आकाशजत्रो मान्छे:भवानी घिमिरे

- अच्युत घिमिरे

कविता लेख्नेहरू निलो आकाशमा अक्षर देख्छन््, छाँगा-छहराहरूमा ढकमक्क फूल फुलेको देख्छन्, भुवाझैँ भावनामा उडिरहने उनीहरू माटोलाई सुनजस्तै मूल्यवान ठान्छन् । एउटा यस्तै कवि मान्छे कहिले टिस्टाका नागवेली दृश्यहरू हेर्दै कहिले स्वच्छ, स्निग्ध कञ्चनजङ्गालाई मनभरि सङ्गाल्दै, पहाडका थुम्काथुम्कीहरू चाहार्दै सिन्ताम, देउराली हुँदै सिक्किमका गाउँ-बस्तीहरूसम्म पुग्थे, कहिले हरिभक्तका पाइलाहरू पछ्याउँदै वुगीवील, डिब्रुगढ, डिगवोईसम्म पुग्थे । मेचीका किनारहरू हुन् या ब्रम्हपुत्र, गङ्गाका किनारहरू, उनी कहिले बनारस पुग्थे, कहिले डुवर्स, आसाम, मणिपुर पुग्थे । उनी जहाँ पुगे पनि नेपालीहरूकै मायामा घेरिएर बसेका हुन्थे । एउटँ उत्कट अभिलाषा, नेपाली भाषा र साहित्यको अभिवृद्धिका निम्ति आतुर भएर विगत ४५ वर्षदेखि यसरी फकिरझैँ हिडिरहका ती कविमान्छे थिए भवानी घिमिरे ।

भवानी घिमिरेको जन्म वि.सं. १९८७ आश्विन विजया दशमीका दिन मोरङको विराटनगरमा पिता हिरण्यनाथ उपाध्याय र माता हाटकेशरीदेवीको माहिलो छोराको रूपमा भएको थियो । सभ्रान्त परिवारमा जन्मिएका घिमिरेको वाल्यकाल सुखमा बित्यो । हजारौं बिघाका धनी उनका पिता हात्तीमा चढ्थे, सामन्ती रोवरबाफ देखाउँथे । एक दिन एउटी आइमाई आएर मनका पीर, व्यथाहरू पोख्दै उनका अगाडि बलीन्द्र आँसुका धारा बगाउँदा पनि ढुङ्गाजस्ता मन भएका उनका पिताले ती आइमाईलाई गाली बेइज्जती गरे, त्यही बेलादेखि ७-८ वर्षे बालक भवानीमा भावनाका रङ्गहरू देखिन थाले । सामन्ती थिचोमिचोप्रति कटाक्ष गर्दै उनी त्यो समयपछि विरोधका आवाजहरू बोल्न थाले । उनको सङ्गत अभाव, समस्या, छटपटी बाँचेका निम्न वर्गका मान्छेहरूसँग हुन थाल्यो । यो कुरा उनका गरीबमारा पितालाई मन परेन । कडा मिजासका उनका पिताबाट शारीरिक र मानसिक यातना खपिरहनुपर्‍यो बालक भवानीले । एक दिन आफ्ना पिताले रगताम्मे हुने गरी टाउकोमा चोट लगाएपछि पहिलोपटक भवानी बाबुको विरोधमा विद्रोही भएर देखा परे । बाबुको रूखो र आततायी व्यबहारबाट वाक्क-दिक्क भएर एक रात भवानी मधुमारास्थित बडेमानको घरको सुखसयल छोडेर खेतका आलीहरू हुँदै भाग्दै जोगवनी पुगे । त्यहाँबाट उनी आफूले मानसपटलमा सजाएको बनारसतिर लागे । त्यस बेला उनी चौध वर्ष पुगिसकेका थिए । बनारसको गुर्जट पाठशालामा कक्षा ६ मा भर्ना भएका घिमिरे बिहान-बेलुका केटाकेटीहरूलाई ट्युसन पढाउँदै आˆनो पढाइलाई निरन्तरता दिन थाले र बनारसबाट नै उनले स्नातक उत्तीर्ण गरे । आफू जमिन्दारको छोरो भएर जन्मे पनि १३-१४ वर्षको उमेरदेखि नै दुःख, अभावको जीवन बाँच्दै आएका घिमिरेलाई तिनै समस्याहरूले कवि बनायो । बनारस बसाइको क्रममै वि.सं. २००८ सालको 'युगवाणी' पत्रिकामा ंसमता' शीर्षकको निबन्ध प्रकाशित भएपछि उनको साहित्यिक यात्रा प्रारम्भ भएको हो । राहुल साँस्कृत्यायनबाट प्रभाव ग्रहण गरेर साहित्यलेखनमा लागेको बताउने घिमिरेको पहिलो प्रकाशित कृति वि.सं. २००९ मा प्रकाशित 'आत्मज्वाला' कथा-सङ्ग्रह हो । नानी -कथा-सङ्ग्रह) २०१४, स्मृतिका रेखाहरू -कविता-सङ्ग्रह) २०२५, मेरा अभिव्यक्ति विविध -निबन्ध र भूमिका-सङ्ग्रह) २०५८ जस्ता सातवटा कृति प्रकाशन गरिसकेका घिमिरेले मेची किनारका कविताहरू -कविता-सङ्ग्रह), कामरेड जाने होइन? -कथा-सङ्ग्रह) का साथै 'भानु' मासिक, 'जनयुग' पाक्षिक, 'प्रकाश' साप्ताहिक जस्ता पत्रिकाहरूको पनि सम्पादन गरिसकेका छन् । उनले राष्ट्र र राष्ट्रियता, माक्र्स र माक्र्सवादका साथै खलिल जिब्रानका छोटा कथाहरू 'वटुवा' को अङ्ग्रेजीबाट नेपालीमा अनुवाद पनि गरेका छन् ।

प्रगतिशील लेखक सङ्घका संस्थापक सदस्य, साहित्यिक पत्रकार सङघ, नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समितिका संस्थापक अध्यक्ष, युद्धप्रसाद मिश्र प्रतिष्ठान, साहित्य सदन, अभिनव साहित्य समाज, ज्योति साहित्य प्रतिष्ठान, मितेरी नेपाल, सुरभि साहित्य प्रतिष्ठानका सल्लाहकार, साझा प्रकाशनका पूर्व सञ्चालक, समाज कल्याण परिषद्का पूर्व उपाध्यक्ष, जनवादी सांस्कृतिक संघका पूर्व अध्यक्ष, यस्ता धेरै संघ-संस्थाहरूमा आबद्धता जनाइसकेका घिमिरे यो राष्ट्रले सम्मान गर्नुपर्ने सम्मानित व्यक्तित्व हुन् । २०३६ को सडक कविता क्रान्तिमा होस् या कवितामा भोक खोज्दै २०४० मा सुरु भएको झापाको भोक कविता आन्दोलनमा होस् उनले सक्रिय रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरे । भारतको दिल्लीमा प्रेमचन्द शतवाषिर्कीको अन्तराष्ट्रिय समारोहमा सहभागिता जनाएर होस् या थाइलेण्डको बैंकक, रुसको अन्तराष्ट्रिय युवा भेलामा, मेची र महाकालीको सिमाना काटेर उनले क्षितिजतिरका देशहरूमा पनि आफ्नो गौरवशाली उपस्थिति जनाइसकेका छन् । कयौं पटक जेल जीवन भोग्न वाध्य भूमिगत अवस्थामा होस् या खुला परिस्थितिमा घिमिरेले नेपाल र भारतका कुना-काप्चासम्म चहार्दै नेपाली जातिहरूका झुप्रा-झुप्राहरूमा पुगेर साहित्यिक जागरण ल्याउने काम गरेका छन् । सबैले चर्चा गर्नु नै पर्ने कुरा घिमिरेले प्राज्ञिक महत्व बोकेका भानुु मासिकका समान्य अड्ढ र हरिभक्त कटुवाल, भानुभक्त, देवकोटा, डुवर्स, सिक्किम विशेषाड्ढजस्ता विशेष अड्ढका माध्यमबाट नेपाली भाषा साहित्यको संवृद्धिका लागि गरेको उल्लेखनीय योगदानलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।

असी वर्षको उमेरमा पनि युवा जोस, जाँगर बोकेर यात्रामा अविरल हिँडिरहने घिमिरेको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई नेपाली साहित्य परिषद, साहित्यिक पत्रकार संघ, शिक्षा मन्त्रालय, भद्रपुर नगरपालिका, तीनधारे नेपाली समाज, नवरङ्ग साहित्य प्रतिष्ठान, साहित्य सन्ध्याजस्ता नेपाल तथा भारतका साठीभन्दा बढी सङ्घ-संस्थाले अभिनन्दन, सम्मान र पुरस्कृत गरिसकेका छन् । सबैका पि्रय पात्र आकाशजत्रा मान्छे भवानी घिमिरे बाँचिरहनेछन् युगयुगसम्म ।

मान्छेजस्तै कविता लेख्ने, कविताजस्तै मान्छे देख्ने घिमिरे कालजयी कविताहरू सिर्जने मात्र होइन, वाचन गर्दा पनि पाठकको मस्तिष्कमा झङ्कार पैदा गर्न सक्छन् । साथीभाइहरूको निम्तालाई नाइनास्ती गर्न नसक्ने कवि घिमिरे गोकुल जोशीजस्तै घुमन्ते कवि लाग्थे जो राति घरमा विश्राम गरे पनि दिनभर घुमिरहन्थे, शुभचिन्तकका कोठाचोटाहरूमा । दार्जीलिङको चौरस्तामा उभिएको भानुभक्तको सालिक होस् या काकरभिट्टा क्याम्पसको प्रँङ्गण्ँमा उभिएको सालिकस यसरी प्रतीकका रूपमा ठडिएका सबै सालिकहरूलाई श्रद्धा गर्थे, सबै कविहरूलाई श्रद्धा गर्थे कवि घिमिरे । हिमालजस्तै स्वच्छ थिए, पवित्र र कञ्चन थिए ।
गोरखापत्र

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 28 पौष, 2066

लेखकका अन्य रचनाहरु