अर्थबोध

- किशोर पहाडी

एक दिन छोरोले सोध्यो, "आमा, डाँका भनेका कस्ता हुन्छन् ? " मैले जवाफ दिएँ, "हाम्रा राजनैतिक नेता जस्ता हुन्छन्, बाबु ।" छोरो अलि मन्द बुद्धिको बुझेनछ । मलाई सम्झाउँदै सोध्यो, "होइन क्या, मैले डाँका भनेको... ..." "अँ त, हाम्रा राजनैतिक नेता डाँका जस्ता त हुन् नि ... ...उनीहरूले जनताका आशा, इच्छा र आकांक्षामाथि डकैती गरेका छन् । ठूलो आशा देखाएर जनतालाई बिल्लीबाँठ पारिदिएका छन् उनीहरूले ।... ...देश र जनताको कुनै वास्ता छैन । आफ्नो स्वार्थ पूरा गर्नमा मस्त छन् उनीहरू ।... ..."त्यसपछि मन्द बुद्धिको त्यो मेरो छोरो बुझक्कड बनेर खुशी भयो । मलाई लाग्यो छोरोको प्रश्नको उत्तर दिएर मैले तमाम भ्रष्ट नेताहरूप्रतिको आफ्नो आक्रोश शान्त पारेँ ।

एक दिन, हाम्रो घरमा साँच्चिकैका तीन डाँकाहरू दन्दनाएर पसे । तीनै जनाका आँखाहरू ठूलाठूला थिए । पाखुराहरू मांसपेशीय थिए । छातीहरू चाक्ला थिए र ती तीनैजना हतियारले सुसज्जित थिए ।अचानक अगाडि आएका तिनीहरूलाई देखेर मेरो मुखबाट निस्क्यो, "आम्मै....डाँकाहरू पो आएछन् ।" छोरो र म बाहेक कोही थिएनौँ घरमा, त्यसैले म डराएँ । आत्तिएर मैले के गर्ने भनी सोच्न नै भ्याइनँ ।

तर मेरो छोरो चाहिँ निर्धक्क थियो । ऊ फटाफट ती डाँकाहरूको अगाडि गएर कम्मरमा हात राखी उभियो र सोध्यो- "तपाईंहरू कुन पार्टीको हँ ?"

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु