मदनको ल्हासामा पोतालाको स्पर्स र महाकविसित कानेखुसी

- हरिहर खनाल

आज हाम्रो यात्राको दोस्रो दिन । आज ल्हासाको दृश्यावलोकन गर्नुछ । केही औपचारिक
समारोहमा पनि भाग लिने हाम्रो निर्धारित कार्यक«म छ । बिहान ल्हासाको प्रमुख आकर्षण पोताला दरवार र झोखाङ मोनास्ट्री हेर्ने र दिउँसो औपचारिक कार्यक्रममा सामेल हुने योजना छ ।
यार्लोङ् साङ्पो नदीको शाखा किचु नदीको उत्तरी किनारामा समुद्रसतहदेखि झन्डै तीन हजार छ सय पचास मिटरको उचाइमा रहेको ल्हासा सहर चीनको स्वसाशित क्षेत्र तिब्बतको राजधानी हो । सन्सारको छानोको रूपमा समेत चिनिने यो सहरमा दिनमा सरदर आठ घन्टा बाईस मिनेटसम्म सूर्य चम्कन्छ । त्यसैले यो सहरलाई घमाइलो सहरका रूपमा समेत चिनिन्छ । जूलाईमा दिउँसो केही गर्मी हुने यो सहरमा डिसेम्बर र जनवरी महिनातिर पनि तापक्रम त्यति तल झर्दैन । हिउँदमा एकाध पटक हिउँ परे पनि त्यसले धेरै समयसम्म वातावरणलाई कठ््याङ्ग्रिएर बस्नु पर्ने बनाउँदैन ।
ल्हासा सहरको केन्द्रीय भाग र यसका वरिपरि धेरै प्रसिद्ध स्थलहरू छन् । तिनीहरूमध्ये पोताला दरबार, झोखाङ् मोनाष्ट्री, डेपुङ् मोनाष्ट्री, सेरा मोनाष्ट्री, गान्डोन मोनाष्ट्री, पिपुल्स पार्क आदी विश्व प्रशिद्ध छन् । ल्हासा सहर स्वसाशित क्षेत्र तिब्बतको सबैभन्दा ठूलो सहर हो । यो सहर बौद्धमार्गी लामाहरूको पवित्र भूमिका रूपमा पनि प्रख्यात छ । झलक्क हेर्दा यो सहर काठमाडौं जस्तै लाग्छ । यसका वरिपरि डाँडाकाँडा छन् । तर ती यहाँका जस्ता हराभरा छैनन् । ती खुरिखन्न डाँडाकाँडाको बीचमा रहेको सानो भ्याली भने हराभरा छ । यो सहर विगत तेह्र सय वर्षदेखि यो क्षेत्रको राजनीतिक, आर्थिक, साँस्कृतिक, वौद्धिक तथा शैक्षिक केन्द्रका रूपमा समेत विख्यात छ । परंपरागत शैलीमा बनेका यो सहरका पुराना एैतिहासिक निर्माणहरू र आधुनिक वास्तुकलाको प्रचुर प्रयोग गरेर निर्माण गरिएको यो ल्हासा सहर प्राचीन र आधुनिक कलाको सङ्गम हो ।
यो सहरको प्रमुख आकर्षणका रूपमा रहेको पोताला दरबार विश्व सम्पदा सूचीमा सुचिकृत छ । ल्हासा सहरको मध्य भागमा रेडहिलमा अवस्थित यो दरबार सातौं सताव्दीमा निर्माण भएको थियो । एकचालीस हेक्टर जमिनमा पैmलिएको यो तेह्रतले दरबार एक सय पन्द्र मिटर भन्दा बढी अग्लो छ । राज्यद्वारा संरक्षित यो दरबार परंपरागत तिब्बती कलासंस्कृतिको भन्डारका रूपमा चिनिन्छ ।

पोताला दरबारका दुई खन्ड छन्, पूर्वि खन्ड र पश्चिमी खन्ड । सूर्वी खन्डलाई प्रशासनिक खन्ड पनि भनिदो रहेछ । पहिले पहिल दलाई लामाको निवास पनि यहीं थियो । त्यति बेला सबै मन्त्रीहरू र सरकारी उच्च अधिकारीहरू हरेक दिन बिहान दलाई लामाको दर्शन गर्न र उनका धार्मिक प्रवचन सुन्न त्यहाँ जान्थे ।

यो दरबार बाहिरबाट हेर्दा निकै ठूलो देखिन्छ । पूर्वपश्चिम यसको लम्बाई तीन सय मिटर र उत्तर दक्षिण चौडाई एक सय मिटर छ । यसको सबैभन्दा माथिल्लो तला समुद्र सतहदेखि तीन हजार नौ सय मिटरको उचाईमा छ । सडक सतहबाट भने यसको उचाई एक सय सतासी मिटर छ । नौ सय उनान्सय कोठा भएको यो दरबारको क्षेत्रफल तीस हजार बर्ग मिटर छ । यो दरबार निर्माण गर्नका लागि सात हजार कामदारले हरेक दिन काम गर्दा पनि साठी वर्ष भन्दा बढी समय लागेको थियो भन्ने भनाइ छ । ठूल्ठूला ढुङ्गा काटेर बनाएको यो दरबारमा अजङ्गका सालका थाम र बिमहरू छन् । ती बिमहरू दुई सय किलो मिटर भन्दा पनि टाढाबाट एउटालाई चालीस जना मान्छेले धेरै दिन लगाएर बोकेर त्यहाँ पु¥याएका थिए रे ।

त्यस्तै, झोखाङ् मोनाष्ट्री यहाँको अर्को प्रमुख आकर्षणको केन्द्र हो । बेइजिङ् रोडबाट पाँच
सात मिनेटको दुरीमा रहेको यो मोनाष्ट्री राजा स्रङ्चङ्गम्पोले उनकी रानी नेपाली चेली भृकुटीको सम्मानमा उनैका लागि बनाइदिएका हुन् । पुरानु ल्हासामा अवस्थित यो मन्दिर
सातौं सताव्दीको मध्यतिर निर्माण भएको थियो । पश्चिम दिशातिर प्रवेषद्वार भएको यो मन्दिर भृकुटीकै इच्छाअनुसार उनको माइती देश नेपालतिर फर्काएर बनाइएको भन्ने भनाई छ । ताङ् शैलीमा निर्मित यो चारतले भवन नेपाली कला कौशलले भरिएको छ । यो मन्दिरमा शाक्यमुनि बुद्धको मुर्ति राखिएको छ । यो मूर्तिलाई भृकुटीले नेपालबाट ल्याएकी थिइन् भनिन्छ । यो मन्दिरमा राजा स्रनचङगम्पोका साथै उनकी दुइटी रानीहरूको प्रतिमा राखिएको छ । आज हामीले यिनै चिज हेर्न जाने कार्यक्रम बनाएका छौं ।

ब्रेकफाष्टपछि हामी होटलको लबीमा जम्मा भयौं । चौवन्न जनाको हाम्रो टिमलाई पोताला दरबार हेर्नका लागि तीन समूहमा विभाजन गरिएको रहेछ । पहिलो समूहमा अठतीस जना र बाँकी दोस्रो समूहमा । आठ चालीसमा पहिलो समूह र एघार बजे दोस्रो समूह । आपूm आठ बजेको समूहमा परेछु ।

रेडहिलमा अवस्थित पोताला दरबार बाहिरबाट झलक्क हेर्दा भित्तामा टाँसेको रङ्गिन पोष्टरजस्तो देखिन्छ । त्यही पोष्टरजस्तो देखिने पोताला दरबारको मूल प्रबेशद्वारबाट हामी भित्र छिर्दा बिहानको नौ बज्न थालेको थियो । सानो पहाडको फेदीदेखि उठाएर त्यसको टुप्पोसम्म पु¥याइएको यसको नीर्माण नै विचित्र प्रकारको छ । तल्लो आधाभन्दा बढी भागमा सेतो रङ्ग लगाइएको यो दरबारको माथिल्लो भागमा रातो रङ्ग लगाइएको छ । यो दरवारभित्र दिवङ्गत दलाइ लामाहरूका समाधीस्थल छन्, तिनीहरूका राजकीय कार्यालयहरू छन्, तिनीहरूले राजकीय पाहुनालाई स्वागत गर्ने स्वागतकक्षहरू र बैठकहरू छन् र चीनको स्वसाशित क्षेत्र तिब्बतको प्राचीन कला, धर्म, संस्कृति र बैभवको अतुलनीय भन्डार छ । हीरा जवाहरत तथा मणि जडिएका सुनका मुर्तिहरू छन् । भनिन्छ, पोताला दरबारभित्र संयुक्त राज्य अमेरिकाको दुई वर्षको सिङ्गो बजेटभन्दा धेरै मूल्यको धन सम्पत्ति संचित छ । यतिबेला म त्यही अकुत धन संपत्ति र बैभवको खानी पोताला दरबार हेर्नका लागि रेडहिलतिर पाइला बढाउने जमर्कोमा छु ।

पोताला दरबार अवलोकननिम्ति निस्केको अठतीस जनाको हाम्रो टीम सुरुमा सँगै भए पनि प्रवेशद्वारबाट भित्रतिर लागेपछि तितरबितर भयो । झन्डै चारफिट अग्लो पर्खालले घेरिएको लगभग सोह्रफिट चौडा ढुङ्गा छापेको सडक भएर विस्तारै हामीहरू माथितिर लाग्यौं । हाम्रो समूहका केही साथीहरू दरबार प्रवेशद्वारको मूल खन्डमा पुगेर फोटो सेशन चलाइरहनु भएको रहेछ । विस्तारै पछिल्ला सिँढीहरू उक्लँदै हामी पनि त्यो समूहमा सामेल हुन पुग्यौ । त्यसपछि हामी तेह्रतले पोताला दरबारको मूल प्रवेशद्वारबाट भित्रतिर लाग्यौं । हाम्रो समूहमा आएका मानिसहरूमध्ये मिठाइदेवी विश्वकर्मा उकालो चढ्न गाह्रो होला कि भन्ने ठानेर तलै बस्नुभयो । अरू सबै उकालो लागे । दरबारभित्र पसिसकेपछि धेरैजसो साथीहरू फटाफट हिँडेर माथितिर लागे । उनीहरूको रफ्तारमा म हिड्न सकिन र बिस्तारै हिड्न थालें । म डब्लु सी बाट फर्कँदा विष्णु प्रभात र हाम्री पथप्रदर्शक नीमा मलाई पर्खेर बसेका रहेछन् । हाम्रा दोभाषे मित्र अच्युतजी पनि त्यहीँ भेटिनु भयो । त्यसपछि हामी दरबारको पूर्वी खण्ड अर्थात् पहिलो दरबार हेर्न भित्रतिर लाग्यौं । त्यो दरबारमा दलाइ लामाको पहिलो बैठक कोठा भारद्वार कोठा, पाहुना कोठा हुँदै क्रमशः अरू कोठाहरू र ती कोठाहरूमा यथारूपमा राखिएका अरू सामानहरू थिए ।

पोताला दरबारको पहिलो खण्ड हेरिसकेपछि हामीहरू दोस्रो खण्डतिर लाग्यौं । सातौं शताब्दीमा राजा स्रन्चङ्गम्पोले नीर्माण गरेको यो दरबार विषेश प्रकारको रहेछ । हरेक तलामा धेरै कोठाहरू छन् । तिनीहरूको नीर्माण विधि पनि पुरानै प्रकारको रहेछ । यो दरबार आगलागिमा परेपछि सत्रौं शताब्दीमा पाँचौं दलाई लामाले पुनःनर्माण गरेको कुरा हाम्री गाइड नीमाले हामीलाई बताईन् । दिबङ्गत दलाई लामाहरूका समाधिस्थलहरू पनि यो दरबारभित्र सुरक्षित रहेछन् । यसका अतिरिक्त सबै दलाइ लामाका ढलोटमा सुन लेपन गरिएका मूर्तिहरू ठाउँठाउँमा सुरक्षित गरेर राखिएका रहेछन् । एक ठाउँमा राजा स्रनचङ्गम्पो, उनकी चीनीया मूलकी रानी र अर्की रानी नेपाली चेली भृकुटीका मूर्तिहरू एकै लहरमा सजाएर राखिएका रहेछन् । दलाई लामाको बैठक कोठा, पुजा कोठा र अन्य कतिपय ठाउँमा प्रसस्त मात्रामा नगद चढाउने चलन अझै पनि कायम रहेछ । दलाई लामाहरूका मूर्तिहरूको लहरमा रहेको एउटा जुँगे मूर्तितिर औंल्याउँदै हाम्री गाइड नीमाले भनीः त्यो जुँगावाल मूर्ति छ नि, त्यो चाहीँ पाँचौँ दलाई लामाको मूर्ति हो । पाँचौ दलाई लामाको मात्र जुँगा छ, अरूको छैन ।

पोताला दरबार पूरै घुमेर फर्कँदा झन्डै तीन घन्टा लागेछ । यो अवधिमा फोटो खिच्न पाइने
स्थानहरूको मैले केही स्न्याप फोटो लिएको थिएँ । हाम्री गाइड नीमाले पनि मलाई निकै राम्ररी पथ प्रदर्शन गरिन् । मैले उनलाई धन्यवाद दिएँ । उनी बेइजिङ्की रहिछिन् । गाइड गर्नकै लागि यहाँ आएकी । उनको नामको अर्थ सूर्य रहेछ । त्यसैको अर्थ दिने किसिमको तिब्बती नाम नीमा उनैले राखेकी रहिछिन् । तिनी कामचलाउ प्रकारको अङ्ग्रेजी राम्रै बोल्दिरहिछिन् । तिनी हामीहरूलाई घुमाउन पाएकोमा निकै प्रफुल्ल थिइन् । यस्तो ब्यवहार देखाउने कुरा सायद उनको व्यबसायिक कुशलता हँुदो हो ।


पोताला दरबारको स्पर्सले प्रफुल्ल भएको हाम्रो मन अब झोखाङ् मोनाष्ट्रीको अवलोकनतिर तानियो । त्यसपछि हामीहरू बेइजिङ् रोड अनि बेखर ष्ट्रिट हुँदै झोखाङ् गुम्बातिर लाग्यौं । बाटोमा पर्ने बेखर ष्ट्रिट एक प्रकारको खुल्ला बजार रहेछ । सडकपेटीमा समेत ब्यापार चल्ने , हाम्रैतिरको जस्तो । झोखाङ् मोनाष्ट्रीको प्राङ्गण र मझेरीमा लम्पसार परेर सत्दै भुँइ नाप्तै अघि बढिरहेका केही तिब्बती लामाहरू पनि देखिए ।


चारतले झोखाङ् मोनाष्ट्रीको प्राङ्गणमा सुगन्धित लेकाली जडिबुटीको धुप बाल्ने सोली आकारका दुईवटा गुम्बज रहेछन् । तिनीहरूबाट हरहमेसा सुगन्धित धुवाँको मुस्लो निस्किइरहन्छ ।

झोखाङ् मोनाष्ट्री हेरिसकेपछि हामीहरू खाना खानका लागि त्यहाँबाट प्रस्थान ग¥यौ । एउटा ठूलो होटलमा हाम्रो खानाको व्यबस्था गरिएको रहेछ । खानापछि हामी लेखक कलाकारहरूको टोली तिब्बत स्वशासित क्षेत्र कला साहित्यकार संघले आयोजना गरेको स्वागत समारोहमा भाग लिन गयौं । अरू साथीहरू मदनको ल्हासा घुम्न जानुभयो । त्यो स्थानीय कलाकार संघले आयोजना गरेको कार्यक्रममा नेपाल र चीन दुवैतिरका वक्ताहरूबाट विचार आदानप्रदान गर्ने कार्य भयो । त्यो समारोहमा नेपाली प्रतिनिधिमण्डलको प्रमुख वक्ताका रूपमा निनु चापागाईले बोल्नुभयो । थपथापका हिसाबमा अरू मानिसहरूले पनि केही कुरा राख्ने काम भयो । त्यो कार्यक्रमपछि हामीहरूले ल्हासास्थित नेपाली महावाणिज्य दुतावासले आयोजना गरेको स्वागत समारोहमा भाग लियौं ।

ल्हासास्थित नेपाली महावाणिज्य दुतावासले हाम्रो यात्रादललाई उच्च महत्वका साथ स्वागत गरेको हामीले महसुस ग¥यौं । दुतावासको प्राङ्गणमा ओर्लने वित्तिकै हामीले देख्यौं, महावाणिज्यदुतसहित दुतावासका सबै अधिकृत तथा कर्मचारीहरू हाम्रो स्वागतनिम्ति लाइन लागेर बसेका छन् । दुतावासको प्राङ्गणमा महाकविको प्रतिमा स्थापना गरिएको रहेछ । दुतावास अगाडि महावाणिज्यदुत ङइन्द्रप्रसादले हामी सबैलाई क्रमशः खादा ओडाएर स्वागत गर्नुभयो । हामीले सर्वप्रथम महाकविको प्रतिमामा माल्यार्पण ग¥यौं । त्यसपछि भित्र हलमा हाम्रो औपचारिक समारोह सुरु भयो ।

महाकवि देवकोटा सतवार्षिक समारोह समितिका अध्यक्ष मोदनाथ प्रश्रितको अध्यक्षतामा भएको त्यो कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदुत ङइन्द्रप्रसाद हुनुहुन्थ्यो । उहाँले हाम्रो प्रतिनिधि मण्डलको
स्वागतमा अङ्ग्रेजीमा निकै लामो भाषण गर्नुभयो । त्यसपछि चीनको स्वसातित क्षेत्र तिब्बतको जन सरकार विदेश विभागका निर्देशक मिष्टर ल्युले चीनीया भाषामा गरेको भाषणलाई उनकी महिला दोभाषेले अङ्ग्रेजीमा अनुवाद गरेर सुनाइन् । महाकवि देवकोटाका विषयमा डा. तुलसी भट्टराईले बोल्नुभयो । त्यो कार्यक्रमका प्रमुख अतिथि ङइन्द्रप्रसाद उपाध्यायले यी पङ्त्तिका लेखकको कथासंग्रह अस्तित्वको खोजीको विमोचन गर्नुभयो । ल्हासामा पुगेर कुनै नेपाली लेखकको पुस्तकको विमोचन हुनु आफैमा एउटा ऐतिहासिक कार्य हो भन्ने प्रकारका टिप्पणी साथीहरूको थियो । त्यो सुन्दा आफ्नो भने गर्वले नाकै फुलेजस्तो लाग्यो । मेरो पालो आएपछि देवकोटाको सम्मानमा अङ्ग्रेजीमा लेखिएको र हाम्रो प्रोफाइल पत्रिकामा छापिएक आफ्नो कविता सुनाएँ ।
हाम्रो यात्राका कोअर्डिनेटर दीपक सरकारको संचालनमा भएको त्यो कार्यक्रममा त्यसपछि उपहार आदानप्रदानकार्यक्रम चल्यो । हाम्रो टोली नेता रामबाबु सुवेदीले महावाणिज्यदुतलाई नेपाली शव्दकोष र स्पेक्ट्रम उपहार दिनुभयो । त्यसपछि मैले आफ्नो कथासंग्रहको विमोचित प्रति एक थान र अर्को एक थानसमेत दुई थान पुस्तक महावाणिज्यदुतलाई उपहार दिएँ । त्यही समारोहमा कृष्ण आचार्यले प्रगतिशील कला, साहित्य र संगीतको उत्थानको लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रमको अन्त्यमा प्रश्रितजीले समापन मन्तव्य दिनुभयो । औपचारिक कार्यक्रम सकिएपछि रामेश, रायन र रामकृष्णले उही जनप्रिय गीत गाउँ गाउँबाट उठ...... गाए । गाए मात्र होइन, विस्तारै
सबैलाई गाउन लगाए । हल पूरै संगीतमय भयो । भिडियो क्यामरामा व्यस्त रणेन्द्र बरालीजी एक्कासी उठेर ज्ञानेन्द्रमान शाक्य बसेको ठाउँमा पुग्नुभयो र तानेर अगाडि ल्याउनुभयो । निकै मोटो जिउडाल भएका शाक्यजी फुर्तिसाथ नाचे । तिनले उधुम मच्चाए । म ड््यसमा बसिरहेको थिएँ, उनले तानेर मलाई बाहिर निकाले । नाचको नाममा जिन्दगीभर कहिल्यै एक फन्कोसम्म नघुमेको मैले आज भने खुृचिङ् खाएँ । सबै थपडी बजाएर गाउन मस्त थिए, व्यस्त थिए । मैले ननाची सुख्खै पाइन ।
सबैलाई गीतको नशाले छोएको थियो । सबै उन्मुक्त किसिमले थपडी बजाएर गाइरहेका थिए । म पनि स्वरमा स्वर मिलाउँदै तीनचार फन्को घुमेँ र बाहिर निस्किएँ । यस्तो लाग्थ्यो, सबैले निकै हल्काफुल्का महशूश गरिरहेका छन् । आनन्द मानिरहेका छन् ।

त्यो कार्यक्रमको समापनपछि साँझ हामी महावाणिज्यदूतले आयोजना गरेको शान्त रात्रीभोजमा सहभागी भयौं ।

राति पोताला दरबार अगाडि दरबार स्क्वायरमा हामीहरू स्प्रिङ् वाटर डान्स हेर्न गयौं । संगीतध्वनीको गतिसँगै रङ्गिन पानीको नृत्यमय फोहोरा निस्केको दृश्य निकै मनमोहक र हेरिरहूँ जस्तो थियो । यता पानीको विचित्र नाचले दर्शकहरूको मन मुग्ध पारिरहेको थियो भने उता सडक पारितिर पोताला दरबार रातको समयमा पनि आपैm प्रकाशमा नुहाएर भर्खरै बाहिर निस्केको जस्तो देखियो । मानिसको मनलाई
मन्त्रमुग्ध पार्ने दरबार स्क्वायरको त्यो मनमोहक पानीनाच हेरेर हामीहरू रातको दश बजेतिर होटल कैलाश इन्टरनेशनलतिर फर्कियौं ।

घरमा फोन गर्ने इच्छा हुँदाहुँदै पनि दिनभरिको व्यस्तताले गर्दा डलर साट्न नपाएपछि त्यो काम हुन सकेन । भोलि बिहान पाँच बजे उठ्ने र छ बजेभित्र लबीमा जम्मा भैसक्नु पर्ने उर्दी छ । त्यसै गर्नु पर्ला ।

ल्हासा सहर अत्यन्त सफा र सुन्दर रहेछ, देवकोटाले कल्पना गरेको मदनको ल्हासा जस्तै । फराकिला पिचसडकहरू र अग्लाअग्ला आधुनिक घरहरू । सबै कुरा हेर्दा निकै ब्यवस्थित जस्तो देखिने, युरोपको कुनै एउटा बिकसित टुक्रा ल्याएर टाँसिएको जस्तो । तर भाषाको भने साह्रै ठूलो समस्या रहेछ । यहाँका पसलमा बस्ने प्रायः सबै मान्छेहरू अङ्ग्रेजी फिटिक्कै नबुझ्ने । त्यति हँुदाहँुदै पनि हामी बसेको होटलको रिसेप्शनमा बस्ने युवतीहरू भने थोरैथोरै मात्रामा अङ्ग्रेजी, हिन्दी र नेपाली पनि जान्दा रहेछन् । रमाइलो लाग्यो ।












प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु