कवि टंक वनेम साँघुरी र बुढासुब्बा

- मुलीवीर राई

"रेक्रुट पढ्नुको दुःखले भर्ती भएर आइस् परिस् मेरो फेला ।" मेरो साख्खै गुरुजी जसले मलाई १५ वर्ष अगाडि बन्दुक चलाउनुमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउँनुभएको थियो । बँच्न बाँच्न र मार्न सिकाउँनुभएको थियो । उनी नै हुन मेरा साख्खै गुरुजी जो कविताको भन्दा ठीक विपरित भाषामा भन्ने गर्नुहुन्थ्यो "रेक्रुट पढ्नुको गाह्रोले भर्ती भएर आइस् परिस् मेरो फेला ।" मलाई के थाहा उनी "मेन्जो....मेन्जो.... बाँचेर मेन्जो....मेन्जो जीवन काट्दै जिन्दगी ढाँट्ने" मैवा खोलाको मैवा पानी पिएर सपनामा सूर्यमुखी फूलु फूलाउँने कविता मनका कवि टंक वनेम थिए भनेर । म उही कवि टंक वनेमभित्रका कविताहरुको सन्दर्भ उठाउँन खोजिरहेको छु । प्रसंग नबटारिनुपर्ने हो ।

एउटा नमौलाएको रुखमा सुन्दर चरी बास बस्न आएझैँ म नमौलाएको मान्छेको हातमा एउटा सुन्दर कृती उड्दै उड्दै आएर बास बसेको छ उही पन्द्र वर्ष अगाडिका मेरो साख्खै गुरुजी टंक वनेमज्यूको कविता कृति साँघुरी र बुढा सुब्बा । यो कृतिउपर पाठकहरुको अदालतमा पहिलेनै उजुरी परिसकेपनि मेरो हृदयले कसोकसो धरै दिएन । फेरि एकपल्ट कोट्याउँन मन लाग्यो । "हाम्रा दुःखाईहरु बाँड्न मन लाग्यो । त्यसो त कुनै कविता माथि मैले बोल्नु गाइनेको हातमा सारङगी पर्नु होइन ताकि कुनै धुन /अर्थ देओस । यद्यपि कम्तिमा अनर्थ नलाग्ला भन्ने कुरामा भरोसित छु ।

मनले भन्छ यो संग्रह भित्रका हरेक शब्दहरु अक्षरसः उधि्र्रत गरुँ । लोभ लाग्छ ती भावनाहरुको ती शब्दहरुको । बन्दुकबाट निस्किएका हरेक गोलिहरु कवितामा अनुवाद भएका छन् । बन्दुक बोकेर विश्वको एकपाटा चाहरी सकेका कविका भोगाइहरु शब्दशब्दमा खिपिएका छन् । कालिकोटे आरनमा बसेर सिरुपाते खुकुरी अर्जपेझैँ कविताको आरनमा बसेर कविले कविता अर्जापेका छन् । अक्सर मान्छेले सोच्ने गरेको लाहुरे जो गुराँस कानमा स्युरेर बनपाखा रन्काउँदै हिँड्ने सोल्ठीनीलाई चार्लीको वासनाले हिप्नोटाइज गरेर भट्टीमा रात जिस्क्याउँछ ऊ लाहुरे भन्दा धेरै फरक लाहुरे, जो तमोर सुसासाउँदा उसको सम्झना मुस्कुराउँछ श्रद्धा र सम्झनाले बारेको मायालाई युद्ध भूमिबाट स्नेहको सलाम् ठोक्छ सोल्ठीनिहरुलाई ।

झ्यालबाट जूनले चियाउँदा सूर्खमुखि फूल फूलेको सपना देख्दा देख्दै सतीको सरापले ऐठन परेर आत्तिदै ब्युँझिउका कवि वनेम मैवा खोलाको जँघार तरेपछि ढुङ्गे साँगुमा पाइतलाको डोब छाड्दै नियतिको कमारा हुन मुग्लान भासिदा धनुकाँण बोकेर शिकार खेल्दै उकालो चढ्दै गरेका बुढासुब्बासँग साँघुरी भन्ज्याङमा भेट भएको स्मरण गर्छन् -

ऊ सँग अब माया लाग्दा आँखाहरु मात्र छन्
ती माया लाग्दा आँखाहरुले प....र कोशी किनार हेर्ने गर्छ
त्यही साँघुरीमा अब बुढा सुब्बा धनुवाँण बोकेर साँघुरी उकालो सिकार खेल्न आउँदैन

त्यसो त कवि वनेम स्वयंले पनि साँघुरीको भाकल फुकाएका छैनन् । साँघुरी र उनको साइनो धमिलिदै गएको भान हुन्छ कताकता मभित्र । आमालाई फरिया र बहिनीलाई रिविन किन्ने पैसाको हरहिसाब मिलाउँदा मिलाउँदै परदेशमा जोवन विस्नुमतीको किनारा भएका लाखौँ युवाहरुजस्तै कविको पनि हरहिसाब अहिलेसम्म मिलेको छैन । पन्ध्रवर्ष पछि लाहुरेको पोशाक डिकिटिङ गरेपनि परदेश डिकिटिङ गर्न सकेनन् । त्यसैले उनले तीन जुरे डाँडाको गुराँस छुन र छाम्न सक्दैनन् । जलजले डाँडामा कात्तिके तुसारो भोग्न सक्तैनन् । केवल स्मृती प्वाँख उमारेर दन्त्यकथाको राजकुमार जस्तो पहाड माथि माथि सुनाखरी टिप्दै जूनको आभामा मुस्कुराएको हिमाल वारिपारि नौरङगी डाँफेझै सिर्फ वेग मार्न सक्छनु् र यसो भन्न सक्छन् -

फागुमा भाङको लड्डु खाएर
फागुमा रङ्गीएका बैसालुहरु सम्झिँदा
हे पि्रय जन्मभूिम
तिम्रै यादले सताउँछ ।

कवि टंक वनेम सङग्रह भित्रका केही कविताहरुमा प्रायः परदेशीहरुको क्याङमी कुरा गर्ने लयभन्दा केही पृथक धारमा उभिएर प्रस्तुत भएका छन् । धर्तीमाथि टेकेर मनका तारहरु रेट्ने आफ्नै आँसुको मसिमा चोपिएर सुदामाको छाप्रोभित्र ओतिने कवि एउटा लाहुरे युद्धमा उपेक्षित शहिद भए जस्तै बहादुरी इतिहाससँग भत्कदै गएको पहाड मुन्तीर बसेर कविता लेख्छन्-

श्राप बाट मुक्त भएर
जुनीको कर्तब्य पूरा गर्न
आऊ पापीहरु
अब एकैसाथ इन्द्रदहमा झ्वाम्म हामफालौँ

टिष्टा र काँगडामा दुख्ने मुटु रंङ्गुन रोड र इरावतीको किनारमा दुख्ने मुटु बखनध्वज र हर्कजितको कथामा दुख्ने मुटु गजे गन्जु र लछुमनको ब्यथामा दुख्ने मुटुहरु अब दुख्नको निम्ति मुग्लानबाट मृत्यूको खबर आउनुपर्दैन बस् नालापानिमा बैरी ताक्ने बन्दुकको मुजल आफ्नै घरतिर फर्काए भो । देशको कमसेकम अहिलेको निम्ति तात्कालिन बस्तुस्थिति देखेर वारवार मुर्छना भोगेका लाखौँ परदेसीहरुको प्रतिनिधि आवाजहरुलाई साँघुरी र बुढासुब्बाले ओकलेको छ प्रष्टसँग ।

वेलावखत तातो झिरझैँ लाग्ने कविताहरुलाई कवि वनेमको बडो सिल्पीयढड्गबाट प्रस्तुत गर्न सफल भएका छन् । त्यसैलेनै हरेक खाले आँखाहरुको निम्ति यो सङग्रह आफ्नै जस्तो लाग्छ । नोस्टाल्जीया अलि पगितो भएजस्तो कसैलाई अनुभव होला तर कवि परदेशी हुन त्यसो हुनु ठीकै पनि हो । सङग्रहले स्वतः केही टिप्पणीहरु बोकेको छ त्यसमा कविले आपत्ति मान्नुपर्ने कुनै कारण छैन । देशबाट टाढा भएपछि देशको यथावर्तमान साहित्यिसँग अपडेट नहुनुको परिणामहरु छन् त्यहाँ कतैकतै । यद्यपि सङग्रहको तराजुमा कुनैतर्फ त्यसलाई नराखे हुन्छ । केवल अव कवि वनेमले उप्रान्तका कविताहरुमा यथार्थ वतर्मान पक्रेमात्रै पनि नेपाली खास कविहरुको हुलमा घुस्न सक्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 27 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु