देवकोटाको अङ्ग्रेजी कक्षा

- डा. जनकलाल वैद्य

आजभन्दा छयालीस वर्ष जति पुरानो सम्झना हो यो । वि. सं. २०१२ आश्विन ८,२३, २७ र कात्तिक १७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिचन्द्र कलेजमा बी.ए. तृतीय वर्षको कक्षामा अङ्ग्रेजी साहित्यका क्लासिसिज्म र रोमान्टिसिज्य विषय र तत् विषय धाराका कविता बारेमा पढाउनुभएको थियो । सो कक्षाको मेरो क्लास नोट कापी मसँग अद्यापि मौजुद छ । त्रिचन्द्र कलेज भवनको तेस्रो तलामा रहेको 'कैलास कोठा' भनिने १२ नंं को कोठामा वी.ए. तृतीय वर्षको कक्षा हुन्थ्यो । सो लामो कोठा घण्टाघरको ठीक उत्तरतिर सँगै रहेको मूल सडकबाट टड्कारै देख्न सकिन्छ- तचष्अजबलमचब अयििभनभ भकतम ज्ञढज्ञड ब्।म्। नामाङ्कति मार्बल स्ल्याब जडिएको । त्यसबखत् अङ्ग्रेजी साहित्य विषय सबै विद्यार्थीले पढ्नुपर्ने अनिवार्य विषय थियो । काठमाडौँ उपत्यकाभित्रका र उपत्यका बाहिरका ठाउँठाउँबाट उच्चशिक्षा पढ्ने विद्यार्थीहरू सबै त्रिचन्द्र कलेजमै भर्नाहुन्थे । महाकवि देवकोटाले लिने अङ्ग्रेजी साहित्य विषयको कक्षामा प्रायः सबका सब विद्यार्थीहरू करिब दुई सय जना उपस्थिति हुन्थे- रुजु हाजिर हुन्थे नै । कक्षा समयभर त्यो लामो कोठा भरिपूर्ण हुन्थ्यो ।

महाकवि देवकोटा बाइस्कल चढेर त्रिचन्द्र कलेजमा पढाउन आउनुहुन्थ्यो । बाह्र नम्बरको कैलास कोठामा कक्षा लिन दुईदुईवटा बडेमाका काठका भर्‍याङ उक्लेर उहाँ ठीक समयमै -दोस्रो पिरियडको समय १०.४५ बजे) कक्षा कोठामा प्रवेश गर्नु हुन्थ्यो । हामी विद्यार्थी आदरपूर्वक उठेर उहाँलाई अभिवादन गथ्र्यौँ । देवकोटा सर उभिएरै पढाउनुहुन्थ्यो ।

कालो घुँगि्रएको माझ र पछाडितिर छाल तरङ्गझैँ देखिने कपाल नै उहाँको शिरपोस श्रीशोभा थियो । सेतो सफा दौरा सुरुवाल, मोजा र पालिस लगाएर टल्काइएका जुत्तासहितको राष्ट्रिय पोसाकमा उहाँ आउनुहुन्थ्यो । सादा जीवन, उच्च विचारको भावना र आदर्श । उच्च स्वस्थ कल्पना, सिर्जनशील प्रतिभा र विद्वत्ताले धप्प जल्दाबल्दा सौम्य एवं भद्र व्यक्तित्वको चहकमहकले त्यो लामो कक्षाकोठा नै उज्ज्वल भएको प्रतीत हुन्थ्यो मलाई ।

हो, त्यसबेला उहाँ नेपाली राष्ट्रिय पहिरनमा सुशोभित हुनुहुन्थ्यो । जब उहाँ पढाउन प्रारम्भ गर्नु हुन्थ्यो, तब मलाई यस्तो लाग्थ्यो- उहाँको जिहृवामा विद्याकी देवी सरस्वती चिप्लेँटी खेल्न लाग्छिन् । श्रीकृष्ण भगवान्को विशाल मुखगहृवरभित्र ब्रहृमाण्ड विश्वसंसार देखापरेझैँ लाग्थ्यो मलाई । उहाँले त्यसक्षण बोलिरहनुभएको अङ्ग्रेजी भाषामा कृत्रिमता रत्तिभर पनि देखिन्नथ्यो । बरु अङ्ग्रेजी भाषाका अक्षरअक्षर, शब्दशब्द, वाक्यवाक्यका उच्चारण ध्वनि सुनिरहँदा मूल फुटेझैँ उहाँको लेक्चर निर्बाधअविरल प्रवाहित भइरहेझैँ लाग्छ । उहाँको लेक्चरद्वारा पाठ्य अङ्ग्रेजी रोमान्टिक कविका भावव्यञ्जना, कविताका भावार्थ, ध्वनि प्रवृत्ति, बिम्ब-प्रतिबिम्ब, चित्रपात्र, प्रकृति-प्रवृत्ति, घटना-स्थान आदिआदि सजीव भएर सामुन्ने उपस्थित हुनआएझैँ लाग्थ्यो । उहाँको बोली मिठास, काव्यात्मक, ओजपूर्ण र माधुर्ययुक्त भएजस्तो लाग्थ्यो मलाई त्यसक्षण । उहाँको लेक्चरको गति त्यसो त ठीकैको हुन्थ्यो, न छिटो, न ढिलो । उहाँको बोलीमा श्रोता विद्यार्थीहरूका आँखा, कान, मनमस्तिष्क सबैलाई मन्त्रमुग्ध पारी एक साथै लठ्याइराख्ने जादु मोहनी हुन्थ्यो जस्तो मलाई अनुभूत भयो । सुनिरहौँ जस्तो लाग्ने । उहाँले आˆनो लेक्चरमा अभिव्यक्त गर्नुभएका तथ्य कुरा पाठ्य कुरा लिपिबद्ध गरेर सञ्चय गरिराख्नुपर्नेजस्ता थिए तर अचम्म ! उहाँको लेक्चर सुन्दै तथ्यपाठ्य कुरा टिप्न नसकिने, नभ्याइने हुन्थ्यो मरो लागि । उहाँले लेक्चरमा अभिव्यक्त गरेका पाठ्यतथ्य कुरा एक सुरमा टिप्दै, लेख्दै जाऔँ भने उहाँले भनी रहँदा उहाँको मुखमुद्रामा झल्याकझुलुक देखिने ध्वनि उच्चारण र भाव चित्रका जादुमय दृश्य हेर्दा लाभ हुने र हार्दिक आनन्द अनुभूति पाउनबाट वञ्चित होइने त्यसबेलाका हामी विद्यार्थीहरूका साझा अनुभूति त्यस्तै हुन्थ्यो । कस्तो फसाद त्यति बेलाका हामी विद्यार्थीहरूमध्ये दुईजना सहपाठी साथीहरू कमलप्रकाश मल्ल -प्रा.डा.) र शिवभक्त राजभण्डारीले मात्र देवकोटा सरको लेक्चर टिपेको मलाई थाहा छ । म उहाँहरूसँगै सामुन्नेको मेचमा बस्ने हुँदा उहाँहरूको कापी देख्न सक्थेँ पढ्न सक्थेँ । कमलप्रकाश मल्ल चाहिँ देवकोटा सरले लेक्चर गरेको सुन्दै, बुझ्दै, रसास्वादन गर्दै मुस्कुराउँदै आˆना सुन्दर स्पष्ट हस्ताक्षरमा देवकोटा सरको लेक्चर टिप्न सक्थे तर शिवभक्त राजभण्डारी भने आˆनो नोटकापीमा एकसुरमा खुरुखुरु टिप्थे-देवकोटा सरको आङ्गकि, वाचिक, सात्विक भाव अनुभाव सुद्ध ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 मङ्गसीर, 2066

लेखकका अन्य रचनाहरु