काले र भाले

- नरेन्द्रराज पौडेल

एकादेशको काले गाउँमा एक दिन एउटा खाइलाग्दो अज्ञात प्राणीले विवाद प्रक्षेपण गरिदिएछ । कुन लोक वा कुनचाहिँ ग्रहपिण्ड बाट के उद्देश्यले किन आएछ त्यो अज्ञात वस्तु कसैले भेउ पाउन सकेन । तर उसले विवाद खडा गरिदियो । विवाद पनि यसरी व्यापक र तीक्ष्ण बनी दिएछ कि अज्ञात प्राणीको स्वर सुन्दै दाइकाले र भाइकाले दुवैका नेत्र बलेछन् । पेटका कीरा एकाएक सल्बलाएछन् । रौँ ठाडा भए । चिटचिट पसिना । फर्फराएका आँखीभौँ । रसाएका नाक । फर्किएका लोती । उर्लिएको स्वास खँलाती । रिसले मुर्मुरिएका काले बन्धुहरु सुदूर भविष्यसँग भ्याउने गरी नयाँ नजीर निर्माण गर्दै पहिलो चरणमा वाग्वाणको हिलो छ्यापेर हानथाप गर्न थालेछन् ।
‘तँचोर–तँचोर ।’
तँ दाइमारा— तँ भाइमारा’
‘तँ घुस्याहा— तँ ठग’
‘तँ हन्तकाली— तँ लुच्चो’
‘तँ फटाहा— तँ पेटाहा’
दुवै भाइको मुखारविन्दबाट बाग्वाणको फेहरिस्त बढ्दै गयो । बोलीका लवजहरु तिखारिँदै, चिल्लिँदै, चम्किँदै र टल्किँदै गए । गणेश रसिक र भोजपुरे बन्धुको गीतको गेडो समातेर रमिते चराहरु चिर्बिर गाउन थालेछन्— “काले काले मिलेर खाउँ भाले ।”
सहरबजार गाउँघर काले विवादको लालित्य पूर्ण लयदार गीतले गाउँबिसी, वनपाखा, सहरबजार एकसाथ घन्कियो । मानव वस्ती भन्दा बाहिरका भीर पहरासम्म रन्कियो । जङ्गल निकुञ्ज र पाखा पर्तीसम्म गुञ्जियो । बनेल, चितुवाहरु समेत जङ्गली झाडीबाट खुला चउरतिर निस्किएर चर्चा गर्न थालेछन्—
“के भयो यी कालेहरुलाई । आजसम्म त्यो वंशको साखा विस्तारमा यस्तो कुनै घटना भएन । कुनै यस्तो नजीर थिएन । जानेबुझेसम्म इतिहासको कुनै कालखण्डको बाँकी बक्यौता र उज्राती पनि थिएन । बिचरा जङ्गलका पशुपंक्षी पनि चिन्ताले तिल्मिलाएछन् ।”
त ठूलोकाले सानोकाले दुवै पाखुरा सुुर्किएर एक अर्को माथि जाइलाग्ने पोजिसनमा कायमै थिए । आसेपासे र छिमेकीहरु चकित परेर जम्मा हुँदै गए । तमासेहरु लुँडो लागेर चारैतिर घेर्न थाले । विवादका भनाइ र भङ्गिमा अनुसार नै तमासेहरु पनि इमान्दारी पूर्वक घरि ताली बजाउँदै गर्थे । घरि सुसेली हालेर मेला रन्काउँथे । ताली लयदार बन्दैजाँदा काले बन्धुको सनकमा शत प्रतिशत वृद्धि भएको छनक मिल्थ्यो । एकले अर्कोलाई घरि भित्तैसम्म ठेल्दै थियो । घरि अर्कोले छेउको भाइलाई डीलैसम्म पेल्दै थियो । वाग्वाणको वर्षाले वाग्देवीको वरण गर्ने कार्य झन् झन् मुक्त कण्ठले चर्किंदै थियो—

“म तेरो मुख हेर्दिन” ।
“म तेरो बोली सुन्दिन ।”
“तँलाई म हटक गर्छु,” ।
“तँलाई म कटक गर्छु” ।
लाप्पा खेल्ने दुवै भाइ बलिष्ठ थिए, एकरत्ती पनि कोहीभन्दा कोही कम थिएन दाइकाले र भाइकालेमा । ऐन कानुन बमोजिम समान रहेछन् । सनद सवाल बमोजिम कुच्चाको टुप्पो झैँ बराबर मुठारिएका रहेछन् । आरनबाट भर्खर तयार पारिएको झीर झैँ बराबर तिखारिएका रहेछन् । एउटै अडेरीमा राखेर उस्तै मैरीले उजिल्याएका सुनका गहना झैँ एउटै प्रकाशमा टल्किएका रहेछन् । पहिलेका ठेकी खान्की र दैदस्तुर बमोजिम बरोबर बाँडिएका रहेछन् । विवादमा वाचनशील बनेका काले बन्धुको सुरसन्धानले छरछिमेक पनि रन्कायो । गाइजात्राको भक्तपुरे नाचभन्दा पनि मापाको दृश्य प्रस्तुत भयो काले टोलको पाण्डालमा । सर्प खेलाइ हिँड्ने मदारीहरु आफ्नो भन्दा करामती दृश्य देखेर मुक्त कण्ठले प्रशंसा गर्दै मोहित बन्न थाले । बाँदर नचाउने र तमासा देखाउने चटकीहरु अकमक्क पर्दै लट्टिए । छिमेकीदेखि टाढाटाढासम्मका मनुवा थपिए । पत्रकार, पर्यवेक्षक, सुरक्षा कर्मी, मानव अधिकार, नागरिक समाज सवैतिरका सुकिलामुकिला प्राणिहरुको जमघट जम्यो । चकचके भुराहरु मर्यादाक्रम बमोजिम सिठ्ठी फुक्न थाले । कतिपयले नियम विनियम र बन्दोबस्ती बमोजिम सुसेली हाल्दै मेलामा रौनक थपि दिए । एकछिन पछि तिनै उर्वौला केटाकेटीहरु भीडभाडको आड लिएर गट्टा बर्साउन थाले ।
अलि प्रौढ उमेरका तटस्थ पर्यवेक्षक जस्ता लाग्ने समुदाय डीलमा बसेर चर्चा गर्दै थिए— हँन के भयो आज यी कालेहरुलाई ? परापूर्व कालदेखि नै नङमासु जस्तै मिलेर बसेका थिए । आन्द्राभूडी जस्तै गाँसिएका थिए । टेप वर्म जस्तै एकअर्कोसँग टाँसिएका थिए । जेठा कान्छा बीचमा अदव थियो । अदवभित्र धेरै थरी मर्यादाका दवदवाहरु थिए । जेठालाई कान्छाले मान्थ्यो, कान्छालाई जेठाले सघाउँथ्यो चप्काउन दुवै खप्पीस थिए । कसैलाई शङ्काको सुविधा दिँदैनथे, अनुशासन थियो । कासन थियो । पुराण वाचन गर्ने व्यासासन थियो, जो छ सो महाजन भन्ने वाणीको अनवरत प्रकाशन थियो । मण्डी ओढेर घिउ खाँदा मिलेरै खान्थे । भाग शान्ति खान्थे । अशान्ति गर्दैनथे । काम्लो ओछ्याउँदा मिलेरै ओछ्याउँथे । त्यहाँमाथि बसेर इन्साफ दिँदा झन् सारो मिलेका हुन्थे । कसैले वेनिसाफ भयो भनी हाले एकमुख लागेर प्रतिवाद गर्थे यस्तोमा झन्सारो मिलेका हुन्थे । चारा टिप्न चुच्चो मिलाएकै हुन्थे । जुधाउँदैनथे । पाए र भ्याएसम्म टिपी नै रहन्थे । अघाउँदैनथे । थाक्दैनथे । मासमस्याङ्गदेखि मूलाकाउलीसम्म जोजो भोटिन्छ जिप्ट्याउँथे । छाडदैनथे । अरुलाई सधै कानुनका कुरा सुनाउथे । दफा देखाउँथे । सारा पढाउँथे तर आपूm नियम विनियमका व्यवस्थाहरु तोडन मन पराउँथे । तोड्दा मिलेर तोड्थे । दया र करुणाका अवतार थिए । त्यसैले सेवाग्राही वर्गलाई सधै झुलाउँथे । वयानब्बेलाई सधैँ उनन्तीस बनाएर आयुवृद्धि गराउँथे । अनि बीसौँ वर्ष धाउँदा पनि इन्साफ नपाएर विलखबन्द परेका नागरिक वृन्दका लागि पाल्पाली करुवा बनेर आशाको टुटी देखाइदिन्थे । झुक्याउँदै छक्याउँदै सरकारी दाना पचाउन गारो मान्दैनथे । सितै पचाउँथे । बन्दहडताल भए अफिसै नगइ जुवा नार्थे । हारजितमा दिन बिताउँथे । महिनौँ हप्तौको हाजिरी एकै दिन बजाएर जागीरलाई भोर्जुवामा मनाउँथे । अर्कातिर क्लाइन्टहरु फकाएर पत्रैपत्रका जितौरी आस्वासन बाँड्थे । दश–पाँचको अफिसलाई दुई–तीन भित्र अटाउँथे । सरकारी गाडी तेल र मसलन्दको व्यक्तिगत पेवाको रुपमा भरपूर सदुपयोग गर्थे । नेता नायकभन्दा कम हुँदैनथे । बरु यदाकदा केही बढी ने हुन्थे । वचनका पक्का थिए । प्रवचनका चर्का थिए । जनताको काम गर्न भनेपछि सधैँ हुरुक्क हुन्थे । छेउ भित्ता तलमाथिको खालीठाउँमा नाउँ बजाएरै खुरुक्क फर्कन्थे । सेवाग्राही भनाउँदो निमुखा प्राणी आफ्नै जस्तो मुख लिएर लुरुक्क फर्कन्थ्यो । एक दिन, एक वर्ष, दुइ वर्ष, दश वर्ष, बीस वर्ष ऊ सधैँ फर्कन्थ्यो । तलवको घाँसे चउर सधैँ खुल्ला । आफ्नै सेवा आफ्नै मेवा मै रमाउँथे । महमा लट्टिन्थे । सात्विक थिए । त्यसैले उनाउ आम्दानी नाउँको दानदातब्यलाई सुनपानीले चोख्याउँथे । त्यसै ग्रहण गर्दैनथे ।
पर्यवेक्षकहरुका आशंका अझै चुलिँदै गए । चर्चाको बाढी उलिँदै गयो । मान्छे भन्दै थिए । त के भयो आज यो काले खलकलाई ? कसले धुइँपुत्लो लगाउँदैछ काले वंशको विशाल वटवृक्षको फेद कपेर । कताबाट धमिरा सल्कियो ! कताबाट कसरी डढ्यौला दन्कियो ! कताबाट भाइभाइका साँधमा अगती फुल्यो ! कसरी विषवृक्ष हुर्कियो ! सँधै एकले अर्कोलाई काँध थापी रहन्थे । कहिल्यै चाँचूँसम्म गर्दैनथे । चाहिँदो नचाहिँदो जस्तो चारी टिप्नु पर्दा पनि संयुक्त रुपमा चुच्चा चलाउँथे । कसले वाज हुलिदियो काले वंशको परेवाको संसारमा । कसले साँडा चिलहरुलाई पल्कायो यी चारो टिप्नमात्र जान्ने विचरा कलीला काले चल्लाहरुको बथानमा ? कसले एन्थ्य्राक्सका अरिङ्गाल पठायो भर्खरै पूmलको खोजिमा बारी वगैँचामा डुल्दै गरेका मौरीहरुको बथानमा ।
विचराहरु सधै मिलजुल गर्थे । कहिल्यै ङारङुर गर्दैनथे । सधैँ आपसमा भनाइ शिरोपर गर्थे । कहिल्यै केही नाइँनास्ती गर्दैनथे । एक भाइले ग्राहक गुहारेर गुह्य कुराको मेसो मिलाउँथ्यो । अर्कोले भरोसा दिलाउथ्यो । एक भाइले खोजी खोजी कच्चा पदार्थ बटुल्थ्यो । अर्कोले बसीबसी थला मलेर प्रशोधन गथ्र्यो । एउटाले वाली झारझुर पाथ्र्यो । अर्कोले सुकाइ पकाई बताउँथ्यो । एउटाले केलाइकुलाई गथ्र्यो । अर्कोले ढोक्से भकारी भरेर थन्क्याउँथ्यो । एउटाले सीधासार्धम तयार पाथ्र्यो, अर्कोले कर्मकाण्ड चलाउँथ्यो । एउटाले मन्त्र पढ्थ्यो । अर्कोले हत्यौडी गथ्र्यो । एउटा घारो पसाथ्र्यो अर्कोले मह काट्थ्यो । अनि भागशान्ति वाँड्थ्यो । यसो आँखा छलेर बेला मौकामा हात चाट्थ्यो । तर त्यसले त्यति फरक पार्दैनथ्यो । चाटचुट पछि फेरि अर्को अभियानमा मिलेर जुट्थे । मिलेर जुत्ता साट्थे मिलेर बिजुलीका लाइन जोड्थे । कोहीभन्दा कोही कम थिएन । सवै पराक्रमी थिए । पराक्रम देखाउँथे ।
दर्शक दीर्धामा गाइँगुइँ हल्लाहरु चल्दै थिए । पर्यवेक्षकहरु तर्क–विर्तकका भुमरीहरुमा रिङ्दै थिए । काले गाउँको झगडाको आगो हावाको बल पाएर झन् झन् दन्किँदै गएछ । अनि छिमेकी झालोमाले गाउँसम्म पनि सल्किने सम्भावना देखिएछ । वरपरका छिमेकीहरु तत्काल सक्रिय भएर झगडाको आगो निभाउन कस्सिए । बिल्टुवा बसेको मानवअधिकारकर्मी र नागरिक समाजले सिङ् जुरो नभएको भने जस्तै इलम भेट्यो । अनि हतारहतार संवाद र सहमतिको शान्ति प्रस्ताव लिएर झगडा मिलाउन तम्सियो । सबैको सहकार्यमा छानवीन आयोग बनाउने टुङ्गोमा मोफसलको सभा टुङ्गियो ।
आयोग बन्यो । छानवीनको क्रम पारो झैँ तातेर रन्कियो । खलाँतीको सहाराले भर्भराउँदो भएको भुङ्ग्रोमाथि प्रतिवेदनरुपि तावा तात्न थाल्यो, अनि लामै सेकतापपछि छानविन टोलीले पत्ता लगायो—
काले टोलको झगडाको कारण भाले रहेछ ।
पहिलेदेखि मिल्दै आएको भालेको भाग वण्डामा कताकता के चुकुल खुस्किएछ कुन्नि ! कतै नङ्ग्रा दारा । कतै कल्की जाँते । कतै टाउका करङ्ग । कतै फिला सपेटा । अनि कतै भने भुत्ला पखेटा देख्तै लाग्दथ्यो यस पाली भाले देहको भाग बण्डामा बेहिसाव गडबडी भएछ । यता वर्तमान समयकै नमुना स्वरुप विशालकाय भालेको सफाया हुनु उता भागवण्डामा गडवडी हुनुबाट । दुवैतर्फ खतीको विपत्तिकजन्य भूकम्प आएछ ।
बल्लतल्ल प्रतिवेदन पेश भयो । अभुतपूर्व भाले विवादलाई तार्किक निष्कर्षमा पु¥याउन थरिथरि सुझाव तयार भए ती मध्ये निचोड चाहिँ यस्तो रहेछ ।
“आइन्दा जत्रो जस्तोसुकै रङ्ग, वर्ण, तौलको भाले भए पनि सवै खाले अंग अवयवको सम्यक समायोजन सहित भागबण्डा मिलाउने ।” प्रतिवेदनको सुझाव सुन्ने बित्तिकै आइन्दा आइपर्ने र हातलाग्ने भालेको भागशान्ति वण्डा गर्ने शर्तमा हालको अशान्ति आफै मत्थर हुन पुगेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 पौष, 2066

लेखकका अन्य रचनाहरु