महाकवि देवकोटालाई सम्झदा

- गोविन्द वर्तमान

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झना गर्नुको अर्थ एउटा उत्तम व्यक्ति र सर्वोत्तम स्रष्टालाई सम्झना गर्नु हो । नेपाली साहित्यमा आजका मितिसम्म देवकोटाको उचाइलाई भेट्टाउने क्षमता कसैले प्रदर्शन गरेको छैन । त्यसैले पनि देवकोटालाई उनका रचनाहरूको आलोकमा हामी सर्वाेत्तम स्रष्टा भन्न सक्छौंं । गुण र संख्या दुवै दृष्टिले देवकोटाका रचना अग्रस्थानमा छन् ।

सय वर्षअघि नेपाली समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थिति आजभन्दा धेरै अर्थमा संकुचित थियो । त्यस संकुचनलाई हिन्दू धर्मका आडम्बर र अन्धविश्वासहरूले अझ कुरूप बनाइदिएका थिए । यतिखेर देवकोटालाई सम्झना गर्दा उनको जन्मकालको त्यही सामाजिकताका आन्तरिक तथा बाह्य अवस्थालाई समेत ध्यान दिनु आवश्यक हुन्छ । त्यसो गरिएपछि मात्र हामी मानिस देवकोटा र स्रष्टा देवकोटालाई उचित तवरले मूल्याङ्कन गर्ने दिशातिर उन्मुख हुनेछौं ।

दशकौं अघि कुनै एक सन्दर्भमा नेपाली साहित्यका प्रखर हस्ताक्षर गोविन्द भट्टले भन्नुभएको थियो ः देवकोटा जति राम्रा साहित्यकार थिए, त्यसभन्दा बढी उनी राम्रा मानिस थिए । व्यवहारको बाटोमा हिँडिरहेको अवस्थामा पनि आफ्नो दैनिक जीवनमा देवकोटाले मानिसप्रति देखाउने गरेको प्रेम, करूणा, सद्भाव, दया, विनयशीलता आदि गुणहरूले उनलाई एउटा भव्य मानिस सावित गरेको कुरा दृष्टान्तहरूद्वारा उहाँले सुनाउनुभएको थियो । क्षुद्रताहरूले व्याप्त समाजभित्र स्रष्टाहरूसमेत क्षुद्र हुँदै गइरहेका दृश्यहरू देखिन थालेको अवस्थामा देवकोटामा त्यस्ता उदात्त गुणहरू देख्न पाएका गोविन्द भट्टको अभिव्यक्ति सुनेको त्यस क्षण म निकै भावुक भएको थिएँ । भावुकताको त्यस चरणमा मैले लक्ष्मीप्रसाद देवकोटालाई अझ बढी श्रद्धा र सम्मान अर्पण गरेको थिएँ ।

देवकोटालाई थुपै्रले उनका रचनाका विशिष्टताहरूद्वारा वशीभूत भएर भावुकता मिश्रति अभिव्यक्तिसहित प्रशंसात्मक टिप्पणी गरेका छन् । यस्तै टिप्पणी नै देवकोटासम्बन्धी समालोचनाको प्रमुख पक्ष रहेको देखिन्छ । त्यसपछि विशेषतः वामपन्थी वृत्तका स्रष्टा र सौन्दर्यशास्त्रीहरूले वैचारिक विकासक्रमका आधारमा देवकोटाको मूल्याङ्कन गर्ने सम्यक प्रयत्न गरेका छन् । चैतन्य, मोदनाथ प्रश्रति, मोहनविक्रम सिंह आदि साहित्यकारले देवकोटाका सम्बन्धमा गरेको समालोचना देवकोटालाई राम्ररी बुझ्न निकै उपयोगी रचना हुन् । साहित्य क्षेत्रको एउटा सामान्य यात्रीका हैसियतले मैले बुझेको देवकोटालाई म यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु । यसमा भावुकता मिश्रति प्रशंसात्मक टिप्पणी अनुपस्थित हुने छैन । किनभने देवकोटाबारे लेखिरहँदा उनका उदात्तताहरूको चापले लेखकलाई गाँजिरहन्छ र ऊ स्वतः भावुक हुन पुग्छ । तर पनि वैचारिक विकासक्रमका आधारमा म उनलाई हेर्ने प्रयत्न गरिरहेको छु ।

गोविन्द भट्टले भन्नुभए जस्तै मेरो दृष्टिमा पनि देवकोटा एउटा उत्तम मानिस थिए । जाडोले कामिरहेको मानिसलाई सडकमा भेटेपछि आफूले लगाएको ओभरकोट फुकालेर दिने मिजास उत्तम मानिसको उत्तम मनोरचनामा मात्र देखापर्छ । देवकोटा त्यसै गर्थे । देवकोटासँग संगत गर्न पाएका गोविन्द भट्टजस्ता अन्य अग्रजहरूको संस्मरणबाट मैले देवकोटाको त्यस्तो मनोरचनालाई देख्न पाएको छु । देवकोटालाई भेट्न नपाए पनि उनलाई भेट्न पाएका मानिसलाई भेट्न पाउनु मेरोलागि एउटा गौरवको विषय हो । मैले बाल्यकालदेखि पढ्न पाएका उनका कवितामा पनि म उनको त्यही मनोरचनालाई देख्ने गर्थें । त्यो क्रम अझै भङ्ग भएको छैन । एकदिन सुनको दिन उदाउनेछ भनेर उनले हामी बालखहरूभित्र अंकुरित गराइदिएको आशावादितामा म आजको मेरो रचना संसारको जग निर्माण भएको अनुभव गर्छु । नटिप्नु हेर कोपिला, नच्यात्नु फूल नानी हो भनेर उनले बालखहरूलाई कवितामात्र सुनाएका थिएनन्, त्यस कवितामार्फत बालअधिकारको विषयलाई समेत हाम्रो मानसमा ठाउँ बनाइदिएका थिए ।

देवकोटालाई समालोचकहरूले स्वच्छन्दतावादी भन्ने गरेका छन् । महान साहित्यकार म्याक्सिम गोर्कीले स्वच्छन्दतावादलाई वर्गीकरण गरेर निष्त्रिmय र सक्रिय स्वच्छन्दतावाद भनेका छन् । सक्रिय स्वच्छन्दतावाद यथार्थसम्मत तथा उत्पीडन विरुद्ध विद्रोही चेतनायुक्त हुन्छ भन्ने उनको निष्कर्ष थियो । मेरो दृष्टिमा देवकोटाको स्वच्छन्दतावाद पनि निष्त्रिmय नभएर गोेर्कीले बताएजस्तै सक्रिय स्वच्छन्दतावाद थियो । त्यस स्वच्छन्दतावादले तत्कालीन परिवेशमा प्रगतिशील भूमिका निर्वाह गरेको थियो । आरम्भकालीन कविता 'गरिब'मा उनले गरिबीको महिमामण्डन गरेको बताइन्छ । तर त्यस कवितामार्फत उनले गरिबहरूको मनोविज्ञानभित्र अनावश्यक प्रकारले उभिन आइपुग्ने हीनताबोधको विपक्षमा विचार प्रवाह गरेका हुन् भन्ने म बुझ्छु । 'निधार मेरो पसिना जडाउ छ, मोती तिनैको अनमोल भाउ छ' भन्ने उक्तिले गरिब बनाइएकाहरू श्रमशील मानिस हुन् भन्ने बुझ्न गाह्रो पर्दैन । त्यस्तै 'प्रयासका पत्थरमा नदी सरि, बहन्छु हाँसी म तरङ्गले भरी, म पोखरीझैं उही ठाउँ जम्दिन, छ शुद्ध मेरो जलको सबै कण' भन्ने कवितांशले देवकोटाको मानवतावादको संरचनालाई व्यक्त गर्नुका साथै जडता होइन, गतिशीलतामा शुद्धताको उपस्थिति हुन्छ भन्ने उद्घोष गरेको छ । त्यसैले तत्कालीन परिवेशको वैचारिकताभित्र यस्तो विचारलाई जीवनवादी, अग्रगामी तथा प्रगतिशील विचार भन्न सकिन्छ । त्यसका साथै पुँजी र प्रविधिको विकासले यान्त्रिक तथा स्वार्थी बन्दै गएको मानव समाजमा मानिसले मानिसलाई प्रेम तथा सम्मान गर्न सिकाउने मानवतावाद स्वयम् प्रगतिशील विचार हो भन्न पनि सकिन्छ । त्यसैले आरम्भकालीन देवकोटा रूपपक्षको दृष्टिले स्वच्छन्दतावादी देखिए पनि रचनाको अन्तर्यका दृष्टिले प्रगतिशील विचारका पक्षधर छन् । उनको प्रगतिशीलताको यो प्रच्छन्न कलेवर पछि गएर एकदम खुलस्त हुँदै गएको छ । लामो कविता 'पहाडी पुकार'ले मर्नु त एकदिन छँदैछ, त्यसैले पशुझैं जिउने होइन, मानिस हौं भने मानिसको हक लिएर मरौं भन्ने उद्घोष गरेको छ । यस उद्घोषमा हक प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नसमेत प्रेरित गरिएको छ ।

मानवतावादको यात्राबाट विद्रोही चेतनातिर दौडिएका देवकोटाले 'पागल' कविताबाट आफ्नो यस प्रकारको सशक्त कलाचेतलाई प्रमाणित गरेका छन् । महान नाटककार बालकृष्ण समले देवकोटा तीनपटक जन्मिएको बताएका थिए ः एकपटक मुनामदनबाट, दोस्रोपटक शाकुन्तल र तेस्रोपटक पागल कविताबाट ।

बालकृष्ण समले खासगरी पहाडी मूलका नेपालीहरूको घर-घरभित्र छिरेर गृहिणीहरूको कण्ठमा समेत बास बसेको देवकोटा सबभन्दा लोकपि्रय खण्डकाव्य मुनामदन र नेपाली समाजको सामाजिकताको सुगन्धसमेत आउने शाकुन्तल महाकाव्यको हाराहारीमा राखेको 'पागल' कविता विद्रोही चेतनालाई उत्कर्षमा पुर्‍याएर व्यक्त गरिएको कलाकृति मान्न सकिन्छ । यथास्थिति, अत्याचार, दुराचार र सबै खाले व्यभिचार विरुद्ध यस कविताले गरेको आक्रमण निकै प्रशंसनीय छ ।

२००७ सालपछि आएको 'प्रजातन्त्र' सामाजिक न्याय स्थापित गर्ने प्रकारको देखिएन । त्यसको आवरण राम्रै देखिए पनि भित्री भाग खोक्रो भएको अनुभव देवकोटाले गरे । त्यसपछि उनले कवितामा लेखे ः 'प्रजातन्त्रको ढ्वाङ रित्तो करायो, जमाना अनौठो नयाँ आज आयो ।'

खण्डकाव्य जस्तो प्रतीत हुने गीतीनाटक 'कृषिबाला'मा पुगेर त देवकोटाले भूमिसुधार र किसान आन्दोलनसँग सरोकार राख्ने विषयलाई वाणी दिएका छन् । त्यस गीतीनाटकमा 'धर्तीको यो मालिक्याइँ ठालुबाट खोस' भन्ने उद्घोषले देवकाटाभित्र फक्रिरहेको प्रगतिशील चेतनालाई प्रसारित गरेको छ । उनले उत्पीडित किसान वर्गलाई जागरूक तुल्याउने काममात्र गरेनन्, किसानहरूलाई आत्मबोधको निम्ति आह्वानसमेत गरे । 'बोल-बोल किसान भाइ धर्तीपुत्र जिन्दावाद' भन्ने देवकोटाको आह्वानमा हामी उनको न्यायपि्रयताको समष्टिगत बान्कीलाई देख्न पाउँछौं ।

महाकवि लक्ष्मीप्रसाद देवकोटामा अन्तरनिहित विचारको श्रेष्ठता, देशभक्ति, प्रगतिशील चेतना आदिलाई हामी क्रमशः 'वन' 'पहाडी पुकार'जस्ता कविता, 'के नेपाल सानो छ ?' जस्तो निबन्ध, 'कृषिबाला'जस्तो गीतीनाटक, 'प्रमिथस' महाकाव्य र अप|mो-एसियाली लेखकहरूको सम्मेलनमा तासकन्दमा गरेको भाषणमा देख्न सक्छौं । देवकोटा शतवाषिर्कीको सन्दर्भमा साहित्यबारे देवकोटाकै विचार उद्धृत गर्दै लेखलाई अन्त्य गर्छु ः 'जसले समाजको हानि गर्छ, त्यो जहर हो, जहर असल साहित्य होइन । जीवनको निम्ति र विनाशको विरुद्ध, सहअस्तित्वको निम्ति र सैनिक आक्रमणको विरुद्ध, राष्ट्रिय स्वाधीनताका निम्ति र उपनिवेशवाद तथा साम्राज्यवादका विरुद्ध आधुनिक मानवजातिको महान संघर्षले जागरूक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य माथिल्लो वर्गको शोखको विषय बन्न सक्दैन । अब यो समाज र जनताको हातमा एउटा ठूलो हतियार भएको छ ।'
कान्तिपुर



प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 कार्तिक, 2066

लेखकका अन्य रचनाहरु