महाकवि देवकोटाको भौतिक चोलाको अन्त्य

- नरेन्द्रराज प्रसाई

महाकवि देवकोटालाई बचाउन नसकिने पक्कापक्की भएपछि ललितपुरको झम्सिखेलस्थित शान्तभवन अस्पतालबाट पशुपति आर्यघाटमा लाने मेलोमेसो गरियो । त्यस बेलासम्ममा देवकोटा चेतनशील थिए । उनलाई आफ्नो सम्भावित मृत्युको बारेमा धेरै कुराको ज्ञान भइरहेको थियो । त्यो कोलाहलपूर्ण वातावरणमा सारा साहित्यकारहरूको जमघट पनि शान्तभवन अस्पतालमा भएको थियो । त्यति बेलासम्म पनि डा. एडगार आर. मिलरले महाकवि देवकोटालाई रगत दिएर थप केही दिन बचाउने इच्छा दर्शाएका थिए । तर उनको प्रस्तावमा देवकोटा बोलेका थिए ''डाक्टर किन यी युवकका रगत खेर फाल्ने ? तपाईंलाई थाहा छ, म मर्ने भैसकेको छु । टार्न नसकिने कुरालाई किन लम्याउँने !''
महाकवि देवकोटाको पीडा असहृय थियो र मर्नु पनि निश्चित भइसकेपछि उनी विष घुड्क्याएर भए पनि चाँडै भौतिक चोला बिसाउन पाए सजिलो हुन्थ्यो भन्ने चिन्तामा थिए । अस्पतालबाट पशुपति हिँडाइने बेलामा उनलाई हेर्न वासुदेव लुइँटेल पनि शान्तभवन पुगेका थिए । लुइँटेल र देवकोटा खुबै मिल्थे । वास्तवमा लुइँटेलले देवकोटालाई सधैँ आदर, सम्मान र श्रद्धा नै गरिरहेका थिए । त्यसैले लुइँटेललाई भेट्नेबित्तिकै महाकवि देवकोटाले आत्मीयता बाँड्दै भने "मलाई अलिकति विष ल्याइदिनुभएको छ - मलाई डाहा भइरहेछ ! मलाई चाँडै मारिदिनुहोस्; तपाईंलाई धर्म हुन्छ । पण्डितजी ! मलाई विष खान दिनुहोस्; म मर्छु ।" त्यही पीडामा रन्थनिएको बेला उनले आफ्ना प्रकाशित र अप्रकाशित रचनाहरूको र्सवाधिकार र संरक्षक कान्छा भाइ गोपीमाधव देवकोटाको नाउँमा सारे ।
महाकवि देवकोटालाई रगत दिएर बचाउनेहरूप्रति उनले भदौ २६ गते कृतज्ञताज्ञापन गरे । "दुई साहसी युवक भतिजा पद्मनाथ देवकोटा (लेखनाथका कान्छा छोरा) र भोलामानसिंह थापा (पछि सहायक मन्त्री) ले मलाई रक्त प्रदान गरी २-४ दिनदेखि आजसम्म जियाए । उनीहरू चिरायु हुन् । अब म मानवरक्त लिन्न र दिन चाहने व्यक्तिलाई धन्यवाद दिन्छु ।" त्यसै बेला उनले हालखबरका सम्पादक दाताराम शर्माप्रति पनि आभार प्रकट गरे ।
महाकवि देवकोटाले मृत्युशâयामा बसेर पनि नेपाली र अङ्ग्रेजी भाषामा कविता लेखे । अनि ती कविता नै उनको जीवनमा लेखिएका अन्तिम कविता मानिए । उनले अङ्ग्रेजीमा लेखेको कविता Last Voice शान्तभवन अस्पतालका डा. एडगार आर. मिलरलाई दिए । साथै, उनले नेपाली भाषाको कविता 'मृत्युशâयाबाट' भने हरि श्रेष्ठलाई दिए जसका अन्तिम पङ्क्तिहरू थिए :
आखीर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक
जन्मेँ म यो र्स्वर्गविषे पलाएँ
आखीर भै खाक उसै बिलाएँ ।
महाकवि देवकोटा अस्पतालको शय्यामा छटपटछटपट नै गरिरहेका थिए । उनको वेदना, चीत्कार र अवस्था देख्नेजति सबैका आँखा त्यस बेला रसाइरहेका हुन्थे । उनी क्रन्दनको ज्वाला फुटाएर भनिरहेका थिए "म किन बाँचिरहेको छु ?" आर्यघाट लाने बेलामा उनलाई सेतो भोटो र सुरुवाल फेराइएको थियो । अन्तिम यात्रास्वरूप शान्तभवन अस्पतालमा उनलाई मोटरमा राखियो । उनी सुतेको मोटर २०१६ साल भदौ २७ गते बिहान ५.३० बजे पशुपति आर्यघाटतिर हुइँकियो । त्यति बेला आफन्तमाझ उनले भनिरहेका थिए ''अब म चौबीस घन्टाभन्दा बढी बाँच्न पाउँदिन ।''
जीवनलाल सत्यालका अनुसार महाकवि देवकोटा त्यस बेला हड्डी र छालाले मात्र बनेका झैँ देखिए । उनको शरीरको छाला पनि चाउरी परिसकेको थियो । उनका आँखा, नाक र कान मात्रै सद्देझैँ देखिन्थे । डोम मोरेका अनुसार 'उनको अनुहार मखुण्डो लगाएको जस्तो देखिन्थ्यो ।' त्यति बेला उनी एक प्रकारले अस्थिपञ्जर जस्ता भइसकेका थिए ।
महाकवि देवकोटाको अन्तिम दर्शन गर्न पशुपति आर्यघाटमा मान्छे जम्मा हुने क्रम थियो । ती प्रायः साहित्यकार र उनका हितचिन्तक थिए । जनकलाल शर्मादेखि मदनमणि दीक्षितसम्मका श्रद्धालुले आर्यघाट ढाकिएको थियो । त्यति बेला दीक्षितले देवकोटाका जीवनको अन्तिम अवस्थाका बारे 'हालखबर'मा समाचार दिएका थिए । दीक्षितका अनुसार त्यसपछि देवकोटालाई हर्ेन त्यहाँ मान्छेको भीड लागेको थियो । त्यसै घडी दीक्षितले देवकोटाको फोटो पनि खिचेका थिए । वास्तवमा त्यो फोटो नै देवकोटाको जिन्दगानीको अन्तिम फोटो हुन गयो । तर त्यस बेला दीक्षितलाई देवकोटाका सन्तानले फोटो बेचेर धन कमाएको आरोप लगाए । दीक्षितका अनुसार देवकोटाका छोरीहरूले ''मदनमणिले हाम्रा बुबाको फोटो व्यापार गरेर पैसा कमायो भनेर हल्ला पिटाउन थाले ।'' यसबारेको तीतो असत्यमा दीक्षित पनि बोले ''हो ! मेरा घरमा मेरो फोटो स्टुडियो थियो । तर मैले देवकोटाका फोटो कसैलाई बेचिन, बरु निश्शुल्क नै बाँडें ।
महाकवि देवकोटाले बाँचुन्जेल हिन्दूधर्मलाई खासै वास्ता गरेनन् । जब उनी कालको मुखतिर पुगे त्यस बेला उनले पूर्णप्रसाद ब्राहृमणलाई भने "मैले आफ्नो जिन्दगी हरिनाम नजपेर, नास्तिक भएर बिताएछु, अब जान आँटिहालेँ ।" अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा व्यक्त गरे "आखीर श्रीकृष्ण रहेछ एक ।" वास्तवमा देवकोटामा धर्मको प्रगाढ ज्योति थियो, तर उनी आडम्बरी थिएनन् । चूडामणि बन्धुका अनुसार ''देवकोटा कर्मकाण्डी थिएनन्, तर उनी इश्वर मान्थे । उनी आफूभित्रै ईश्वर छ भन्थे ।'' साथै आर्यघाट लगिने अघिल्लो साँझ उनलाई रामहरि शर्माले एउटा प्रश्न राखेका थिए 'र्'र् इश्वर र परलोकका बारेमा तपाईं कस्तो अनुभव गरिरहनुभएको छ -'' तब उनले उत्तर दिएका थिए, ''खै ! अन्धकार मात्र देख्छु । कतै उज्यालो छ कि भनेर हेर्छु तारा कहीँ देख्तिनँ ।''
000
त्यसै कालखण्डबीच गोपालप्रसाद रिमालको संरक्षणका लागि माधव घिमिरे, रामहरि शर्मा, विश्वनाथ उपाध्याय र कृष्णप्रसाद भण्डारी क्रियाशील थिए । त्यति बेला रिमालका नाउँमा उठाइएको रकममध्ये बाह्र सय रुपियाँ महाकवि देवकोटालाई पनि दिइएको थियो । भण्डारीका अनुसार त्यस पैसाले देवकोटाको अन्तिम समयमा निक्कै सान्त्वना दिएको थियो ।
महाकवि देवकोटा आर्यघाटको मृत्युशय्यामा थिए । त्यस बेला उनले आफ्ना सबै दिदीहरू र फुपूका खुट्टा ढोग्न चाहे । उनको त्यो अन्तिम इच्छा पनि पुर्याइयो । त्यति बेला उनी खाटमा सुतिरहेका थिए; त्यसैले उनका दिदीहरू र फुपूले उनको निधारमा खुट्टा पुर्याएर आआफ्ना गोडा ढोगाएका थिए ।
महाकवि देवकोटाका श्रद्धेय, प्रेरक र सम्मानित स्रष्टाका रूपमा कविशिरोमणि लेखनाथ पौडयाल थिए । देवकोटालाई कुर्न उनी प्रायः साँझसम्म आर्यघाटको सत्तलमै बसिरहेका हुन्थे । उनी प्रायः "भोलि बिहान आउँछु बाबू !" भन्दै राति आफ्नो घर जाने गर्थे । पौडयाल भोलि बिहान अर्थात् भदौ २९ गते बिहान टरेपछि मात्र आर्यघाट पुगे । त्यतिन्जेलसम्म पनि देवकोटा पौडयालको बाटो टुलुटुलु हेरिरहेका थिए । पौडयाललाई देख्नेबित्तिकै देवकोटा बोले, "ढिलो भयो नि गुरु ! अब त मेरो जाने बेला पनि भयो ।" त्यो उक्तिले पौडयालका गह भरिए । देवकोटाका आँखाबाट पनि झरी वर्सन थाल्यो । त्यहाँ पौडयालले भक्कानिदै भने, "बाबूले यो उमेरमा जानुपरिरहेछ !"
महाकवि देवकोटाले मर्नुभन्दा अगाडि पनि लेख्नै चाहेको भावना व्यक्त गरे । यसबारे उनले शङ्कर लामिछानेसँग भनेका रहेछन् "जीवनको यस बेला आएर म जीवनको अर्थ बुझदैछु । आज मैले लेख्न सके, आजको यो ज्ञान मात्र लिएर दुई वर्षअरू बाँच्न पाए, अनि मैले लेखेको चीज केही हुने थियो ।'' तर कविशिरोमणि लेखनाथ पौडयालले 'कालमहिमा' कवितामा भने झैँ महाकविको काल पनि टारेर नर्टर्ने नै निश्चित भयो । त्यसैले अन्तिम बेला कविशिरोमणिले नै महाकविको निधारमा चन्दन र गलामा माला लगाइदिएका थिए । त्यसपछि त्यो सत्तलमा मन्दमन्द रुवाबासीको सिलसिला कोलाहलमा पुग्न थालेको थियो । अनि त्यसै बेला देवकोटालाई भेट्न मन्त्री गणेशमान सिंह पनि आर्यघाट पुगेका थिए । उनी पनि त्यस भीडमा उभिएर रुन थाले ।
महाकवि देवकोटालाई बालकृष्ण सम अति नै सम्मान गर्थे । त्यसैले देवकोटाको जीवनको अन्तिम घडी भए पनि उनीसँग भारतीय अङ्ग्रेजी साहित्यकार डोम मोरेलाई भेट्टाउन समको प्रबल इच्छा थियो । किनभने त्यस घडी कविबर डोम पनि नेपालमा नै थिए । डोमको प्रतिभाबाट सम र देवकोटा मात्र होइन, अङ्ग्रेजी साहित्यानुरागी प्रायः सबै प्रभावित थिए । बेलायतको सर्वोच्च हृवाथोर्नडेन (Hawthornden Prize) पुरस्कार बेलायती बाहेक पहिलोचोटि प्राप्त गर्ने विदेशी स्रष्टा पनि डोम मोरे नै थिए । त्यो पुरस्कार पाउँदा उनी उन्नाईस वर्षा मात्र थिए । भारतका तिनै सुविख्यात कवि मोरे समको आग्रहअनुसार भारतीय सांस्कृतिक सहचारी तथा प्रसिद्ध कवि डा.शिवमङ्गल सिंह 'सुमन'को सक्रियतामा पशुपति आर्यघाट पुगेका थिए । त्यहाँ पुगेपछि डा. सुमनले डोम मोरेलाई भनेका थिए ''जुनसुकै कवि पनि आफू संसारबाट विदा हुन लाग्दा जीवनको रेलगाडीलाई कुनै अर्को कविले हात हल्लाइदियोस् भन्ने चाहन्छ नै !''
डा. शिवमङ्गल सिंह 'सुमन' सहित डोम मोरेले मृत्यु पर्खिरहेका महाकवि देवकोटालाई आर्यघाटमा नै भेटे । यी दुबै कविलाई देख्नेवित्तकै आँखाभरि साउन राखेर देवकोटा बोलेका थिए ''म ब्रम्हाण्ड दहनमा छु । यो नरक दावाग्नि जस्तो छ, क्यान्सरसँग पौँठाजोरी गर्ने अर्को बेदना मानिसले आविष्कार गरेको छैन ।'' त्यस बेला यसरी देवकोटाको बोली फुटेको देखेर त्यहाँ उपस्थित सबै जना चकित थिए । वास्तवमा केही समयअघिदेखि देवकोटाको वाक्य फुटेको पनि थिएन । डोमलाई देख्नासाथ उनको बोलीमा जादू प्रकट भएको थियो ।
महाकवि देवकोटाले डोम मोरे र डा.शिवमङ्गल सिंह 'सुमन' लाई देखेपछि काललाई ठेल्दै आफ्नो भावना व्यक्त गरिरहे । त्यस बखत उनले डोमलाई छोएर भनेका थिए ''मैले तपाईंका कृति पढेको छु । मलाई तपाईंको साथीको नाउँ पनि थाहा छ । तपाईं आज यहाँ भेटिनु एउटा चमत्कार नै हो, म मर्दैछु ।''
महाकवि देवकोटाको त्यस समयको अवस्था आर्श्चर्यपर्ण थियो । त्यसपछि पनि देवकोटाले सकीनसकी आफ्ना मन परेका कवि डोम मोरेमाझ आफ्नो शिथिल मन खोलिरहे ''म मर्दैछु । म जीवित भए तपाईंलाई पनि मेरा कविताहरू देखाउँथेँ । तपाईंले मेरा कविताहरू हेर्नुभएको छ ?'' त्यसपछि देवकोटाले बालकृष्ण सममार्फ आफ्ना कविता लान डोमलाई आग्रह गरे ।
महाकवि देवकोटाले आर्यघाटमा पुग्दा पनि एउटा विदेशीको आत्मीय व्यवहार पाए । डोम मोरेको आत्मीयताबाट देवकोटाले पनि आफ्नो शरीरबाट मैन पगाल्दै भने ''म यहाँ पशुपति मन्दिरमा छु, म मर्दैछु । तर कताकता एक इन्च म अझै बाँकी छु । म मेरो एक इन्च अणु बाँकी छु, त्यसले मलाई जान दिइरहेको छैन । म पार्थना गर्छु अब म जाउँ। यहाँ पशुपतिनाथ भगवान् आएदेखि म उहाँसँग मेरो खप्पर फुटाइदिने आशिष माग्थेँ ।"
महाकवि देवकोटाले त्यस बेला आफ्ना मनमा रहेका अरू दुखेका कुरा पनि डोम मोरेका सामु बागमतीमा मैलो पखालेसरि पखाल्न खोज्दै भने ''तिनीहरूले मलाई वामपन्थी भने, किनभने म रूस गएँ । म सिर्फएक कवि मात्र थिएँ, मेरा लागि पार्थना गर्नुहोस् म मर्न सकूँ । यदि म नरक अग्निकुण्डमा गएँ भने यसभन्दा वेस हुन्छ । ... म नेपाली लेखकहरूमध्येकोे अति अभागी लेखक हुँ ।'' देवकोटा जतिजति बोल्थे डोम निन्याउरो अनुहार लगाएर उनीसँग त्यति नै नजिकिन्थे ।
डोम मोरेसँग महाकवि देवकोटाको आकास्मिक सामिप्यता एउटा दैविक घटना थियो । देवकोटाले डोमका कविता पनि मन पराउँथे । उनको आफ्नो जीवनमा डोमकै मुखबाट कविता सुन्ने इच्छा पनि थियो । त्यसैले देवकोटाले डोमलाई भने ''तपाईंका केही कविता वाचन गर्नुहोस् न ! अलिकति म शान्तिको स्वाद लिउँ ।'' त्यसपछि डोम देवकोटासँगै टाँस्सिएर कविता वाचन गर्न थाले । डोमले एउटा कविता वाचन गरेपछि देवकोटाले फेरि अर्को पनि कविता पाठ गर्न डोम समक्ष आग्रह गरे । त्यसपछि पनि डोमले अर्को एउटा कविता सुनाए । देवकोटाले फेरि पनि उनीबाट कविता सुन्न चाहे । डोमले भने ''म अब तपाईलाई एड्ना सेण्टभिन्सेण्टको कविता सुनाउँछु ।'' अनि डोमले त्यसै गरे । त्यो कविता पनि देवकोटाले मन पराए ।
त्यसपछि डोम मोरेले आफ्नो हवाइजहाज उड्न लागेको जानकारी दिदै महाकवि देवकोटासँग विदा मागे । त्यस बेला देवकोटाले डोमसँगको अन्तिम बोली बोले ''म मरुन्जेल तपाईं यहाँ नबसिदिने -'' अनि डोमले निहुरिएर देवकोटाको निधारमा म्वाई खाए । त्यतिन्जेलमा देवकोटाको निधार पनि चिसो भैसकेको थियो । त्यसपछि डोमले सकीनसकी दर्दनाक स्वर निकाले ''हामीले जानु पर्छ ।'' अनि देवकोटाले पनि सकीनसकी विदाईका लागि डोमसमक्ष आफ्ना हात उठाउने प्रयास गरे ।
डोम मोरेले त्यसै बेलाको प्रसङ्गमा लेखेका छन् ''एक्कासि त्यो मखुण्डोले चिच्याउने कोशिस गर्यो । ती भित्र पसेका ओठहरू मुचुक्क भए, तर सुक्सुकाउन सकेनन् । मानसिक शारीरीक यन्त्रबाट ती काम नगर्ने भैसकेका थिए । खाली उहाँका आँखाबाट आँसु झरिरहे र तिनले उहाँका गालामा बनेको खाल्टोमा ताल बनाएका थिए । मैले उहाँको हातलाई मेरा हातले सुम्सुम्याएँ ।''
०००
२०१६ साल भदौ २९ गते सोमबारको कुरा हो; महाकवि देवकोटाले आफ्नी पत्नी मनदेवीलाई सोधे "बजै ! तिमीसँग कति पैसा छ -" अनि उनकी पत्नीले प्रत्युत्तरमा "मसँग दर्ुइ सय रुपियाँ जति छ, बुबा हजुर" भनिन् । त्यसपछि देवकोटा फेरि बोले "अब म तीनचार दिन बाँचेँ भनेँ तिमीले मलाई खान दिन सक्तिनौ । यति पैसाले मेरो अन्तिम संस्कार गर्न पुग्छ ।" देवकोटाले यो विचार प्रकट गरेपछि उनी सारोसारो र झन् सारो हुँदै गए । अनि क्रमशः उनको बोलीचाली पनि हराउँदै गयो । दिउँसो एक बजेपछि उनको होसहवास पनि हराउन थालेको थियो । त्यसपछि त्यहाँ मानवहरूको भीड लाग्न थाल्यो । त्यही सन्नाटामा उनकी पत्नी मनदेवीले गाईको पुच्छर र देवकोटाको हात समाएर गाई दान गरिन् । साँझ पाँच बजे गोपाल पाण्डे असीम पनि हस्याङफस्याङ गर्दै त्यहाँ पुगे र उनले सारा नेपाली स्रष्टाका तर्फबाट भनेर अभिवादन चढाए । त्यस बेला देवकोटाले सबै दर्शकलाई दुई हात जोडेर 'नमस्कार' गरे । ती दुई हात क्रमशः चिसो, चिसो र चिसो हुन थाले । अनि त्यस कोठामा पसेर घाटे वैद्यले "अब सास जान आँटयो; ब्रहृमनालमा लानुपर्यो" भने । त्यसपछि उनलाई उनका भाइ मधुसूदन र गोपीमाधव देवकोटाहरूले बोकेर ब्रहृमनालमा लगी सुताए । त्यहाँ उनका मुखमा बाग्मतीको पानीका थोपाहरू हालियो । त्यस बेला साँझको ६ बजेर १० मिनेट गइसकेको थियो । अन्ततः महाकवि देवकोटा दिवङ्गत भएको सबैले थाहा पाए । उनी जसरी बेलुकी यस धर्तीमा जन्मे त्यसरी नै बेलुकीको आगमनसँगै यस लोकबाट बिलाए ।
महाकवि देवकोटाको अन्तिम सास फेराइसँग त्यस समय त्यहाँ नरुने मान्छे प्रायः भेटिँदैन थिए । त्यस दिन त्यहाँ उपस्थित जनसागरका आँखा मात्र भिजेका थिएनन् सिङ्गो नेपाली भूमिमा नै झरी पर्दै थियो । त्यो समयमा बाग्मती पनि उर्लेर, भक्कानिएर र बौलाएर बगिरहेको थियो ।
महाकवि देवकोटाको भौतिक चोलालाई ब्रम्हनालमा राखिएको थियो । त्यति बेला उनकी पत्नी मनदेवीले घाटबाट कराउँदै एक्कैचोटि झ्याम्मै ब्रम्हनालमुनि बागमतीमा हामफालिन् । त्यति बेला उनका कम्मरसम्म आएर बागमती हुइँकिरहेको थियो । नदीसँगै युद्ध गरेर पनि उनले देवकोटाका दुबै खुट्टा समाएर अँगालो मार्दै ढोगिन् । उनले रुदै कराउँदै देवकोटाको खुट्टा ढोगेको त्यो समय निक्कै कारुणिक, बेदनामय र दर्दनाक थियो । त्यस दृश्यले त्यहाँ उपस्थित अरू मान्छे पनि रोएका थिए । त्यहाँ सिद्धिचरण श्रेष्ठ त क्वाँक्वाँ गरेर नै रोएका थिए । केही समयपछि सबैको रुवाबासीका माझ उनको भौतिक शरीरलाई बागमतीको किनारमा सारिएको थियो ।
महाकवि देवकोटाको भौतिक चोलाको अन्तिम दर्शनका लागि आर्यघाटमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग केही मन्त्री र संबैधानिक अङ्गका प्रमुख पनि पुगेका थिए । त्यस घडी रुन्चे स्वरमा कोइराला बोले ''म एकपटक हाम्रा महाकविको अनुहार हेर्न चाहन्छु ।'' त्यसपछि देवकोटाको छोपिएको अनुहारबाट कपडा हटाइयो । त्यस दृश्यले कोइरालाका आँखा पनि टलपलाउन थाले । अनि त्यहीँ उभिएर कोइरालाले एक मिनेट मौन धारण गरे । अनि त्यहाँ उपस्थित मान्छेहरूका आँखाबाट क्रमशःक्रमशः र क्रमशः आँसुको भेल बग्न थाल्यो । त्यही जनरोदनसँगै उनको चोलालाई चितामा चढाइयो । उनको देह पोलिएको दृश्य हेरेर धेरै स्रष्टाहरू आर्यघाटमा उभिइरहे । वैदिक परम्पराअनुसार राति एघार बजे देवकोटाको दाहसंस्कार पनि सकियो र चितास्थलको खरानी पनि राम्ररी पखालियो ।
०००
महाकवि देवकोटाको अन्त्य त्यसरी नै भयो, जसरी उनले केवल मृत्युको मात्र कामना गरेका थिए । अनि देवकोटा मरेपछि ''उनी अष्टचिरञ्जीवीसरह बाँचिरहनेछन्'' भन्ने विचार र्सवप्रथम भीमनिधि तिवारीले सुनाए । त्यसपछि अरू सबैले पनि त्यस्तै वचन नै वाचन गदै गए ।
महाकवि देवकोटाको स्वर्गारोहणपछि गणेशकवि पं.श्यामदास वैष्णवले मनदेवी देवकोटालाई भनेका थिए, ''बजै ! तपाई ईश्वर खोज्न अन्तै लाग्नुभयो, तर ईश्वर तपाईंका घरमा भएको तपाईंले चालै पाउनुभएन ।'' अनि वैष्णवका कुरालाई प्रत्युत्तर दिने क्रममा श्रीमती देवकोटा बोलेकी थिइन्, ''हो रहेछ ! उहाँ स्वर्गीय भएपछि साधुहरू पनि सल्बलाएका थिए ।''
बाँच्नुपर्ने महाकवि देवकोटा मरे । पछि उनका विषयमा धेरैले धेरै कुरा लेखे । अक्षर खेलाउन रहर गर्नेदेखि अक्षर खेलाएर बूढा भएकासम्मले उनका बारेमा लेखिनैरहे । त्यही क्रममा गोविन्द भट्टले लेखे, "जनताको श्रद्धा, भक्ति र प्रेम जित्न सजिलो छैन । त्यसको निम्ति देवकोटाजस्तै बाँच्न सक्नुपर्छ; अनि देवकोटा जस्तै मर्न पनि सक्नुपर्छ ।"
नेपाली धराबाट एक महामानव अर्थात् महाकवि देवकोटाको भौतिक चोला विर्सजनको दुख्खमा धेरै दिनसम्म आकाशमा हावा सुकसुकायो, बादल रोयो र धर्तीको गह नै भरिइरहृयो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु