‘हिरोन अफ इन्क्लिनेसन’

- हिमाल खरेल

साहित्यमा भन्दा पनि कानुनमा यी परिचित छन् । लीला उदासी, तर पनि अब्बल दर्जाको साहित्यकार हुन् । एकैसाथ यो झापा हो कवितासङ्ग्रह र मनका नायकहरु संस्मरणात्मक निबन्धसङ्ग्रह विमोचन गरेका छन् पछिल्लोपटक यिनले । मनका नायकहरुमा ती हिरोहरुको व्याख्या गरिएको छ, जो उदासीका मनमा मात्र होइन, आमनेपाली मनमा त्यै दर्जामा गाडिएकाहरुको ‘बायोग्राफी’ लेखिएको छ ।
उदासीले समेटेका २० पात्र उनकै समीपमा रहेकादेखि अमीट छाप छोड्नेहरुका बारेमा छ । पुस्तकमा तारा विविधले लेखेका छन्, ‘यथार्थमा यी २० रचनाहरु जो छन्, तिनमा केवल निबन्धात्मक गुणहरु मात्र छैनन्, बरु त्यसबाट अझ अगाडि बढेर यो जीवनी साहित्य बन्न पुगेको छ ।’ पुस्तलाई लेखकले संस्मरणात्मक निबन्धसङ्गालो भनेका छन् । यसलाई जीवनी साहित्य पनि भनिएको छ । यो यस्तै हो । व्यक्तिमा पाइने विशेषतालाई विश्लेषण गरेर चरित्रचित्रण गरी पुस्तक तयार पारिएको हुँदा यो आफैँमा नेपाली साहित्यमा नवीन कृति बनेको छ । उदासीले राजनीतिक पृष्टभूमिका मनमोहन अधिकारी, द्रोणाचार्य क्षेत्री, सीके प्रसाईं, तुर्सा हेमरमको योगदान, चिन्तनको प्रशंसा खुलेर गरेका छन् । पुस्तकका नायकहरुको पूर्ण जीवनी प्रस्तुत गरेर उदासीले कहिल्यै तिर्न नसकिने ऋण बोकाएका छन् । यिनलाई नायकहरुप्रति चिन्ता भएर नै पुस्तक जन्मिएको हो । उदासीलाई २० नायकप्रति यस्तो फिकर छ, एउटा दानवीरलाई अभावले नीलडाम बस्नेगरी डामेकाहरुप्रति हुन्छ । पुस्तकमा गरिएको व्याख्या यस्तै बोल्छ ।
पुस्तकको लेखाइ शैली एकदमै कलात्मक एवम् सुन्दर छ, वर्णनात्मक शैली । पुस्तकमा रामनाथ दाहाल, सूर्य कन्दङ्वा र देवकुमार आचार्यलाई जनतका नेताका रुपमा चित्रण गरिएको छ । जनवादी झिल्को यिनै नायकबाट सूत्रपात भएको व्याख्या पुस्तकमा गरिएको छ । त्यस्तै, बल्लभमणि दाहाल, रुद्र खरेल, जीवन आचार्य, नरेन्द्र चापागाईं, गणेश भण्डारी, एसएल शर्माको वर्णन साँच्चिकै जीवन्त छ । यिनीहरुको प्रतिभा उदाहरणीय र अनुकरणीय व्यक्तित्वको चर्चा उदासीले शब्दभण्डार नै रित्तिने गरी रहेका छन् ।
देवीप्रसाद उप्रेती, घनश्याम खनाल, पदमबहादुर गिरी, बेचन हरिजनको सामाजिक योगदानको विशिष्ट व्याख्या गरिएको छ । हरिजनले मेची बहुमुखी क्याम्पस विज्ञान भवन बनाउन २५ रुपैयाँ चन्दा दिएर अन्य सम्पत्तिवालाहरुलाई चेतना दिएका छन् । यो कुराको चित्रण कलात्मक गरिएको छ । पैसा हुनेहरुका सम्मुखमा हरिजन अनुपम पात्र भएको उदासीको विश्लेषण छ ।
धेरथोर समय पत्रकारितामा पनि बिताएका उदासी आधुनिक नेपाली साहित्यको मार्जिनल किसिमका साहित्यिक साधक हुन् । कर्मवादी र उत्प्रेरणाका स्रोतहरुको छनोट गरेर पुस्तक तयार पार्ने ल्याकत राख्ने उदासीको गुणको प्रशंसा गरीसाध्य छैन । परिवारभित्रका तर देश र जनताका लागि चिन्ता राख्ने उदासीका बुबा, साइँलाबा र विर्तामोडकी आमा ढकाल्नी आमैको जीवनी पनि साहित्यिक पाराले मज्जाले व्याख्या गरिएको छ । आफ्ना मनका नायकहरुको व्यथा र खुसीमा लेखक पनि अक्षरबाट त्यस्तै अनुभूति पोख्न खप्पिस देखिन्छन् पुस्तकमा ।
पात्रका पुराना घटनाहरुमा लेखक कहीँ विह्वल देखिन्छन् त कतै उत्साही छन् । उदासी आफैँ पनि शान्त, शालीन लाग्छन् । पुस्तकमा सङ्कलित रचनाका किसिम र पुस्तकको विधा अनि नाम मिलेरै जुरेझैँ लाग्छ । गाताको स्केच लेखनीसित मेल खान्छ । ‘कृतिको शीर्षक नजिकबाट जानेका, चिनेका, ठहराएका, ठम्याएका व्यक्तित्वको स्वयम् लेखककै मनले अर्थात् हृदयले जुनस्थान एवम् दर्जा दियो त्यही मुताविक लेखकले यो शीर्षक दिनुभएको जस्तो लाग्छ । प्रायःजसो शीर्षकहरु बहुपदीय छन्’, विविधले भनेका छन् । पुस्तकको भाषा सरल र सरस छ । यद्यपि, व्याकरणीय दृष्टिले पुस्तक कमजोर महसुस हुन्छ । ह«स्व–दीर्घ र शब्दको अनर्थ प्रयोगले भाषा–व्याकरणप्रति हेल्चेक्राइँ गरेको बुझ्न सकिन्छ । समग्रमा पुस्तक वजनदार छ । जीवनीप्रधान कृतिले समाजका अरु व्यक्तित्वबारे लेख्न अन्य सर्जकलाई पनि उत्साही बनाउने शक्ति बोकेको छ । अङ्ग्रेजीमा यदि मनका नायकहरु थियो त ‘हिरोज अफ इन्क्लिनेसन’ हुन्थ्यो र चर्चा अझ बढी हुने थियो । किनकि भाषिक दृष्टिकोणले अङ्ग्रेजी नेपाली भन्दा बढी अध्ययन गरिने भाषा हो । आशा गरौँ पुस्तक रुचाइएर ‘हिरोज अफ इन्क्लिनेसन’ पनि पाठकहरुले चाँडै पढ्न पाउनेछन् । र, ब्रह्माण्डभरि यसको चर्चा हुनेछ । सलाम उदासी । अनि मनका नायकहरु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 5 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु