बिटुलो जातका देशराज

- गोपाल झापाली

अनमोल देशराज पेशाले सञ्चारकर्मी हुन् । थातथलो ईलाम, कर्मथलो झापा । उनले भर्खरै कथामाला "बिटुलो जात" पाठकको कठघरामा पेश गरेका छन् ।
मैले चाहि देशराजलाई मेरो मस्तिकको अपरेशन थिएटरमा राखेर बिबेकको कैचीले उनको लेखकिय क्षमताको शल्यक्रिया गर्न लागेको होईन । साहित्य बजारमा बग्रेल्ति आएका बिभिन्न बादका चस्माले उनलाई नियाल्न चाहेको पनि होईन । सर्सर्ती उनको कथासंग्रहको चर्चा गर्न मात्र खाजेको हो ।
उनको शिर्ष कथाको बिषयबस्तु पुरानैं हो । एउटा कथित दलित र उपल्लो भनिएका जातका युवा र युवती बिच प्रेम हुनु, बिच बिचमा अन्तरद्वन्द हुनु र अन्त्यमा सामाजीक चुनौतीका बाबजुत बिबाह हुनु पुरानै कथाका बिषयबस्तु हुन् । तर कथा बिटुलो जातमा उनको प्रयोग भन्न सकिन्छ — फ्लास ब्याकका रुपमा कथाससार प्रस्तुत गर्नुलाई जातीय बिभेदी दरिद्र चिन्तन चिर्ने कथाकारको धृष्टता सामाजीक रुपमा फलदायीनैं बन्ला र बनोस पनि तर प्रयोगवादी साहित्यको जगजगी भएका बेला कसैले उनको लेखन बान्किलाई कमजोर भन्न पनि सक्छन् । प्रयोगका नाममा अनावश्यक स्वबिवेकको प्रयोग गरेर साहित्यलाई भद्दा बनाउनबाट कथाकार बचेको मान्न सकिन्छ । सो कथामा कथाकारले गरेको झ्याउ पोखरीको बर्णनन् स्थान परिचय जस्तै बनेर साहित्यको रुपमा बगेको छ । यसलाई उनको माटो प्रतिको माया पनि भन्न सकिन्छ ।
आमा कथा उनले लेखे र भने अनुसार उनको आनै भोगाई हो अरे । कुनै सन्तानले आमाको बियागको बिलौना गाउदा भाबुक जो कोहि बन्छन्नैं । कथा यस्तै छ । कथाको बगाई सलललल भन्न सकिन्छ । भोगाईलाई उनले कथाको रुपमा प्रस्तुत गरेका छन्, त्यो उनको कला हो । सबै भोगाई कथा बन्न सक्दैनन् र सबै कथा साहित्य हुदैनन् तर उनको भोगाई कथानै बनको छ,साहित्यनैं भएर । कथा भित्रको उनको भावुका बहकाई नियन्त्रित भईदिएको भए राम्रो हुन्थ्यो । खैर आमाको बियोगको बिलौना हो ,पट्यार लाग्दो छैन ।
दमक कार्य क्षेत्र भएका सञ्चारकर्मी पनि हुन् कथाकार । झण्डै २ दशक देखि भुटानबाट थातबास खोसिएर रगतको मुहान खोज्दै आएका भुटानी शरणार्थीहरु संग कुम जोडेर बाचेको शहर हो दमक । कुम जोड्दा जोड्देै धेरै शरणार्थी र स्थानिय तन्नेरीहरुको मन पनि जोडिने गरेको छ । त्यस कुरालाई उधिन्ने प्रयास गरेका छन् कथाकारले कथा भुटानी कथा मा । केहि समय देखि चलेको तेस्रो मुलुक पुनस्र्थापना कार्यले जन्माएका कलिला प्रेम जोडीको बियोगलाई कथाकारले कथाको मसला बनाउन खोजेका छन् । तर कथा पढ्दा लाग्छ उनको मसला पिसाईले दिउल मारेको छैन । अर्थात उनको कथा सतहि लाग्छ । तैपनि प्रेम रसका छोटा कथा रुचाउनेहरुले कथा मन पराउन सक्छन् । लखेटिएका मनहरु क्था पनि भुटानी शरणार्थी चित्रकार धनबहादुर सारु मुख्य पात्र भएको कथा हो । सो कथाका बारेमा धेरै भन्नु भन्दा पनि कथाकारले कथाहरुमा शरणर्थीहरु संगको सामिप्यता देखाउन खोजेका छन् ।सारु संग्रहको आवरण चित्रका चित्रकार पनि हुन् ।
कथा जीवनको मुल्य लाई लघुकथाहरुको लघु संग्रह भन्न सकिन्छ । जीवन प्रति बिरक्तिा केहि लघुकथा छन् यसमा । प्रसुस्तिकरण सटिक छ तर निरशा मात्र ओकलेका छन् कथाकारले ।
फस्टाउदो पत्र साहित्य प्रति पनि कथाकार मोहित भएको देखिन्छ –कथा भाइटीका बाट ।चेली माईती तिहारमा भेट नहुको कहानी त छनै । कथामा लेख्छन्–सुरज विश्वास र राजन गिरीको आत्माले चिरशान्ति पाउनको लागि उनिहरुको सपना साकार हुनु पर्छ । गिरी र विस्वास दाश्रो जनआन्दोलनले दिएका झापाली शहिद हुन् । त्यसैले भन्न सकिन्छ अनमोलले कथा मार्फत शहिदको सपनाको सम्मान गर्न घच्घच्याएका छन् पाठकलाई ।
गैरीखेत कथा बाह्र बर्षलामो देशको सशस्त्र द्वन्द च्याउने सानो आखी झ्याल हो भन्न सकिन्छ । द्वन्दका कारण बिस्थापित हुनु परेकी शान्तिको कथा हो गैरीखेत । कथाकारले कथामा द्वन्द उधिन्न गरेको प्रयास कमजो छैन् । तैपनि बिषय बस्तु सन्तुलनका लागि हेलचेक्र्याइ गरेका हुनकि ?
यस अघि चिराग गजल संग्रह निकालेर गजलकारको परिचय बनाईसकेका अनमोलले संग्रहमा जन्मथलो ईलामका धुसेनी,गजुरमूखी,आमचोक,एकतप्पा जस्ता गाउका कुरा गरेका छन् भने आफू हुर्केको लिम्बू सस्कृतीका सास्कृतिक मिथकहरु च्याभु्रङ,पालाम घुसाएका छन् । कतै कथाका अवयव बनेर गजल,कविता र पालम आएका छन् । पालमको संरचनागत त्रुटि कथाकारले पनि स्विकारेका छन् । कथा बाहेका यि विधा भात संगै आएका सब्जि जस्तै छन् तर होस पुर्याउनु पर्ने कुरा, कुनै पनि विधा भित्र घुसाईने फरक विधाले लेख्य सामाग्रीलाई खिच्रो बनाउन सक्छन् ।
संग्रहका १३ वटै कथाको टिप्पणीले बोर बनाउन सक्छ । त्यसैले समग्रमा कथाहरु छोटा,छरीता र पठनीय छन् । कथाकार कतै चेतनाको भाले बनेर बासेका छन् भने कतै निरशताको पहाडले किचिएझै भएका छन् । तन्नेरी कथाकारले उमेर अनुसारको माया,प्रेमका कुरा पनि कथाहरुमा छ्यास् छ्यास् छिराएका छन्
बिवाह गर्दा केटा वा केटीको अनुहारलाई कतिको महत्व दिने,बहस धेरै हुने गरेको छ ।त्यस्तै पुस्तकको आवरणलाई कतिको आकर्षक पार्ने श्रष्टाहरुको तजबिजको कुरा हो । बिटुलो जातको हकमा भन्नु पर्दा पहिरो र चट्या...अनि बादलको पृष्ठभूमी एउटा घर अनि पिढंीमा एउटी बृद्घा र अर्की प्रोढ जस्ती यूवतीको चित्र छ । सज्जा मध्यम छ । कथाकारको तस्बिर चाहि आकर्षक भन्न सकिन्न । भित्री अन्तिम पृष्ठमा चाहि अनमोले राम्रै तस्बिर राखेका छन् । संग्रह प्रकाशनमा आर्थिक सहयोग पुर्याउनेहरुको लामो सूचीले कथाकारले संग्रहकालागी निकै देउसी खेल्नु परेको देखिन्छ । यो धेरै उदियमानहरुको यर्थाथता पनि हो ।ब्याकरणीय ईजलाशमा कथाकारलाई उभ्याउने मलाई हिम्मत छैन । कारण ब्याकरणमा म आफै काम नलाग्ने छु ।
अनमोल कथा आकाशमा उदाएका छन् । ध्रुवतारा बनेर अटल बन्ने हो वा उल्लका जस्तै भएर बिलाउने हो त्यो त उनके निरन्तरता र श्रीजनशिलतामा भर पर्ने कुरा हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु