलको निन्दा बाँच्नेहरु पनि सुनेको छु । तर यी सबैको बीचमा घेरिएर पनि म उनीहरुको प्रतिकित्तामा उभिएर मेघमागल सुनाइरहेको छु, बादलवन्दना गाइरहेको छु । मेरो आकाश मेघले घेरिएपछि धर्तीमा म जीवनका अङ्कुरणहरु देख्न थाल्छु । तप्त घामले डढेको उत्तप्त धरणीमा हरियाली जीवनको अरूणिमा खुल्न थाल्छ । आँत सुकेर मुख आँ गरिरहेका फूल मञ्जरीमा रङको नयाँ चहक खुल्न थाल्छ । हावाका सूक्ष्म लहरहरुमा सुगन्धको नयाँ महक लहराउन थाल्छ । उजाड पाखाहरुमा चिउलाका नवीन प्रस्फुटनहरु गतिमान हुँदै जाँदा एउटा हेरिरहूँ जस्तो, लोभलाग्दो क्षितिज टाँगिन थाल्छ ।

मेघको बोलमा अबोल आनन्द छ । यसले त सधैँ मलाई जीवनको सरगम सुनाउँछ । मेघ बर्सेर पाउलो फेरेका पालुवालाई म किनकिन मेघ–मञ्जरी भन्न रूचाउँछु । मञ्जरीहरुको जीवन मेघमा आवेष्टित रहेको सत्यलाई कति अहोभावका साथ हेरिरहेछु । जब पानीका बुँदहरुमा बर्सिछ मेघ, अनि यहाँ जीवनदायी शीतलताको रसधारमा पौडिन्छन् स्यावर र जङ्गमका अनगिन्ती रचनाहरु ।

एउटा सफेदपोश कर्मचारीले बादल लागेको बिहानीलाई गाली गरेपछि उसको शरीरमा टाँगिएको सुती कपडामा प्रश्नचिह्नहरु देखेँ । मेघलाई गाली गर्नेहरुलाई कपडा पहिरिने हक छैन । उनीहरुलाई सुस्वादु भोजनको हकबाट पनि वन्चित गराउनुपर्छ भन्छु म । सुतीकपडाका वस्त्र परिधानहरु कपासकोपिलामा अङ्कुरित हुन्छन् । फेरि कपासबीज माटोमा अङ्कुरित हुन्छ । माटोलाई बादल रसले सिन्चन गरेपछि मात्र त्यो, वस्त्र सिर्जनाको द्वार खुल्छ अनि आफ्नो आङको कपडामा मेघमालाको वरद् वरदान नभेट्नेहरुले स्वाभाविक रुपमा बादललाई गाली बक्ने गर्छन् । बरू एउटा अनपढ किसानले मेघ महत्तालाई राम्रोसँग बोध गरेको हुन्छ । चैते खडेरीमा मकै छर्न नपाएर निराश कृषक साँझपख कतै आकाशको कुनामा बादलको थेग्लो तैरिएको पाँउदा हर्षले पुलकित बन्छ । अझै खेतीको चिन्ताले डसिएर निद्राविहीन रातमा अनायास गड्याङगुडुङ गरी मेघगर्जन सुन्न पाँउदा खुशीले झङ्कृत बन्छ । अध्ँयारो निशाको घोर नगरी चिरेर बिजुली चम्किँदा ऊभित्र आशाको सानो–सानो स्वर्ग खुल्छ, त्यसैले एउटा सफेदपोश साक्षरी र अनि धैलोमैलो निरक्षरीलाई एकै ठाँउ उभ्याएर मेघमहिमाको बारेमा व्याख्यान गर्न लायो भने मलाई लाग्छ कुनै पनि हालतमा साक्षरीले निरक्षरीलाई जित्न सक्तैन ।

मेघाच्छादित आकाशको भाषा किसानले भन्दा अरु कुन प्राणीले बुझ्दो हो र ? आकाशको कुनै कुनामा बादलको सानो लहरको उपस्थिति मात्रमा किसान कुलाका मुहानहरु खेततिर सोझ्याएर आनन्दको निदमा शयर गर्छ । मेघको भाषा महादेव र इन्द्रले भन्दा बढी एउटा सामान्य किसानले बुझेको कुरा एउटा पौराणिक कहानीमा सुन्न पाइन्छ । मेघको भाषा बुझ्ने विषयमा किसानका अगाडि महादेवले शर्मनाक हार खानुपरेको छ । मेघमालाको भङ्गिमालाई कि त मयूरले नै राम्ररी बुझ्दो हो । जब मेघ गर्जिन्छ, जब बिजुली चम्किन्छ अनि मयूरजोडीको मधुमय मिलनको नृत्य फुट्छ रे । हामी मान्छेभन्दा त मयूर पो एक कदम अघि रहेछ । आकाशमा मेघको जालो बिछिनेबित्तिकै छमछम मयूरीनाचको थिरकनले दुनियाँलाई अचम्म बनाउँछ । कठैँ ! हामीले भुलेछौँ मयूरहरुका मयूरीनाचको नर्तन ।

बादलु आकाश देख्नेबित्तिकै हामीभित्रको नर्तकीवेश खुल्नुपथ्र्यो छमछमी, बादलबाट बढीभन्दा बढी लाभान्वित धर्तीमा कुनै प्राणी छ भने मान्छेमात्र हो । मेघमालाको जुलुश हेरेर सबैभन्दा बढी नाच्नुपथ्र्यो भने मान्छेले पो नाच्नुपथ्र्यो । कहाँ गयो हामीभित्रको अहोभावको भाव ? मयूरले त्यो भाव सजिलै बुझ्यो, हामीले चाहिँ बिर्सिने ? यो हुन सक्छ ? हुनु नपर्ने हो तर धन्यवादको निसर्ग भाव मान्छेले गुमाउँदै आएका कारण पनि अनन्त दुःखको चक्रव्यूहमा रूमलिरहेको छ ।

कि त मेघको अप्रतिम सौन्दर्य कविहरुले नै बुझेका छन् । संस्कृतका महाकवि कालिदासले आषाढको मेघलाई हुलाकी बनाएर प्रीतिको समाचार यक्षसामु पु¥याएका छन् । जुन भाषाको प्रयोग कालिदासले गरे, जुन अलङ्कारको प्रस्तुति मेघदूतमा भयो, त्यो अद्भूत र आश्चर्यजनक छ । मेघलाई जुन रुपकमा देखे, त्यो एउटा कविले अनुभूति गर्ने काव्यात्मक अभिव्यक्तिको पराकाष्ठा थियो । रविन्द्रनाथ ठाकुरको अन्तिम–अन्तिम जीवनी पढ्दा भेटेको छु, कुरा दोस्रो विश्वयुद्ध सुरू हुनुअगाडिकै थियो । उहाँ विश्वकविका रुपमा प्रख्यात भइसक्नुभएको थियो । एक दिन इटालीका शासक मुसोलिनीले उहाँलाई सम्मान गरेर निम्ता पठायो । उहाँ इटाली जानुभयो, इटालीको नेपल्समा प्रतिबन्धित जीवन बिताएका कलाका कोलम्बस बेनेडेटो क्रोचेसँग भेट भयो, त्यहाँका राजा ड्युकसँग पनि भेट हुन्छ । उहाँलाई ठूलो सम्मान दिइयो । त्यसपछि अन्य युरोपियन राष्ट्रहरुमा पनि उहाँको धुमधाम स्वागत–सम्मान हुन्छ । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग पनि भेट हुन्छ । पाँच महिना युरोपमा अल्मलिएका बखतमा इरानका राजाले निम्ता पठाउँछन् । उहाँ त्यतैबाट इरान जानुहुन्छ । स्वागत, सम्मान र सुखसुविधाका बीचमा पनि उहाँभित्र एउटै तड्पन थियो, यसपालिको वर्षाऋतु मैले गुमाए । मेघले ढाकिएको आकाश बर्सिन, चुहिनलाई तयार कालो बादलको अपूर्व सौन्दर्यबाट वञ्चित हुनुप¥यो । आफ्नो जन्मभूमिमा भए मेघमालाको त्यो अद्भूत भङ्गिमा हेर्न पाउने थिएँ, उहाँको मनमा हर्दम यही भाव जन्मिन्छ ।

सच्चा कविहरु मेघदर्शनको कति ठूलो प्यासा हुदाँ रहेछन् । मान, प्रतिष्ठा र भौतिकताको सुख स्वर्गभन्दा प्रकृतिमा उठ्ने बादलले दिने सुख ठूलो हुँदो रहेछ, यो कुरा ठाकुरको जीवनी हेर्दा थाहा पाइन्छ । मेघाच्छादित आकाश र निर्झर वर्षाको दृश्यप्रति यति ठूलो लालची पुरूष पाउन असम्भव लाग्छ । हाम्रा कवि लेखनाथले पनि ऋतुविचारमा मेघको जुन बिम्बरचना गरे, त्यो आफैँमा अद्भूत छ ।

मेघ जब प्रशवपीडाले आक्रान्त भएर गड्याङ्गुडुङको चित्कार फ्याँक्छ, तब सुन्दर परिधानमा जन्मिन्छिन् वर्षा । वर्षा मेघकी छोरी हुन् । यस्ती साक्षात् छोरी, जसले प्रकृतिका हर जीवनलाई पारिदिन्छिन् हराभरा । हरेक जीवनको अन्तस् केन्द्रमा मेघको मृदुल राग गुन्जिएको हुन्छ भन्ने कुरा झुटो होइन । मेघपुत्री वर्षाको आवाजमा जीवनको गुञ्जन सुनिरहेछु । मेघलाई गर्भवती नारीरुपमा हेर्न खोजिरहेछु आज । एउटी गर्भवती नारीको प्रशवपीडाबाट सुन्दर शिशुको उपस्थिति हुन्छ । त्यसले तत्काल एउटा जीवनको प्रतीति गराउन सक्छ । तर गर्भिणी मेघ ब्याएपछि अनन्त जीवनका सुन्दर सुमधुर दृश्यहरु उद्भासित हुँदै जान्छन् ।

मेघ वर्षाका रुपमा प्रकट भएपछि उसले आफ्नो चोला बदल्छ । मेघको गरिमा वर्षामा रुपान्तरित हुन्छ, फेरि वर्षा जीवनहरुमा रुपान्तरित हुन्छ । मेघमा भएको अमृततङ्खव एकपछि अर्को रुपमा फड्को हानेर धर्ती ओर्लिन्छ । धर्तीमा हरियालीको बहार रच्छ, रङहरुको होली खेल्छ, रुपहरुको हाट जमाउँछ । गन्धहरुको धुप सल्काउँछ । ध्वनिहरुको राग गुन्जाउँछ ।

मलाई भावमा बगेका बेला कहिलेकाहीँ बादलमा रूझ्न मन लाग्छ । बादल अर्थात् कालो–कालो मेघ । कालो–कालो मेघ अर्थात् बर्सादका अमृतमय बुँदहरु वर्षामा रूझ्नु भनेको मेघसँग साक्षात्कार गर्नु हो । मेघसँगको जुन प्रेम हो, त्यसको दर्शन गर्नु हो । त्यसैले त जब झरी पर्छ, अनि झमझमी भिज्न मन लाग्छ । यो अभिप्साको अन्तर्यमा आफू मेघसँग गहिरो प्रेममा जोडिएको बोध हुन्छ । पारिजात दिदीलाई मन पर्ने ऋतु वर्षाऋतु थियो । जब असारे पानी बर्सिन्छ अनि निथ्रुक्क भिज्न मन पराउँछु र मेरा यौवनका दिनहरु झमझमी भिजेकी छु, भनेर लेख्नुभएको छ । मलाई लाग्छ दिदीलाई पनि मेघले घेरिएको आकाश मन पथ्र्यो । निर्झर वर्षाको गुञ्जन प्यारो लाग्थ्यो ।

बर्सादमा भिज्नु जीवनरसको चास्नीमा पसेर मेघलाई अन्तर्दर्शन गर्नु हो । मेघको आस्वादन शरीरका कोषकोषमा पु¥याउनु हो । कुनै विचारकले दिएको महान् वाणी छ । उनले प्रत्यक्ष प्रयोग गरेको घटना छ– बर्सादको पानीले बोटबिरूवालाई, अन्नबालीलाई, सिङ्गो वनस्पति जगत्लाई फाइदा गर्छ भने पानीले तिनका जरामा जीवन भर्छ भने मान्छेचाहिँ यति महान् घटनाबाट किन वञ्चित रहने ? जति भिज्यो त्यति फाइदा हुन्छ । एउटा बिरूवालाई जति भिज्यो, त्यति फाइदा मिल्छ भने हामीचाहिँ ओत लागेर किन ठगिने ? यसो भन्दै उनी भिज्न निस्किन्थँे । पानी परेपछि अरु ओत खोज्थे ? उनीचाहिँ रूझ्न बाहिर आउँथे । ती विचारक या साहित्यकारको नाम ठ्याक्कै सम्झनामा भने आएन तर उनको वर्षादर्शनको यो विधि मलाई निक्कै प्रेरणादायी लाग्छ । भित्री चाह हुन्छ– वर्षामा अघाउँजी रूझूँ । तर रूझ्ने बहानासम्म गुमाएर विकलाङ्ग समय भोगिरहेछु । सानोमा केटाकेटी हुँदा बाख्रा चराउन, मौबोटे, खिर्राबोटे, साल्बोटे, हर्राभन्ज्याङ, मरडाँडाको पाखामा जाँदा पानीले बेस्कन कुटिएको छु । त्यतिखेर मुसो हुन्जेल रूझेको अनुभव छ तर त्यो रूझाइ बोधपूर्ण थिएन, होशपूर्ण थिएन । काव्यानुभूतिको सुख थिएन । त्यतिखेरको त्यो रूझाइमा त्यो चरम दुःख थियो । पींडा थियो । अभावको दंशले दंशित रूझाइ थियो ।

आशावादीहरु कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने कहावतमा रट लाउँछन् । मेरो नजरमा यो कुरा गलत छ । कालो बादलमा भएको चाँदीको घेराले खोइ के दिन सक्ला, एउटा भ्रमको झलक दिनुसिवाय । यो उखानलाई उल्ट्याएर कालो बादलको घेरामा पानी छ, वर्षा छ, जीवन छ, अमृत छ भन्दा पो हामी सार्थक सत्यको सन्निकट हुने थियौँ कि ? नजिकै आँपका दानाहरु नुहेका छन्, त्यसमा बादलकै प्रतिबिम्ब देख्छु । फूलहरु पुष्पित, पल्लवित छ, त्यसमा पनि कालो बादलकै आभास भेट्छु ।

बगैँचाको किनारमा बसेर गोधूलि आकाशको दर्शन गर्दा हिजैमात्र आठ रङका बादलहरु एकमाथि अर्का खप्टिएको पाएँ । कुनै तताएको फलाम जस्तो रातो, कुनै कलेजी रङको, कुनै कालो चुक घोप्टे जस्तो, कुनै सुनौला रङको, कुनै सफेद सेतो, कुनै खैरो, कुनै बैजनी, कुनै सुन्तला रङको । सबभन्दा वर अनि तल कालो रङको बादल छ । उसले मादल होइन तबला बजाएको छ । खोलाकिनारबाट उठ्यो सप्तरङ्गी इन्द्रेणीको धर्सो । केही क्षणमा हावाको सानोसानो झोक्का सँगै बस्र्यो बादलनिर निर्झरी । मेरा आँखा अश्रुपुरित बन्छन्, यस्तो दृश्यले अक्सर मलाई घायल गर्छ । माथि मेघबर्साद तल अश्रुबर्साद । तर यो घायलचोट मीठोमीठो लाग्छ । यसमा पींडाको कुनै दंश छैन, यो त हृदयले प्रकट गरेको अहोभाव हो, यस्तै अहोभावमा बगिरहनु, मेघमहिमा कथिरहनुमा जीवनको काव्यिक सुख भेट्ने गर्छु । मेघाच्छादित आकाश हेरी हृदयको प्यास मेट्ने गर्छु । अस्तु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 7 माघ, 2066

लेखकका अन्य रचनाहरु