शहर यात्रा

- अनमोलमणि

उसका रुप कति थिए कसैलाई थाहा थिएन। ऊ आना केही रुप जङ्गलमै छाडेर शहर'यात्रामा निस्क्यो। शहर'यात्राको पहिलो दिन ऊ चौबाटोमा पुगेर उभियो। ऊ उभिएको बाहेक अरू बाटाहरू तीनतिर छरिएका थिए। ऊ आएको बाटो पहिल्याउँदै जाने हो भने सोै अन्धकार जङ्गल पुगिन्थ्यो, जहाँ कुकुरडाइनाका काँढाहरूले जेलिएको अस्पष्ट बाटो थियो। उसलाई राम्ररी थाहा थियो शहर'यात्राअघि ऊ आएको अनकन्टार जङ्गलको बाटो प्रस्ट थिएन।

उसले कुनै सुन्दर युवतीको सलक्क पारेर छाडिएको कालो केशजस्तो आफूअघि लमतन्न सुतेको चिल्लो सडक हेर्‍यो। र, केहीबेर गम खायो। उसको दाहिने र देब्रेतिरका बाटाहरू छिमेकी गाउँतिर पुग्दथे। तर ऊ अहिले पनि छिमेकीहरूलाई मन पराउँदैन। र, त्यो बाटो जान चाहँदैन। ऊ केटाकेटी पनि मन पराउँदैन। केटाकेटी नजिक परेको हेर्न चाहँदैन। फूल मन पराउँदैन। सुन्दरता मन पराउँदैन। पुस्तक मन पराउँदैन। कलम मन पराउँदैन। पाठशाला मन पराउँदैन। पढाउने गुरुहरू मन पराउँदैन। अरूको विचार मन पराउँदैन। जङ्गलमा रहँदा उसले छिमेकीहरूलाई खूब गाली गरेको थियो। फूलहरू मिचीमिची सखाप पारेको थियो। केटाकेटीहरूलाई विद्यालयमै गएर यति निर्दयतापूर्वक पीडा दिएर तर्साएको थियो, उसको नाम मात्रैले पनि केटाकेटी तर्सिन्थे।

शहर'यात्रा तय गरेको दिन उसले आना सम्पूर्ण सिद्धान्त, व्यवहार र क्रान्ति त्यही चौबाटोमा छाड्यो र नयाँ रुप धारण गर्‍यो। उसले आनो रुप निकै कोमलजस्तो बनायो। चौबाटो नजिकैको बस्ती छिरेर केटीकेटीलाई माया गर्न खोज्यो, केटाकेटी भागाभाग गरे। छिमेकीहरूलाई नजिकको बनाउन खोज्यो, उनीहरू हिजोकै जस्तो तर्सिए। फूलहरू गोडमेल गर्न थाल्यो, उसको छुवाइले मात्रै पनि फूलहरू विस्तारै मूर्ाउन थाले। पढाउने गुरुहरूसँग केही सिक्न खोजेजस्तो गर्‍यो, गुरुहरूको ज्ञानको हवास विस्तारै हराउँदै गयो।

शहरमा उसको शहरयात्राको निकै चर्चा भयो। उसका पछिपछि उसका केही साथीहरू पनि शहरयात्रामा आए। शहरयात्राकै क्रममा कालो शिशाको महँगो गाडीमा चढेर ऊ सिंहदरबार छिर्‍यो। त्रासबीच मान्छेहरूले केही आश पनि गरे। सिंहदरबारमा उसले भन्यो अब म फूल मन पराउँछु, केटाकेटी मन पराउँछु। तिनले पढ्ने कलम, पुस्तक र पाठशाला मन पराउँछु। छिमेकी मन पराउँछु। गुरुहरू मन पराउँछु। सुन्दरता मन पराउँछु। म बन्दूकदेखि डराउन थालेको छु। बारुदको आवाजले स्किन थालेको छु। शक्ति मान्छेमा रहेछ। म अहिले मान्छेहरू मन पराउन थालेको छु।

उसले यो घोषणा गरिरहँदा जङ्गलमै छोडिएको उसको बाँकी रुप र त्यही रुपको रखबारीमा रहेका उसका साथीहरू चाहिँ बन्दूकको नाल जङ्गलका पोथ्राइला रूखको कापमा घुसारेर उसले यात्रा गरेको शहरतिर चियाइरहेका थिए। शहरयात्रामा रहेको उसको रुप चाहिँ दोधारमा अलमलिइरहेको थियो 'म यही महँगो गाडी चढेर सबै साथी र विगत छाडेर शहर बसूँ कि जङ्गलकै रुपलाई सक्रिय बनाउँ्क?'

ऊ अहिले पनि शहरमा त्यही दोधारमा हिँडिरहेको छ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 3 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु